इन्टरनेटले हामीलाई नंग्याएको छ

कारा स्वीसर

दुई दशकअघि इन्टरनेट युग बामे सर्दै गर्दा, स्मार्टफोन चलनचल्तीमा नआउँदै, एप्सहरूको कल्पना नहुँदै ‘सन माइक्रोसिस्टम्स’का सह–संस्थापक स्कट म्याकनेलीले भनेका थिए– ‘तपाईंका केही पनि कुरा गोप्य छैनन् । त्यसलाई आत्मसात गर्नुहोस् ।’ त्यतिबेला उनको कुरालाई कसैले पनि गम्भीरतापूर्वक लिएनन् ।

अहिले हामी सबैभन्दा धेरै तथ्यांक उत्पादन गर्छौं, धेरैभन्दा धेरै विषय–वस्तु इन्टरनेटमा अपलोड गर्छौं, पागल जसरी सबै कुरा अनलाइन साटासाट गर्छौं । यसको मतलब मानव इतिहासमै हामी सबैभन्दा धेरै पक्षको निगरानीमा छौं । यस अर्थमा, हामी अनलाइनका कारण नांगिएका छौं ।

Citizen

हाम्रो सबैभन्दा गोप्य भनिएकै सूचना नै तीव्र गतिमा विस्तार भइरहेको इन्टरनेटको इन्धन हो । हाम्रो विभिन्न प्रकारका तथ्यांकले नै यसलाई चलायमान बनाइरहेको छ । तसर्थ टेक कम्पनीहरूले त्यस्ता तथ्यांकहरूको दुरुपयोग पनि गरिरहेको भेटिएको छ ।
यो सबैलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय जटिल छ । सबैभन्दा पहिला त हामीले हाम्रो गोप्यता हनन भएको विषयलाई आत्मसात गर्नु हुँदैन । हामी के भयौं भन्ने मनन गर्दै हामीले गम्भीर भएर सोच्न आवश्यक छ । आफ्नो सजिलोका लागि प्रयोग गर्ने ग्याजेट्सलाई नै उपयोग गरेर हामीमाथि गरिएको व्यापारबारे सोच्न जरुरी भएको छ । त्यसका लागि हामीले आफ्नै नियम बनाएर टेक कम्पनीलाई चुनौती दिनुपर्ने अवस्था छ ।

ती नियमहरू कस्ता हुनुपर्छ भन्ने अहिलेको प्रश्न हो । केही अमेरिकाले आफ्नो गोप्यता सम्बन्धी कानुनै परिमार्जन गरेर टेक कम्पनीहरूको मनोमानीलाई नियन्त्रण गर्नुपर्ने सुझाउँछन् । केही त टेक कम्पनीको मनोमानीलाई नियन्त्रण गर्न छुट्टै निकाय नै गठन हुनुपर्ने तर्क गर्छन् । अन्य केहीको भने अहिलेकै कानुन नै काफी भएको दाबी छ । उनीहरू विद्यमान संरचनामै केही थप लगानी गरे पुग्ने सोच्छन् ।

मेरो विचारमा भने हामीले दुवै कार्य गर्नु जरुरी छ । तथ्यांकका भोका टेक कम्पनीहरू थप शक्तिशाली बन्नु अघि नै हामीले छिट्टै केही कदम चालिहाल्नुपर्छ ।

कुनै कम्पनीमा काम गर्नका लागि अन्तर्वार्ता दिन जाँदा आफ्नो हाउभाउलाई एउटा आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बुद्धि) ‘एआई’ ले उक्त कम्पनीमा काम गर्ने उत्कृष्ट र निकम्मा व्यक्तिसँग दाँजेको तपाईंलाई चित्त बुझ्छ ? मलाई त बुझ्दैन । तपाईंले घरमा प्रयोग गर्ने हरेक सामानमा क्यामेरा भएको मनपर्छ ? मलाई त मनपर्दैन । हेरिरहेको टेलिभिजन, इन्टरनेटमा किन्नका लागि खोजी गरेको सामानको इतिहाससँग आफू जोडिएको देख्न चाहनुहुन्छ ? हैन, भयो परेन ।

आफ्नो सहजताका लागि हामी हरक्षण स्मार्टफोन प्रयोग गर्छौं । त्यसले नै मानव सभ्यताको इतिहासमै हाम्रा सबै क्रियाकलापलाई निगरानी गर्ने व्यवस्थालाई बढावा दिएको छ । जसलाई मैले पनि धेरैपटक स्वीकारेको छु ।

मलाई प्रविधि मनपर्छ । मेरो आइफोनसँगको नाता पनि झन्डै एक दशक पुरानो भइसक्यो । तर अहिलेजस्तो पहिला मलाई कुनै नियन्त्रण रेखा बनाउनुपर्छ भन्ने लागेको थिएन । सबै टेक कम्पनीहरूमा राक्षसी प्रवृत्ति छ भन्ने पनि होइन । तर उनीहरूमा कुनै पनि बेला राक्षसी प्रवृत्ति आउन सक्ने सम्भावना भने छ ।

कसैले आफूमाथि निगरानी राखिरहेको छ भनेर सोच्न मानसिक रोगी हुनुपर्दैन । त्यस्ता कम्पनीहरूको अनाधिकृत निगरानीबाट रक्षा गर्न हामीलाई कडाभन्दा कडा कानुन चाहिएको छ । हामीले केही वर्षमै त्यस्ता कम्पनीका कार्यमा अंकुश लगाउने कानुन प्राप्त गर्छौं भन्नेमा म आशावादी छु ।

यसो भन्दैमा नयाँ कम्पनीहरू र तिनको आविष्कारमाथि नै अंकुश लगाउनु भने हुँदैन । केही हदसम्म युरोपले लगाएको अंकुशमाथि भने मेरो विमति छ । त्यसरी अत्तिनुपर्ने अवस्था पनि छैन भन्ने मेरो सोच हो ।

युरोपले जेनेरल डाटा प्रोटेक्सन रेगुलेसन, २०१८ मार्फत सबैभन्दा कडा कानुन ल्याएको छ । यसले कुनै पनि व्यक्तिलाई आफ्नो व्यक्तिगत तथ्यांक र सूचना कसले, कसरी प्रयोग गर्न सक्छ भन्ने निर्धारण गर्नसक्ने अधिकार दिएको छ । यस्तै अनलाइनमा विज्ञापनकर्ताहरूले कसरी विज्ञापन गर्न पाउँछन् भन्ने सम्बन्धी पनि कानुन बनाएको छ । ‘बिर्सन पाउने अधिकार’ त्यस्तै एक जटिल कानुनको उदाहरण हो । बेलायतले यसै साता कसैको छवि धुमिल्याउने सामग्री प्रकाशित गर्ने सञ्जालका अधिकारी लगायत कम्पनीलाई पनि कारबाही गर्न मिल्ने कानुन बनाउने बताएको छ ।

युरोपले ठूलो टेक कम्पनीलाई दिएको सन्देश स्पष्ट छ– ‘यो भद्रगोल तिमीहरूले नै बनाएको हो, आफैं सफा गर ।’ यो सोच आन्ध्र र प्रशान्त महासागर तरेर क्यालिफोर्नियासम्म आइपुगिसकेको छ । क्यालिफोर्नियाले पनि गतवर्ष उपभोक्ता गोपनीयता ऐन पारित गरेको छ । युरोपको जेनेरल डाटा प्रोटेक्सन रेगुलेसनभन्दा यो केही नरम रहेको आलोचना भए पनि क्यालिफोर्नियाका कम्पनीहरूले सशक्त तथ्यांक सुरक्षा नियमलाई मान्नुपर्ने भएको छ । यसले उक्त राज्यमा बस्ने नागरिकलाई आफ्नो तथ्यांक र सूचना टेक कम्पनीहरूले कसरी प्रयोग गर्न पाउँछन् भन्ने निर्क्योल गर्ने अधिकार दिएको छ । यो कानुन २०२० देखि पूर्णरूपमा लागू हुने छ र त्यसमा थप प्रावधानहरू पनि जोडिन सक्नेछन् ।

अन्य १० राज्यले पनि गोप्यता सम्बन्धी कानुन बनाउनका लागि गृहकार्य सुरु गरेका छन् । यसका लागि हरेक राज्यले आफ्नो तरिकाले सोच्नेभन्दा पनि एकीकृत रूपमा कार्य गर्नु जरुरी हुन्छ ।

कृत्रिम बुद्धि, फाइभ जी, क्वान्टम कम्प्युटिङ, स्वचालित प्रणालीहरू, रोबोटिक्स, स्वचालित कार, अनुहार चिन्ने प्रविधिजस्ता नवीनतम अविष्कारहरू गोप्यतालाई असुरक्षित बनाउने किसिमका प्रविधि हुन् । यसको प्रयोग हुँदा टेक कम्पनीहरूले प्राप्त गर्ने सूचनालाई उनीहरूले एकआपसमा कसरी साटासाट गर्छन् भन्ने अर्को मुद्दा हो । किनकि अबको विश्व यही जञ्जालमा जकडिएको छ ।

केही देश त अमेरिकीहरूले पचाउन पनि नसक्नेगरी अगाडि बढेर आफ्नो नागरिकका हरेक गतिविधिको निगरानी गरिरहेका छन् । चीन त्यसको एउटा उदाहरण हो ।

अहिलेको युगमा हामी गुगल, फेसबुक वा एमेजोनबाट भाग्न कठिन छ । भविष्यमा त्यस्ता ठूला कम्पनीहरू थप आक्रामक भएर तथ्यांक संकलन गर्न उद्यत हुन्छन् भन्नेमा पनि दुईमत छैन । उनीहरूले संकलन गनेको सूचना हाम्रालागि ‘डिजिटल ट्याटु’ जस्तै हुन् । यो सबै हाम्रो नियन्त्रणभन्दा बाहिर छ भनेर चुप लागेर बस्न भने हुँदैन । उनीहरूले आफ्नो काम गर्छन् । हामी आफ्नो अधिकार सुरक्षित गर्न जुट्नुपर्छ ।

लेखिका प्रविधिका समाचार सम्प्रेषण गर्ने वेबसाइट रिकोडकसँग आबद्ध छिन् ।
न्युयोर्क टाइम्सबाट अनुदित ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

औषधि कमको विधि

नेपालमा होमियोप्याथीको पढाइ छैन, जबकि बिरामीहरू यसप्रति आकर्षित छन् 
विमल खतिवडा

काठमाडौँ — मोरङ, शनिश्चरेकी ४२ वर्षीया सबु अधिकारी राजधानी बस्न थालेको दुई दशक हुन लाग्यो । तर, उनले सधैंसधैं रोगसँग पौंठेजोरी खेल्नुपर्‍यो । अनेक अस्पताल, उपचार विधि र औषधिको भरमा उनको पौंठेजोरी चलिरहृयो ।

कुरो ०६२ सालको हो । पहिलो सन्तानको रूपमा छोरा जन्मिएको एक वर्ष मात्र भएको थियो । परिवारमा सबै दंग थिए । तर खुसीसँगै बिस्तारै पीडा थपिँदै गयो । उनको दाहिने काखी नजिकै सानो गिर्खा देखा पर्‍यो । गिर्खाले दुखाई बढाउँदै लग्यो । उपचारका लागि टिचिङ हस्पिटल पुगिन् । चिकित्सकले इन्जेक्सनबाट पानी निकालेर जाँच गरे । रिपोर्टमा ‘ग्ल्यान’ टीबी देखियो । चिकित्सककै सल्लाहमा औषधि चलाइयो । ६ महिनासम्म औषधि खाँदा न रोग ठिक भयो, न उनी तन्दुरुस्त बन्न सकिन । अस्पताल मात्रै लगातार धाइरहिन् । सबुका छोरा १५ वर्ष र छोरी ५ वर्षकी छिन् । उनका श्रीमान् कतारमा छन् ।

‘औषधि मात्र थपी रहे,’ उनी पीडा सुनाउँदै भन्छिन्, ‘न रोग ठिक पारे, न यो रोग नै लागेको हो भनेर भनिदिए ।’ रोग निको हुनुको सट्टा उल्टै थपिँदै गयो । गिर्खा नजिकै पाक्न थाल्यो । लामो समयसम्म उपचार गर्दा पनि ठिक नभएपछि टिचिङमै गिर्खाको अप्रेसन भयो, तैपनि ठिक भएन ।

‘यही रोग हो भनेर कसैले पनि किटान गर्न सकेनन्,’ उनले भनिन्, ‘धेरै औषधि खाएर झन्डै ज्यान गयो ।’ काठमाडौंमा उनी नपुगेको अस्पताल सायदै होलान् । ‘बिहान ६ बजेदेखि बेलुकासम्म औषधि मात्र खाएकोखायैं हुन्थें,’ उनी भन्छिन्, ‘यही औषधिले आँखा कमजोर बनायो, शरीरका विभिन्न भागमा उल्टै घाउ भएर पाक्यो, शरीर फुलेर कमजोर बन्यो ।’

पछि घाँटीमा टन्सिलजस्तो भएर पाक्यो । काठमाडौं मेडिकल कलेजमा अप्रेसन गराइन् । ०६७ सालसम्म औषधि खान छाडिनन् । सामुमा रिपोर्टको चाङ थियो । औषधिको खोलले झोला भरिएका थिए । उनले थपिन्, ‘डाक्टर औषधि मात्र लेख्न तयार हुन्छन्, रोग के हो भनेर पत्तालगाउनै सक्दैनन् ।’

पछि चिनारु र जानकारसँगबुझ्दा थाहा लाग्यो, टीबी रोग त बढीमा १ वर्षसम्म औषधि खाएमा निको हुने रहेछ । तर, सबुका हकमा औषधिको प्रयोग मात्रै भइरहृयो । त्यही बेला एउटा सुझावमा भर परेर उनले होमियोप्याथी उपचार गर्ने निधो गरिन् । रेडियो विज्ञापन सुनेर उनी पुरानो बानेश्वरको सञ्जीवनी क्लिनिक पुगिन् । उनले आफ्नो समस्या सुनाइन् । ६ महिना औषधि खानासाथै उनको रोक बिसेका भयो, उनी अहिले राम्ररी हिँड्न सक्ने भएकी छन् । घाउ पाक्न छोडेको छ ।

सबुले आफ्नो उपचारमा मात्रै बितेको ५ वर्षमा ७ लाख रुपैयाँ खर्च गरेकी रहिछन् । सर्लाही बबरगन्जका राज महतोको कथा पनि यस्तै छ । उनलाई बायाँपट्टिको घुँडा पछाडिको नशा दुख्ने गर्थ्यो । छिनभर पनि भुइँ, कुर्सीमा बस्न सक्दैन थिए । ‘जोडले सास फेर्दा वा खोक्दा पनि दुख्थ्यो,’ उनी भन्छन्, ‘हिँड्दा पनि दुख्थ्यो, सारै समस्या भएपछि अस्पताल पुगे, दुखाइ कम हुने औषधि दिएर फिजियोथेरापी गराए, ठिक हुन सकिनँ ।’ उनले काठमाडौं आएरनोबेल अस्पताल, न्युरो अस्पताल सबैतिर परीक्षण गराए ।

साथीभाइको सल्लाहमा उनी एक दिन भक्तपुरस्थित होमियोप्याथी क्लिनिक पुगे । त्यहाँ चिकित्सक डा. अम्बिका ज्ञवालीलाई उनले रोगको पोको फुकाए । डा.ज्ञवालीले थोरै औषधि लेखिदिए, नभन्दै यही औषधि रामबाण बन्यो । ‘सुरुमा गाडीमा लामो यात्रा गर्न सक्दिन थिए, बाध्य भएर गरे पनि बेल्ट बाँधेर पीडा सहँदै हिंड्थे,’ उनी भन्छन,‘ अहिले औषधि खानुपरेको छैन, कष्ट सहेर हिंड्नुपर्ने बाध्यता टरेको छ ।’

ललितपुर झम्सीखेलकी सिर्जना पोखरेल शिवाकोटीको घरपरिवारमै चिकित्सक धेरै छन् । त्यही भएर उनका लागि पहिलो उपचार भनेको ‘एलियोपेथिक’ थियो । तीन वर्षअघि उनमा एकाएक ‘जोइन्ट पेन’ बढेको रहेछ, आँखाको इन्फेक्सनलगायत ४/५ वटा इन्फेक्सन देखिएको रहेछ । यसका लागि अलग अलग औषधि खादै गइन् । जति औषधि खाए पनि निको भएन । शरीरमा भिटामिनको मात्रा पनि क्रमशः कमी हुँदै गयो ।

‘दुखाइले गर्दा बीचमा स्मृति गुमाएजस्तो पनि भयो,’ उनले पुराना कुरा सम्झँदै भनिन्, ‘मिटिङमा बस्ने मान्छेको नाम नै बिर्सिने, एउटा कुरा भन्न खोज्ने अर्को कुरा आउनेसम्म स्थिति उब्जियो ।’

एकजना साथीले होमियोप्याथी उपचारमा जान सल्लाह दिएपछि सिर्जना पनि यता लागेकी रहिछन् । ‘होमियोप्याथीमा जाँदा ठिक हुन्छ भन्ने विश्वास थिएन, साथीले भनेपछि गएकी हुँ,’ उनले भनिन् । चिकित्सक डा.अम्बिका ज्ञवालीले दिएको एउटा औषधिले केही दिनमैं दुखाइ कम हुँदै गएको र एलर्जी कफ पनि हटेको अनुभव उनीसँग छ ।

‘कहिलेकाहीं सर्जरी गर्नैपर्ने हुन्छ, त्यो बेला होमियोप्याथीले तुरुन्त रिलिफ गर्दैन,’ उनले भनिन्, ‘यस्तो अबस्था इमर्जेन्सी पर्दा एलियोपेथीमा पनि जानुपर्छ ।’ पहिला एलियोपेथिक औषधि खाने उनमा लतजस्तै थियो, होमियोप्याथीले गर्दा अहिले
औषधि खाने बानी हटेको रहेछ । ‘नेपालमा होमियोप्याथीको स्कोप छ,’ उनले भनिन्, ‘यसमा साइड इफेक्ट भेटेको छैन ।’ भक्तपुर होमियोप्याथी क्लिनिकका डा. ज्ञवालीका अनुसार एलियोपेथिकमा लक्षणअनुसार निद्रा नलाग्दा, भोक नलाग्दा अथवा टाउको दुखेमा अलगअलग औषधि खानुपर्ने हुन्छ ।

होमियोप्याथीमा सबैको एउटै ‘साझा संकेत’ बनाएर एउटै औषधि दिँदा हुन्छ । ‘यस्तो औषधिले रोगको विरुद्ध काम गर्ने शरीरभित्रको पद्धतिलाई सहयोग गर्छ,’ उनले भने, ‘कम औषधि प्रयोग हुने विधा भनेकै होमियोप्याथी हो । हामीकहाँ एलोप्याथीबाट उपचार सम्भव नभएकाहरू बढी आउनुहुन्छ ।’ उनका अनुसार मानसिक कारणले हुने बिरामी, पेट दुख्ने, स्त्री रोग, ज्वाइन्ट, बच्चाहरूमा हुने निमोनिया, वृद्धवृद्धामा हुने दम, बाथ, सुगर, प्रेसरका बिरामी यहाँ आउने गर्छन् ।

यसको सुविधा सरकारी तहमा ललितपुरको हरिहर भवनमा छ । निजी तहमा भने विभिन्न जिल्लामा छन् । ‘यो पद्धति आवश्यक छ, एलोपेथिक मेडिसिनको विकल्प होमियोप्याथी होइन,’ डा.ज्ञवालीले भने । ‘होमियोप्याथीमा कम औषधि र साइड इफेक्ट छैन,’ उनले भने, ‘सरकारले उचित प्राथमिकता दिएको छैन ।’

डा.ज्ञवालीका अनुसार, होमियोप्याथीको उपचार जर्मनीबाट सुरु भएको हो । भारतमा ५ लाख जति होमियोप्याथिक डाक्टर छन् । नेपालमा भने यसको पढाइ छैन । ‘जति चिकित्सक छन, बाहिर पढेर आएका छन्,’ उनले भने, ‘भारतमा ३७ प्रतिशतले होमियोप्याथिक उपचार पद्धति प्रयोग गर्छन् ।’ होमियोप्याथिक अन्तर्राष्ट्रिय तहको २७ औं सम्मेलन शनिबार काठमाडौंमा सुरु हुँदै छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT