२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सुन भन्दा महँगा वस्तु

रमेश घिमिरे

काठमाडौँ — विश्वका धनी व्यक्ति जेफ बेजोसको सम्पत्ति १४३ अर्ब अमेरिकी डलर छ । उनी अनलाइन सपिङ मार्केट अमेजनका मालिक हुन् । फोर्ब्स म्यागजिनका अनुसार सन् २०१८ मा विश्वमा २ हजार २ सय ८ जना बिलिनियर (अर्बपति) भए । तर अहिलेसम्म विश्वमा कोही पनि ट्रिलिनियर (दस खर्बपति) भएका छैनन् ।

सुन भन्दा महँगा वस्तु

विश्वमा कतिसम्म महंँगा वस्तु छन् भनी अनुमान लगाउँदा गलत हुनसक्छ । अति महँगा वस्तु जसका स्वामित्वमा हुनेछन्, उनीहरू खर्बपति हुन सक्नेछन् । विश्वमा सबैभन्दा महँगो वस्तु कुनै पदार्थ (म्याटर) नभई प्रतिपदार्थ (एन्टि–म्याटर) हो, जसबारे यहाँ चर्चा गरिनेछ ।

धेरै मानिसले देखेको र प्रयोग गरेकोमध्ये सबैभन्दा महँगो धातु सुन हो । तर सुनभन्दा लाखौं गुना महँगा वस्तुको कारोबार विश्वमा हुने गरेको छ । कुनै पनि वस्तुको मूल्य त्यसको लागत, आपूर्तिको मात्रा र उपभोक्ताको आवश्यकताले निर्धारण गर्छ । सुनभन्दा महँगो धेरैले सुनेको र केहीले प्रयोग गरेको वस्तु हीरा हो । सुन तोला अर्थात दस ग्राम इकाइमा कारोबार गरिन्छ भने हीरा क्यारेट अर्थात ०.२ ग्रामको इकाइमा कारोबार गरिन्छ ।

सुनभन्दा महँगा वस्तुको कुनै निश्चित मूल्य हुँदैन । बजार, समय र कारोबार अनुसार कैयौं गुणासम्म फरक मूल्य हुनसक्छ । सुनभन्दा महँगा वस्तुमा केही धातु र अधातु (पत्थर) छन् भने केही जैविक वस्तु पनि छन् । १० ग्राम सुनको मूल्य करिब ५० हजार रुपैयाँ पर्छ । लागूऔषधको कुनै बजारको मूल्यलाई हेर्ने हो भने प्रतिग्राम हिरोइनको २२ हजार, कोकिनको ३१ हजार र एलएसडीको ३२ हजार रुपैयाँ पर्छ ।

लागूऔषध अधिकांश मुलुकमा प्रतिबन्धित छ भने कहीं नियन्त्रित छ । कुनै देशले भने लागूऔषधको खेती गरेर मनग्ये आम्दानी गर्छन् । जस्तै– अफगानी जनताको आम्दानीको प्रमुख स्रोतमध्ये हिरोइनको कच्चापदार्थ गाँजाको खेती एक हो । त्यस्तै कोकिनको कच्चापदार्थ कोकाको खेती गरेर कोलम्बियाका किसानले आयआर्जन गर्छन् । सुनको खानी भएका मुलुकहरूले सुन बेचेर अर्थतन्त्र सञ्चालन गर्छन् । ह्वेल माछाको वान्ताबाट बनेको वस्तुको मूल्य प्रतिग्राम एक लाख रुपैयाँभन्दा बढी पर्छ । यो अत्तर (सेन्ट) बनाउन प्रयोग हुन्छ ।

प्रतिक्यारेट हीराको मूल्य ५० लाख रुपैयाँ पर्छ । सौन्दर्यका लागि गरगहनामा तथा कडा वस्तु काट्न हीराको प्रयोग हुन्छ । प्लाटिनमको मूल्य प्रतिग्राम ६० हजार रुपैयाँ पर्छ । यसको प्रयोग मोइबाइल लगायत विद्युतीय उपकरण निर्माण गर्न गरिन्छ । अर्को धातु रोहडियमको मूल्य प्रतिग्राम १ लाख रुपैयाँ पर्छ । गाडीको इन्जिनमा कार्बन बन्नबाट रोक्न यसको प्रयोग गरिन्छ । त्यस्तै प्लुटोनियमको मूल्य प्रतिग्राम ५ लाख रुपैयाँ पर्छ । यसको प्रयोग हतियार बनाउन गरिन्छ । ट्राइटियमको मूल्य प्रतिग्राम ३५ लाख रुपैयाँ पर्छ । अँध्यारोमा हरियो प्रकाशबाट घडी हेर्न यसको प्रयोग हुन्छ ।

युरेनियमको मूल्य प्रतिपाउन्ड (४५३ ग्राम) १२ हजार रुपैयाँ पर्छ । यसको प्रयोग क्यान्सर रोगीको उपचार गर्न, आणविक बम बनाउन र बिजुली उत्पादन गर्न गरिन्छ । पृथ्वीमा रहेको युरेनियमको २९ प्रतिशत अर्थात् १७ लाख टन अष्ट्रेलियामा रहेको छ । युरेनियम बिक्री गरेर पनि मुलुकहरूले अर्थतन्त्र टिकाएका छन् । हाफनियमको मूल्य पनि यसैगरी महंँगो रहेको छ । आणविक भट्टीको सुरक्षाको लागि यसको प्रयोग जरुरी हुन्छ ।

सबै वस्तु पदार्थबाट बनेका हुन्छन् । पदार्थको सानो कण परमाणु (एटम) मा घनात्मक प्रोटोन र ऋणात्मक इलोक्ट्रोन रहेको हुन्छ । यसको विपरीत प्रतिपदार्थ (एन्टिम्याटर) मा ऋणात्मक प्रोटोन र घनात्मक इलोक्ट्रोन रहेको हुन्छ । प्रति १० ग्राम एन्टिम्याटरको मूल्य नासाले सन् १९९९ मा ६५ ट्रिलियन डलर अनुमान गरेको थियो भने सन् २००६ मा जेराल्ड स्मिथले प्रति १० ग्रामको मूल्य २५ करोड डलरमात्र पर्ने अनुमान गरेका थिए ।

खगोलीय किरणबाट एन्टिम्याटर प्राप्त हुन्छ । तर त्यसलाई संकलन गर्न सकिएको छैन । प्रतिपदार्थ पदार्थसँग मिल्नासाथ ध्वस्त भई गामा किरण उत्पन्न हुन्छ । आणविक अनुसन्धानका लागि युरोपियन संगठन (सीईआरएन) ले स्वीट्जरल्यान्डमा लार्ज हाड्रोन कोलिडर निर्माण गरी एन्टिम्याटरको उत्पादन सुरु गरेको छ । यसको उत्पादनमात्र होइन, भण्डारण पनि अत्यन्तै जटिल र महँगो हुन्छ । अहिले उत्पादन भइरहेको गतिमा उत्पादन हुँदा करोडौं वर्षमा मात्र केही ग्राम उत्पादन हुनसक्छ । निकै थोरै एन्टिम्याटरबाट एकदमै धेरै ऊर्जा उत्पादन गर्न सकिन्छ । यसको प्रयोगले अन्तरिक्ष यानको यात्रा सहज हुनसक्छ ।

१८ औं शताब्दीमा वाष्प इन्जिन र कोइला रेलको आविष्कारपछि विश्वमा औद्योगिकीरणको सुरुवात भयो । अहिले दुर्लभ र बहुमूल्य औद्योगिक धातुको माग उच्च छ । त्यसैले खगोलबाट यस्ता पदार्थ ल्याउने सम्बन्धमा अध्ययन भइरहेका छन् । सौर्यमण्डलमा धेरै छुद्र ग्रह (एस्ट्रोइडस) छन् । तिनको उत्खनन (एस्ट्रोइड माइनिङ) का लागि सन् २००९ मा स्थापित प्लानेटरी रिसोर्स कम्पनीले कार्य जारी राखेको छ । २०१६ मा दिएको अन्तर्वार्तामा उक्त संस्थाका खगोलवेत्ता एवं डिस्कभरी च्यानलका प्रस्तोता निल डिग्रिस टाइसनले २०२० सम्ममा माइनिङ सुरु हुने बताएका थिए ।

खोज, अनुसन्धान र आविष्कारले विश्वमा धेरै चमत्कार गरी मानिसको जीवनयापन र अर्थतन्त्रको आयाम नै परिवर्तन गरेको छ । बढ्दो ऊर्जाको माग र अति आधुनिक तथा उच्च क्षमतायुक्त उपकरणहरू निर्माण गर्न आवश्यक बहुमूल्य धातुको आपूर्ति बढाउने प्रयासमा सफलता मिल्यो भने विश्वमा अहिले देखिएका धेरै समस्या हल हुनुका साथै विकासको नयाँ आयाम सुरु हुनेछ ।

लेखक काठमाडौं महानगरपालिकाका योजना अधिकृत हुन् ।

[email protected]

प्रकाशित : चैत्र २, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?