अब जाम हुँदैन

सिउँडी
विमल निभा

काठमाडौँ — म कडा जाममा परेको छु ।महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनार्थ महामहिम राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको राजकीय सवारी हुने भएको छ । त्यसैले यहाँदेखि त्यहाँसम्मका पुरै सडक जाम गराइएको छ । यसका साथै सम्माननीय प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली पनि यही मार्ग भएर सवारी हुने भएका छन् क्यारे ! एक प्रकारले दोहोरो जामको विकट स्थिति छ ।

(यस्तै लागिरहेको छ, मलाई) । निकै समयदेखि बलात् रोकिएकाहरू सरकारी रवैयाप्रति क्रुद्ध रूपले अभिव्यक्त भइरहेका छन् । वातावरण तनावपूर्ण छ । एक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उग्र (त्यसरी नै भन्नोस्) समर्थक भएको नाताले यो मलाई पटक्कै निको लागिरहेको छैन । यद्यपि म पनि जाममै अड्किएको छु । जे होस्, सरकार आफ्नै प्रिय पार्टीको हो । यसर्थ आइन्दा यस्तो अप्रिय स्थितिको सिर्जना नहोस् भनेर मेरो सरकारी नेता कमरेडहरूलाईएकाध विनम्र सुझाव ।

Citizen

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई अत्यधिक मत प्रदान गरेर सरकारमा पठाउने नेपाली जनता हुन् । र यही जनतालाई कुनै पनि प्रकारले सकसमा पार्नु के बढिया हुन्छ ? चाहे त्यो यस्तो जाम–साम नै किन नहोस् ! (म पनि झन्डै पैँतालिस मिनेट भइसकेकोले आत्तिइसकेको छु, अब ता) । यस सन्दर्भमा मेरो पहिलो ठोस सुझाव के हो भने जम्मै कच्ची (अथवा पक्की पनि) सडक जनता–जनार्दनलाई नै एकलौटी रूपमा छाडिदिनु उम्दा हुनेछ । र आफ्नालागि भने सरकारी नेता कमरेडहरूले अलग्गै सडकको व्यवस्था गरे के हुन्छ ? यस्तो विशेष प्रचलन नभएको पनि होइन ।

उदाहरणका निम्ति अरबी मुलुकहरूलाई लिनोस् । तिनीहरूकहाँ शासक शेख–सामन्तहरूलाई भनेर छुट्टै आवागमनको शानदार प्रबन्ध गरिएको छ । तिनीहरू समानान्तर सडकमा आआफ्ना लेटेस्ट मोडलका सवारी साधनमा बेसरी हुइँकिन्छन् । (यहाँ बाहिरीलाई भने पूर्णतया निषेध) । यता नेपालमा पनि यस्तै भव्य खाले बन्दोबस्त गरे केही अशुभ हुने छैन । अपितुआफ्नैलागि निर्मित चिल्लो एवं सिमेन्टेड सडकमा सरर गुडेर हाम्रा महामहिम सम्माननीय र माननीयहरूले संसारकै धनधान्यले सम्पन्न शेख–सामन्तहरूका मद्य गौरव प्राप्त गर्नेछन् । र यसले थप लाभ के पनि हुनेछ भने सडक जाम नहुने परिस्थितिको सहज निर्माण भएर नेपाली जनता पनि आत्मैदेखि दंगदास हुनेछन् । अब नेता र जनता, दुवैथरी यसरी खुसी भए, अरु के चाहियो त ?

मेरो दोस्रो सुझाव के हो भने हाम्रा आदरणीय सरकारी नेता कमरेडहरूले यस प्रकारको भूमिमोह नगरेकै उपयुक्त हो । यस्तो भूमि–सुमिको क्षुद्र लालसा परित्याग गरेर सरासरी हवाइमार्ग अवलम्बन गरेमा के अन्यथा हुनेछ ? मेरो विचारमा त यही शत–प्रतिशत उचित हुन्छ । यसको स्वाभाविक परिणामस्वरुप तमाम जनता तल भूमिमै रहिरहन अभिशप्त हुनेछन् र नेताहरूचाहिंँ माथि–माथि आकाशमा । यही सर्वोच्च नेता–कमरेडहरूका सही स्थान होइन र ? वास्तवमा जनता र नेताहरूका मौलिक भेद पनि यहींबाट सुरु हुन्छ । यसो ता हाम्रा सरकारी नेता कमरेडहरूलाई विलकुलै भूमिमोह नभएको भन्ने पनि होइन ।

पहिले यिनीहरू कहाँ रहने गर्थे ? एक पटक याद गर्नोस्, भूमिगत रूपमा होइन र ? तर अहिले समय पूर्णतः परिवर्तित भएको छ । र अब पनि त्यही भूमिमा चपक्क टाँसिएर रहिरहनुको कुनै अर्थ छैन । त्यसकारण हाम्रो सरकारी नेता कमरेडहरूले भूमिगत नभएर समग्रतामै आकाशगत अर्थात आकाश मार्गको यात्री हुनुपर्छ भन्ने मेरो निजी आग्रह हो । कृपया स्वीकार्य होस् । (यसले बेलाबखत भइरहने सडक जामको अन्त्य हुनु निश्चितप्रायः छ) ।

मेरो सुझाव नम्बर तीन वर्तमान सरकार सफलतापूर्वक हाँकिरहेका सम्माननीय प्रधानमन्त्रीखड्गप्रसाद शर्मा ओलीसँग सोझै सम्बन्धित छ । उनी सरकार प्रमुखको गद्दीमा आसीन भएदेखि निरन्तर पानीजहाजको सर्वथा नवीन प्रसंग झिकिरहेका छन् । यही सिलसिलामा विधिवत् ‘पानीजहाज कार्यालय’को पनि स्थापना भइसकेको छ । तसर्थ जहिले पनि जाम–साम भइरहने मुला अलकत्रे सडकलाई चटक्कै छाडेर सम्माननीय प्रधानमन्त्री कमरेड ओलीले पानीजहाजमै यात्राको शुभारम्भ गरे कसो होला ?

यहाँ एउटा जब्बर प्रश्न उत्पन्न हुनसक्छ, पानीजहाजका लागि मनग्ये पानीको आवश्यकता हुन्छ । अर्थात् हामीसँग कुनै समुद्र खोइ ? तर यसले केही खास फरक पर्ने छैन । अहिले कमरेड खड्गप्रसाद शर्मा ओलीको प्रधानमन्क्रीत्वमा सशत्त सरकार रहेको छ । के दुई तिहाइ हैसियतको सरकारले हामीकहाँ थोरबहुत समुद्र झिकाउन सक्दैन ? यो कमरेड प्रधानमन्त्री ओलीका लागि कुनै गारो–सारो कार्य होइन । यो एकदमै सम्भव छ । यसरी आयातित समुद्र मार्गबाट हाम्रा महामहिम, सम्माननीय र माननीयहरूले पानीजहाजमा सवार भएर यात्रारम्भ गरेमा बराबर भइरहने सडक जामको स्वतःनिर्मूलन हुनेछ ।

यस सम्बन्धमा मसँग अन्य मन्त्रणा (हाललाई मनमनै भए पनि) नभएको होइन । तर महामहिम राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको राजकीय सवारी सुसम्पन्न भएर सडक पुरै खाली भएकोले म पनि आफ्नो बाटो लाग्छु । अरु राय–सल्लाह कुनै अर्को बखत !

प्रकाशित : चैत्र २, २०७५ ०८:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

असल संस्कार, असल नागरिक

आफ्नै परिवेश
झमक घिमिरे

काठमाडौँ — हाम्रो संस्कारगत सोच चिन्तनमा छोरीले कमाएको, गरेको आर्जनमा बाबुआमा बाँच्न हुँदैन, अर्को जुनीमा त्यो भार तिर्नुपर्छ अर्थात् चुक्ता गर्नुपर्छ भन्ने परम्परागत सोच, चिन्तन बोकेका मानिसहरू अहिले पनि समाजमा धेरै भेटिन्छन् । आखिर उस्तै पीडा, उस्तै दर्द खेपेर हुर्काएका, बढाएका हुन्छन्, बाबुआमाले । उस्तै त्याग, समर्पण हुन्छ भने किन छोरीहरूको आर्जनमा बाँच्न नहुने बाबुआमाहरू ?

यो पंक्तिकारको दिमागमा यो प्रश्न ठिंग्ग उभिन्छ । यो संस्कारगत परम्परा विरुद्ध यही पंक्तिकारले निकै पहिला नै धावा व्यवहारले बोलिसकेकी छे । अहिलेको समयमा छोराहरूको मात्र आय आर्जनमा बाँच्छु भन्ने अभिभावकहरूको सोच, चिन्तनमा विस्तारै परिवर्तन आउँदैछ ।

यो सकारात्मक पक्ष हो । अहिले वंश धान्ने र अंश खाने छोरै हुनुपर्छ भन्ने मान्यताको कानुनी रूपमै अन्त्य भएको अवस्था छ । अहिलेको नीति–नियम अनुसार छोराजतिकै छोरीले पनि समान हिस्सा अर्थात समान अंशियार बन्न पाउने व्यवस्था हुँदाहुँदै पनि छोराकै मोहले अझै मान्छेलाई छोडेको छैन । सन्तान होइन, दुनियाँलाई छोरा चाहिन्छ । अधिकांश मान्छेले छोरी होइन, छोरा जन्माउन चाहन्छन् । किनभने छोरा भए सधैं आफूसँगै रहन्छ, बुढेसकालको सहाराका रूपमा हाम्रो समाजले परिभाषित गरेको छ । त्यही मानसिकताले ग्रस्त छ, यहाँको समाज । यो मानसिकता यहाँमात्र होइन, संसारभरि कुनै न कुनै रूपमा जीवित छ ।

अहिले पनि महिलाहरू जति शिक्षित हुन्, अधिकांश पुरुषको कठपुतलीको रूपमा सञ्चालित छन् । यहाँसम्म कि आफूलाई मनपर्ने खानेकुरा पनि श्रीमानको आदेशविना किन्न सक्दैनन् । महिला आफ्नो खुसी र इच्छामा चल्न कमैले पाउँछन् । आफ्नो शारीरमाथि पनि आफ्नो खुसी हुँदैन, पुरुष या श्रीमानकै खुसीमा चल्छ । हुन त यसप्रति सचेत महिला छँदैछैनन् भन्ने होइन ।

तर अधिकांश महिलाको स्वतन्त्रता भनेको पुरुषको दायराभित्र खुम्चिएर रहेको छ । त्यसैले पनि उहिलेका धूर्त पुरुषहरूले महिलाको स्वतन्त्रताप्रति धावा बोलेर आफ्नो इच्छामा चल्ने मानव मिसिनको रूपमा परिणत गरे । यिनीहरूले महिलालाई सामाजिक, सांस्कृतिक रूपले तल्लो दर्जामा पुर्‍याए ।

छोरीहरूले आफ्नो जन्म र कर्म दिने बाबुआमाहरूको अन्तिम संस्कार गर्न नहुने संस्कार बनाए । छोरीहरूले बाबुआमाहरूको काजकिरिया गरे दिवंगत आत्माले शान्ति पाउँदैन, परलोकमा पनि उनीहरूले शान्ति पाउँदैनन् भन्ने संस्कार, चिन्तन बनाइदिए । यस्तो सोच, चिन्तन विरुद्ध आज निकै छोरीहरूले धावा बोल्नुमात्र होइन, आफ्ना बाबुआमाको अन्तिम संस्कार गरेका छन् ।

डा. उपेन्द्र देवकोटाका छोरीहरूले आफ्ना दिवंगत पिताको लासलाई काँधमात्र हालेनन्, आफ्ना पिताको लासमाथि दागबत्ती दिए, काजकिरिया पनि गरे । अन्तिम कर्म पनि गरे । के डा. देवकोटाले शान्ति पाएनन् ? यी बाबुआमाको अन्तिम संस्कार छोराले नै गर्नुपर्छ भन्ने मानसिकता बोकेकाहरूलाई प्रश्न छ, के छोरा नहुने सबै मरेर नर्क गएका छन् ?

त्यसो त हालै निधन भएका नेता भारतमोहन अधिकारीका छोरीहरूले पनि आफ्ना पिताको अन्तिम संस्कार गरे । उनीहरूले आफू सन्तान हुनुको जिम्मेवारीमात्र पूरा गरेनन्, आफ्ना बाबुआमाप्रति सबै भूमिका पूरा गरेका छन् । बाबुआमाहरूको लागि छोरा नै जन्माउनुपर्छ, हेरचाहकोलागि सधैं आफ्नै वरिपरि बस्छन् भन्ने मान्यतामा परिवर्तन आउँदैछ । यो एकदमै सकारात्मक पक्ष हो ।
अहिलेका छोरीहरूमा जे गर्न पनि तयार छु भन्ने धारणाको विकास हुनु जरुरी छ ।

बाबुआमाहरूमा पनि छोरो भनेको त कुलको दीपक हो, नभई त कहाँ हुन्छ भन्ने भावनामा परिवर्तन हुनु आवश्यक छ । किनभने अब समाज र समयमा असल सन्तानको जरुरत छ । छोरा होस् या छोरी सानैदेखि विना भेदभाव असल संस्कार र शिक्षा दिएर हुर्काउन सक्यो भने उसले परिवारको जिम्मेवारीमात्र होइन, राष्ट्रकै जिम्मेवारी बोक्न सक्छ ।

प्रकाशित : चैत्र २, २०७५ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT