कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

वसन्तको आगमन

सिउँडी
विमल निभा

काठमाडौँ — वर्तमान राजनीतिक परिदृश्यलाई असुन्दर देख्नेहरू हो, कृपया आफ्नो पूर्वाग्रही दृष्टिको सर्वथा गलत कोणलाई समयोचित ढंगले मिलान गर्ने अलिक कष्ट गर्नोस् । यो अकारण होइन । किनभने ऋतुराज वसन्तको यस भूखण्डमा आगमन भइसकेको छ । गृष्म, वर्षा, शरद, हेमन्त र शिशिरको स्वाभाविक विदावारी पश्चात वातावरणमा यो कस्तो मादक ताजापन ? कर्णपटद्वयलाई अतिव प्रिय लाग्ने यस प्रकारको मर्मर ध्वनि कहाँबाट निःसृत भइरहेको हो ? संक्षेपमा यो अति सुखद मौसमी हलचलको अभिप्रायः के हँ ?

के अज्ञानी मनुवा (आफ्नै अन्तरमनलाई), यो ऋतृहरूमा सर्वश्रेष्ठ वसन्त ऋतुको मन्द–मन्द पदचाप हो । अर्को शब्दमा अति मुलायम वासन्तिक पगध्वनि । हो, एकपटक ध्यान दिएर सुन । ऋतुराज वसन्तले आफ्नो प्रविष्टीको मौसमी दुन्दुभी बजाइसकेको छ । के अब पनि यसको हठात् सम्मोहनबाट कोही उन्मुक्त हुनसक्छ ? अहँ, यो सम्भव नै छैन । तसर्थ यत्रतत्र र सर्वत्र वसन्तको कोमल–कोमल पदाघातको छाप दृष्टिगोचर हुन्छ । कहाँसम्म भने शृंगारविहीन शुष्क राजनीतिक क्षेत्र पनि यसबाट अप्रभावी हुनसकेको छैन ।


केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आदिले राजधानी काठमाडौंको मध्यभागमा अवस्थित वसन्तपुर दरबारको नवनिर्मित परिसर (महाभूकम्पको तीव्र आघातले जर्जरप्रायः भइसकेको) बाट सामूहिक रूपमा वसन्त श्रवण गरे ।


यसलाई स्पष्ट तवरले भन्ने हो भने पहिलेका मदनोत्सवप्रेमी महासामन्तवादी राजा–महाराजाहरूका यावत् भाव–भंगिमामा आफ्ना भाट, चारण र भांँडसहित हाम्रा सम्माननीयहरूले वसन्त रागको एकमुष्ट आनन्द ग्रहण गरेका छन् । कुन्नि वसन्त याममा झन्कृत हुने यो वसन्त राग कस्तो हुन्छ ! म यस प्रकारको राग–रागिनी सम्बन्धी जानकार कुनै शास्त्रीय पण्डित होइन । त्यसकारण मैले आफ्नो निजी अज्ञानताको शीघ्र शमन हेतु एक सत्ताधारी कमरेड समक्ष जिज्ञासा राखेँं ।


‘लालसलाम कमरेड ।’ प्रथमतः मैले अभिवादन गरेँं ।

यसको उत्तरमा उनी कुपित भावमा मलाई हेर्न थाले ।

‘कमरेड ।’ म मूल विषयमा आएँ, तुरुन्तै, ‘यो वसन्त राग भनेको के होला ?’


कमरेडको भृकुटी तन्कियो । (र लगत्तै शान्त भए ।) तत्पश्चात उनले मेरो प्रश्नको जुन उत्तर दिए, त्यो मलाई वसन्त राग कम र राग जयजयवन्ती बढी महसुस भयो । यद्यपि जयजयवन्ती रागको म त्यस्तो कुनै मर्मज्ञ होइन । यति थाहा छ, यसमा ‘जय, जय, जय’को व्यापकतम प्रयोग हुने गर्छ । (भर्खरै कमरेड वाणी सुनेर यो बोध भएको) ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का परम सत्ताधारी कमरेडहरू वसन्त रागमा आकण्ठ डुबेका छन् भने नेपाली कांग्रेस पार्टीका प्रतिपक्षी कांग्रेसीजन पनि यसको समग्र प्रभावबाट स्वतन्त्र हुनसकेका छैनन् । परन्तु यो इतरवाले प्रभाव भएकोले राग–रागिनीजन्य चाहिँं होइन । अपितु शतप्रतिशत मृदुल, मनोहर एवं सुवासयुक्त रहेको छ । तात्पर्य के भने आजभोलि नेपाली कांग्रेस पार्टी पूर्णतः द्वन्द्वमा रहेको प्रतित हुन्छ । परन्तु यो वामपन्थीहरूद्वारा बहुतायत मात्रामा उच्चारित ‘द्वन्द्वात्मकता’ नभएर कमनीय फूलको द्वन्द्व हो ।


अझ फूलहरूका माला अर्थात् ‘फूलमाला द्वन्द्व’ भन्नु समुचित हुनेछ । र यस्तो त फगत वसन्त फलितमै हुनसक्छ । किनभने वसन्त रंगीचंगी फूलहरूका ऋतु हो । अतः वसन्तागमन हुनासाथ कोइराला वंशका शेखर कोइराला, सुजाता कोइराला र शशांक कोइरालाहरू एकाएक वीरगन्ज नगरीमा वासन्ती फूलमालाले सम्पूर्णतः ढाकिएका छन् । कुनै सामान्य नभएर एक सय एकाइस किलोको जब्बर फूलमालाले ।


र यसको त्वरित प्रत्युत्तरमा वीरगन्जमै नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवालाई एक सय एकावन्न किलो तौलको फूलमाला पहिर्‍याइयो । यति भारी मात्रामा फूलहरूका उत्पादन (फूलमालाका निम्ति) केवल, केवल र केवल वसन्त ऋतुमै सम्भव हुनसक्छ । अन्य ऋतुमा यस्तो महत्तम ‘फूलविलास’को सुलभता कहाँ ? अब घरानियाँ कोइराला बन्धुबान्धवहरू सभापति देउवाको चुनौतीमा कति किलोको फूलमाला लिएर प्रस्तुत हुनेछन्, यो हेर्नुछ । म निकट भविष्यको त्यो पर्याप्त वजनदार फूलमालाको व्यग्र प्रतीक्षामा छु । किनभने असंख्य फूलैफूलहरूका मौसम वसन्त गइसकेको छैन ।


‘झमझम रसरंगको वर्षाद

कुसुमाकरको अविकल शोभा

भावन मलयानिल शीतलता

अन्तरतमको अलौकिक आभा ।’

(अज्ञात कविको कवितांश)

प्रकाशित : फाल्गुन १८, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?