कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थरीथरीका गुराँस

कमल मादेन

काठमाडौँ — गुराँसका प्रजातिहरू फागुनदेखि जेठसम्म फुल्छन् । यसबीच पत्रपत्रिकामा अक्सर गुराँसबारे समाचार आइरहन्छन् । त्यसमा नेपालमा पाइएको गुराँस प्रजातिको संख्या उल्लेख हुन्छ । पर्या–पर्यटनका निम्ति गुराँस प्रजातिको विविधताले छुट्टै महत्त्व राख्छ । सरकारले यो वर्ष गुराँस सम्बन्धी दुई पुस्तक सार्वजनिक गरेको छ ।

थरीथरीका गुराँस

असोजमा लोकार्पण भएको ‘कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू’ पुस्तकमा नेपालमा पाइएका ३३ गुराँस प्रजातिबारे सचित्र बयान छ । यसैगरीे माघमा ‘गुराँस संरक्षण कार्ययोजना’ (२०७५–२०८०) पुस्तकले नेपालमा कम्तीमा ३१ प्रजातिका गुराँस पाइन्छ भन्छ ।


डब्लुडब्लुएफ नेपालसँग सहकार्य गरी प्रकाशित पछिल्लो पुस्तकमा नेपालमा पाइने धेरैजसो गुराँस प्रजातिका आकर्षक तस्बीर

छन् । उक्त पुस्तकमा उल्लिखित ३१ प्रजातिमध्ये नेपालमा नपाइने रोडोडेन्ड्रन इपेपिलाटम पनि समावेश छ (पृष्ठ २३) । यो गुराँस प्रजाति चीन, उत्तरपूर्वी भारत, भूटान र म्यान्मारमा मात्र पाइन्छ । यस्तै प्रचलनमा नरहेको एक अर्को प्रजातिको नाम रोडोडेन्ड्रन हेफ्टी लेखिएको छ । रोडोडेन्ड्रन वालिचीको पुरानो नाम रोडोडेन्ड्रन हेफ्टी हो । नेपालका गुराँस सम्बन्धी पुस्तक तथा लेखहरूमा यसअघि मैले कसैले पनि रोडोडेन्ड्रन हेफ्टी लेखेको पाएको छैन । कुनै विषयमा लेखिएको


पछिल्लो प्रकाशनमा समावेश तथ्यांकलाई सही मान्नुपर्ने हुन्छ । सरकारले गुराँस सम्बन्धी प्रकाशन गरेको पछिल्लो पुस्तकको तथ्यांकले गुराँस जिज्ञासु र अध्ययन–अनुसन्धान गर्नेलाई दिग्भ्रमित तुल्याउँछ ।


तथ्यांक नालीबेली

सन् २००० मा प्रकाशित जेआर प्रेस, केके श्रेष्ठ र डीए सुटन लिखित नेपालको वनस्पति सम्बन्धी एक पुस्तकमा रोडोडेन्ड्रन इपेपिलाटमसहित नेपालमा ३० गुराँस प्रजाति पाइने तथ्यांक छ । वनस्पति विभागले सन् २००५ मा ‘रोडोडेन्ड्रन्स अफ नेपाल’ शीर्षक एक पुस्तक प्रकाशन गर्‍यो ।


केशवराज राजभण्डारी र मार्क एफ वाटसन लिखित उक्त पुस्तकमा रोडोडेन्ड्रन इपेपिलाटम नेपालको गुराँसको सूचीबाट हटाइएको जानकारीसहित अन्य ३१ गुराँस प्रजातिको नालीबेली छ । पुस्तकमा नेपाल लगायत विश्वको विभिन्न संग्रहालयमा नेपालको गुराँस नमुना संग्रह गरिएको आधारमा लेखिएको बुझिन्छ ।


‘क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्ट्स भाग ३’ (सन् २०१२) पुस्तक राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशालाले प्रकाशन गर्‍यो । केशवराज राजभण्डारी, खेमराज भट्टराई र सुशिमरञ्जन बराल लिखित उक्त पुस्तकमा हाम्रो राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशाला गोदावरी ललितपुरमा ३१ गुराँस प्रजातिका सयौं नमुना संग्रहित छन् भन्ने जानकारी छ । पुस्तकमा नेपालमा पाइने तर राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा संग्रह नभएको रोडोडेन्ड्रन्स पेन्डुलम समावेश छैन । यसको नमुना बेलायत तथा जापानमा मात्र संग्रहित छ ।


वनस्पति विभागले सन् २०१७ मा ‘फ्लावरिङ प्लान्ट्स अफ नेपाल : एन इन्ट्रोडक्सन’ शीर्षक पुस्तक प्रकाशन गर्‍यो । केशवराज राजभण्डारी र सञ्जीवकुमार राई लिखित उक्त पुस्तकमा गुराँसको एक अर्को प्रजाति रोडोडेन्ड्रन हाइपेनान्थम थपिएको छ । पश्चिम, मध्य तथा पूर्वी नेपालको खुम्बु क्षेत्रमा रोडोडेन्ड्रन एन्थोपोगन उप–प्रजाति हाइपेनान्थम पाइन्थ्यो ।


यो उप–प्रजातिलाई नै एक छुट्टै प्रजाति रोडोडेन्ड्रन हाइपेनान्थम मानिएको हो । यसैगरी चीनका गुराँस विज्ञले ‘कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू’ पुस्तकमा सूचीकृत ३३ प्रजाति बाहेक एक अर्को रोडोडेन्ड्रन मेकोन्गेन्स पनि नेपालमा छ भन्ने जानकारी ‘फ्लोरा अफ चाइना’ (भोलम १४ पृष्ठ ३२०) मा छ ।


भरतकुमार प्रधान लिखित ‘अ नोट अन रोडोडेन्ड्रन मेकोन्गेन्स : अ न्यु स्पेसी रेकर्ड फ्रम सिक्किम हिमालय, इन्डिया’ (सन् २०१४) शीर्षक लेखमा पनि नेपालमा रोडोडेन्ड्रन मेकोन्गेन्स पाइन्छ भन्ने प्रसंग छ । माथिका विवरण आधारमा नेपालमा ३३ होइन, ३४ गुराँस प्रजाति छ भन्नु उपयुक्त हुन्छ । तर गुराँस सम्बन्धी कुनै पनि किताबमा नेपालमा ३४ प्रजाति छ भनिएको छैन । संखुवासभास्थित वरुण उपत्यका र डार्जिलिङ, सिक्किम जोडिएका भूभागमा गुराँस खोज अनुसन्धान गर्ने हो भने गुराँसका थप आधा दर्जनजति प्रजाति थपिन सक्छ ।


टिएमजेमा २५ प्रजाति

तिनजुरे–मिल्के–जलजले (टिएमजे) गुराँस प्रजाति प्रचुर मात्रामा पाइने क्षेत्र हो । यो क्षेत्र तेह्रथुम (लालीगुराँस, म्याङलुङ, मेन्छायाम), संखुवासभा (धर्मदेवी, मादी, चैनपुर, पाँचखपन, सभापोखरी) र ताप्लेजुङ (मैवाखोला र मिरिङदेन) मा पर्छ । आईयुसीएन नेपालले त्यस क्षेत्रमा गुराँस के कति प्रजाति छ र तिनका अवस्था कस्तो छ भन्ने अध्ययन सन् २००३–०४ मा गराएको थियो ।


त्यो अध्ययनमा म, हेमचन्द्र भण्डारी र विकास कार्की संलग्न थियौं । त्यसयता तिनजुरे–मिल्के–जलजले क्षेत्रमा गरिएका कैयन स्थलगत अध्ययन तथा प्रकाशित पुस्तक, लेखहरू अनुसार उक्त क्षेत्रमा नेपालमा पाइने ३४ मध्ये ९ प्रजाति ः रोडोडेन्ड्रन कोवानियनम, रोडोडेन्ड्रन लानाटम, रोडोडेन्ड्रन हुकेरी, रोडोडेन्ड्रन ल्वोन्डेसी, रोडोडेन्ड्रन मेकोन्गेन्स, रोडोडेन्ड्रन निभाले, रोडोडेन्ड्रन पेन्डुलम, रोडोडेन्ड्रन पुमिलम, रोडोडेन्ड्रन ट्राइकोक्लाडम फेला परेको देखिन्न ।


यस आधारमा तिनजुरे–मिल्के–जलजले क्षेत्रमा २५ गुराँस प्रजातिमात्र पाइन्छ भन्नु उपयुक्त हुन्छ । तर पत्रपत्रिकामा टिएमजे क्षेत्रमा २८ गुराँस प्रजाति पाइन्छ भन्ने जानकारी बारम्बार आइरहेको छ । जुन अहिलेसम्मको तथ्यांकको आधारमा सत्य होइन । यसको अर्थ भोलिका दिन त्यहाँ थप गुराँस प्रजाति भेटिन्न भन्नेचाहिँ होइन ।


अन्य गुराँस

रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन ल्वोन्डेसी नेपालमा पाइने रैथाने गुराँस हुन् । यी दुई प्रजाति पश्चिम तथा मध्य हिमाली जिल्लामा कतैकतै पाइन्छ । बोट ज्यादै सानो भएकाले यी प्रजातिलाई स्थानीय बासिन्दाले गुराँस भनेर चिन्दैनन् । अघिल्लोको पात तथा फूल भाले सुनापाते (रोडोडेन्ड्रन लेपिडोटम) जस्तै र बोट २ मिटरसम्म अग्लो हुन्छ । पछिल्लोको बोट त अझ सानो जमिनभन्दा माथि अक्सर २,४ इन्च अग्लोमात्र हुन्छ । मैले पहिलोपटक म्याग्दी जिल्ला अन्तर्गत अन्नपूर्ण बेसक्याम्प नजिक गत असारमा रोडोडेन्ड्रन ल्वोन्डेसी फुलेकै अवस्थामा देखेँ । यो प्रजाति सन् १९५२ मा पत्ता लागेको हो ।


टिएमजेभन्दा बाहिर अरुण उपत्यका अन्तर्गत नुमभन्दा उत्तरतर्फको टासी गाउँ नजिकबाट रोडोडेन्डन हुकेरी र रोडोडेन्ड्रन ट्राइकोक्लाडम संकलन भएको देखिन्छ । रोडोडेन्ड्रन प्युमिलम अरुण र वरुण उपत्यकामै पाइन्छ । रोडोडेन्ड्रन पेन्डुलम तमर उपत्यकाको तोप्के गोला, पापुङ तथा कञ्चनजंगा र याम्फुदिनबाट संकलन भएको जानकारी छापिएका छन् । रोडोडेन्ड्रन लानाटम पाँचथर जिल्ला अन्तर्गत ठूलो भञ्ज्याङ, फेदुङ डाँडाबाट मात्र एकपटक संकलन भएको तथ्यांक छ । रोडोडेन्ड्रन निभाले पश्चिम, मध्य तथा पूर्वी नेपालको सगरमाथा क्षेत्रबाट संकलन भएको छ ।


रोडोडेन्ड्रन मेकोन्गेन्स नेपालको ३४ औं गुराँस प्रजाति हो । यो प्रजाति नेपालको कुन भागबाट कसले संकलन गरेको थियो भन्ने जानकारी छैन । सम्भवतः यो प्रजाति जापानका वनस्पति विज्ञबाट नेपाल तथा सिक्किम सीमा क्षेत्रबाट संकलन भएको हुनुपर्छ । जापानी वनस्पति विज्ञ समूहले नेपाल र सिक्किम सिमानामा वनस्पति संकलन गरेको छ ।


भरतकुमार प्रधानले कञ्चनजंगा संरक्षण क्षेत्रभन्दा पूर्वतर्फको युम्थाङ उपत्यकामा रोडोडेन्ड्रन मेकोन्गेन्स संकलन गरेको उल्लेख गरेका छन् । गुगल अर्थ इक्स्पलोर्र अनुसार हाम्रो सिमानाबाट युम्थाङ उपत्यकामा करिब ५० किलोमिटर हवाई दूरी टाढा छ । भौगोलिक बनावटको आधारमा सिक्किमको युम्थाङ, लाचुङ, लाचेन उपत्यकाबाट नेपालसम्म रोडोडेन्ड्रन मेकोन्गेन्स फैलिन सक्ने आधार देखिन्छ ।


प्रकाशित पुस्तक तथा लेखहरू अनुसार नेपालमा पाइने रोडोडेन्ड्रन पेन्डुलम र रोडोडेन्ड्रन मेकोन्गेन्सको नमुना राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा संग्रह छैन । माथि उल्लेखित यस वर्ष प्रकाशित गुराँस सम्बन्धी २ सामग्रीमा रोडोडेन्ड्रन कोवानियनम, ट्राइकोक्लाडम हुकेरी, रोडोडेन्ड्रन लानाटम, रोडोडेन्ड्रन मेकोन्गेन्स, रोडोडेन्ड्रन पेन्डुलम, रोडोडेन्ड्रन प्युमिलम, रोडोडेन्ड्रन ट्राइकोक्लाडमका तस्बीर गैरनेपालीले खिचेका समावेश छन् ।


विद्युतीय सञ्जालमा उपलब्ध जानकारी अनुसार ती तस्बीरहरू देश बाहिर खिचेको बुझिन्छ । दुवै पुस्तकमा समावेश रोडोडेन्ड्रन कोवानियनमको तस्बीर स्कटल्यान्डस्थित अर्डुआइन गार्डेनमा खिचिएको हो । हामीकहाँ यो रैथाने प्रजातिको एउटै तस्बीर छैन । बेलायतमा प्रशस्त मात्रामा रोपिएका छन् । अर्डुआइन गार्डेनमा संसारभरका करिब ४ सय गुराँस प्रजाति लगाइएका छन् । प्रवेश शुल्क दर ५ पाउन्ड तोकिएको छ ।


अहिलेसम्म प्रकाशित तथ्य र तथ्यांक अनुसार नेपालमा पाइने गुराँसको सबै प्रजातिका नमुना र तिनका तस्बीर हामीकहाँ उपलब्ध छैन । यसले हाम्रा तर्फबाट गुराँसबारे अध्ययन, अनुसन्धान कम भएको संकेत गर्छ । ‘गुराँस संरक्षण कार्ययोजना’ (२०७५–२०८०) पुस्तकमा माथि उल्लिखित गुराँस सम्बन्धी कुनै सन्दर्भ सामग्रीको चर्चा छैन । तर ‘कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू’ शीर्षक पुस्तकमा छापिएका केही तस्बीर त्यो पुस्तकमा पनि परेका छन् ।


‘गुराँस संरक्षण कार्ययोजना’ (२०७५–२०८०) को लेखक गणले नेपालको गुराँस सम्बन्धी पूर्वप्रकाशित कृतिहरू कतै चर्चा किन गरिएन भन्ने प्रश्नको उत्तर दिनैपर्छ । यद्यपि यो ‘गुराँस संरक्षण कार्ययोजना’ (२०७५–२०८०) को उद्देश्य सराहनीय छ । २० कडोड रुपैयाँ लागत अनुमान गरिएको यो कार्ययोजना कार्यान्वयनबाट हाम्रा ४३ जिल्लाको गुराँसे वनजंगलको समुचित संरक्षणमा अवश्य सघाउ पुग्नेछ ।

प्रकाशित : चैत्र २, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?