असल संस्कार, असल नागरिक

आफ्नै परिवेश
झमक घिमिरे

काठमाडौँ — हाम्रो संस्कारगत सोच चिन्तनमा छोरीले कमाएको, गरेको आर्जनमा बाबुआमा बाँच्न हुँदैन, अर्को जुनीमा त्यो भार तिर्नुपर्छ अर्थात् चुक्ता गर्नुपर्छ भन्ने परम्परागत सोच, चिन्तन बोकेका मानिसहरू अहिले पनि समाजमा धेरै भेटिन्छन् । आखिर उस्तै पीडा, उस्तै दर्द खेपेर हुर्काएका, बढाएका हुन्छन्, बाबुआमाले । उस्तै त्याग, समर्पण हुन्छ भने किन छोरीहरूको आर्जनमा बाँच्न नहुने बाबुआमाहरू ?

यो पंक्तिकारको दिमागमा यो प्रश्न ठिंग्ग उभिन्छ । यो संस्कारगत परम्परा विरुद्ध यही पंक्तिकारले निकै पहिला नै धावा व्यवहारले बोलिसकेकी छे । अहिलेको समयमा छोराहरूको मात्र आय आर्जनमा बाँच्छु भन्ने अभिभावकहरूको सोच, चिन्तनमा विस्तारै परिवर्तन आउँदैछ ।

यो सकारात्मक पक्ष हो । अहिले वंश धान्ने र अंश खाने छोरै हुनुपर्छ भन्ने मान्यताको कानुनी रूपमै अन्त्य भएको अवस्था छ । अहिलेको नीति–नियम अनुसार छोराजतिकै छोरीले पनि समान हिस्सा अर्थात समान अंशियार बन्न पाउने व्यवस्था हुँदाहुँदै पनि छोराकै मोहले अझै मान्छेलाई छोडेको छैन । सन्तान होइन, दुनियाँलाई छोरा चाहिन्छ । अधिकांश मान्छेले छोरी होइन, छोरा जन्माउन चाहन्छन् । किनभने छोरा भए सधैं आफूसँगै रहन्छ, बुढेसकालको सहाराका रूपमा हाम्रो समाजले परिभाषित गरेको छ । त्यही मानसिकताले ग्रस्त छ, यहाँको समाज । यो मानसिकता यहाँमात्र होइन, संसारभरि कुनै न कुनै रूपमा जीवित छ ।

अहिले पनि महिलाहरू जति शिक्षित हुन्, अधिकांश पुरुषको कठपुतलीको रूपमा सञ्चालित छन् । यहाँसम्म कि आफूलाई मनपर्ने खानेकुरा पनि श्रीमानको आदेशविना किन्न सक्दैनन् । महिला आफ्नो खुसी र इच्छामा चल्न कमैले पाउँछन् । आफ्नो शारीरमाथि पनि आफ्नो खुसी हुँदैन, पुरुष या श्रीमानकै खुसीमा चल्छ । हुन त यसप्रति सचेत महिला छँदैछैनन् भन्ने होइन ।

तर अधिकांश महिलाको स्वतन्त्रता भनेको पुरुषको दायराभित्र खुम्चिएर रहेको छ । त्यसैले पनि उहिलेका धूर्त पुरुषहरूले महिलाको स्वतन्त्रताप्रति धावा बोलेर आफ्नो इच्छामा चल्ने मानव मिसिनको रूपमा परिणत गरे । यिनीहरूले महिलालाई सामाजिक, सांस्कृतिक रूपले तल्लो दर्जामा पुर्‍याए ।

छोरीहरूले आफ्नो जन्म र कर्म दिने बाबुआमाहरूको अन्तिम संस्कार गर्न नहुने संस्कार बनाए । छोरीहरूले बाबुआमाहरूको काजकिरिया गरे दिवंगत आत्माले शान्ति पाउँदैन, परलोकमा पनि उनीहरूले शान्ति पाउँदैनन् भन्ने संस्कार, चिन्तन बनाइदिए । यस्तो सोच, चिन्तन विरुद्ध आज निकै छोरीहरूले धावा बोल्नुमात्र होइन, आफ्ना बाबुआमाको अन्तिम संस्कार गरेका छन् ।

डा. उपेन्द्र देवकोटाका छोरीहरूले आफ्ना दिवंगत पिताको लासलाई काँधमात्र हालेनन्, आफ्ना पिताको लासमाथि दागबत्ती दिए, काजकिरिया पनि गरे । अन्तिम कर्म पनि गरे । के डा. देवकोटाले शान्ति पाएनन् ? यी बाबुआमाको अन्तिम संस्कार छोराले नै गर्नुपर्छ भन्ने मानसिकता बोकेकाहरूलाई प्रश्न छ, के छोरा नहुने सबै मरेर नर्क गएका छन् ?

त्यसो त हालै निधन भएका नेता भारतमोहन अधिकारीका छोरीहरूले पनि आफ्ना पिताको अन्तिम संस्कार गरे । उनीहरूले आफू सन्तान हुनुको जिम्मेवारीमात्र पूरा गरेनन्, आफ्ना बाबुआमाप्रति सबै भूमिका पूरा गरेका छन् । बाबुआमाहरूको लागि छोरा नै जन्माउनुपर्छ, हेरचाहकोलागि सधैं आफ्नै वरिपरि बस्छन् भन्ने मान्यतामा परिवर्तन आउँदैछ । यो एकदमै सकारात्मक पक्ष हो ।
अहिलेका छोरीहरूमा जे गर्न पनि तयार छु भन्ने धारणाको विकास हुनु जरुरी छ ।

बाबुआमाहरूमा पनि छोरो भनेको त कुलको दीपक हो, नभई त कहाँ हुन्छ भन्ने भावनामा परिवर्तन हुनु आवश्यक छ । किनभने अब समाज र समयमा असल सन्तानको जरुरत छ । छोरा होस् या छोरी सानैदेखि विना भेदभाव असल संस्कार र शिक्षा दिएर हुर्काउन सक्यो भने उसले परिवारको जिम्मेवारीमात्र होइन, राष्ट्रकै जिम्मेवारी बोक्न सक्छ ।

प्रकाशित : चैत्र २, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

मानवता हराएको मान्छे

आफ्नै परिवेश
मानसिक सन्तुलन गुमाएको व्यक्तिले कुटाइ खाइरहँदा हाम्रा मुख किन बन्द ?
झमक घिमिरे

काठमाडौँ — मेरो आँखामा नाचिरहेको छ एउटा दृश्य । टेलिभिजनको पर्दामा एउटा निर्दोष मानसिक असन्तुलित मानिसलाई बर्दीधारी प्रहरीले निर्मम कुटिरहेको छ । निर्ममसँग कुटिएको मानिस जोगिन यता र उता, घर–पसल भएतिर भाग्न खोजिरहेको थियो ।

तर उसलाई अनाहकमा कुटाइ खानबाट बचाउन त परै जाओस्, उल्टो उसलाई कठालोमा समातेर कुट्दै प्रहरी भएतिरै धकेलिदिँंदै थिए, त्यहाँका मान्छे ।


लोकतन्त्र, गणतन्त्रको दुहाइ दिनेहरूको मनभित्र अलिकति पनि मानवता छैन । हाम्रा मनमा अलिकति दयामायाको भाव छैन ? मानसिक सन्तुलन गुमाएको मानिसले आफ्नो आँखा अगाडि निर्ममसँग कुटाइ खाइरहँदा पनि हाम्रा मुखहरू किन बन्द छन् ? अनि सरकार शिक्षा, स्वास्थ्य, घरबासको अधिकारलाई नैसर्गिक अर्थात् प्रत्येक व्यक्तिको मौलिक अधिकारभित्र पार्ने अनि उपचार आवश्यक भएको नागरिकलाई निर्मतासँग कुट्ने प्रहरीलाई कारबाहीको कठघरामा उभ्याउने कि नउभ्याउने ?


मानव अधिकार र स्वतन्त्रताको सम्मान गर्ने सरकारले बनाएको कानुन विपरीतका क्रियाकलाप हुँदा र पटक–पटक मानव अधिकारको हननका घटना घट्दा पनि आफ्ना संयन्त्रका दोषीलाई कारबाही नगर्नुले अपराध गर्नेहरूको मनोबल बढेको देखिन्छ । त्यसो त वर्षौंदेखि आफ्नो छोराको हत्यारालाई सजायको माग गर्दै अनशन बसिरहेकी गंगामाया अधिकारीले न्याय अझै पाएकी छैनन् । उल्टो उनले पति नन्दप्रसाद अधिकारीलाई अनशनकै क्रममा गुमाइन् ।


पटक–पटक शासन व्यवस्था फेरिए पनि न्याय पाउन नसकेका नागरिक हाम्रा वरिपरि धेरै छन् । हिजोको द्वन्द्वरत अवस्थामा जे–जे भयो, भयो भनेर वास्तविक दोषीहरूलाई न्यायिक छानबिन गर्नबाट बचाएर राख्न हुँदैन । हिजो सरकारमा रहेकाहरूले पनि गलत काम गरेका छन्, दोषको भागिदार हुनैपर्छ । दोषीहरूले सजाय भोग्नैपर्छ । अनि मात्र गंगामायाहरू जस्ता पात्रले न्यायको अनुभूति गर्न पाउनेछन् । सरकार कुनै पनि दोषीलाई सजाय दिन सफल भएको हेर्न चाहन्छन्, नेपाली जनता ।


प्रहरी प्रशासन भनेको जनतासँग सिधै जोडिएको निकाय हो । यो निकायका मान्छे सुरक्षाको सवालमा विशेष संवेदनशील भएनन् भने आम जनतामा आक्रोश, निराशा, छटपटी बढ्छ । यसले सरकारप्रति असन्तुष्टि जन्माउँछ । त्यसैले सरकार बेलैमा नागरिकको सुरक्षाको सवालमा गम्भीर बनोस् । जनताको शान्ति सुरक्षामा खटिएको निकायका मान्छे नै संवेदनहीन बनेपछि जनताले सुरक्षा संयन्त्रप्रति कसरी विश्वास गर्ने ?


केही समय अगाडि सुनसरीमा एक शिक्षकको हत्या भयो । भारतीय सुटर आएर उनीमाथि गोली वर्षाएर फरार भए । भारतीय अपराधीहरू सजिलै नेपाल पसेर नेपाली निर्दाेष नागरिकको हत्या गरेर भाग्न मिल्ने कस्तो फितलो हाम्रो नाका ?


भारतीय नागरिक जतिबेला मन लाग्यो, त्यतिबेला नेपाली भूमिमा पसेर यहाँ नृशंस ताण्डव मच्चाएर भाग्न भ्याउँदा नेपाल प्रहरी प्रशासन ट्वाल्ल परेर तमासा हेरिरहन्छ । नेपाल सरकारले यस्ता आपराधिक घटना हुन नदिन विशेष सतर्कता अपनाउनुपर्छ ताकि आफ्ना नागरिक सुरक्षित हुन् । सरकार, प्रहरी प्रशासन, मानव अधिकारको सन्दर्भमा सचेत र संवेदनशील बन्न अत्यन्तै आवश्यक छ ।


प्रकाशित : आश्विन १०, २०७५ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्