कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जंग, नेल्टा र अंग्रेजी

समय रेखा
अभि सुवेदी

काठमाडौँ — बेलायत भ्रमण सकेर सन् १८५१ मा नेपाल फर्केपछि जंगबहादुर राणा (१८१७–१८७७) लाई अंग्रेजी भाषा र बेलायतको मोहले उल्टो सांस्कृतिक झड्का वा ‘इन्भर्स कल्चरल शक’ भयो । ती अंग्रेजी जान्दैनथे, तर त्यो भाषाप्रति उनको अत्यन्त मोह थियो ।

जंग, नेल्टा र अंग्रेजी

जंगबहादुर इन युरोप (१९८३, २०१६) किताबमा मेरा बेलायती मित्र जोन ह्वेल्पटनले लेखेका छन्, ‘फ्रान्सको मार्से बन्दरगाहबाट जहाज चलेपछि जंगले युरोपलाई एक प्रकारले काव्यात्मक अलविदा लेखे । उनको भ्रमणलाई फेरि कहिल्यै नदोहोरिने सुखद सपना भने । तर जे भए पनि आफ्ना केही सन्तानलाई बेलायतमा आफूले शिक्षित गराउन चाहेको कुरा उनले व्यक्त गरे ।’ (पृष्ठ ९७) ।


त्यो शिक्षाको अन्तर्यमा अंग्रेजी थियो । यिनका छोरा पद्मजंग राणा अंग्रेजीमा लेख्ने लेखक भए । तिनको ‘लाइफ अफ महाराजा सर जंगबहादुर अफ नेपाल (१९०९)’ किताबको सायद नेपालीमा पनि अनुवाद भएको छ । जंगकी एउटी मइरा (?) नाम गरेकी नातिनीले अंग्रेजसँग बिहा गरेकी थिइन् । यिनको विषयमा जंगबहादुरका अध्येता जोन ह्वेल्पटनले बयान गरेका केही सम्झना छन् । तापसी भट्टाचार्यले नेपालमा अंग्रेजी शिक्षाको विगत र वर्तमानमाथि विद्यावारिधि गर्दा खोजीको क्रममा पनि अनेकौं चाखलाग्दा कुरा थाहा भएका छन् । म उनको सुपरभाइजर थिएँ ।


बेलायतमा अंग्रेजीमा बोल्न नसकेको चोट र अंग्रेजी भाषाको मोहले गर्दा जंगले बेलायतबाट दुईजना अंग्रेज शिक्षक ल्याएर सन् १८५३ मा आफ्नै दरबारमा पाठशाला खोले । त्यसमा राणा परिवारका केटाकेटी मात्र पढाइन्थे । पछिबाट केनिङ भन्ने अंग्रेज शिक्षक ल्याएर थापाथली दरबारमा नै अलिक व्यापक पाठशाला भनेर खोलियो । यसलाई दरबार स्कुल भनियो । सन् १८६७ देखि उच्च ओहदाका कर्मचारीका छोराछोरीलाई पनि यसमा भर्ना दिइयो ।


यस विषयमा भित्र नपसौं । तर यिनले थापाथली दरबारमा आफ्ना शाखा–सन्तानलाई अंग्रेजी पढाउने स्कुल खोल्नुको पछि अंग्रेजी मोह नै मुख्य कारण थियो । अंग्रेजीको शिक्षा यिनको निजी चिन्ता थियो, आम चिन्ता थिएन । अनेक ठाउँ घुम्दै पछि यो पाठशाला हालको दरबार स्कुलमा आइपुगेको थियो । छोटकरीमा भन्दा, नेपालमा अंग्रेजी शिक्षा अंग्रेजीको शक्तिवृत्तको रचनासँग जोडिएको छ । इतिहास लामो छ ।


यसको विषयमा यहाँ लेख्ने ठाउँ छैन । तर सरसर्ती हेर्दा अंग्रेजी माध्यम स्कुलमा पढ्ने र आम स्कुलमा पढ्नेको भेद छुट्याउने र त्यसमा क्लास वा वर्ग छुट्याउने चलन त्यही बेलादेखि आयो । जेजुइट स्कुलहरूले त्यस संस्कारलाई एउटा स्थिर चरित्र दिए । पछि आएर त्यो भंग हुँदै गयो । पिपलको रुखमुनि अनि भैंसीको ढाडमाथि बसेर अंग्रेजी पढेका क्रमशः जयराज अवस्थी र म त्यही अंग्रेजी अध्ययनको ‘क्लास बाइनरी’लाई विनिर्माण गर्ने वर्गमा पर्छौं । यो दुई जनाको मात्र उदाहरण होइन ।


अंग्रेजी त्यसरी नै पढ्नेहरूले नेपालमा यो भाषा पढाउने जिम्मा लिएको कथा हो । यसरी पढाउनेहरूको अंग्रेजी पठन–पाठनको एउटा सामर्थ्य छ । त्यो हो, विद्यार्थी आफ्ना भाषा र परिवेशमा सिर्जनशील हुन सक्छन् भन्ने कुरालाई तिनीहरूले अंग्रेजी भाषा शिक्षणको मूलमन्त्र बनाए । अंग्रेजी साहित्यमा आधारित अंग्रेजी शिक्षा पाठ्यक्रममा रह्यो ।


अंग्रेजी ग्रामर पढ्ने, अनुवाद गर्ने अनि साधारण रूपमा लेख्न सिकाउने अंग्रेजी शिक्षाको पद्धति बन्यो । त्यो लगभग आजभन्दा एकाध दशक अघिसम्म नै थियो र त्यसको धङधङे अहिले पनि छ । अंग्रेजी भाषा पढाउने पश्चिमी र यता अनेकौं सिद्धान्त निस्के र तिनका प्रयोग र असफलताका कथा नै नेपाली इएलटीको कथा हो ।


अझै इतिहासतिरैबाट एकाध कुरा निकालौं । नेपालमा अंग्रेजी सिर्जना र ज्ञानको निम्ति पनि प्रयोग हुने भाषा हो भन्ने मान्यता स्थापित हुँदै गयो । अहिले पनि छ । म त्यसमा विश्वास गर्ने मध्येको एक हुँ । २००७ सालमा राणाशासनको अन्त्यपछि अंग्रेजीलाई विश्वसँग परिचित हुने माध्यमको रूपमा पनि लिइयो ।


नेपाली कविता र तिनको अंग्रेजी अनुवाद पनि राखेर प्रकाशित हुने इन्द्रेणी साहित्यिक पत्रिकाको सन् १९५६ को अंकको १७४ पृष्ठमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन्, ‘अहिले अनुवाद अंग्रेजीमा गरिएको छ, किनभने यो भाषाको भारतमा व्यापक प्रयोग हुन्छ । खासगरी यो भाषाको प्रयोग डेकनमा अनि एसियाका विभिन्न भागमा र विश्वमा हुन्छ ।’ अंग्रेजीलाई सिर्जनात्मक कर्मको निम्ति एक विश्वव्यापी भाषाको रूपमा नेपालमा वरण गरिएको कुरा यसबाट बुझिन्छ ।


अंग्रेजी पठन–पाठन अनिवार्य भएकाले नेपालका स्कुलदेखि कलेजसम्म अंग्रेजी विषयको रूपमा पढाइ हुनु भनेको नेपालको शिक्षामा यसलाई सबभन्दा धेरै स्थान दिनु हो । अहिले व्यापक रूपमा अंग्रेजीको प्रचार र पढाइ हुन्छ, तर फेरि एकपटक ‘क्लास’ वा तलमाथि भन्ने गुण देखाउने अभ्यासमा अंग्रेजीको नाममा धेरै फिस असुल्ने नीति बन्दैछन् ।


पाठशालाहरूमा अंग्रेजी बोल्ने र नबोल्ने विद्यार्थी छुट्याउने गलत अभ्यास भइरहेका कुरा बाहिर आइरहेका छन् । त्यसले विद्यार्थीको सिर्जनात्मक सामर्थ्य समाप्त गर्ने निश्चित छ । मैले आफ्नो प्लेनरीमा यो कुरा उठाइआएको विषय हो । तर अहिले अंग्रेजी शिक्षा व्यापक भएको छ । हजारौं योग्य अंग्रेजी शिक्षकले देशैभरि अंग्रेजी पढाइ गरिआएका छन् ।


झन्डै २६ वर्षअघि अंग्रेजी शिक्षकको संघ नेल्टा खुलेपछि यो भाषाको पढाइलाई शिक्षाको एउटा सहयोगी माध्यमको रूपमा प्रजातान्त्रिक र सार्थक रूपमा प्रयोग गर्न थालिएको हो । नेल्टा अहिले दल र शासकका हौवाभन्दा अलग एउटा सबै अंग्रेजी शिक्षकको ‘सेलुलर’ संघ भएर आएको छ ।


यो विषय प्राध्यापन गरेको ४० वर्ष नाघे पनि यसको प्रयोग र पठन–पाठन कर्ममा झन् घनिभूत भएर लागेको थाहा पाएर आफैंलाई भन्छु, यही कर्म गर्दागर्दै जीवनका गतिला दशकहरू बितेछन् त ‘कान्छा’ । आमाको बोली हो । भन्नुभएको थियो, ‘तैंले अंग्रेजी नै पढ्नु, अंग्रेजको प्रभाव छ, राम्रो हुन्छ ।’ बिल यास्क्रफ्ट र साथीहरूले सम्पादन गरेको ‘औपनिवेशिक अध्ययन पाठ’ (पोस्टकोलोनियल रिडर, १९९५) र यिनै ३ जनाले तयार गरेको ‘साम्राज्यले लेखेरै प्रतिवाद गर्छ’ (द इम्पायर राइट्स ब्याक, १९८९) मा लेख्ने विद्वान र आमाको तर्क फरक देखिए पनि यिनका धेरै कुरामा साम्य छन् । अंग्रेजी छ । यसको प्रयोग बढ्दो छ ।


मार्च २ को दिन ७ सयभन्दा बढी सहभागी अंग्रेजी शिक्षकले भाग लिएको नेपाली अंग्रेजी शिक्षक संघ उर्फ नेल्टाको प्रदेश नम्बर ३ को हेटौंडामा भएको बृहत राष्ट्रिय सम्मेलनमा ‘कि–नोट’ सम्बोधन गर्न बोलाइएका म र प्राध्यापक जयराज अवस्थी अंग्रेजी पढाउने सिद्धान्त र प्रयोगबारे बोल्छौं । जयराज अवस्थी सर नेपालमा आधुनिक प्रयोग कालमा ल्याइएका पद्धति वा उत्तरवर्ती ‘मेथोड’बारे बोल्छन् ।


म अंग्रेजीको आमवृत्त फैलिएको विषयलाई हेबरमासको सिद्धान्तसँग जोडेर बोल्छु । अनि अंग्रेजीलाई एक महत्त्वपूर्ण ‘कन्ट्याक्ट जोन’को सिद्धान्तसँग जोडेर भन्छु, अहिले हामी उत्तरवर्ती वा ‘पोस्ट’ युगमा छौं । तर सबभन्दा महत्त्वपूर्ण कुरा अहिले अंग्रेजी शिक्षकले विद्यार्थीको मातृभाषाको सिर्जनशीलतालाई नबिगारी अंग्रेजी पढाउनु सबभन्दा प्रभावकारी हुन्छ भन्ने कुरा उदाहरणसहित प्रस्तुत गर्छु । अरू १० जना शिक्षक पनि अनेकौं विषयमा बोल्छन् ।


विद्वान शिक्षकहरू विष्णुसिंह राई, गंगाराम गौतम, हेमन्त दाहाल, हरि अधिकारी बाहेक सबैका प्रस्तुति सुन्न पाउँदैनौं । युरोप, जापान, भारत र बंगलादेशबाट पनि अंग्रेजी शिक्षक आएका छन् । सबैको चिन्ता सुन्छौं, अंग्रेजी कसरी राम्ररी पढाउने ? नेल्टाकी केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवानको प्रस्तुतिमा विश्वास, विचार र शालिनताको संगम बुझेर पुलकित हुन्छु । प्रदेश ३ को नेल्टाका शान्त र सौम्य गणेश हुमागाईं त्यो संगमले दिने जीवनको विषयमाथि बोल्छन् ।


नेल्टाको पृष्ठभूमिमा बसेर सधैं यसलाई ज्यान दिने सरिता देवान र मोतीकलासँगै हेमन्त दाहालको कारमा हेटौंडा पुग्छौं । हेमन्त त्यो अवधिभरि नै शान्त बोलीमा यो देशले भोगेका समस्याका प्रस्तुति गर्दै कार घुइँक्याउँछन् । देशको समस्या उनको बोलीमा उच्च हुँदै गएपछि मोतीकला डरले चालक हेमन्तलाई विषय बदल्नु भन्छिन् । यी हेमन्तले दुईपटक नेल्टाको अध्यक्ष हुँदा यो संस्थाको कायापलट गरे । नेल्टाको निम्ति अनुदान ल्याए, स्रोत जोडे, संगठन र कार्यविधिमा सुधार गरे, नेल्टाको महाराजगन्जमा घर बनाए ।


घर उद्घाटनको पूजामा बोलाएकाले गएँ । सेतो कछाडमा यी हेमन्त पूजा गरेर बसेका थिए । नेल्टाले यिनलाई सत्पात्र ब्राह्मण भनेर कर्ता बनाएको रहेछ । सोचेंँ, अहिले यी सत्पात्र ब्राह्मणले मापसे केही दिनलाई बिसाएका होलान् । नेल्टाको कथा सुन्दा र भाग लिँंदा लाग्छ, यो एक सिर्जनशील, कर्मशील र सहकर्मका सिद्धान्तले प्रेरित मानिसहरूको संघ हो । मेरा विद्यार्थीहरू यसमा धेरै भएकाले म यिनीहरूसँग पुग्दा सधैं पुलकित हुन्छु ।


नेपालमा अहिले शिक्षाको सबैभन्दा ठूलो चुनौती भनेको एक विश्वासिलो आधारको रचना गर्नु हो । अंग्रेजी भाषालाई त्यस्तो आधारको रूपमा लिन सकिने बलिया प्रमाण छन् ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?