मानविकीको महत्त्व

सञ्जीव उप्रेती

काठमाडौँ — काँकरभिटाको कला साहित्य उत्सव दौरान निक्कै घतलाग्दा छलफल चले । ‘लोकतन्त्र तथा आलोचनात्मक चेत’बारे हरि शर्माको प्रवचनबाट प्रारभ भएको महोत्सवमा समकालीन आख्यान, भूराजनीतिक चिन्तन, पर्यावरण, सांस्कृतिक राष्ट्रवाद, लोककला, मिडिया तथा जेन्डर लगायत विविध विषयमा चर्चा चले ।

म सहभागी भएको प्यानललाई सुप्रिया मानन्धरले प्रस्तुत गर्नुभएको थियो र डा. अमिना सिंह र डा. भाष्कर गौतम उक्त प्यानलका अन्य सहभागी हुनुहुन्थ्यो ।

Citizen

अमिना सिंह तथा भाष्कर गौतमले शिक्षा पद्घति, समाजशास्त्र र शोध बारेका समस्याका ‘संकट’लाई जोडेर महत्त्वपूर्ण विमर्श गर्नुभयो । मेरो अध्ययन र अनुभव भने मानविकीसित जोडिएकाले त्यसकै वरिपरि रहेर आफ्ना कुरा राखेँ । यस लेखमा मानविकी बारेका समस्या वरिपरि नै केन्द्रित भएको छु ।

कुनै बेला केन्द्रीय अंग्रेजी विभागमा हरेक वर्ष एक हजारभन्दा बढी विद्यार्थी भर्ना हुन्थे । सेमेस्टर सिस्टम सुरु भएपछि अहिले प्रतिसेमेस्टर पचासजना जति हुन्छन् । केन्द्रीय नेपाली विभागमा यो वर्ष सातजना विद्यार्थीमात्र भर्ना भए भन्ने खबर छ । इतिहास विभागमा त झन् विद्यार्थी नै आउन छाडे भन्ने कुरो पत्रपत्रिका र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको थियो ।

यस बाहेक दर्शन, कला, साहित्य, भाषा—साहित्य र समाजशास्त्रका विभागमा नेपालमा मात्र नभई प्रायः संसारका अन्य मुलुकमा समेत विद्यार्थीे संख्या घटेका समाचार अनलाइनमा बग्रेल्ती पढ्न पाइन्छ । सायद यिनै तथ्यलाई मनन गरेरै आयोजकले प्यानलको र्शीषक ‘मानविकी र समाजशास्त्रका संकट’ राख्नुभएको थियो ।

मेरो विचारमा विषयलाई लक्षण (सिमटम) र रोग (डिजिज) को भिन्नतालाई बुझ्दै केलाउनु बडी उपयुक्त हुनेछ । अनिद्रा एउटा लक्षण हो भने निद्रा नलाग्नुले थाइराइड वा मुटु वा अन्य कुनै गम्भीर रोगतिर संकेत गरेको हुनसक्छ । यसरी बुझ्दा मानविकीका विभागहरूमा विद्यार्थी संख्या घट्नुलाई लक्षण वा समस्या (वा संकट) भन्ने हो भने अहिले देखिएको संकटको मूलरोग अरू नै केही हुनसक्छ । उक्त रोगलाई बुझ्न निम्ति मानविकीको इतिहासलाई संक्षेपमा केलाउन आवश्यक छ ।

ग्रीक तथा रोमन साम्राज्य दौरान रेटोटिक र ग्रामर नामको विषय पढाइन्थ्यो । उक्त विषयको उद्देश्य थियो, विद्यार्थीलाई शुद्घ भाषा लेख्न सिकाउनु र तिनलाई आलंकारिक भाषाका प्रयोग गर्दै राजनीतिक र नागरिक मुद्दाबारे सार्वजनिक बहसमा भाग लिन सक्षम बनाउनु । सार्वजनिक तथा राजनीतिक वृत्तको यस किसिमको आमअभ्यास लोकतन्त्रको प्रारम्भिक उदाहरण थियो ।

तर समस्या जरैमा थियो । आलंकारिक भाषाको दक्षतामार्फत सार्वजनिक छलफलमा सहभागी हुने हक मध्यम र उच्च वर्गका, जमिनमा स्वामित्व भएका पुरुषहरूलाई मात्र थियो । महिला तथा दास वर्ग उक्त ‘लोकतान्त्रिक’ छलफलबाट बहिस्कृत थिए । अर्को शब्दमा भन्दा भाषा—साहित्यको शिक्षण लोकतन्त्रसित जोडिएको थियो । तर त्यो लोकतन्त्र अर्कै भने केही वर्ग र व्यक्तिका लागिमात्र थियो ।

सत्रौं र अठारौं शताब्दीलाई युरोपमा ‘पुनर्जागरण’ तथा ‘तार्किकताको युग’को रूपमा मानिन्छ । यस युगमा दर्शन तथा भाषा—साहित्य बारेका शिक्षण र पठन प्रक्रिया मानवतावादका आदर्शसित जोडिन पुगे । संसारभरि छरिएका मानवको साझा मानवता के हो ? मानव तथा सम्पूर्ण ब्रह्मान्ड (र, त्यसमा निहित ‘वैज्ञानिक’ र तार्किक ज्ञानबीच) के कस्तो सम्बन्ध छ आदिजस्ता कुरा भौतिक विज्ञानले मात्र नभई कला, साहित्य दर्शनले समेत उजागर गर्न सक्छ भन्ने सोच फैलियो ।

त्यसै अनुरूप अठारौं शताब्दीमा उदय भएका राष्ट्र/राज्यहरूले विश्वविद्यालय र अन्य शैक्षिक संस्थाका मानविकी विभागहरू निम्ति पैसा छुट्याउन थाले । दर्शन, साहित्य, कलाको अध्ययन, अध्यापनमा पनि रुचि बढ्दै गयो ।

ग्रीक तथा रोमन साम्राज्यकै समयदेखि चल्दै आएको मानविकीको समस्या नयाँ स्वरूपमा देखापर्‍यो । जसरी ग्रीसका ‘लोकतान्त्रिक’ अभ्यासमा नारी र भूमिहीनहरूको सहभागिता थिएन, नयाँ ‘तार्किक’ युरोपमा पनि महिला र अन्य वर्ग र जातिका पनि ‘मानवता’को खाकाभित्र पर्न सकेनन् । युरोपेली राष्ट्र/राज्यहरूका कर्मकाण्ड पितृसत्तामक संरचना र मानसिकताबाटै निर्देशित रहे भने महिलाले मत दिने अधिकार पाउन दुई सय वर्ष अझै कुर्नुपर्‍यो ।

मध्य र उच्च वर्गका युरोपेलीहरू सेलोन र कफी हाउसमा मानवतावादबारे छलफल गरिरहँदा उक्त छलफलको ‘आर्थिक आधार’ अफ्रिका, एसिया तथा दक्षिण अमेरिकामा फैलिएको औपनिवेशवाद तथा दास प्रथाले कसरी निर्माण गरेको छ भन्ने बारेका तथ्य तथा तथ्यांकबारे ‘तार्किक छलफल’ हुन सकेन ।

साथै ‘मानव सभ्यता’ र मानवका निम्ति सहरहरू बनाउँंदा प्रकृति र अन्य जीवको कस्तो दोहन भइरहेछ भन्ने पनि छलफलमा आएन । युरोपेली तार्किकताले मानवतालाई बडो सीमित ढंगले परिभाषित गर्‍यो । मानवतावाद ‘मानव’ हटाउंँदै गयो, खालि मानवतावादको ‘वाद’मात्र बाँकी रह्यो । जसको केन्द्रमा केही विशिष्ट वर्ग र लिङ्गका मानव थिए ।

बीसौं शताब्दीका दुई मुख्य विश्वयुद्घ र त्यसपछि पुँजीवादी पश्चिम र सोभियत शैलीको साम्यवादबीच चलेको शीतयुद्घ दौरान पश्चिममा मानविकीका नयाँ उपयोगबारे छलफल भयो । एउटा मत थियो– दर्शन तथा भाषा—साहित्यले मानव भित्रका नैसर्गिक प्रजातान्त्रिकमूल्य र मानवीयताको विकास गराउँछ । यसै विचारअनुरूप मानविकी विभागहरूको कोष थपियो, प्राध्यापक र विद्यार्थी दुवैका संख्या बढ्न थाले । पुँजीवादी पश्चिम मानविकीलाई प्रजातन्त्रसित जोड्दै साम्यवादी ‘खतरा’संँग भिड्न तयार भयो ।
सन् १९८९ मा बर्लिन पर्खालको विघटन तथा शीतयुद्घको समाप्तिपछि भने मानविकीको नयाँ संकट देखापर्‍यो । पर्खालको विघटनलाई पुंँजीवादी प्रजातन्त्रको विजय र साम्यवादको हारको रूपमा अर्थ्याइयो । यस किसिमको बुझाइले मानविकीका विभागहरूको महत्त्व कम गर्‍योे । अब साम्यवादी विचारको प्रतिरोधमा प्रजातन्त्रलाई सशक्त बनाइरहनुपर्ने आवश्यकता रहेन । पश्चिमी शैलीको बजार व्यवस्थाको विश्वब्यापीकरण भइसकेको छ र प्रजातन्त्रको मर्मलाई उदारवादी बजार व्यवस्थाभित्रै संस्थागत गर्न सकिन्छ भन्ने सोच्न ब्यापक हुँदै गयो ।

यस किसिमको सोचका केही परिणाम गएका पच्चीस, तीस वर्षभित्र चुलिँदै आएका छन् । तीमध्ये एउटा परिणाम हो– उपभोक्ता संस्कृति (कन्जुमर कल्चर) को विश्वव्यापी विजय यात्रा र अर्को हो उपयोगितावाद (युटिलिटेरियानिजम) को विश्वव्यापी फैलाउ ।
दर्शन, अध्यात्म र साहित्यका विद्यार्थीलाई सभ्यताको प्रारम्भदेखि नै घचघचाइरहने एउटा प्रश्न छ– म को हुँ ? धार्मिक विश्वदृष्टिले निर्देशित समाजमा यस प्रश्नको जवाफ प्रायः यसरी आउंँछ– म एक आत्मा हुँ ।

अथवा हिन्दु, मुस्लिम, क्रिस्चियन वा बौद्घ हुँ । राष्ट्रियताको भाष्यको जगमा उभिएर त्यही प्रश्नको जवाफ दिंँदा कसैले भन्लान्–म नेपाली, भारतीय, अमेरिकन वा जर्मन आदि हुँ । मानवतावादको संकथनको धरातलमा उभिएर जवाफ दिँदा भन्न सकिएला– म अरू केही नभएर मात्र एक मानव हुँ ।

उपभोक्तावादको जगजगी फैलिँंदै गएको अहिलेको अवस्थामा उक्त आद्य प्रश्नको उत्तरमा ‘म आइफोन टेन प्रयोग गर्ने व्यक्ति हुँ’ वा म ‘फलानो ब्रान्डको टाइसुट लाउने वा फलानो मोडलको मोटरसाइकल वा कार चढ्ने व्यक्ति हुँ’ भन्नेहरू देखापर्न थालेका छन् । अर्को शब्दमा भन्दा उपभोगले नै मानिसको परिचयलाई परिभाषित गर्ने प्रक्रिया संसारभरि बढ्दै जाने देखिन्छ ।

उपभोक्तावादको विजय यात्रामा उपयोगितावाद पनि मिसिएको छ । कुन किसिमको शिक्षा आर्जन गर्दा वा सीप सिक्दा आफूलाई बजारमा सफल कर्ताका रूपमा उभ्याउन सकिन्छ भन्ने चेतना विद्यार्थीमा बढ्दै गएको छ । कम्प्युटर साइन्स वा जीवविज्ञान पढ्दा आफ्नो सीपलाई बजारमा बेच्न बढी सजिलो हुन्छ । किनकि यी विषयहरूसित जोडिएको ज्ञान र सीप बजारका लागि बढी आवश्यक छ ।

आधुनिक संसारमा लगातार प्राविधिक परिवर्तन भइरहेछन् । यस प्राविधिक युगमा कम्प्युटर साइन्स, जीवविज्ञान, तथ्यांक शास्त्र लगायतका विषयको महत्त्व पक्कै बढेको छ । त्यसैले यी विषयमा पक्ष भएरपैसा कमाउनु र आफ्नो जीवनशैली उकास्नखोज्नु स्वाभाविक इच्छा हो । यसैले गर्दा पनि दर्शन, भाषा–साहित्य र समाजशास्त्रका विभागहरूमा विद्यार्थीको संख्या घटिरहेको हुनसक्छ ।

मैले अघि नै भने अनुसार विद्यार्थीको संख्या घट्नु रोगको लक्षणमात्रै हो । रोग अर्कै छ । रोग हो– शीतयुद्घको समाप्तिपछिको विश्वव्यापी राजनीतिक, आर्थिक, सांस्कृतिक परिवेशमा मानविकीले आफ्नो प्रकृति र उद्देश्यलाई नयाँ ढंगले परिभाषित गर्न नसक्नु ।
कांँकडभिटा कला–साहित्य महोत्सव दौरान धरानको बीपी मेडिकल कलेजका विद्यार्थीहरू पनि आउनुभएको थियो । उहाँहरूले भन्नुभयो–हामीले चिकित्सा विज्ञानबाहेक समाजशास्त्र र साहित्यबारे पनि पढ्नुपर्छ ।

चिकित्साशास्त्र, कानुन, व्यापार लगायतका अन्यउपयोगी क्षेत्रका विद्यार्थीले पनि दर्शन, साहित्य, कला समाजशास्त्रबारे जानकारी राख्नुपर्छ भन्ने चेतना गएको दस–पन्ध्र वर्षमा बढ्दै गएको देखिन्छ । डाक्टर वा वकिललाई साहित्य वा दर्शनबारे जानकारी छ भने ऊआफ्ना ‘क्लाइन्ट’प्रति बढी संवेदनशील हुनसक्छ र त्यसै कारणले गर्दा बढी राम्रो डाक्टर वा वकिल बन्न सक्छ भन्ने मान्यता प्रचलनमा आउँंदैछ । उपभोक्ता संस्कृतिको समसामयिक युगमा मानविकी र समाजशास्त्रका नयाँ उपयोगिता खोज्ने क्रमलाई यस किसिमको चेतना र मान्यताले सघाउ पुर्‍याउनेछ ।

मानविकी र (समाजशास्त्रको) क्षेत्रमा देखापरेको लाक्षणिक संकटलाई मात्र नभएर यसको जरामा रहेको रोगकै निदान खोज्ने हो भनेचाहिँ यस विषयमा अझै गम्भीर भएर सोच्नुपर्छ ।समसामयिक युगमा दर्शन, भाषा–साहित्य र अन्य मानविकीको किन आवश्यकता छ ? किनकि मानविकीले मानिसमा आलोचनात्मक चेतको विकास गर्छ । यसको मतलब जीवविज्ञान वा भौतिक विज्ञानजस्ता क्षेत्रमा आलोचनात्मक चेतको आवश्यकता हुँदैन भन्ने होइन ।

तर मानविकीमा प्रयोग हुने चेतको प्रकृति भिन्न हुन्छ । विज्ञानमा प्रायः गरेर आलोचनात्मक चेत आफू बाहिर निर्देशित हुन्छ– उक्त चेतले तथ्यांक केलाउँछ, तथ्यांक र तथ्य परिवर्तित भएको अवस्थामा आफ्नो सैद्धान्तिक मोडल पनि परिवर्तित गर्दै लैजान्छ । मानविकीले भनेबाह्य जगतलाई मात्र नभएर आफ्नै आन्तरिक सोचलाई बारम्बार प्रश्न गरिरहने, आफैलाई दोहोर्‍याएर हेरिरहने फरक किसिमको चेतको विकास गर्न मद्दत गर्छ । यस किसिमको आलोचनात्मक चेतको आवश्यकता मानवता र लोकतन्त्र दुवैलाई छ ।
एक दृष्टिले बुझ्दा ‘मानवता’ र ‘लोकतन्त्र’ दुवै अमूर्त धारणा हुन् । न हामीले बजारमा मानवताको टोपी लगाएको कुनै व्यक्ति वा वस्तुलाई भेट्न सक्छौं न गाउँ–सहरका गल्ली–सडकमा ‘लोकतन्त्र’को कपडा लगाएको कुनै व्यक्ति, सत्ता वा स्वरूपलाई । मानवता र लोकतन्त्र दुवै संसारभरि बाँचिरहेका नरनारीका विचार र व्यवहारमार्फत नै व्यक्त हुन्छन् ।

त्यसैले हरेकले आफैलाई दोहोर्‍याएर हेर्ने, परिवर्तनको निम्ति तयार रहने, आफ्नै विचारका सीमालाई प्रश्न गरिरहने किसिमको आलोचनात्मक चेत विकास हुनसके मात्र मानवता र लोकतन्त्रका परिधि फराकिला हुँदै जानेछन् । लोकतन्त्रका नयाँ परतहरू उघ्रिँदै जानेछन् । लोकतन्त्र र मानवताको परिधिमा केही विशेष जात, वर्ग, लिङ्ग र भूगोलका मानिसमात्र हुने छैनन् । सबै समाहित हुँदै जानेछन् । मानवले मानव केन्द्रित विश्वदृष्टि त्यागेर पशुपन्छी र प्रकृतिबारे पनि सोच्न थाल्नेछन् ।

अर्को सम्भावना पनि छ– उपभोक्ता संस्कृतिको रमझम र रमरममा आफैलाई बिर्सेर आलोचनात्मक चेत हराएका मानव झन्–झन् आत्मकेन्द्रित र स्वार्थी बन्दै जानेछन् । प्रकृतिको विनाश बढ्नेछ । लोकतन्त्रको क्षितिज खुम्चनेछ । अर्कार्लाई पछारेर आफू ठूलो भइरहने दंगली मानसिकताले अझै ब्यापकता पाउनेछ । मानिस त्यसबेला पनि लगातार दौडिरहेकै हुनेछन्, किनकि छेउछाउका सबै दौडिरहेकै हुनेछन् । तर दौडेर पुग्ने कहाँ भनेर सोच्ने चेतसमेत बजारको रमझममा धुमिल हुँदै जानेछ ।

दर्शन, साहित्य, कला, समाजशास्त्र आदिजस्ताविषयले मानिसलाई त्यस दैनिक दौडादौडी र दंगली मानसिकताबाट केही समयमात्र भए तापनि बाहिर निस्केर आलोचनात्मक ढंगले सोच्न ‘क्रिटिकल स्पेस’ दिन्छन् । त्यसैले तिनले मानवता र लोकतन्त्रका परिधिलाई लगातार फराकिलो बनाउँदै लैजानसमेत मद्दत गर्छन् । मानविकीको महत्त्व यसैमा छ ।

प्रकाशित : चैत्र ९, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बालबालिकालाई कसरी ध्यान दिने ?

रोजिना पोखरेल

काठमाडौँ — घरको काममा सिन्कोसमेत भाँच्न लगाएको छैन, उसका लुगा धुने, आइरन गर्ने, जुत्ता पोलिस गर्ने सबै मै गर्दिन्छु , खाली पढपढ भनेको मात्र छु, तैपनि राम्ररी पढ्दैन । अंक, प्रतिशत, ग्रेडमा सुधार गर्नै सक्दैन । के गर्नु खै ? हाम्रा पाला यसरी आन्नदले केही काम नगरी, जे माग्यो, त्यही पुग्नेगरी पढ्न पाएको भए म कत्ति पढ्थेंँ होला ? खालि मोबाइल, ल्याटप, टिभी, नेटमा झुन्डिएको छ ।

म त आजित भइसकेँं, के गरी यसलाई सुधार्ने होला ? यस प्रकारको संवाद, आवाज अधिंकाश घरपरिवारमा सुनिन्छ । केवल पढ्नेमात्र काम बालबालिकाको हो, अरू केही गर्नु पर्दैन, घरको काम केही सघाउनु पर्दैन, सकेसम्म जतिबेला नि पढिदिए हुन्थ्यो र बढी अंक, ग्रेड ल्याइदिए हुन्थ्यो भन्ने मान्यताबाट धेरै अभिभावक अगाडि बढेको देखिन्छ । अर्कातिर बालबालिका आफ्ना अभिभावकको जति बेला पनि पढपढ भन्ने कुराले दिक्क हुने गरेको देखिन्छ । जसको कारण धेरै बालबालिकाको मनस्थितिमा यो पढ्ने काम आफ्नालागि नभएर अभिभावकको लागिमात्र हो कि भन्ने बुझाइ रहेकोसमेत देखिन्छ ।

छोरा हुन् या छोरी दुवै समान हुन्, घरायसी काममा कुनै लिंगको पृथकता हुन्न, कामआफ्नो हो भन्ने ज्ञान दिलाउन सानैदेखि उनीहरूले गर्न सक्ने र बोझ नपर्नेगरी घरायसी काम, सामाजिक दायित्व निर्वाह गर्न/गराउन परिवारले भूमिका निर्वाह गर्न बिर्सनु हुन्न । पछि पढिसकेपछि ठूलो भएर गरिहाल्छ नि, अहिलेको उमेर पढ्ने मात्र हो भन्ने मनोभाव अभिभावकमा बढ्दै जानु पक्कै पनि राम्रो पक्ष मान्न सकिन्न ।

बालबालिकाको उमेर बढी समय पढाइमा ध्यान दिने र पारिवारिक, सामाजिक दायित्व वहन गर्न सिक्दै जाने पनि हो भन्ने भावनाको विकास गराउनु जरुरी देखिन्छ । अवश्य पनि उनीहरूको पढाइमा सधाउ पुर्‍याउन परिवारले हर प्रकारले सहयोग र वातावरण मिलाइदिनुपर्छ ।

बिना तनाव, बिना झन्झट, प्रफुल्लित पारिवारिक वातावरणको सिर्जनाले नै बालबालिकाको पढाइमा सहयोग गर्छ । तर उमेर अनुसार घरायसी काम, जिम्मेवारी, दायित्व कुनै पनि वहन गर्न नलगार्ई केवल पढ्न, रट्नमात्र सिकाउनु र प्रेरित गर्नु पटक्कै राम्रो होइन । घरायसी काममा सहयोग गर्ने व्यवहार, अन्य तौरतरिकामा उनीहरूको सहयोग माग्ने, खोज्ने व्यवहारले उनीहरूमा पढाइमा थकान मेटाउन सहयोग गरी अझ पढ्न सहयोग पुर्‍याउँछ ।

भान्साका काममा सहभागी गराउने
हरेक अभिभावकको साझा समस्यामध्ये बालबालिकाको स्कुलको खाजा हुने गर्छ । धेरै बालबालिका घरमा खाना रुचिपूर्वक नखाने तथा खाजामा समेत बाहिरी खाजा, जंक फुड, प्याकेजिङका खाजा रोजेको देखिन्छ । घरायसी खाजा लान, खान नमान्ने साथै परिवारको हतारोपनको बहाना या अल्छीका कारण अधिंकाश बालबालिकालाई खाजाका रूपमा पैसा दिइने र बाहिरी खाजा किनिखान अनुमति दिने प्रचलन बढ्दो छ ।

यदि बालबालिकालाई घरमा रहेका बखत, छुट्टीको दिन भान्साको काममा सहभागी गराउँदै लाने हो भने केही सकारात्मक परिवर्तन देख्न सकिनेछ । उनीहरूको रुचिका परिकार बनाउन, खान प्रेरित गर्न सहयोगी बन्न सकिन्छ । विभिन्न खाद्यान्नको जानकारी, तिनको पौष्टिकताबारे सचेत गराउन सकिन्छ । उनीहरूलाई पटक्कै मन नपर्ने परिकारलाई अलि पृथक तरिकाले बनाउन, उनीहरूको सहयोग खोजी त्यसमा रुचि भर्न सकिन्छ ।

सानैदेखि सामान्य काममा सहयोगी बनाएर भान्साको काम र घरायसी परिकारमा आकर्षित गर्न सकिन्छ । अर्कातिर बालबालिकालाई भान्सामा आकर्षित गर्दै खाना, परिकार बनाउन सक्षम बनाउन सिकाउनुको अर्थ उनीहरूमा आत्मविश्वास बढाउनु, आत्मनिर्भर र व्यावहारिक बनाउन सिकाउनु हो । जसले जीवनको आधारभूत ज्ञानसमेत दिलाउँछ । यसरी सिकाउँदा निकै धैर्यको आवश्यक पर्ने गर्छ, साथै उमेर, समय अनुसार मात्र उनीहरूले गर्न सक्नेगरी, बोझ महसुस नहुने गरेर मात्र सहकार्य गर्नुपर्छ ।

उनीहरूको स्वास्थ्य, पोषणबारे बुझाउने यो उत्तम विधिसमेत हो । भान्सामा केही समय बिताउने बानीले उनीहरूमा अरूप्रति सहकार्य गर्न, अरूको रुचिलाई सम्मान गर्न, भान्साको काममा लैंगिक विभेदीकरणको सोच अन्त्य गराउन सानैदेखि सहयोग गर्छ । मुख्य कुरा यसबाट बालबालिकामा घरायसी खाना, खाजा, परिकारमा आकर्षित गराउँछ ।

बालबालिकासँग खेलकुद
उमेर अनुसारको उफ्राइ, दौडाइ, चकचक गर्नु बालबालिकाको सामान्य पक्ष हुन् । पर्याप्त खेल्न, दौडिन, उफ्रिन उनीहरूले पाउनुपर्छ भन्ने वैज्ञानिक मान्यता छ । तर समाजको परिवर्तनशीलताको नियमसँगै परिवारमा बालबालिका जन्माउने संख्या घट्दो छ । एक वा बढीमा दुई सन्तानमा रमाउने परिवार बढ्दै जाँदा, सहरीकरणका कारण बालबालिकाले पर्याप्त खेल्ने स्थान, साथी र वातावरण पाइरहेका देखिँदैन ।

स्कुलका साना भौतिक संरचनामा बाँधिनुका बाध्यता, आफ्ना सन्तान आफ्नो घर, बासभन्दा टाढा नजाओस् भन्ने मान्यताका साथै बाहिरी केटाकेटीसँग नघुलोस् भन्ने सोचले बालबालिका प्रायः आफ्नै घरको परिधिमा धेरै समय सीमित हुने अवस्था छ । यो अवस्थालाई केही परिवर्तन गराउन सकेसम्म आफ्ना समूहका बालबालिकासँग रमाउन, खेल्न दिनुको जस्तो राम्रो अवस्था अन्य हुन सक्दैन । तथापि केही नभए अभिभावकले नै केही समय निकाली बालबालिकासँग रुचि हुनेगरी खेल्नु, उफ्रनु, दौडिनुपर्छ ।

जसले बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक विकासमा सकारात्मक प्रभाव पर्छ । उमेर अनुसारका खेलकुदमा नै बालबालिकाको सबभन्दा बढी रुचि हुने गर्छ । तर ती आवश्यकता पूरा नहुँदामात्रै बालबालिका टिभी, मोबाइल, ल्यापटप, नेटमा जतिबेला पनि झुम्मिन खोजेका हुन् ।

अतः उनीहरूलाई बढी प्रविधिका यन्त्र, कार्टुन, मोबाइलका गेम आदिबाट बढी आकर्षित हुन नदिन अभिभावकले समय निकाली खेलकुदमा साथी बनिदिन आवश्यक हुन्छ । चाहे घरभित्र या घर बाहिर खेलिने खेल हुन्, तिनमा यो केटाको अनि यो केटीको खेल हो भन्ने विभेद पटक्कै सिकाउनु हुन्न । सकेसम्म बढी बालबालिकाकाका उमेर समूहका साथीहरू भेला भई खेल्ने वातावरण सिर्जना गराउनुपर्छ ।

पर्याप्त समय दिने
साना उमेरका बालबालिकाले पढेको, लेखेको सुनिदिने हो भने उनीहरूमा स्वतः हौसला बढ्छ । उनीहरूका शिक्षक–शिक्षिकासँग बेलाबेलामा भेटी पृष्ठपोषण लिने साथै बालबालिकाका साथीहरूसँग बेलाबेलामा भेट्ने, संवाद गर्ने, घरमा निमन्त्रणा गर्ने शैलीले बालबालिकामा सकारात्मक प्रभाव पर्छ ।

उनीहरूलाई पर्याप्त समय दिई रुचि अनुसारका गीत, संगीत, नृत्य, चित्रकला, साहित्य आदिजस्ता विषयमा साथी र सहयोगी बन्न सक्नुपर्छ । तर अभिभावकको व्यस्तताको बहानामा बिहान सबेरै स्कुलमै खाना खानेगरी पठाउने र ढिला समयसम्म स्कुलमै राख्ने, बिदाको दिन पनि पढ्न लगाउने प्रकारको स्कुल, पाठशाला खोजी गर्ने शैली कतिको जायज होला ? साना बालबालिकाले आफ्नै अभिभावकसँग बढी समय खोजेका हुन्छन् ।

अभिभावकसँगै खान खाजेका हुन्छन्, तर यी आवश्यकता, चाहना विपरीतका कार्य राम्रो मान्न सकिन्न । उनीहरूका कुरा सुन्ने, समस्या बुझिदिने, जिज्ञासा सुन्ने र त्यसको निवारणको कोसिस गर्ने साथै बेलाबखत घुम्न लानेगरी समय मिलाउनुपर्छ । अभिभावकको कम समय प्राप्तिले बालबालिकामा एक्लोपनको महसुस गराउँछ । अभिभावकको पर्याप्त समय प्रदान गर्ने व्यवहारले उनीहरूमा सकारात्मक प्रभाव साथै उच्च मनोबलको विकास गराउँछ । जसका कारण पढ्न नमान्ने, पढ्न मन नगर्ने बालबालिकामा समेत पढाइप्रतिको आकर्षणमा सधाउ पुर्‍याउँछ ।

आफना बालबालिकाबाट असल व्यवहार, संस्कार, आदर र सुसभ्यताका साथै सफल व्यक्तित्वको अपेक्षा हरेक अभिभावकले गरेका हुन्छन् । तर सो प्राप्तिका लागि अभिभावकको व्यवहार र शैलीको लगानी नै महत्त्वपूर्ण पक्ष हुन्छ । अनावश्यक तनाव, दबाब र भय प्रदान गरी शारीरिक यातना दिन पिट्ने, अनावश्यक गालीगलौज गरी हकार्ने, अरूसँग दाँजेर हेप्ने कार्य पटक्कै असल हुन सक्दैन । उनीहरूमा हौसला, प्रेरणा भर्ने कार्यका साथै उमेर समूह अनुसार प्रविधिमैत्री, मनोरञ्जन दिने कार्यका लागि सारथी बन्नुपर्छ ।

बालबालिकाप्रतिको यस्ता पक्ष र व्यवहार एकै दिनमा अपनाएर, लागू गरेर पूर्ण हुँदैन, यसका लागि धेरै धैर्य र मिहेनत गर्नु पर्छ । यो कुरा कहिल्यै भुल्नुहुन्न कि आफूहरू जति नै व्यस्त भए पनि अभिभावक नै बालबालिकाका नजिकका मित्र हुन् र परिवार नै बालबालिकाको पहिलो र दिगो सभ्यताको केन्द्र हो । पहिलो पाठशाला नै घर हो र दिगो शिक्षक–शिक्षिका भनेकै बालबालिकाका अभिभावक हुन् । उनीहरूको भविष्य, शिक्षा, सभ्यता र व्यक्तित्व कस्तो हुने र बनाउने भन्ने भर अभिभावकको व्यवहार, शैलीमा भर पर्छ । अतः बालबालिकासँग मित्रवत व्यवहार गरी बढी समय दिनु आवश्यक हुन्छ ।

बालबालिकाको मूल कार्य भनेको नै स्कुल जाने, पढ्ने, लेख्ने, सिक्ने नै हो । तर यसो भन्दैमा जुन बेला नि पढे हुन्थ्यो, सधैं प्रथम भइदिए हुन्थ्यो, बरु अन्य घरायसी केही कार्य नगरे, नसिके हुन्छ भन्ने मान्यतामा सुधार गर्नु जरुरी देखिन्छ । पढाइ नै मुख्य पक्ष भए पनि पढाइको सफलतासँगै अरू व्यावहारिक पक्ष, ज्ञान, कौशल र निपुणताले नै सफल व्यक्तित्व निर्माण हुने कुरा बिर्सनु हुन्न ।

प्रकाशित : चैत्र ९, २०७५ ०८:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT