१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

जतासुकै जहाँसुकै रामै–राम

कमल रिजाल

काठमाडौँ — रामनवमीमा मर्यादा पुरुषोत्तम रामको सम्झना गर्ने चलन छ । महर्षि वाल्मीकिका अनुसार भगवान् विष्णुले रामावतारको रूपमा अवतरण गरेकाले यस दिनलाई रामनवमी भनिएको हो । त्रेतायुगमा चैत्रशुक्ल नवमीको मध्याह्नमा रामको अवतरण भएको थियो । तुलसीदासले रामचरित मानसमा भगवान्को मानव अवतार हुन् भनेका छन्, उनलाई । वेदले पनि उनलाई यसै रूपमा स्वीकारेको छ ।

जतासुकै जहाँसुकै रामै–राम

भगवान् भनेको षडैश्वर्य सम्पन्न शक्ति हो । यिनमा ऐश्वर्य, धर्म, यश, श्री, ज्ञान र वैराज्ञ पर्छन् । यिनलाई संयुक्त रूपमा ‘भग’ भनिन्छ । तिनका स्वामी भएकाले उनलाई भगवान् भनिएको हो । राम तिनै भगवान्का मानव रूप हुन्, जो उनका १२ अंशले युक्त छन् । व्यासजीका अनुसार भगवान्का २४ अवतार मुख्य छन् । तिनमा राम १८ औंंमा पर्छन् । कसैले दसावतारलाई मुख्य मानेका छन् । यस अनुसार भने उनी सातौंमा पर्छन् ।


अथर्ववेदीय रामपूर्वतापिनीयोपनिषद्ले राम शब्दलाई अनेकार्थ वाचक मानेको छ । यस शब्दको व्युत्पत्ति गर्दा ‘राति राजते वा महीस्थितः सन् इति रामः’ भन्ने हुन्छ । ‘राति वा राजते’ शब्दको पहिलो अक्षर ‘रा’ र ‘महीस्थितः’ शब्दको पहिलो अक्षर ‘म’ बाट ‘राम’ शब्द बनेको हो । यसको अर्थ हुन्छ– ‘जसले महीतल अर्थात् पृथिवीमा रहेर भक्तजनको इच्छा पूरा गर्छन्, जो राजाको रूपमा सुशोभित भएका छन्’, ‘जसबाट राक्षसहरू मारिएका छन्’, ‘जहाँ योगीहरूदेखि भोगीहरूसम्मका प्राणी जगतको मन रमाउने गर्छ’, त्यही नै राम हो ।


(कल्याण उपनिषद् अङ्क पृष्ठ ५३१) भोकाएका शिशुले आमाको काखमा बसेर स्तनपान गर्दा पाउने आनन्द पनि राम । आफ्ना शिशुले स्तनपान गरेका बेला आमाहरूलाई प्राप्त हुने आनन्द पनि राम । कामुक व्यक्तिले काम समाधिको अवस्थामा पाउने आनन्द पनि राम । पशुपन्क्षीले आमाको काखमा पाउने आनन्द पनि राम । समग्रमा प्राणीले आफ्नो चाहना पूरा हुदा जुन आनन्द प्राप्त गर्छन्, ती सबै राम नै राम ।


रामका तीन स्वरूप छन्–आध्यात्मिक, आधिदैविक र आधिभौतिक । आधिभौतिक रूपमा उनी तत्कालीन अयोध्या नरेश दसरथका पुक्र हुन्, जो बाबुको आज्ञाले १४ वर्ष वनवास गएका थिए । जसले समाजलाई दुष्ट शासकको अत्याचारबाट मुत्त गरेका थिए । आधिदैविक रूपमा उनी जगदीश्वर विष्णु हुन्, जसलाई देवर्षि नारदको श्रापका कारण मानव चोला लिनुपरेको मात्र थिएन, आफ्नै अर्धाङ्गिनी सीता हरण भई उनको मुक्तिका लागि बाँदरहरूको सहयोग लिनुपरेको थियो । आध्यात्मिक रूपमा उनी परमानन्द स्वरूप हुन्, जसले चराचर जगतलाई उनीहरूको स्वरूप, अवस्था, रुचि, क्षमता र विशेषता अनुसार आनन्द प्रदान गर्छन् ।


उपनिषद् दर्शनका अनुसार आब्रह्म स्तम्भपर्यन्त सबै रामकै विविधरूप हुन् । उनी कसैको सहयोगविना नै प्रकट हुन सक्छन्, त्यसैले ‘स्वभू’ हुन् । आफै प्रकाशित हुन्छन्, त्यसैले स्वाराट् वा ज्योतिर्मय छन् । ईशोपनिषद्मा एउटा पंक्ति छ– ‘...पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।’ अर्थात् पूर्णबाट पूर्ण निकाल्दा पनि पूर्ण नै बाँकी रहने कुरा कहीं पनि सम्भव हुँदैन, तर उनमा त्यो पनि सम्भव हुन्छ । उनी पूर्ण हुन् ।


पूर्ण नै रहन्छन् । अवस्था अनुसार पूर्णबाट पूर्ण नै निकाल्छन् । फेरि पनि आफू भने पूर्ण अवस्थामै रहन्छन् । उनको जन्म महिना, जन्म पक्ष, जन्म तिथि र समयले पनि उनलाई पूर्णताकै सङ्केत गरेका छन् । उनको जन्म चैत महिनामा भएको हो । चैत महिना भनेको पूर्ण महिना हो । वर्षदिनका १२ महिनामा चैत स्थान १२ औंमै पर्छ । उनको जन्म शुक्लपक्षमा भएको छ । शुक्लपक्ष भनेको पूर्णिमातर्फ उन्मुख पक्ष हो । यो पनि पूर्णताकै प्रतीक हो । पूर्णचन्द्रको दर्शन पूर्णिमाकै दिन सम्भव हुन्छ ।


रामको जन्म नवमी तिथिमा भएको हो । नवमी भनेको नौ अङ्कको प्रतिनिधि तिथि हो, जुन आफैमा पूर्ण अङ्क हो । गणितमा नौभन्दा बढी अङ्क छैन । यसपछि जति अङ्क आउँछन् सबै एकदेखि नौ अङ्क नै दोहोरिने हुन् । हो, यसमा दस अङ्क अपवादमा देखिन्छ, तर त्यो पनि रूपमा मात्र हो, सारमा होइन । एकमा शून्य जोडिएर दस अङ्क बन्ने हो, तर शून्य एक्लैमा भने केही होइन । उसले अर्कोको साथ पाएपछि मात्र चमत्कार देखाउने हो । अतः पूर्ण अङ्क भनेको नौ नै हो । आठसम्म अर्को अङ्कको अपेक्षा रहन्छ । नौ पुगेपछि कुनै अपेक्षा रहन्न ।


रामको जन्म मध्याह्न भएको हो । यो पनि पूर्णताकै प्रतीक हो । मध्याह्नसम्म समय उँभो लाग्छ । त्यसपछि ओरालो । उँभो लाग्दै गरेको समय पूर्ण होइन, उँधो लाग्दै गरेको समय पनि पूर्ण हुन सक्दैन । उँभो लाग्दै गरेको समयले अर्को समयको अपेक्षा गरिरहेको हुन्छ । उँधो लाग्दै गरेको समयले पनि अर्को अपेक्षा गरेकै हुन्छ । अन्ततः पूर्णतामा रहने समय मध्याह्न नै बाँकी रहन्छ ।


रामायणका अनुसार रामले ११ हजार वर्ष राज्य गरेका छन् । (कतै १३ हजार वर्ष भन्ने पनि पाइन्छ) उनको शासनकालमा भूमण्डलमा कतै पनि अन्याय र अत्याचार हुन पाएन । जो जसले त्यस्तो धृष्टता गरे, अन्त्यमा कित उनकै अनुयायी हुनपुगेका छन्, कि समाप्त भएर गएका छन् । उनले आफ्नो जीवनमा जे गरे, समाजकै लागि गरे । शान्तिकै लागि गरे, सुशासनकै लागि गरे । हो, उत्तरार्द्धमा उनकै अर्धाङ्गिनी सीतामाथि अन्याय भयो, तर त्यो पनि रूपमा मात्र हो । सारमा उनले आफ्नै कर्मफल भोगेकी हुन् ।


पद्मपुराणमा उल्लेख भए अनुसार बाल्यकालमा उनकै कारण एउटी गर्भिणी शुगीले पति वियोगको पीडा भोग्नुपरेको थियो । त्यतिबेला उसले सीतालाई मैलेजस्तै तिमीले पनि गर्भिणी अवस्थामा पति वियोगको पीडा भोग्नुपरोस् भन्ने श्राप दिएकी थिइ रे । फलतः यतिबेला उनले सोही श्रापको फल भोग्नुपरेको थियो । (कल्याण पुराण कथाङ्क पृष्ठ १५८) अहिले उनी त छैनन्, तर उनको कीर्तिपताका भने फहराइरहेको छ ।

प्रकाशित : चैत्र ३०, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?