कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

अनि जनबल र धनबल विदेशियो

जंगबहादुरले नेपालको धन विदेशमा लान वा विदेशी बैंकमा राख्न सख्त मनाही गरेका थिए । त्यस्तै आफ्ना गोरखाली जवानलाई ब्रिटिसको गोरखा रेजिमेन्टमा भर्ना हुन जान दिएका थिएनन् । देश समृद्धिशाली, शक्तिशाली बनाइराख्न जनबल र धनबल बढ्नु अत्यावश्यक हुने उनको विचार थियो ।
ज्ञानमणि नेपाल

काठमाडौँ — ‘तब राजाले ठूलो निञा निसाप हेर्नु, अन्याय मुलुकमा हुन नदिनु, निञा निसाब बिगार्न्या भनेका घुस दिन्या र घुस खान्या ईन दुई को ता धन जीव गरिलियाको पनि पाप छैन, ई दुई राजाका महा सतुर हुन् ।’ – पृथ्वीनारायण शाह

अनि जनबल र धनबल विदेशियो

पृथ्वीनारायण शाहको यो वाक्य मार्मिक छ, त्यस जमानामा घुसको रकम कति हुँदो हो र ! बढीमा भए एक–दुई रुपैयाँ । तर अन्याय भयो, न्याय नपाउने मान्छेको पीडा त अति हुन्थ्यो ।


सोझा भाइभारदार सिपाहीले ज्यान जाने कुनै अपराध गरे भने राजाले आफ्ना आज्ञाले नमार्नु बरु लडाइँतिर झोसिदिनु भन्ने मान्छे अन्यायमा रैतीलाई मर्का पार्ने, घात दिने, घुस लिनेप्रति सक्त सजाय दिन, ज्यान मार्न पनि अघि सर्छन् । घुस खाने–खुवाउने मुलुककै राजा, प्रजाका पनि महा शत्रु हुन् भन्छन् । घुस खाने मान्छे कति चतुर्‍याइँले खाने–खुवाउने बाटो बनाउँछ भन्ने चर्चा गर्दा मुगल सम्राट् अकबर र उनका मन्त्री वीरबलको कथा स्मरण हुन्छ ।


अकबरको एक कर्मचारी अत्यन्त घुस्याहा रहेछ, रैतीलाई बहुतै सताउँदो रहेछ । सम्राट्मा त्यसको नाउँमा उजुर परेछ । सम्राट्ले त्यसलाई आर्थिक कारोबारमा काम दिनु भएन भनेर ‘जा समुद्रका छाल गन्ने काम गरेर बस्, कति छाल हुँदारहेछन्, लेखो लाएर दैनिक जाहेर गरिपठा’ भनेर खटाएछन् । ऊ गएर बन्दरगाहमा बसेर छाल गन्न लाग्यो । समुद्रमा बराबर जहाज ओहोर–दोहोर गरिरहेछन्, बन्दरगाहमा आउनु–जानु गर्छन् । अब उसले सब जहाजहरूलाई खबरदार यहाँबाट आउनु–जानु गर्न पाउँदैनौ, म राजाको आज्ञाले छाल गन्दैछु भनेर रोक्यो । जहाज रोकिँदा माल पनि रोकिने भयो ।


हल्लाखल्ला भएपछि सबै भेला भएर त्यसलाई समाते । उसले कस्सिएर भन्यो, ‘मलाई के भन्छौ, जाओ सम्राट् अकबरलाई जाहेर गर । म त समुद्रको छाल गन्न बसेको विघ्न किन पार्छौ, तिमीहरूलाई उजुर गर्छु, राजाज्ञा उल्लङ्घन गर्नेहरू भनेर ।’ उसले लौ हेर सम्राट्को आदेश भनेर देखाइदियो । जहाजका मालिक त्यससँग खुसामत गर्दै उसकै आदेश लिँदै घुस खुवाउँदै जहाज ल्याउने–लाने गर्न थाले । उसका कामको निगरानी गर्दै गुप्तचरले त्यस्तो करामत देखेर सम्राट्कहाँ जाहेर गर्‍यो, ‘सरकार, त्यसले त घुस खाने बाटो झन् ठूलो बनाएछ ।’


अनि सम्राट्ले त्यस बदमासलाई ल्याएर घोडाका तबेलामा लिदी दैनिक सोहोर्ने काम दिएछन् । त्यहाँ पनि त्यसले घुस खाने जुक्ति ख्याएछ । तबेलामा घोडा सयौं बाँधेका छन् । तिनमा कसै–कसैले छेर्छ पनि । छेर्‍यो भने लौ घोडालाई सडेको–बिग्रेको दाना ख्वाइस् भनेर हप्काउने, साह्रो बड्कुल्यायो भने पनि आज घोडालाई राम्रो दानापानी भएन भनेर हप्काउन थाल्यो उसले । उजुर पर्‍यो भने जागिरै जान्छ भनेर दानापानीको प्रबन्ध गर्ने सयसहरू डरले थर्कमान हुँदै उसलाई घुस ख्वाउँदै मुख बुजो लाउन थाले । यस्तो कुरा सुनेपछि सम्राट्चाहिँ आजित भए रे, कर्मचारीले नखाई छाड्दो रहेनछन् भनेर ।


यो त एउटा कथा हो, जे भए पनि घुस खाने सयौं उपाय हुन्छन्, आर्थिक कारोबार गर्ने कर्मचारीले घुस नखाई छोड्दैन । घुस खाने बत्तीसवटा उपाय हुन्छन् भन्ने प्राचीन आचार्य कौटल्यले ‘द्वात्रिशत् हरणोपाया’ भनेर लेखेका छन््– जस्तो जलमा बस्ने माछाले पानी नखाई छोड्दैन, कतिखेर कति खान्छ भन्नेचाहिँ थाहा पाइँदैन । त्यस्तै आर्थिक कारोबार गर्ने कर्मचारीले घुस नखाई छोड्दैन, कहिले कति कसरी खान्छ भन्नेचाहिँ चालै पाइँदैन ।’


यस्तो व्यक्तिलाई रङ्गेहात पक्रन पनि सकिँदैन, घुस खाएको प्रमाण पनि पुग्दैन, त्यसलाई कसरी समात्नु भन्ने सवालमा आचार्यले सजिलो उपाए सुझाएका छन्– ‘पहिले उसको स्थिति कस्तो थियो, उसको घरपरिवारको अवस्था कस्तो थियो, सो बुझ्नू, अहिले ऊ धनधान्य सम्पन्न श्री सम्पक्तियुत्त औलाधौला भएको छ भने बुझ्नू, सो भ्रष्टाचारी कमिसनखोर हो भनेर । त्यसलाई पक्रेर केरकार गर्दा सम्पत्तिको स्रोत खोल्न नसक्नेसाथ ऊ घुस्याहा कमिसनखोर मानिन्छ र सजायभागी पनि बन्छ ।’


मुलुकको भलो गर्ने असल शासकले देशलाई झ्रष्टाचार मुक्त, कमिसन मुत्त दण्डविहीन बनाउने हो भने अर्थशास्त्रकार आचार्यका उक्तिको सुशासन चलाउने पृथ्वीनारायण जस्तो शासकको अनुशरण गर्नुपर्छ । नेपाल निर्माता पृथ्वीनारायण शाह देश सम्पन्न होस्, जनता सुखी हुन् भन्ने चाहन्थे र हृदयदेखि नै त्यस्तै गर्थे पनि । प्रजा मोटा भया दरबार बलियो हुन्छ भन्थे ।


जनता सुखी र सम्पन्न भए, राज्य बलियो हुन्छ भन्ने भाव उनको थियो । विदेशी बेपारी देशभित्र पसे भने तिनले प्रजालाई कङ्गाल पार्छन् भन्थे । आफूलाई चाहिने लुगा आफ्नै देशमा बुन्न लगाउनुपर्ने उनको सोच थियो । पानी लाग्ने ठाउँमा खेत बिराउने, कुलो खन्ने, खानी खन्ने, व्यापार बढाउने आदि देशमा सम्पन्न पार्ने काम गर्नुपर्छ, आफूमात्र यस्तो नीति अपनाउने होइन, छिमेकी देशलाई पनि उनी यस्तै उपदेश दिन्थे ।


नेपाल पस्न नपाएका फिरङ्गी (बोगले) व्यापारी पूर्वको बाटो भोट पुगेछन् । त्यो थाहा पाएर पृथ्वीनारायणले हतारिँदै ल्हासाका लामाहरूलाई चेताउँदै पत्र पठाएका थिए– ‘मैले नेपाल पस्न नदिएको फिरङ्गी पूर्वको बाटो दिगर्चा पुगेछ, यिनसँग सम्बन्ध नराख्नू, यी बेपारी भनेका बडा चलाख छन् । यिनीहरू भनेका कस्मेटिक अर्थात् काँचका झलझलाउँदा माल सामान दिएर सुन–चाँदी कसनतमनको वस्तु लाने बेपारी हुन्’ भनेर चेताएका थिए । बेपार सन्धिमा भोटलाई फँसाइहाल्छन् कि भनेर सुरुमै चेताएका थिए ।


अर्को उनले धन विदेश जाने सबै बाटा रोकेका थिए । चाडपर्वका बेला नेपालदूनमा पसेर विदेशी नचङ्गे गवैया नौटङ्की नाना पातर्नीका गर्राहरू पसेर धन लान नपाउन् भनी तिनलाई प्रतिबन्ध लाएर आफ्नै देशका नेवारका नाचगान हेर्दा पनि हुन्छ भनेका थिए ।

सैनिकहरूलाई पनि पुरुषार्थ हेरेर शिरोपाउ पुरस्कार दिने प्रोत्साहन गर्ने र विजित देशका विशिष्ट व्यक्तिहरूलाई पनि आफ्ना बनाएर काम दिएर राख्ने गर्थे ।


पढेका पण्डित ज्योतिषी, वैद्यहरूलाई पनि सम्मानसाथ राख्ने र अरू धर्मशास्त्र जान्ने पण्डितहरूलाई पनि अड्डैपिछे राख्ने गरेका थिए । सो परम्परा पछिसम्म थियो । जे भए पनि पृथ्वीनारायणले आफूले जोडेको नेपाल देशलाई धनबल, जनबलले परिपूर्ण पारेर समृद्ध सुखी बनाउने प्रयत्न गरेका थिए । उनका छोरा नायव बहादुर शाहले बाबु पृथ्वीनारायणकै पद पछ्याउँदै नेपालको गङ्गा साँध लाउने संकल्प पूरा पारी अझ अघि बढेर यमुना साँध लाए ।


नेपाललाई विशाल बनाउँदै सुखी र समृद्धशाली सम्पन्न बनाउने बहादुरको अभियान अधुरै रह्यो । अनाचारी अविवेकी राजाबाट बीच बैँसमै उनी मारिए । देशको भलो गर्ने मानिसको गति यस्तै हुन्छ भन्ने सतीको सत्योक्ति यहाँ सार्थक भयो । त्यसपछि भीमसेन थापाले सारा छ थरी भारदारलाई मारी एकाधिकार लिई शक्तिशाली अंग्रेजसँग जुध्दा हात्तीसँग लाप्पा खेल्नुजस्तै भो । उनले देशको धेरै भू–भाग पनि गुमाए, हीनसन्धि पनि गराए । त्यसपछि बिसौं शताब्दीको सुरुमा कोतपर्वपछि जङ्गबहादुरको उदय भयो ।


उनले चाहिँ आफ्नोमात्र भलो गरेनन्, देशको उन्नति, जनताको भलो हुने काम पनि गरे । उनले आफैले भनेका छन्, ‘मेरा मावली बा भीमसेन थापाले भेडारूपी जनतामा बाघरूपी शोषक, प्रशासक छाडिदिए । बाघले भेडाको बथानमा पसेर रगत चुसेजस्तै ती प्रशासकले जनशोषण नगरिरहेनन् । मेरा मामा माथबर सिंहले त्यसै गरे, गगन सिंहले पनि त्यसै गरे । तिनलाई ईश्वरले पनि सहेनन्, जनताले आशिष पनि दिएनन्, मैले पनि सयजना मान्छे मारेँ, जनतामा बाघ छोडिन । बाघलाई खोरमा थुनेर मासु खुवाएर राखेँ (यो चाहिँ राजालाई भनेको हो) मैले जनतामाथि बाघ शोषक छाडिन, त्यसैले मलाई ईश्वरले पनि सहे, जनताले पनि आशिर्वाद दिए । यसैले मेरो यो औलाधौला भएको हो ।’


जङ्गबहादुरले नेपालको धन विदेशमा लान वा विदेशी बैंकमा राख्न सक्त मनाही गरेका थिए । त्यस्तै आफ्ना गोरखाली जवानलाई ब्रिटिसको गोरखा रेजिमेन्टमा भर्ना हुन जानदिएका थिएनन् । देश समृद्धिशाली, शक्तिशाली बनाइराख्न जनबल र धनबल बढ्नु अत्यावश्यक हुने उनको विचार थियो । जनबल भएन भने देशको आन्तरिक शक्ति कमजोर हुन्छ । धनबल भएन भने देशको सर्वाङ्गीण शक्ति क्षीण हुन्छ । देशलाई जनतालाई समृद्ध सम्पन्न बलशाली बनाउन चाहने शासकले यी दुई शक्तिलाई सम्हाली राख्नुपर्छ ।


जहिले पनि धनबल, जनबल विदेशिनबाट रोकिराख्नु पर्छ । नेपालबाट भागी–चुही–छिरी गएका गोरखाली जवानलाई बटुली ब्रिटिसले गोरखा रेजिमेन्ट स्थापना गरेको थियो, गोरखाली जवानहरू बहादुर वीर लडका हुन्छन् भनेर ब्रिटिस सरकार यसलाई विशाल बनाउन चाहन्थ्यो । नेपाल सरकारसँग सम्झौता गरेरै गोरखाली युवकलाई चाहेजति रिक्रुट गर्न चाहन्थ्यो ।


जङ्गबहादुरसँग भेट भयो कि अंग्रेज रेजिडेन्ट यो प्रस्ताव राखिरहन्थ्यो । तपाईहरूले नेपालबाट गएका जवानहरूबाट रेजिमेन्ट खडा गरेकै हुनुहुन्छ, सम्झौता किन गरिरहनुपर्‍यो भनेर टार्थे जंगबहादुर । यता सीमा चौकीमा बसेका सुब्बालाई चाहिँ ‘यताबाट जाने नेपालीलाई सिमानामा सोधपुछ गरी तीर्थ जाने रहेछन् भने छोडिदिनू, होइन जवानहरू अंग्रेजी पल्टनमा जाने रहेछन् भने सम्झाइ–बुझाइ फर्काउनू, नमानी जबर्जस्ती जानखोजे पक्री तम्बी हाली हाम्रा हजुरमा दाखिला गराउनू’ भन्ने कडा आदेश दिएका थिए ।


उता ब्रिटिस रेजिमेन्ट वा ब्रिटिस अधिकारी भेट भयो कि सैनिक सम्झौताकै कुरा उठाउँथे । आखिर तपाईंहरूले गोरखाली जवान लानुभएकै छ । सम्झौता गरिदिनलाई चाहिँ मलाई धर्मसंकट पर्छ, गोरखालीहरू तपाईहरूदेखि रुष्ट छन्, तपाईहरूले हाम्रो जमिन खाइदिनुभएको छ भनेर । मेरा जवानले तपाईहरूप्रति केही अर्घेलो गरे, दगा गरे भने त्यसको उत्तरदायित्व मैले नै लिनुपर्छ, तपाईहरूलाई अप्ठेरो पर्‍यो वा गोरखाली पल्टन चाहियो भने मद्दतका लागि मेरै साधिएको पल्टन पठाइदिन्छु, पर्‍यो भने म आफैं पल्टन लिएर हाजिर हुन्छु भनेर टार्थे । वास्तवमा आफ्नाे जनशक्ति, आर्थिक शत्ति विदेशियो भने देश कमजोर हुने उनको बुझाइ थियो ।


आफूलाई केही पर्दा असहाय होइन्छ भन्ने अर्को दृढ विश्वास थियो । सरकारले धनसम्पत्ति विदेशी बैंकमा राख्नु हुँदैन, धनीमानी जनहरूले पनि विदेशमा पैसा लानु, राख्नु हुँदैन भन्थे । अघि राजा रणबहादुर शाहले धर्म गरेर गुठी जग्गा राखेका रहेछन्, त्यो गुठी जग्गा हिनामिना भएछ । नेपाल सरकारले ब्रिटिस सरकारसँग अर्दाश गरेछ । ब्रिटिस सरकारले तिम्रो देशको जग्गाजमिन तिम्रो खुस हुन्छ, हाम्रो देशको जमिनको हाम्रो खुस हुन्छ भनेपछि नेपाल सरकार नाजवाफ भएछ ।


रणबहादुरकै विधवा रानी ललिता त्रिपुरासुन्दरीले काशीमा ललिताघाट बनाएर त्यहाँ मन्दिर धर्मशाला बनाएर धर्मकर्म गरेकी थिइन् । त्यसको सुरक्षा व्यवस्थापनका लागि नेपालीको जिम्मा लाइएको रहेछ । पछि त्यस व्यवस्थामा खलल पर्‍यो । नेपाली व्यवस्थापक हटाइए, धर्मशालालाई गोशाला बनाइयो । आफ्ना पुर्खाको कीर्ति मासिने हुँदा राजाले हाम्रै पुरातत्त्व विभागका अधिकारी पठाएर भारतीय अधिकारीसँग वार्ता गरेर पुनः पूर्ववत् नेपालकै अधीनमा ल्याइयो र मन्दिर धर्मशालाको जीर्णोद्धार पनि गराइयो ।

मुख्तियार रङ्गनाथ गुरुज्यूले काशीमा केही धर्मकर्म गरी गुठी राखेछन्, दस हजारजति रुपैयाँ पनि ब्याजमा बैंकमा राखेका रहेछन्, ब्याज पनि घटाउँदै थोरै दिँदैछन्, तापनि साउँपछि भुस पारिदिन सक्छन्, विदेशीको के भर । त्यसकारण धर्मकर्म गर्नुपरे, गुठी राख्नुपरे आफ्नै देशमा गर्नु, आफ्नै देशमा राख्नु भनेर जङ्गबहादुरले त ऐननै बनाएका थिए ।


नायव बहादुर शाहले कुमाउ–गढवाल जितेर यमुना साँध लाएपछि उत्तराखण्डका चार धाम नेपाल राज्यभित्रै परेका थिए । नेपाली विजयीले ती तीर्थस्थलमा मन्दिर मूर्ति स्थापना गरे, जगा गुठी राखे, शिलापत्र कुँदाए, घण्टा चढाए । पछि अंग्रेजले जितेपछि त्यहाँका गुठी जग्गा मासिए, धर्मकीर्तिको नामनिसानै रहेन ।


नेपालीका धर्मकीर्ति थिए, गुठी जग्गा राखेका थिए भन्ने कुरो खोजी गर्दा आकल–झुकल देखिन्छ । कीर्ति रहने गुठी चल्ने कुरो त कहाँ हो कहाँ । जङ्गबहादुरले देशलाई बलियो समृद्ध बनाउने जनतालाई सुखी बनाउने भनेर नेपाली जनताहरूलाई ब्रिटिस रेजिमेन्टमा भर्ना हुन रोके, नेपालको र नेपालीको नगद धन विदेश लान दिएनन् । धर्म गर्न विदेशमा किन ? त्यसका लागि धन विदेशमा लानुपर्‍यो ? आफ्नै देशमा धर्मकर्म गर्नू, गुठी राख्नू, सदावर्त चलाउनू, देशमा गरेको धर्मकीर्ति दिगो हुन्छ, सन्तान–दरसन्तानसम्म चल्छ भनेर ऐन बनाए । परन्तु उनका यी ऐन–नियम उनका पालाभरि मात्र चले, रहे ।


उनी बितेको दस वर्षपछि उनकै भाइका छोरा–भतिजा वीर शमशेरहरूले ब्रिटिस सरकारका अधिकारीहरूसँग मिलेर उत्पात गरे । यहाँका श्री ३ रणोद्दीपसिंहलाई र जङ्गका छोरा–नातिलाई मारे, कतिलाई सिध्याए र बाँकी सबैलाई निकालेर राजसत्ता हत्याए । यसपछि निकालिएका जङ्गबहादुरका सन्ततिले विदेशमा बडो दुःख पाए । खान–लाउनसमेत नपुग्ने स्थितिमा पुगे, जसले राणा शासनको संस्थापना गरे, उनैका सन्तानको हरिविजोग झयो ।


जङ्गबहादुरले देशको जनशक्ति, धनशत्ति विदेश जान, लान कडाइका साथ रोकिराखेका थिए । त्यो उनको राष्ट्रिय शक्तिलाई मजबुत पार्ने नीति थियो । त्यो नीति अब उप्रान्त क्षीण हुँदै गयो । गोरखा रेजिमेन्टलाई विशाल बनाउने ब्रिटिस सरकारको पुरानो आकांक्षा पूरा भयो । वीर शमशेरले ब्रिटिसले गोरखाली नौजवानहरूलाई छानी–छानी रिक्रुट गर्न लान सम्झौतै गरेर दिए । ब्रिटिस सरकारले आफ्ना अफिसरमार्फत गोरखालीको छाती नापी–नापी जवानहरूलाई रिक्रुट गर्न लागे । यता नेफालको जनशक्ति विदेशिन लाग्यो र यो त्रम बढ्दै–बढ्दै आएर अहिले त नेपालीहरू दोहोरिलत्त भएर जान लागे । स्वयम् सरकार नै बढावा दिइरहेछ ।


वीर शमशेर सक्ताशत्तिमा पुग्ने बित्तिकै एकै रातमा कैयौं वर्षदेखि साँचेर राखेको ढिकुटीका धन उनकै हात लाग्यो । ढिकुटीबाट कोदालीले सोहोर्दै बोरामा कसेर जोख्दै बोकाउँदै विदेशी बैंकमा लगेर राख्न थालियो । तराईका माल अड्डामा जम्मा भएका मालगुजारीको रकम पनि धोक्रामा हालेर गाडामा बोकाई लगेर पटना र कलकत्ताका बैंकमा थन्क्याउन थालियो, यो क्रम धेरै वर्षसम्म चलिआएको थियो ।


उहिले पृथ्वीनारायणले पनि देशको धन बाहिर जाने सबै ढोका बन्द गरेका थिए । जति सक्दो बाहिरबाट धन खैंचेर ल्याउनुपर्छ भन्थे, कृषिलाई बढाउने, धेरै अन्न उत्पादन गर्ने, खानी खनेर आयआर्जन गर्ने, देशको माल बाहिर निकासी गर्ने आदि मुलुकको आय बढाउने उपाय सुझाएका थिए । योग्यताको कदर गर्दै योग्य जनशक्ति तयार पार्ने बाहिरिया विद्वान् व्यक्ति शूरवीर सैन्यहरूलाई आश्रय दिने घरेलु उद्योगलाई प्रश्रय दिने गर्थे । असंलग्न परराष्ट्र नीतिका प्रवर्तक थिए उनी ।


सुरुमै भनियो, भ्रष्टाचार गर्ने–गराउने दुवैलाई सख्त सजाय दिने सुशासनको प्रारम्भ प्रयोग राज्यको एकतामा मरिमेट्न लागेका यी पृथ्वीनारायण शाहलाई अहिलेको गणतान्त्रिक सरकारले बिर्सियो र एकता दिवसको रूपमा वर्षको एकचोटी जनताले उनलाई सम्झन्थ्यो, राष्ट्रनिर्माताका उपदेश सुन्थ्यो । त्यो पनि छुट्यो । त्यसपछिबाट पृथ्वी बिडो थाम्ने विशाल नेपाल बनाउने नायक वीर बहादुर शाह नै हुन्, तर उनलाई दुष्ट राजाले टिक्नै दिएनन् ।


त्यसपछि जनतालाई सुखी समृद्ध बनाउन लागिपर्ने जनतालाई शोषित–पीडित हुन नदिने, देशको धनबल बढाउने, जनबल मजबुत पार्ने शासक जङ्गबहादुर नै हुन्, उनले ऐन नै बनाएर देशको धन बाहिर लान रोके । बाहिर जागिर खान जान खोज्ने नौजवानहरूलाई सख्तसँग निषेध गरे, परन्तु उनको भाइभतिजाहरूले जङ्ग नीतिको उल्टो गरे । त्यसपछि नेपालीको धन पनि जन पनि विदेशिएको विदेशियै छ ।


तीसवर्षे पञ्चायतकालमा अवैध रूपले सम्पत्ति आर्जन गर्ने प्रवृत्ति नमौलाएको होइन । हाम्रो सांस्कृतिक सम्पदा प्राकृतिक स्रोतसाधनहरूको दोहनबाट अवैध धन्दाबाट अकुत सम्पत्ति जोडेर विदेश्याउने अनैतिक कार्यहरू सुनिएकै हुन्, अनेक अवैध काण्ड घटेकै हुन्, त्यसबेला त्यस्ता गतिविधिलाई रोक्ने छ्यान विवेक गर्ने खुला व्यवस्था पनि थिएन, एकाध भए ती त्यसै खुम्चिएर जान्थे ।

पुनःस्थापित प्रजातान्त्रिक कालमा २०५२ देखि अकस्मात माओवादी पार्टीको सशस्त्र आन्दोलन सुरु भयो ।


दसवर्षे यस आन्दोलनले नेपालको अर्थव्यवस्थालाई खलबल्यायो, भएका विकास कार्य तहस–नहस भए, कानुनी राजको अवधारणा हरायो, दण्डविहीनता बढ्यो । यसै अवस्थामा तस्कर तन्त्रले प्रश्रय पायो । अवैध धन्दाबाट अकुत धनसम्पत्ति आर्जेका नवधनाढ्यहरूले स्विजरल्यान्ड, आइसल्यान्ड, साइप्रस आदि देशका स्रोत र नामथर खुलाउनु नपर्ने, कर पनि तिर्नु नपर्ने भूस्वर्ग बनेका बैंकहरूमा आर्जित धन लगेर थन्क्याउन थाले, कतिले उतै उद्योगधन्दा खोलेर लगानी गर्न लागे ।


यस्ता नवधनाढ्यहरूमा अजेय सुमार्गीको नाम त केही वर्षयता व्यापक रूपले पत्रपत्रिकाहरूमा चल्न लाग्यो । उनले उतै विदेशका बैंकमा राखेको कालो धन सेतो पार्न यताको उद्योगमा लगानी गर्न भनी सत्ता आफ्नो अनुकूल भएको बेला–बेला पारेर एघार अर्ब अर्थात् एक हजार एक सय करोड त ल्याएकै भनिन्छ । यस साल ल्याएको इन्भेष्टमेन्ट बैंकमा रहेको ७८ करोड रुपैयाँ राष्ट्र बैंकले रोकिराखेकोमा सर्वोच्च अदालतले फुक्का गरिदिएछ, तत्कालै उनले त्यो रकम झिकेर यताउती सारिहालेछन् ।


फेरि त्यसपछि प्रधानन्यायाधीशको अध्यक्षतामा बसेको इजलासले सो कालो रकम यसरी सेतो पार्न झिक्न मिल्दैन, यथावत राख्नू भन्ने आदेश दियो । हात पारिसकेको धन फिर्ता दिन सकस नै परेको छ । यसै अवसरमा खोज पत्रकारिता केन्द्रले प्रकाशन गरे बमोजिम हेर्दा कर तिर्न नपर्ने भूस्वर्ग मानिएको स्वीस बैंकमा मात्रै नेपालीको ५२ अर्ब रहेको देखिन्छ । विदेशका उक्त बैंकमा अकुत धनराशि राख्ने सम्पत्तिवाला १३ जनाको नामावली नै प्रकाश गरिएको छ । यद्यपि अहिले पनि विदेशमा रकम राख्नु गैरकानुनी कुकर्म हो भनी कानुन बनेको छ, तापनि अहिले नेपालमा कानुन कसले मान्छ र ! ठूलालाई चैन सानालाई ऐन भन्ने उखान नेपालमा चरितार्थ भइरहेछ ।


नवधनाढ्य भएको अवैध कारोबारी पचपन्नजना नेपालीहरूले युरोपमा कर तिर्नु नपर्ने बैंकहरूमा रकम जम्मा गरेका छन् । उतै लगानी गरेका छन् । कति उतै विदेशमा उद्योगधन्दा चलाएर बसेका छन् । विसं २०५२ मा माओवादीले हिंसात्मक आन्दोलन गरेयता स्वीस बैंकमा नेपालीले रकम जम्मा गर्न थालेका थिए । दस वर्षभित्रमा मात्र स्वीस बैंकमा जम्मा भएको र यसपछिको संक्रमणकालमा छब्बीस अर्ब त्यही जम्मा भएको खोज पत्रकार केन्द्रले पक्ता लगाएको छ ।


संत्रमणकालपछि पनि धन विदेशिने क्रम रोकिएको छैन । सबैतिरको अवैध धन्दाबाट आर्जित धनराशिको गहन तरिकाले खोजे यस्ता कति बढ्ने हो कति । यसरी विदेश पसेको कालो धनराशि अवैध तरिकाले लुकीछिपी ल्याई सेतो पार्ने धन्दालाई रोक्न सरकार नै अघि सर्नुपर्छ । अहिले बहुमतको यो सरकार बलियो छ । यस सरकारका प्रधानमन्त्रीकै मातहतमा सम्पत्ति शुद्धीकरण आयोग छ । यसकारण प्रधानमन्त्रीले मसक्क आँटे भने ‘वर हेर पर हेर तँलाई हेर मलाई हेर’ भन्ने नेपालीको उक्ति अनुसार मित्रराष्ट्रसँग सलतनत गरी तस्करहरूले लगेको कालो धन देशभित्र भित्र्याउने साहसी कर्म गर्न सम्भव छ ।


कोही व्यक्तिले भ्रष्टाचार गरेको दसी–प्रमाण साक्षी पाइयो भने त्यसलाई समातेर दण्ड दिन र त्यसको धन सजिलै हर्न सकिन्छ । दसी–प्रमाण केही छैन, साक्षी–प्रमाण पनि पाइएन भने पनि कौटल्यले लेखेका छन्, ‘उसको पहिलेको औकात कस्तो थियो, त्यो थाहा पाउनू, ऊ अकस्मात् औलाधौला भयो, लखपति बन्यो, उसको आयस्रोतको बाटो केही देखिँदैन भने त्यसलाई ठाडै पक्रेर दण्डित गर्नू र उसको अकुत धनसम्पत्ति कसरी कमायो, अकास्मात यस्तो सम्पत्ति कमाउन कित तस्करी गरेको हुनुपर्छ, कि जबर्जस्ती लुटपाट गरेको हुनुपर्छ र मात्रै यतिको धनराशि कमिन सक्छ भनेर त्यसलाई ठाडै पक्रेर दण्ड दिनुपर्छ र त्यसको धनराशि जफत गरी सरकारीकरण गर्नुपर्छ ।’


यस्तै जुक्ति लाएर कालो धन्दा गर्नेहरूका विदेशी बैंकमा सुरक्षित गरेर थन्क्याएको कालो धनराशि तत्तत् देशसँग सम्बन्ध गरी स्वदेशमा भित्र्याउनु अनिवार्य छ । यसबाट देशलाई समृद्धिको खुड्किलो चढ्न मद्दत पुग्नेछ । जनता पनि केही माक्रामा सुखी–खुसी बन्नेछन् । सरकारको शत्ति पनि प्रकट हुने थियो र महत्त्व पनि बढ्ने थियो ।

प्रकाशित : चैत्र ३०, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?