१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाँदरको कैरन, हेरालोलाई हैरान

सोनी बराल गौली

काठमाडौँ — विश्वभर बाँदरका २ सय प्रजाति छन् । तीमध्ये नेपालमा तीन प्रजाति पाइन्छन् । लङ्गुर, रेसस र आसमी । बाँदरहरू जङ्गलमा बस्छन् । देवालयमा पनि यिनीहरू प्रशस्तै भेटिन्छन् । लङ्गुर जङ्गलमा तथा आवादी जग्गामा पाइन्छ । रेसस जङ्गलमा र सहरी बसोबास क्षेत्रमा । दसदेखि एक सयको समूहमा । यो खेतीबालीमा असर गर्ने प्रजाति हो । 

बाँदरको कैरन, हेरालोलाई हैरान

मानिसहरूले कृषि बाली नोक्सानीको समाधानका लागि बाँदरलाई धपाउने, हल्ला गर्ने, ढुंगाले हान्ने गर्छन् । यी प्रयास प्रभावकारीे छैनन् । विभिन्न सांस्कृतिक मूल्य–मान्यताका कारण पनि मानिस बाँदरलाई जथाभावी दुःख दिन डराउँछन् । हाम्रो कानुनले समेत बाँदर हत्या गर्नर् बन्देज गरेको छ ।


परापूर्वदेखि नै बाँदर र मानिसबीच घनिष्ट सम्बन्ध रहेको धार्मिक ग्रन्थहरूमा पाइन्छ । रामायण अनुसार श्रीरामले सुग्रिवसँग मित्रता गाँसी बाँदर सेना र हनुमानको साथ लिई लङ्का दहन गरेर सीतालाई रावणको चङ्गुलबाट मुक्त गरेका थिए । हनुमानले रामलाई हरेक परिस्थितिमा साथ दिएका थिए । हनुमानलाई रामभक्त भनी पुजिन्छ पनि । अहिले पनि मानिसले बाँदरबाट अनेकौं लाभ लिइरहेका छन् । वैज्ञानिकहरूले बाँदरमा परीक्षण गरी विभिन्न रोगको औषधी पत्ता लगाएका छन् । शिक्षाविद्ले सिकाइ प्रक्रियाका सिद्धान्त प्रतिपादन गर्न बाँदरको प्रयोग गरेका छन् । सर्वसाधारणले पनि बाँदरलाई तालिम दिएर सर्कसमा प्रयोग गरेका छन् ।

केही व्यक्ति वा समूहले बाँदरबाट फाइदा लिए पनि असंख्यले भने दिनहुँ दुःख झेलिरहेका छन् ।


सामान्यतया पोथी बाँदरहरू २.५–४ वर्षमा तथा भाले बाँदरहरू ४–७ वर्षमा वयस्क तथा प्रजननयोग्य हुन्छन् । बाँदरले गर्भाधारण गरेको ५.५ महिनामा तीनवटासम्म बच्चा जन्माउँछन् । यिनीहरू १२–२४ महिनाको अन्तरालमा अर्को बच्चा जन्माउँछन् । त्यसैले बाँदरको संख्या द्रुत गतिले बढेको पाइन्छ । विशेषतः मध्यपहाडी भेगमा सामुदायिक वन विस्तारसँगै बाँदरको संख्या बढेको छ । राष्ट्रिय निकुञ्जमा पनि यिनीहरूको संख्या बढेको छ । अत्यावश्यक खाना वनमा अभाव छ । मानव बस्तीमा सजिलै पाइन्छ । त्यसैले यिनीहरू मानव बस्तीमा आकर्षित हुने गरेका छन् । यसले मानव र बाँदर बीचका द्वन्द्वका घटना बढाएको छ ।


ग्रामीण क्षेत्रबाट तुलनात्मक रूपमा सम्पन्न व्यक्ति सहरी क्षेत्रमा बढ्दैछन् । गाउँमा प्रायः आर्थिक रूपले कमजोर परिवारको बसोबास छ । दुःख गरी लगाएको कृषि बालीमा बाँदरले क्षति पुर्‍याउँदा उनीहरू झन् विपन्न भएका छन् । आफ्नो अन्नबाली बचाउन रातदिन बारीमै बस्न बाध्य छन् । तैपनि बाँदरबाट बाली जोगाउनसकेका छैनन् । एक ठाउँबाट लखेट्छन् । अर्को ठाउँमा पुगेर बाली नष्ट गर्ने गर्छ ।


पूर्वतिरका कति किसान ठान्छन्, ‘बाँदर हनुमानको स्वरूप हो । रामले आसिस दिएकाले यहाँ आएका हुन्, टन्न खुवाएर पठाउनु हाम्रो धर्म हो ।’ उनीहरू यसलाई आफ्नो बसको कुरा ठान्दैनन् । सरकारले नै कदम चालेर समस्या सल्ट्याइदियोस् भन्छन् । पश्चिममा भने गाउँलेले बाँदरको अत्याचार सहन नसकी खेतबारी नै बाँझो राखेका छन् । घरमा पकाएको खानादेखि सुकाएका कपडासमेत बाँदरले लगेर उजुरीसमेत गर्न बाध्य भएका छन्, उनीहरू ।


देवघाटका वृद्धाहरूले आफ्नो पीडा गीतमै बिसाए, ‘हाम्ले खानेकुरा माग्ने, बाँदरले त्यसलाई खाने, हाम्रो पीर कसलाई बिसाउने/हाम्ले तिनलाई लखेट्ने, तिनले हाम्लाई पच्छ्याउने, त्यसैगरी दिन बिताउने ।’ धादिङका किसानले बेला–बेलामा सरकारसँग बालीनालीको उचित क्षतिपूर्ति नै मागेका छन् । कास्कीका किसानले राष्ट्रिय कृषक महासङ्घ तर्फबाट यसको व्यवस्थापन माग गर्दै सर्वोच्व अदालतमा रिटै हालेका छन् ।


सहरी क्षेत्रमा मठमन्दिर नजिक गर्मी–जाडो नभनी सदा झ्यालढोका बन्द गरेरै बस्नुपर्ने अवस्था छ । कपडा सुकाएपछि दिनभरि हेरालो बस्नुपर्ने बाध्यता छ । विस्कुन सुकाउँदा पनि त्यस्तै । साना नानी–बाबुलाई बाहिर एक्लै सुताउन वा खेल्न छोड्नै मुस्किल छ ।

यसको निराकरण अति जरुरी छ । यस जैविक प्रकोप न्यूनीकरण गर्न केही अल्पकालीन र केही दीर्घकालीन उपाय अपनाउन सकिन्छ । अल्पकालीन क्रियाकलापमा विशेषतः बाँदरले आक्रमण गर्ने स्थान वरिपरि औषधी छर्ने, जसको गन्धले बाँदर भाग्छ ।


बाँदरलाई समाती परिवार नियोजन गरिदिने । बाँदरलाई समातीे रङ्ग लगाई छाडिदिने, त्यसले अरू बाँदर डराउँछन् । मरेको

माछालाई प्याकेटमा राखेर खेती वरिपरि राखिदिने, त्यसलाई बाँदरले खोलेर खाने प्रयास गर्छ । हातमा लागेपछि गन्ध नहटिन्जेल घसिरहन्छ । र पुनः बालीमा नआउन सक्छ । राहत कोष खडा गरी यसको खाद्यान सुरक्षा गर्ने । सुगधिन्त जडिबुटी खेती गर्ने जस्तै– पहाडमा टिमुर र तराईमा क्यामोमाइल, मेन्था, लेमनग्रास । समुदायलाई हानि–नोक्सानीको प्रकृति हेरी राहत रकम उपलब्ध गराउने ।


दीर्घकालीन क्रियाकलापमा बाली बिमाको लागि सहयोग गर्न प्रेरित गर्ने । सामुदायिक वन लगायत सरकारी र निजी वनलाई बाँदरमैत्री वनमा रूपान्तरण गर्ने । बाँदरलाई मन नपर्ने बिरुवाको खेती प्रबर्द्धन गर्ने । बाँदर व्यवस्थापन सम्बन्धी दीर्घकालीन रणनीति बनाई कार्यान्वयन गर्ने ।


नेपालमा अहिलेसम्म बाँदरका क्रियाकलापले जति क्षति जैविक प्रकोपबाट पुगेको छैनन् । सर्वसाधारणलाई दैनिक जीवनयापन गर्न मुस्किल हुँदै गइरहेको छ । यसको स्थायी समाधान हुनसकेको छैन । स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले केही ठाऊँमा कार्यक्रम राखेर बजेट विनियोजन नै गरेका छन् । यस विषयलाई राज्यले एजेन्डा बनाएरै रणनीति अख्तियार गर्न जरुरी छ । बाँदर अतित्रमणको समाधान हेरालो र जुलुसले नभई नीति तथा ऐनले बोल्नुपर्ने देखिन्छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?