बालबालिकालाई कसरी ध्यान दिने ?

रोजिना पोखरेल

काठमाडौँ — घरको काममा सिन्कोसमेत भाँच्न लगाएको छैन, उसका लुगा धुने, आइरन गर्ने, जुत्ता पोलिस गर्ने सबै मै गर्दिन्छु , खाली पढपढ भनेको मात्र छु, तैपनि राम्ररी पढ्दैन । अंक, प्रतिशत, ग्रेडमा सुधार गर्नै सक्दैन । के गर्नु खै ? हाम्रा पाला यसरी आन्नदले केही काम नगरी, जे माग्यो, त्यही पुग्नेगरी पढ्न पाएको भए म कत्ति पढ्थेंँ होला ? खालि मोबाइल, ल्याटप, टिभी, नेटमा झुन्डिएको छ ।

म त आजित भइसकेँं, के गरी यसलाई सुधार्ने होला ? यस प्रकारको संवाद, आवाज अधिंकाश घरपरिवारमा सुनिन्छ । केवल पढ्नेमात्र काम बालबालिकाको हो, अरू केही गर्नु पर्दैन, घरको काम केही सघाउनु पर्दैन, सकेसम्म जतिबेला नि पढिदिए हुन्थ्यो र बढी अंक, ग्रेड ल्याइदिए हुन्थ्यो भन्ने मान्यताबाट धेरै अभिभावक अगाडि बढेको देखिन्छ । अर्कातिर बालबालिका आफ्ना अभिभावकको जति बेला पनि पढपढ भन्ने कुराले दिक्क हुने गरेको देखिन्छ । जसको कारण धेरै बालबालिकाको मनस्थितिमा यो पढ्ने काम आफ्नालागि नभएर अभिभावकको लागिमात्र हो कि भन्ने बुझाइ रहेकोसमेत देखिन्छ ।

छोरा हुन् या छोरी दुवै समान हुन्, घरायसी काममा कुनै लिंगको पृथकता हुन्न, कामआफ्नो हो भन्ने ज्ञान दिलाउन सानैदेखि उनीहरूले गर्न सक्ने र बोझ नपर्नेगरी घरायसी काम, सामाजिक दायित्व निर्वाह गर्न/गराउन परिवारले भूमिका निर्वाह गर्न बिर्सनु हुन्न । पछि पढिसकेपछि ठूलो भएर गरिहाल्छ नि, अहिलेको उमेर पढ्ने मात्र हो भन्ने मनोभाव अभिभावकमा बढ्दै जानु पक्कै पनि राम्रो पक्ष मान्न सकिन्न ।

बालबालिकाको उमेर बढी समय पढाइमा ध्यान दिने र पारिवारिक, सामाजिक दायित्व वहन गर्न सिक्दै जाने पनि हो भन्ने भावनाको विकास गराउनु जरुरी देखिन्छ । अवश्य पनि उनीहरूको पढाइमा सधाउ पुर्‍याउन परिवारले हर प्रकारले सहयोग र वातावरण मिलाइदिनुपर्छ ।

बिना तनाव, बिना झन्झट, प्रफुल्लित पारिवारिक वातावरणको सिर्जनाले नै बालबालिकाको पढाइमा सहयोग गर्छ । तर उमेर अनुसार घरायसी काम, जिम्मेवारी, दायित्व कुनै पनि वहन गर्न नलगार्ई केवल पढ्न, रट्नमात्र सिकाउनु र प्रेरित गर्नु पटक्कै राम्रो होइन । घरायसी काममा सहयोग गर्ने व्यवहार, अन्य तौरतरिकामा उनीहरूको सहयोग माग्ने, खोज्ने व्यवहारले उनीहरूमा पढाइमा थकान मेटाउन सहयोग गरी अझ पढ्न सहयोग पुर्‍याउँछ ।

भान्साका काममा सहभागी गराउने
हरेक अभिभावकको साझा समस्यामध्ये बालबालिकाको स्कुलको खाजा हुने गर्छ । धेरै बालबालिका घरमा खाना रुचिपूर्वक नखाने तथा खाजामा समेत बाहिरी खाजा, जंक फुड, प्याकेजिङका खाजा रोजेको देखिन्छ । घरायसी खाजा लान, खान नमान्ने साथै परिवारको हतारोपनको बहाना या अल्छीका कारण अधिंकाश बालबालिकालाई खाजाका रूपमा पैसा दिइने र बाहिरी खाजा किनिखान अनुमति दिने प्रचलन बढ्दो छ ।

यदि बालबालिकालाई घरमा रहेका बखत, छुट्टीको दिन भान्साको काममा सहभागी गराउँदै लाने हो भने केही सकारात्मक परिवर्तन देख्न सकिनेछ । उनीहरूको रुचिका परिकार बनाउन, खान प्रेरित गर्न सहयोगी बन्न सकिन्छ । विभिन्न खाद्यान्नको जानकारी, तिनको पौष्टिकताबारे सचेत गराउन सकिन्छ । उनीहरूलाई पटक्कै मन नपर्ने परिकारलाई अलि पृथक तरिकाले बनाउन, उनीहरूको सहयोग खोजी त्यसमा रुचि भर्न सकिन्छ ।

सानैदेखि सामान्य काममा सहयोगी बनाएर भान्साको काम र घरायसी परिकारमा आकर्षित गर्न सकिन्छ । अर्कातिर बालबालिकालाई भान्सामा आकर्षित गर्दै खाना, परिकार बनाउन सक्षम बनाउन सिकाउनुको अर्थ उनीहरूमा आत्मविश्वास बढाउनु, आत्मनिर्भर र व्यावहारिक बनाउन सिकाउनु हो । जसले जीवनको आधारभूत ज्ञानसमेत दिलाउँछ । यसरी सिकाउँदा निकै धैर्यको आवश्यक पर्ने गर्छ, साथै उमेर, समय अनुसार मात्र उनीहरूले गर्न सक्नेगरी, बोझ महसुस नहुने गरेर मात्र सहकार्य गर्नुपर्छ ।

उनीहरूको स्वास्थ्य, पोषणबारे बुझाउने यो उत्तम विधिसमेत हो । भान्सामा केही समय बिताउने बानीले उनीहरूमा अरूप्रति सहकार्य गर्न, अरूको रुचिलाई सम्मान गर्न, भान्साको काममा लैंगिक विभेदीकरणको सोच अन्त्य गराउन सानैदेखि सहयोग गर्छ । मुख्य कुरा यसबाट बालबालिकामा घरायसी खाना, खाजा, परिकारमा आकर्षित गराउँछ ।

बालबालिकासँग खेलकुद
उमेर अनुसारको उफ्राइ, दौडाइ, चकचक गर्नु बालबालिकाको सामान्य पक्ष हुन् । पर्याप्त खेल्न, दौडिन, उफ्रिन उनीहरूले पाउनुपर्छ भन्ने वैज्ञानिक मान्यता छ । तर समाजको परिवर्तनशीलताको नियमसँगै परिवारमा बालबालिका जन्माउने संख्या घट्दो छ । एक वा बढीमा दुई सन्तानमा रमाउने परिवार बढ्दै जाँदा, सहरीकरणका कारण बालबालिकाले पर्याप्त खेल्ने स्थान, साथी र वातावरण पाइरहेका देखिँदैन ।

स्कुलका साना भौतिक संरचनामा बाँधिनुका बाध्यता, आफ्ना सन्तान आफ्नो घर, बासभन्दा टाढा नजाओस् भन्ने मान्यताका साथै बाहिरी केटाकेटीसँग नघुलोस् भन्ने सोचले बालबालिका प्रायः आफ्नै घरको परिधिमा धेरै समय सीमित हुने अवस्था छ । यो अवस्थालाई केही परिवर्तन गराउन सकेसम्म आफ्ना समूहका बालबालिकासँग रमाउन, खेल्न दिनुको जस्तो राम्रो अवस्था अन्य हुन सक्दैन । तथापि केही नभए अभिभावकले नै केही समय निकाली बालबालिकासँग रुचि हुनेगरी खेल्नु, उफ्रनु, दौडिनुपर्छ ।

जसले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक विकासमा सकारात्मक प्रभाव पर्छ । उमेर अनुसारका खेलकुदमा नै बालबालिकाको सबभन्दा बढी रुचि हुने गर्छ । तर ती आवश्यकता पूरा नहुँदामात्रै बालबालिका टिभी, मोबाइल, ल्यापटप, नेटमा जतिबेला पनि झुम्मिन खोजेका हुन् ।

अतः उनीहरूलाई बढी प्रविधिका यन्त्र, कार्टुन, मोबाइलका गेम आदिबाट बढी आकर्षित हुन नदिन अभिभावकले समय निकाली खेलकुदमा साथी बनिदिन आवश्यक हुन्छ । चाहे घरभित्र या घर बाहिर खेलिने खेल हुन्, तिनमा यो केटाको अनि यो केटीको खेल हो भन्ने विभेद पटक्कै सिकाउनु हुन्न । सकेसम्म बढी बालबालिकाकाका उमेर समूहका साथीहरू भेला भई खेल्ने वातावरण सिर्जना गराउनुपर्छ ।

पर्याप्त समय दिने
साना उमेरका बालबालिकाले पढेको, लेखेको सुनिदिने हो भने उनीहरूमा स्वतः हौसला बढ्छ । उनीहरूका शिक्षक–शिक्षिकासँग बेलाबेलामा भेटी पृष्ठपोषण लिने साथै बालबालिकाका साथीहरूसँग बेलाबेलामा भेट्ने, संवाद गर्ने, घरमा निमन्त्रणा गर्ने शैलीले बालबालिकामा सकारात्मक प्रभाव पर्छ ।

उनीहरूलाई पर्याप्त समय दिई रुचि अनुसारका गीत, संगीत, नृत्य, चित्रकला, साहित्य आदिजस्ता विषयमा साथी र सहयोगी बन्न सक्नुपर्छ । तर अभिभावकको व्यस्तताको बहानामा बिहान सबेरै स्कुलमै खाना खानेगरी पठाउने र ढिला समयसम्म स्कुलमै राख्ने, बिदाको दिन पनि पढ्न लगाउने प्रकारको स्कुल, पाठशाला खोजी गर्ने शैली कतिको जायज होला ? साना बालबालिकाले आफ्नै अभिभावकसँग बढी समय खोजेका हुन्छन् ।

अभिभावकसँगै खान खाजेका हुन्छन्, तर यी आवश्यकता, चाहना विपरीतका कार्य राम्रो मान्न सकिन्न । उनीहरूका कुरा सुन्ने, समस्या बुझिदिने, जिज्ञासा सुन्ने र त्यसको निवारणको कोसिस गर्ने साथै बेलाबखत घुम्न लानेगरी समय मिलाउनुपर्छ । अभिभावकको कम समय प्राप्तिले बालबालिकामा एक्लोपनको महसुस गराउँछ । अभिभावकको पर्याप्त समय प्रदान गर्ने व्यवहारले उनीहरूमा सकारात्मक प्रभाव साथै उच्च मनोबलको विकास गराउँछ । जसका कारण पढ्न नमान्ने, पढ्न मन नगर्ने बालबालिकामा समेत पढाइप्रतिको आकर्षणमा सधाउ पुर्‍याउँछ ।

आफना बालबालिकाबाट असल व्यवहार, संस्कार, आदर र सुसभ्यताका साथै सफल व्यक्तित्वको अपेक्षा हरेक अभिभावकले गरेका हुन्छन् । तर सो प्राप्तिका लागि अभिभावकको व्यवहार र शैलीको लगानी नै महत्त्वपूर्ण पक्ष हुन्छ । अनावश्यक तनाव, दबाब र भय प्रदान गरी शारीरिक यातना दिन पिट्ने, अनावश्यक गालीगलौज गरी हकार्ने, अरूसँग दाँजेर हेप्ने कार्य पटक्कै असल हुन सक्दैन । उनीहरूमा हौसला, प्रेरणा भर्ने कार्यका साथै उमेर समूह अनुसार प्रविधिमैत्री, मनोरञ्जन दिने कार्यका लागि सारथी बन्नुपर्छ ।

बालबालिकाप्रतिको यस्ता पक्ष र व्यवहार एकै दिनमा अपनाएर, लागू गरेर पूर्ण हुँदैन, यसका लागि धेरै धैर्य र मिहेनत गर्नु पर्छ । यो कुरा कहिल्यै भुल्नुहुन्न कि आफूहरू जति नै व्यस्त भए पनि अभिभावक नै बालबालिकाका नजिकका मित्र हुन् र परिवार नै बालबालिकाको पहिलो र दिगो सभ्यताको केन्द्र हो । पहिलो पाठशाला नै घर हो र दिगो शिक्षक–शिक्षिका भनेकै बालबालिकाका अभिभावक हुन् । उनीहरूको भविष्य, शिक्षा, सभ्यता र व्यक्तित्व कस्तो हुने र बनाउने भन्ने भर अभिभावकको व्यवहार, शैलीमा भर पर्छ । अतः बालबालिकासँग मित्रवत व्यवहार गरी बढी समय दिनु आवश्यक हुन्छ ।

बालबालिकाको मूल कार्य भनेको नै स्कुल जाने, पढ्ने, लेख्ने, सिक्ने नै हो । तर यसो भन्दैमा जुन बेला नि पढे हुन्थ्यो, सधैं प्रथम भइदिए हुन्थ्यो, बरु अन्य घरायसी केही कार्य नगरे, नसिके हुन्छ भन्ने मान्यतामा सुधार गर्नु जरुरी देखिन्छ । पढाइ नै मुख्य पक्ष भए पनि पढाइको सफलतासँगै अरू व्यावहारिक पक्ष, ज्ञान, कौशल र निपुणताले नै सफल व्यक्तित्व निर्माण हुने कुरा बिर्सनु हुन्न ।

प्रकाशित : चैत्र ९, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

नवजात शिशुलाई बुझौं

डा. दिनेश धरेल

काठमाडौँ — घरमा नवजात शिशुको आगमन हुँदा खुसी र उत्साहसँंगै परिवारमा एक प्रकारको बेचैनी पनि सुरु हुन्छ । जन्मेको पहिलो केही हप्तामा बच्चामा देखिने शारीरिक परिवर्तन, रुवाइ, सुताइ, खानपान, प्रतिक्रियासंँगै तपाईको अनुभूति तीव्र गतिमा फेरिँदै जान्छ । हरेक दिन कुनै न कुनै आश्चर्य पाउनुहुन्छ ।

सानो, कोमल र संवेदनशील बच्चामा के कुरा सामान्य हो ? कुन कुरा सम्भावित समस्याको संकेत हो भन्ने छुट्याउन सजिलो छैन ।

छालामा विभिन्न खालको दाग वा डाबर देखिन सक्छ । कुनै जन्मजात हुन्छन् त कुनै केही दिनपछि आउँछन् । यी मध्ये धेरैजसो आफै हराएर जाने र कुनै असर नगर्ने खालका हुन्छन् । कुनै डाबर संक्रमणले गर्दा आएको हुनसक्छ त कुनै ताप वा एलर्जीको दाग हुनसक्छ । दुर्लभ खालका केही दाग जन्मजात गम्भीर समस्याको संकेत पनि हुनसक्छ । यदि नवजात शिशुको मुख वा योनिबाट रगत आएको देख्नुभयो भने तर्सिनु हुन्छ होला । कहिलेकाहीं बच्चाले जन्मिने बेला आमाको रगत निलेको हुन्छ, जुन पछि उल्टी गरेर निकाल्छ । आमाको हर्मोनको प्रतिक्रियाले गर्दा कुनै–कुनै बच्चामा योनिबाट रगत आउँछ ।

भिटामिन केको कमीले गर्दा रक्तस्राव हुने समस्या पनि शिशुहरूमा देखिराखेका हुन्छौं, जुन गम्भीर तर रोकथाम र उपचार गर्न सकिने समस्या हो । त्यस्तै कहिलेकाहीं बच्चाको स्तनबाट दूध आइरहेको हुन्छ, जुन आफै हराएर जान्छ । कसै–कसैले दूध निचोर्दिने गर्छन् । यसले गर्दा संक्रमण भएर पिलो बन्छ र बच्चाको ज्यान जोखिममा पार्न सक्छ ।

मस्तिष्क तीव्र गतिमा बढ्नुपर्ने भएकाले शिशुको तालु पुरिएको हुँदैन । जन्मिने बेला थिचिएको टाउकोको आकार राम्रोसँंग गोलाकार हुन ६ हप्ताजति लाग्न सक्छ । कुनै–कुनै शिशुमा तालुमा नभएर असामान्य ठाउँमा गिलो भेटिन्छ वा टाउकोकोआकार फरक बनावटले गर्दा असामान्य देखिन्छ, जुन गम्भीर परिणाम हुने जन्मजात अवस्थाकोसंकेत हुनसक्छ ।

नवजात शिशुलाई कहिले र कसरी नुहाउने ? सफा र न्यानो कसरी बनाउने ? शिशु गर्भभित्र रहँदा न्यानो गर्भेपानीमा पौडिरहेको हुन्छ । जन्मने बित्तिकै सफा न्यानो कपडाले पुछेर सुख्खा गर्नुपर्छ । मौसम अनुसार न्यानो ठाउँमा एक वा दुईसरो कपडाले टाउकोसहित छोपेर राख्नुपर्छ । जन्मेको २४ घन्टाभित्र नुहाउनु हुँदैन । यो शितांग हुन नदिनका लागि हो ।

अर्को दिनदेखि हरेक दिन अनुहारबाट हात हुँदै तलसम्म नरम साबुन पानीले सफासँंग पुछिदिनुपर्छ । ठूलो बच्चालाई झैं खलखली नुहाउनु पर्दैन । आँखा, कान, नङ तथा दिसापिसाब गर्ने ठाउँ सफा राखिदिनुपर्छ । धेरै गुम्स्याएर राख्नु हुँदैन । दिसा गरेपछि सफा गर्दिहाल्नुपर्छ । डाएपर प्रयोग गर्नुहुन्छ भने बेलाबेला फेरिदिने गर्नुपर्छ । सफा र सुख्खा राख्न सकिएन भने डाबर आउन सक्छ ।

नवजात शिशुको निद्राको विशेष ढाचा हुन्छ, जुन उमेर बढ्दा फेरिँदै जान्छ । निद्रा हल्का, गहिरो र यी दुई बीचको संक्रमणकालीन चरण झन्डै आधा घन्टाको फरकमा फेरिन्छ । त्यसैले हातखुट्टा चलिरहेको वा तपाईको आवाजले आँखा खोलेको बेला पनि शिशु निदाइरहेको हुन सक्छ । उनीहरू झिँजो मानेर, आँखा मिचेर वा हाइ काढेर निद्रा लागेको संकेत गर्छन् ।

पहिलो एक–दुई महिना उनीहरू २ घन्टाभन्दा बढी जागा भएपछि निदाउन खोजिहाल्छन् । २४ घन्टामा १६ देखि १८ घन्टा निदाउँछन् । निद्रा लागेको बेला तुरुन्तै सुताइदिएन भने थप झिँजिन्छन् र निद्रा पुग्दैन । निद्रा बच्चाअनुसार केही फरक पर्ने भएकाले आफ्नो बच्चा कतिखेर र कतिन्जेल निदाउँछ भन्ने दिन बित्दै गएपछि आफैं थाहा पाउनुहुन्छ । शिशुहरू आमा वा बाबुको छातीमा टाँसिएर सुत्न मन पराउँछन् । आमाबाबुको स्पर्श बच्चासँंग भावनात्मक बन्धनका लागि मात्र हैन, उसको मानसिक तथा संवेगात्मक विकासका लागि पनि महत्त्वपूर्ण हुन्छ ।

नवजात शिशुको तौल पहिलो हप्ता घट्दै जान्छ । दोस्रो हप्तामा जन्म तौल बराबर पुग्छन् । यो शरीरमा पानीको मात्रामा आउने स्वाभाविक परिवर्तनले गर्दा भएको हो । त्यसपछि तौल हरेक दिन बढ्दै जान्छ । महिनामा आधा किलोजति बढेर ५ महिनामा दुई गुणा बढ्छ । नवजात शिशुले २४ घन्टामा ६ देखि ८ पटक पिसाब गर्छन् । यो दूध पुगेको सबैभन्दा भरपर्दो प्रमाण हो ।

सुरुका केही दिन आउने बिगौती दूध पोषिलो तर थोरै परिमाणमा हुन्छ, अनि दूध विस्तारै बढ्दै जान्छ । दूधमा धेरैजसो पानी हुने भएकाले छुट्टै पानी वा अरू झोलिलो कुरा खुवाउनु पर्दैन, हुँदैन । बरु एक पटकमा एउटा स्तन पुरै रित्याएर अर्कोपटक अर्को स्तनबाट सुरु गर्दा बच्चा सन्तुष्ट हुन्छ । आमाको दूध बच्चाका लागि सम्पूर्ण आहार हो ।

नवजात शिशुसंँगका सुरुका केही दिन र रात खुवाउने, सुताउने, दिसापिसाब सफा गर्दिने, अंँगालोमा राख्ने र रोएका बेला फकाउने बीचको कहिल्यै नटुंगिने चक्रजस्तै लाग्छन् । जति आफ्नो बच्चालाई चिन्दै गयो र उसले पनि चिन्दै जान्छ, तब तपाईलाई अनिश्चयको भयले सताउन छाड्छ । असामान्य र जोखिमपूर्ण अवस्थाका चिन्ह प्रस्ट हुन थाल्छन् । त्यसैले आफ्नो नवजात शिशुलाई बुझौं ।

dineshdharel13@gmail.com

प्रकाशित : चैत्र ९, २०७५ ०८:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्