१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कमल थापाको आन्दोलन

सिउँडी
विमल निभा

काठमाडौँ — कुनै जमानाका बहुचर्चित महापञ्च कमल थापा आफ्नो एक अदत् राष्ट्रिय प्रजातन्त्र पार्टीसहित बृहत जनआन्दोलनमा निस्किएका छन् । अचेल आन्दोलन यस्तै राजावादी, भूतपूर्व पञ्च र गणतन्त्र विरोधी (यहाँ म चलनचल्तीको मण्डले शब्दको प्रयोग गर्न गइरहेको छैन) मनुवाहरूका जिम्मामा आएको प्रतीत हुन्छ ।

यसको कारण के हो भने पुराना जनआन्दोलनकारीहरू यस कार्यबाट पुरै मुक्त भइसकेका छन् । त्यस समयका लाल कम्युनिस्टहरू सत्तामा बलियोसित विराजमान छन् भने ‘वेटिङ सत्ताधारी’ प्रतिपक्षका कांग्रेसी बन्धुहरू समानान्तर छाया सरकारमा । अब यिनीहरूलाई यस प्रकारको टुट्टा पर्ने जनआन्दोलन–सनआन्दोलनसँग के सरोकार हुनसक्छ ?


त्यसकारण यस क्षेत्रमा अनायास देखापरेको खालीपनाको क्षतिपूर्तिस्वरुप कमल थापाहरूलाई रुचि भए पनि अथवा नभए पनि आन्दोलन गर्नुपरेको छ । तर वर्तमानको नग्न यथार्थ के हो भने जति गरे पनि यिनीहरूका आन्दोलन नामक प्रयास व्यर्थ गइरहेको छ ।


यो ‘हातमा लागि शून्य’ मार्का असफल आन्दोलनको कारण के हुनसक्छ ? एउटा ठोस कारण त स्पष्टै छ । वास्तवमा जनआन्दोलन र कमल थापाहरूमा कुनै मेल छैन । र दुई बेमेलको मेल कदापि सम्भव हुँदैन । यो पूर्णतया विज्ञानसम्मत छैन । किनभने मैटर र एन्टीमैटरको जोडले अस्तित्वहीनताको भयानक विस्फोटलाई जन्माउँछ ।


यो सरल विज्ञान हो । र अर्को कारण पनि विज्ञानसँगै सम्बन्धित रहेको छ । हाम्रो अगाडि एक नभएर अनेक राष्ट्रिय प्रजातन्त्र पार्टीहरू दृश्यमान छन् । उदाहरणका लागि पशुपति शमशेर जबराको राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकेन्द्रबहादुर चन्दको राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रकाशचन्द्र लोहनीको राष्ट्रिय प्रजातन्त्र पार्टी इत्यादि ।


यिनीहरूमा टडकारोसँग देखापर्ने कमल थापाको ब्रान्डेड राष्ट्रिय प्रजातन्त्र त दृश्यपटलमा हाजिर छँदैछ । र यतिका राष्ट्रिय प्रजातन्त्र पार्टीहरू भएर पनि आन्दोलनचाहिंँ किन अघि नबढिरहेको होला ? यो चाखलाग्दो अनुसन्धानको विषय हुनसक्छ । मेरो सन्देह के हो भने कतै यिनीहरूका डीएनएमै आन्दोलन नभएको कुनै विशेष अवस्था त होइन ?


केही दिनदेखि मलाई के लागिरहेको छ भने आन्दोलनको शंखघोष गर्ने कमल थापाको विफलताको मुख्य कारण अर्को छ । यसमा उनको राष्ट्रिय प्रजातन्त्र पार्टीले उत्साहित भएर अघि सारेको खास–खास माग नै शतप्रतिशत दोषी हुनुपर्छ । यो पक्कापक्की हो । तपाई यसको मागतर्फ ध्यान दिनोस् ।


के हुन्, आन्दोलनकारी कमल थापाद्वारा प्रस्तुत मागहरू ? एक, हिन्दु धर्मको स्थापना र दुई, राजतन्त्रको पुनरागमन । र यही दुई मागको फलस्वरुप उनी दोहोरो संकटमा नराम्ररी फँसेका छन् । हो, कमल थापाको आन्दोलनले सफलता प्राप्त गर्न नसक्नुको गाँठी कारण यही हो । र मेरो कुरामा विश्वास लाग्दैन भने एकपटक नेपाली कांग्रेस पार्टीतिर आफ्नो दृष्टि दिनोस् । त्यहाँ आजभोलि जोरसोरले घटित भइरहेको छ ?


यसको महासचिव शशांक कोइराला यत्र, तत्र र सर्वत्र हिन्दु धर्मको घनघोर वकालत गरेर हिंँडिरहेका छन् । अब नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले यसलाई पटक्कै स्वीकार गरिरहेका छैनन्, यो बेग्लै कुरो हो । तर यो पनि त्यति सही कुरो होइन । वस्तुतः सभापतिको आशय के हो भने महासचिव शशांकसहित तमाम कांग्रेसीहरूले देउवालाई नै आराध्यदेव ब्रह्मा, विष्णु र महेश माने उनलाई हिन्दु धर्मप्रति कुनै नाइनास्ती छैन ।


र यसमा खानदानी कांग्रेसी कोइरालाहरूका कुनै पनि किसिमको मञ्जुरीको प्रश्नै छैन । किनभने नेता विश्वेश्वप्रसाद कोइरालाको पालादेखि नै एकमाक्र कांग्रेसी ‘ईश्वर’ लाई चिन्हित गरिसकिएको छ । र त्यो सर्वशत्तिमान कांग्रेसी ‘ईश्वर’ कोइराला वंश बाहिरको हुनै सक्दैन । तसर्थ गैरकोइरालाहरूले यसमा हकदाबी नगर्नु नै कांग्रेसी धर्म हुनेछ ।


माननीय कमल थापाको आन्दोलनको पहिलोमात्र हिन्दु धर्मलाई नेपाली कांग्रेस पार्टीले सहजै हातलागी पारेको छ भने दोस्रो माग पनि सर्वथा संकटमुक्त छैन । यसलाई वर्तमान सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सरकारी कमरेडहरूले बलात् खोसेका छन् । तपाई भन्नुहोला– कम्युनिस्टहरू त विशुद्ध गणतन्त्रवादी हुन्छन् ।


त्यसैले कमल थापाको दोस्रो माग राजतन्त्रको पुनरागमनसँग यिनीहरूको के सम्बन्ध हुनसक्छ ? यो पनि ठिकै हो । तर सबभन्दा ज्यास्ती ठिक के हो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कमरेडहरू विलकुलै गणतन्त्रवादी देखा परिरहेका छैनन् । यो अप्रमाणिक तथ्य होइन । अहिले नेपालमा शाहतन्त्रका स्थापक पृथ्वीनारायण शाहलाई आत्मैदेखि को मान्छन् ? यिनै सत्ताधारी कमरेडहरू ।


हाम्रा प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीलाई कतै कुनै पृथ्वीनारायणको सालिकजस्तो देखिनु हुन्न, तुरुन्तै बडेमानको फूलमाला पहिर्‍याइहाल्छन् । चाहे त्यो अस्तिनको नेपाल प्रज्ञा प्रतिष्ठानको बडो प्राज्ञभक्तिका साथ स्थापित पृथ्वीनारायण शाहको प्रतिमा होस् अथवा अन्यत्र कतैको । के फरक पर्छ ? र ‘पृथ्वी जयन्ती’ आउनासाथ यी सरकारी कमरेडहरू परम महेन्द्रीय मुद्रामा आउँछन् । र भक्तिविभोर भई राजतन्त्रमय महाउत्सव मनाउन थाल्छन् ।


कहाँसम्म भने वर्षभरि सम्पूर्णतः मौन धारण गरेर बसेका नेकपाका बौद्धिक नेता कमरेड मोदनाथ प्रश्रितसमेत एकाएक जागृत हुन्छन् । उनी यही दिनमा माक्र सत्रिय हुने गर्छन् । अतः कमरेड प्रश्रित पृथ्वीनारायणप्रेमी कम्युनिस्टहरूका प्रिय ‘प्रतीक पुरुष’ हुन् । अर्थात् कमरेड मोदनाथ प्रतीक । (प्रश्रित होइन) ।


अब भन्नोस्, आफ्ना दुवै माग– हिन्दु धर्मको स्थापना र राजतन्त्रको पुनरागमन– यसरी सत्तापक्ष र प्रतिपक्षद्वारा बलजफ्ती अपहरित भएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका आन्दोलनकारी नेता विचरा कमल थापाले कसरी आन्दोलन अघि बढाउन सक्छन् त ? यो असम्भव छ ।

प्रकाशित : चैत्र १६, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?