१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राजधनेशलाई देऊन वनमा बास

कृष्णप्रसाद भुसाल

सन् २०१८ को अन्त्यमा बर्डलाइफ इन्टरनेसनलले प्रकाशित गरेको चराहरूको वर्तमान संरक्षण अवस्था प्रतिवेदनमा राजधनेशलाई संवेदनशील सूचीमा राखिएको छ । नेपालमा पनि पाइने राजधनेश विश्वमै दुर्लभको सूचीमा परेसँगै संरक्षणकर्मीहरू चिन्तित छन् । पछिल्ला दशकमा मानवीय क्रियाकलापहरूको परिणामस्वरुप बासस्थान संकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, डढेलो, घाँसे मैदानको नाशका कारण थुप्रै प्रजातिका चराले संकट झेलिरहेका छन् ।

राजधनेशलाई देऊन वनमा बास

अवैध चरा सिकार तथा व्यापार, रासायनिक मल र विषादीको बढ्दो प्रयोग, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता अन्य कारण पनि छन् । नेपालबाट आठ प्रजातिका चरा लोप भैसकेका छन् । १६७ प्रजातिका राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा छन् । विश्वमै दुर्लभ मानिएका ४४ प्रजातिका चरा नेपालमा पाइन्छन् । बासस्थान विनाश यहाँ चराका लागि मुख्य खतरा हो । यही कारण, ८६ प्रतिशत चरा संकटापन्न अवस्थामा पुगेका छन् ।

विश्वका ५७ प्रजातिका धनेशमध्ये नेपालमा चार प्रजाति पाइन्छन् । होमराई धनेश विश्वमै पहिलोपटक नेपालमा सन् १८५० मा रेकर्ड गरिएको थियो । त्यो नेपालबाट भने २० औं शताब्दीमा लोप भैसकेको छ । बाँकी तीन प्रजाति सानो धनेश, कालो धनेश र राजधनेश हुन् । तीमध्ये राजधनेश लोपोन्मुख अवस्थामा पुगेको हो । फलफूलका रुखहरू भएको तराईका सदावहार विकसित चौडापाते जङ्गलमा बस्ने राजधनेश मुख्यतया पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा पाइन्छ ।

संरक्षित क्षेत्र बाहिर झापा, सुनसरी, मकवानपुर, कपिलवस्तु र कैलाली जिल्लाको जंगलमा मात्र पाइन्छ । अन्यत्र चरा भारत, चीन, भूटान, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड, म्यानमार, लाओस, भियतनाम, कम्बोडिया र इन्डोनेसियाको सुमात्रा टापुमा पाइन्छ । अंग्रेजीमा ग्रेट हर्न बिल भनिने हेलमेटजस्तो रङ्गिन शिर भएको राजधनेश सबैभन्दा ठूलो धनेश हो । प्रायःजसो सानो–सानो झुन्डमा देखिने यो पन्छी निकै आकर्षक देखिन्छ । नेपालमा राजधनेश डेढ सय वटाभन्दा कम रहेको अनुमान छ । वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित ९ पन्छीमध्ये यो पनि एक हो । यो साइटिस अनुसूची–१ मा सूचीकृत छ । यस अनुसूचीमा अन्तर्राष्ट्रिय व्यापारका कारण लोप हुने अवस्थामा पुगेका प्रजातिहरू पर्छन् र तिनको व्यापारमा पूर्ण प्रतिबन्ध लगाइएको हुन्छ ।

राजधनेशले गुँड निर्माण र ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउँछ । यसले ठूला र बूढा रुखको टोड्कोमा गुँड बनाई वर्षायाममा प्रजनन गर्छ । भालेले पोथीलाई अन्डा पारेपछि बच्चा नहुर्कन्जेलसम्म टोड्कोमा रहेको गुँडमै थुनेर राख्छ । धनेश दम्पतिले हिलो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पुरै टाल्छन् । त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावा र आहारा लिने गर्छे । ओथारो अवधिभर पोथीलाई र पछि बच्चालाई भाले राजधनेशले नियमित आहारा खुवाउँछ ।

यही स्वभावका कारण यसलाई पत्नीवर्ता पन्छी भनिन्छ । बढीमा दुइटासम्म अन्डा पार्ने पोथी चालीस दिनसम्म ओथारो बस्छे । ओथारो अवधिमा प्वाँखहरू झरेर कुरूप बनेकी पोथी त्यसपछि पलाएका प्वाँखहरूले भने झन् सुन्दर बन्छे । करिब दुई महिनापछि मात्र बच्चा उड्न सक्षम हुन्छन् । जोडी बनिसकेपछि राजधनेशका भाले–पोथीले एकअर्कालाई दीर्घकालसम्म साथ दिन्छन् । तीस वर्ष वा त्यसभन्दा बढी आयु हुने यो पन्छीले उडानको बेला पखेटाको फटफटावट आवाज निकाल्छ । करिब एक किलोमिटर टाढासम्म पनि सुन्न सकिने उक्त आवाजको मद्दतले टोड्कोमा थुनिएर बसेको पोथीले भालेको आगमन र क्रियाकलाप पहिचान गर्छे ।

प्रकृतिमा भएका कतिपय हानिकारक किराफट्याङग्रा, मुसा तथा छिपकलीहरू खाई राजधनेशले पर्यावरणीय सन्तुलन तथा खाद्यचक्र गतिशील राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । विभिन्न बिरुवा तथा फलफूलको विउ विस्तार र वितरणमा पनि यसले योगदान पुर्‍याएको हुन्छ । खास किसिमको बासस्थानमा मात्र पाइने यो चरा त्यस्ता क्षेत्रहरूको वातावरणीय सूचक मानिन्छ । पछिल्ला दशकमा वन विनाश र अतिक्रमणले ठूला र पुराना रुखहरूको अभावमा राजधनेशको संख्या दिनानुदिन घटिरहेको हो ।

चोरी सिकारी पनि चुनौती हो । मासु र यसको आकर्षक शिरका लागि अवैधानिक सिकार र व्यापार गरेको भेटिन्छ । ओथारो अवधिभर थुनिएर बसेको पोथी कमजोर र कम चलायमान हुने हंँदा मानव सिकारी र प्राकृतिक सिकारी जीवजन्तुको आक्रमणमा पर्ने सम्भावना हुन्छ । नेपाल तथा भारतका कतिपय आदिवासी समुदायले यसको ठोँड, प्वाँख र शिरलाई परम्परागत संस्कार तथा रीतिरिवाजमा प्रयोग गर्ने गर्छन् ।

राजधनेश जैविक विविधताको महत्त्वपूर्ण सूचक र पर्यापर्यटनको प्रमुख आकर्षण हो । बूढा र सुकेका धोद्रा रुखहरू नै राजधनेशका घर हुन् । यसर्थ यस्ता रुख जोगाउन जरुरी छ । सामान्यतया हामीले पुराना र सुकेका रुखहरूलाई त्यति महत्त्व दिँदैनौं । वन व्यवस्थापनका अभ्यासमा त्यस्ता रुखहरू मास्ने वा जंगलबाट निकाल्ने गरिन्छ ।

संरक्षित पन्छी राजधनेशको चोरी सिकार गरेमा १५ देखि ३० हजारसम्म जरिवाना वा ३ देखि ९ महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ । चरा संरक्षण विशुद्ध एकल अभियान होइन, यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवं पर्यटन उद्योग र विकास सँगसँगै हेरिनुपर्छ । नेपालमा चरा अवलोकनका लागि थुप्रै बाह्य पर्यटक आउँछन् ।

खास प्रकारका चराहरूको संरक्षण, बासस्थान व्यवस्थापन र प्रचार–प्रसारले देशलाई चरा अवलोकनका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ । स्थानीय निकायले राजधनेश जस्ता चरा र तिनको बासस्थान संरक्षणमा समन्वयकारी तथा अभिभावकीय भूमिका निभाउन सक्छन् । यस कार्यमा केन्द्र सरकार र सरोकारवाला निकायले पहल गर्नुपर्छ । अन्यथा राजधनेश यस धर्तीबाटै लोप भएर जानेछ । त्यसको कारक पुस्ता हामी हुनेछौं ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?