३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

संकटमा सालक

कमल मादेन

काठमाडौँ — सालक विगत केही दशकयता संसारभर अत्यधिक गैरकानुनी रूपमा बेचबिखन हुन्छ । चोरी सिकारी हुने वन्यजन्तुको पहिलो स्थानमा सालक आउँछ । यसैले सालक हिजोआज विश्वभर सबैभन्दा बढी चर्चा पाइरहेको वन्यजन्तु हो । चीन र भियतनाममा पहिले सालकको मासु लगायत खबटा, नङ्ग्रा, छाला उपभोग हुन्थ्यो । हिजोआज संसारभर यसको उपभोक्ता बढेका छन् ।

संकटमा सालक

वन्यजन्तु तस्करका कारण सालकजन्य पदार्थ उपभोग गर्नेको संख्या सयौं गुणा वृद्धि भएको हुनुपर्छ । विगत दुई दशकमा संसारभरको करिब ९० प्रतिशत सालक मारिएर सकिएको बताइन्छ । उसै त सालकको संख्या अत्यन्त कम छ । दैनिक करिब ३ सयवटा सालक मारिने अनुमान छ । आईयुसीएनले यसलाई विशेष संरक्षण नगर्ने हो भने निकट भविष्यमै लोप हुनेसक्ने भनेर ‘क्रिटिकल्ली इन्डेन्जर्ड’ समूहमा समावेश गरेको छ ।

नेपालमा कालो र तामेगरी २ प्रजातिका सालक पाइन्छन् । दक्षिण र दक्षिणपूर्वी एसियामा थप अन्य २ प्रजातिका सालक छन् । यी ४ प्रजातिका सालकमध्ये चाइनिज प्याङ्गोलिन र सुन्डो प्याङ्गोलिन विश्वकै निम्ति ‘क्रिटिकल्ली इन्डेन्जर्ड’ वन्यजन्तु हुन् । अफ्रिकामा अन्य ४ प्रजातिका सालक पाइन्छन् । सालक नेपालको संरक्षित वन्यजन्तु हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०७३ अनुसार सालक मार्ने, खरिद–बिक्री गर्ने वा ओसार–पसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दस लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।

हेमबहादुर कटुवाल, हरिप्रसाद शर्मा र कञ्चन पराजुलीले सालकबारे अनुसन्धानात्मक लेख सन् २०१७ मा ‘जर्नल अफ म्यामोलोजी’को वर्ष ९६ अंक ६ मा प्रकाशित छ । त्यो अनुसन्धान धनकुटाको चुन्वाङ, बेलहारा, घेर्लिखर्क, फलाँटे, मुगा र इलामको जितपुर, सोयाक र लक्ष्मीपुरको जंगल र जंगलसँग जोडिएको खेतबारीमा गरिएको थियो । १ सय मिटर लम्बाइ १ सय मिटर चौडाइ भएका ७७ वटा प्लटमा सालकको गतिविधि नियालिएको थियो ।

तीमध्ये ४७ प्लट अर्थात ६१ प्रतिशतमा सालकको चलखेल भेटियो । सालक पानीको स्रोतबाट १ सय मिटरसम्म अत्यधिक विचरण गरेको पाइयो । यो के कारणले हो भन्ने अझै अन्योल छ । मानिस हिँड्ने गोरेटाको १ सय मिटर नजिकसम्म सालकको गतिविधि बढी फेला परेको थियो । गोरेटोबाट ३ सय मिटर टाढाचाहिँ सालकको गतिविधि फेला परेन । यसको भरपर्दो उत्तर भविष्यमा पक्ता लाग्ला । यस्तै मानिसको बसोबास स्थलबाट २ सय मिटर टाढासम्म सालक निकै हिँडडुल गर्दोरहेछ ।

त्यसको तुलनामा त्रमशः ४ र ६ मिटर टाढा आधाजति घटेको जनाइएको छ । त्यसभन्दा टाढा १ हजार मिटरसम्म सालकको गतिविधि शून्य पाइएको थियो । त्रिभुवन विश्वविद्यालय जन्तु विभाग प्रमुख प्रा. तेजबहादुर थापाले नेपालमा सालक सम्बन्धी एकैखाले अध्ययन, अनुसन्धान निकै भइसकेको भए पनि सालक सम्बन्धी सघन अनुसन्धान हुन नसकेको औंल्याए । चीनमा भने यसको अनुसन्धान गहन ढंगले हुँदै आएको छ ।

हालै सालक दिवसमा ‘प्याङ्गोलिन मोनिटरिङ गाइडलाइन्स फर नेपाल’ र सालक अनि सालकहरू (बाल सिर्जना संग्रह) दुई पुस्तक लोकार्पण भएका छन् । पहिलो पुस्तक सालक कसरी अध्ययन, अनुसन्धान गर्ने कार्यविधि हो । लेखकहरूले यसलाई सालक (प्याङ्गोलिन) अध्ययन, अनुसन्धानका निम्ति लेखिएको विश्वकै पहिलो पुस्तक भनेर दाबी गरेका छन् । पुस्तक तुलसीलक्ष्मी सुवाल, सागर दाहाल र सञ्जन थापाले तयार गरेका हुन् ।

वन्यजन्तु संरक्षण सम्बन्धी संघ, संस्थाले सालक दिवसमा उपल्लो तहको राजनीतिक व्यक्ति उपस्थित गराउन थालेका छन् । यसरी उनीहरूको ध्यानाकर्षण गराउनु सकारात्मक छ । नेताहरूले हाम्रा प्राकृतिक स्रोतका अतिरिक्त जैविक विविधताबारे न्युनतम जानकारी हासिल गर्नैपर्छ । उनीहरूले छिमेकी मुलुकसँग राजनीतिक तहबाट समझदारी गरेर मात्रै अन्तरदेशीय समस्या समाधान हुनसक्छ ।

प्रकाशित : फाल्गुन १८, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?