कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वैदेशिक रोजगारमा महिलालाई प्रतिबन्ध लगाउँदाका प्रभाव

स्वर्णकुमार झा

काठमाडौँ — वैदेशिक रोजगारमा जाने महिला कामदारको सुरक्षाको लागि नेपाल सरकारले बेलाबखत विभिन्न संरक्षणमुखी अवधारणाहरू अवलम्बन गर्दै आइरहेको छ । त्यस मध्येको एक हो— घरेलु कामदारको रुपमा महिलाहरूलाई वैदेशिक रोजगारमा जान प्रतिबन्ध । 

वैदेशिक रोजगारमा महिलालाई प्रतिबन्ध लगाउँदाका प्रभाव

२०७२ वैशाखमा सरकारले घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जाने महिला कामदारलाई लक्षित गर्दै वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ जारी गर्यो । निर्देशिकाको दफा ३ (३) ले २४ वर्ष उमेर पूरा नगरेका महिलालाई घरेलु कामदारको रुपमा खाडी (साउदी अरब, कतार, कुवेत, यूएई, ओमान, बहराइन), लेवनान तथा मलेसिया जान निषेध गरेको छ ।


जबकि पुरुष भने १८ वर्ष पूरा गरेपछि जान सक्छन् । त्यस्तै २०७३ चैतमा तत्कालीन संसद्को अन्तर्राष्ट्रिय तथा श्रम सम्बन्ध समितिले नेपाली कामदारहरूलाई घरेलु कामदारको रुपमा खाडी मुलुकमा काम गर्न जान प्रतिबन्ध लगाउन सरकारलाई निर्देशन दियो जुन प्रतिबन्ध यो लेख लेख्दाको मितिसम्म पनि खुल्न सकेको छैन । नेपालबाट अधिकांश महिलाहरू नै घरेलु काममा जाने तथा प्रतिबन्धको प्रभाव उनीहरूमाथि नै बढी पर्ने भएकोले यस लेखको शिर्षकमा महिला भन्ने शब्दावली प्रयोग गरिएको छ । यी दुवै खाले प्रतिबन्ध (उमेरजन्य प्रतिबन्ध तथा घरेलु कामदारको रुपमा विदेश जान रोक) का कारण विशेषगरी महिला कामदारमाथि के कस्तो प्रभाव परेको छ त ? त्यस कुरालाई बुँदागत रुपमा यसरी बुझ्न सकिन्छ ।


अनियमित हैसियतमा जाने महिला कामदारको संख्यामा बढोत्तरी


उमेरजन्य प्रतिबन्ध तथा घरेलु कामदारको रुपमा विदेश जान रोक लगाइएसँगै भारत लगायत तेस्रो देशको बाटो हुँदै अवैधानिक ढंगले गन्तव्य मुलुक पुग्ने महिलाहरूको संख्या पहिलेको तुलनामा बढ्दै गएको प्रवृत्ति देखिन्छ । यसबाट महिलाहरू ठगी र जालसाजीमा पर्न सक्ने सम्भावना पनि उत्तिकै प्रबल देखिन्छ ।


महिला बेचबिखन तथा तस्करीका घटना वृद्धि


अनियमित हैसियत वा अवैधानिक ढंगले रोजगारीमा जाँदा महिलाहरू बेचबिखन तथा तस्करी जस्ता जघन्य अपराधका शिकार पनि हुने गर्छन् । यस्ता घटनाहरू अहिले संचार माध्यममा प्रशस्तै आउने गरेका छन् । अपराधीहरूले बिहेको आवरणमा होस् वा वैदेशिक रोजगारीका नाममा महिलाहरूलाई श्रम र यौन शोषणमा लगाउने गरेका घटना बढ्दै गएको प्रहरीमा आएका उजुरीले पनि देखाउँछन् । नेपाल प्रहरीको महिला तथा बालबालिका निर्देशनालयका अनुसार यस्ता उजुरी २०७१/७२ मा १८१, २०७२/७३ मा २१२, २०७३/७४ मा २२७ र २०७४/७५ मा ३०५ रहेको छ । यीमध्ये धेरैजसो उजुरी महिलाले गरेका छन् । सामाजिक लोकलाज तथा डरधम्कीका कारण महिलाहरू यस्ता उजुरी गर्न पनि डराउँछन् । त्यसैले उजुरी गर्नेभन्दा नगर्नेको सङ्ख्या धेरै हुने गरेको छ । २०७२ वैशाख ८ गते वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ स्वीकृत तथा लागू हुनु अनि २०७३ चैत २० गतेबाट घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाइएदेखिका आर्थिक वर्षहरूमा उजुरीको संख्या बढ्नाले महिलाहरूलाई उमेरको प्रतिबन्ध साथसाथै घरेलु कामदारको रुपमा जान लगाइको प्रतिबन्ध पनि महिला बेचबिखन तथा तस्करीको घटना बढ्नुको एउटा कारण मान्न सकिन्छ ।


आर्थिक क्षतिपूर्तिबाट वन्चित


कामदार अनियमित हैसियतमा वैदेशिक रोजगारमा जाँदा उक्त कामदारको गन्तव्य मुलुकमा मृत्यु वा अंगभंग भएको खण्डमा कामदारले बीमा तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट पाउने क्षतिपूर्ति वापतको आर्थिक सुविधा दाबी गर्न अयोग्य हुन्छन् । त्यसैले गैरकानुनी बाटो अपनाएर विदेश गएका महिलाहरू यो सुविधाबाट वन्चित छन् ।


महिलाहरूको आर्थिक उपार्जनको अवसर गुमेको


वैदेशिक रोजगारको एउटा मुख्य उद्देश्य भनेकै आर्थिक उपार्जन गर्नु रहेको छ । जसका कारण घरपरिवारको आर्थिक स्थितिमा सुधार आउँछ भन्ने पनि हो । त्यसैले सफल वैदेशिक रोजगारमा गएका घरपरिवारको जीवनशैली फेरिएको छ । अर्थात् राम्रो खानु, राम्रो लाउनु, केटाकेटीलाई राम्रो स्कुलमा पढाउनु जस्ता कुरा त्यही रोजगारीको देन हो । यी यस्ता उपलब्धि न त कसैले कसैलाई सुनाउनुपर्छ, न त देखाउनु नै पर्छ । तर महिलाहरूमाथि प्रतिबन्ध लगाइनाले वैदेशिक रोजगारमा जान नपाएका वा जान नसकेका महिलाहरूको आर्थिक उपार्जन गर्ने अवसर गुमेको छ ।


अबको बाटो


नेपाल सरकारबाट लागू भएको यस किसिमका प्रतिबन्धले घरेलु महिला कामदारहरूलाई उपर्युक्त प्रभावहरू पर्न गएको सन्दर्भमा यसको निवारणको लागि निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ ।


समान उमेर हद कायम गर्ने


वैदेशिक रोजगार ऐन, २०६४ ले १८ वर्ष उमेर पुगेका बालिग नागरिकलाई वैदेशिक रोजगारमा जान योग्य मानेको छ । तर त्यसको विपरीत वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ ले महिला र पुरुषको उमेरमा विभेद गरेको छ । तसर्थ पुरुष सरह महिलाले पनि २४ वर्षको साटो १८ वर्षमा घरेलु कामदारको रुपमा वैदेशिक रोजगारमा जान पाउने गरी उमेरको हद समान बनाइनुपर्छ ।


तालिम कडाइका साथ कार्यान्वयन


महिला घरेलु काममा जाने देशको भाषासंस्कृति, त्यहाँ पालन गर्नुपर्ने नियम, गर्नुपर्ने काम सम्बन्धी सीपविकास तथा अभिमुखीकरण तालिम जस्ता विषय सरोकारवाला निकायले कडाइका साथ कार्यान्वयन गर्नुपर्छ ।


गन्तव्य मुलुकमा सरकारको बलियो उपस्थिति


महिला घरेलु कामदारको रुपमा जाने गन्तव्य मुलुकहरूमा रहेका नेपाली राजदूतावास वा कूटनीतिक नियोगले कामदारको हकमा आफ्नो उपस्थिति बलियो तथा सक्रिय रुपमा राख्नसक्नुपर्छ । कामदारका समस्या हल गर्न त्यहाँको सरकार लगायत रोजगारदाताहरूसँग परिणाममुखी प्रयासको कदम चाल्नुपर्छ ।


द्विपक्षीय सम्झौता


वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को दफा ४ मा नेपाल सरकारले गन्तव्य मुलुकहरूसँग घरेलु कामदारको सम्बन्धमा द्विपक्षीय सम्झौता वा समझदारी गरेर मात्र वैदेशिक रोजगारमा कामदार पठाउने व्यवस्था गरेकोले यथाशिघ्र ती मुलुकहरूसँग द्विपक्षीय सम्झौता गर्नु युक्तिसंगत देखिन्छ ।


अन्त्यमा,


नेपालको संविधानले आफ्ना नागरिकलाई स्वतन्त्रतापूर्वक काम गर्न, रोजगारीको छनोट गर्न र हिँड्डुल गर्न पाउने जस्ता हक प्रत्याभूत गरेको छ । महिलाको हकमा पनि यो कुरा उत्तिकै लागू हुन्छ । महिलाहरूलाई पनि देशबाहिर हिँड्डुल गर्न, काम गर्न पुरुष जत्तिकै अधिकार छ । तर हाम्रो समाजमा पितृसत्तात्मक सोच अझ पनि हावी छ । एउटी महिलाले बुवा, दाजुभाई, श्रीमान जस्ता विभिन्न रुपमा पुरुष सदस्यबाट सहयोग तथा संरक्षण प्राप्त नगरी कुनै कामका निम्ति अग्रसर हुन सक्दिनन् भन्ने मान्यता समाजमा व्याप्त छ । अर्थात् हाम्रो सामाजिक सन्दर्भमा महिलाहरूलाई कमजोर, शक्तिहीन तथा संरक्षण प्रदान गर्नुपर्ने वस्तुका रुपमा हेरिन्छ ।


यस कारणले गर्दा सरकारबाट लगाइने प्रतिबन्ध र प्रतिबन्धात्मक रोकथाम जस्ता संरक्षणमुखी अवधारणाहरू मुख्यगरी महिला केन्द्रित हुन्छन् । यद्यपि यस्ता अवधारणाहरू महिलाहरूको सुरक्षाप्रति लक्षित हुन्छन् तर यिनीहरूले सधैँ महिला अधिकारको भने रक्षा गर्दैनन् । संरक्षणमुखी अवधारणाका कारण महिलाहरू रोजगारको निम्ति अनियमित हैसियतमा वैदेशिक रोजगारमा जाने क्रमले उनीहरूको बेचबिखन तथा ओसारपसारको जोखिम बढाएको छ । तसर्थ नेपाल सरकारले यथासक्य चाँडो घरेलु कामदारको रुपमा महिलाहरूलाई वैदेशिक रोजगारमा जान लगाइएको प्रतिबन्ध फुकुवा गर्नु वेश होला ।

प्रकाशित : चैत्र १२, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?