नेकपाको आदित्य ज्योतिपथ

युग पाठक

‍ — यो मुलुकमा सिधासिधा भन्नुपर्ने कुरा धेरै छन् । सिधा कुरा हो, विष्णु पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव हुन् र बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिका नाममा सार्ने किर्तेकारितामा उनको मुख्य भूमिका छ । यो पनि उत्तिकै सिधा कुरा हो कि उनलाई भूमाफियाले त्यो जग्गा उपहार दिएको हो । औपचारिकताका लागि बनाइएका कागजपत्रको कुरा गरिरहनु परेन । एउटा जाली वक्तव्य निकालेर उनी उम्कने ठाउँ छैन ।

पौडेललाई चोख्याउन सरकारले प्रवक्ता गोकुल बास्कोटाको कुटिल अनुहार अगाडि सार्‍यो । सिधा कुरा यो पनि हो कि यस्ता धेरै प्रसंगमा यही अनुहार क्यामेरा अघिल्तिर उभ्याइने गरिएको छ । वाइड बडी भ्रष्टाचार प्रकरणमा पनि सरकारले यही अनुहार अघि सारेको थियो । संसदको सार्वजनिक लेखा समितिले वाइड बडी खरिदमा भ्रष्टाचार भएको किटान गरेपछि यही अनुहारले कुटिलतापूर्वक समितिको प्रतिवेदनलाई दुत्कारेको थियो । लगत्तै सरकारले लेखा समितिको प्रतिवेदन छल्न आफैं छानबिन समिति बनाएको घोषणा गर्‍यो । अन्ततः त्यो समितिलाई नियुक्ति नै नदिएर विघटन गरियो । हाइसन्चो !

ठमेलमा गुठीको जग्गा मासेर छाया सेन्टर बनाइयो । पत्रकार जेबी पुनले यसबारे अनुसन्धानामूलक विस्तृत रिपोर्ट नै प्रकाशित गरे । स्थानीय जनताको विरोधका बाबजुद नेकपाका नेता योगेश भट्टराईले चोरबाटोबाट छिरेर छाया सेन्टर उद्घाटन गरे । त्यसैगरी ह्यात होटलले चर्चेको जग्गाका सन्दर्भमा पनि यस्तै शृंखलाबद्ध समाचारहरू प्रकाशित भए । अनेक गुठी लगायत कैयौं सरकारी जग्गाजमिन रातारात व्यक्तिका नाममा सारिएको रहस्योद्घाटन भैरहेको छ । आश्चर्य के भने न नेकपा, नत सरकारलाई नै यस्ता कुराले तातो लगाएको छ ।

पख्नुस्, सिधा कुरा यो हो– आश्चर्य त आम जनतालाई पो लागेको छ, सरकार र नेकपालाई होइन । सार्वजनिक स्मृतिबाट एउटा काण्ड बिर्साउन अर्को काण्डको सिलसिला काफी छ । दुई तिहाइको सरकार बुख्याँचा जस्तो तैनाथ छ, जनताको स्मृति धपाउन । पानीजहाजको कार्यालय उद्घाटन गरेर होस् वा कोही गरिब हुनु नपर्ने वायुपङ्खी घोषणा गरेर, प्रधानमन्त्री केपी ओलीले कुशलतापूर्वक सरकार चलाइरहेका छन् । जनताको बीचमा सबै लज्जा छताछुल्ल भैसकेको समेत पत्तो नपाउनेगरी उनको
वायुपङ्खी सवारी जारी छ । यो स्तरको लज्जा पचाउन सजिलो छैन । धन्न, प्रधानमन्त्री ओली र नेकपाले एउटा चमत्कारी सिद्धान्त पाएका छन्– आदित्य ज्योतिपथ ।

आदित्य एक बिरामी बालक हुन् । यो पनि उत्तिकै सिधा कुरा हो । उनलाई गुगल ब्वाई कसले बनायो ? गुगल भनेको कुनै चमत्कार होइन । अरु विशेषता छाडेर आदित्यको नाममा जोडिएको अर्थलाई मात्र हेर्ने हो भने यो इन्टरनेट वेबसाइट खोज्ने अर्को वेबसाइट हो । अंग्रेजीमा यसलाई सर्च इन्जिन भन्ने गरिएको छ । संसारभरिका वेबसाइटमा राखिएका दर्जनौं भाषाका अनेकन सूचना र ज्ञान यसले खोजेर प्रस्तुत गरिदिन सक्छ ।

आर्किटेक्चरदेखि आइन्सटाइनका जटिल वैज्ञानिक सिद्धान्तसम्म, साहित्यदेखि संगीतका सिर्जनासम्म, पुरातात्त्विक खोजदेखि अन्तरिक्ष विज्ञानसम्म, गणितका अनेक खेलदेखि जोन न्यासको गेम थ्योरीसम्म, जे खोजे पनि गुगल हाजिर छ । आदित्य र उनलाई भगवान बनाउन तम्सिएका मानिसहरूमात्र होइन, आफूलाई चमत्कारी दाबी गर्ने बाबाहरूसम्म कसैले पनि गुगलले देखाउन सक्ने सबै कुरा बुझ्न सक्दैनन् । पुस्तौं–पुस्ताले आविष्कार गरेको र हजारौं मानिसले हजारौं घन्टा खर्च गरेर इन्टरनेटमा राखेको सूचना र ज्ञान कुनै एक मानिसले एउटा जिन्दगीमा न बुझेर सक्छ, न जानेर ।

त्यसैले एउटा बिरामी बालकलाई गुगल ब्वाई भनेर हल्ला गर्नु जति मुर्खतापूर्ण कुरा हो, त्यसलाई पत्याउनु मुर्खताको मूर्ति थापेर पूजा गर्नु जत्तिकै हो । अझ खराब कुरा एउटा बालकलाई बालसुलभ जीवनबाट च्युत गरेर धार्मिक व्यापारको घेराभित्र कैद गर्नु हो । बाल अधिकारको सरासर हनन हो र एक गैरकानुनी काम हो । आदित्यको नाममा धार्मिक प्रतिष्ठान नै बनाएर जानेमानेका व्यापारी, उच्चपदस्थ कर्मचारी लगायत सक्रिय छन् । अझ खतरनाक कुरा त के भने सरकारले प्रतिष्ठानका नाममा जनताको पसिनाबाट उठेको पैसा खन्याएको छ । आदित्यका नाममा चलेको धार्मिक व्यापारमा सरकारको प्रत्यक्ष संलग्नता र प्रोत्साहन देखिनु आपत्तिजनक हो कि होइन ?

जनताले विवेकको मत प्रयोग गर्छन् भन्ने मान्यताका आधारमा लोकतन्त्रमा चुनाव हुन्छ । त्यो विवेक त्यसपछि विजेता दल र उसले बनाउने सरकारलाई हस्तान्तरण गरेको मानिन्छ । सरकारले समाजको खुसहालीका निम्ति त्यो विवेक प्रयोग गर्छ । मन्त्रालयहरू, योजना आयोग आदि–आदि त्यही विवेक प्रयोग गर्ने औजार हुन् । ओली सरकारले त झन् भएका संस्थागत संरचनाले नपुगेर नयाँ थिङ्क ट्यांक पनि बनाएको छ ।

प्रश्न उठ्छ– धर्मका व्यापारीहरूले एक बिरामी बालकका नाममा बनाएको आदित्य ज्योतिपथमै हिँड्नुछ भने सारा संस्थागत संरचना किन चाहियो ? सिंगो मन्त्रिपरिषद, योजना आयोग, थिङ्क ट्यांक, कर्मचारीतन्त्र, विश्वविद्यालयहरू के एउटा बिरामी बालकको चमत्कार हेर्न तलब थापेर दर्शकदीर्घामा बसेका हुन् ?

एमाले र माओवादी नामका दुई पार्टी मिलेर नेकपा बनेको सिधा–सिधा सत्य हो । एमालेले बहुदलीय जनवादलाई आफ्नो निर्देशक सिद्धान्त मानेको थियो भने माओवादीले एक्काइसौं शताब्दीको जनवादलाई मार्क्सवाद–लेनिनवाद–माओवादको एक विकसित कार्यदिशा बताएको थियो । एक हुनुभन्दा अगाडि र एक भैसकेपछि उनीहरूले आफूलाई कम्युनिष्टका रूपमा चिनाउँदै आएका छन् ।

कार्ल मार्क्सले संसारलाई दिएको मुख्य ज्ञान हो– मानव समाज कुनै दैवी चमत्कारबाट होइन, मान्छे र मान्छेले बनाएको समाजकै नियममा चल्छ । पछिल्ला शताब्दीमा धर्म र दैवी चमत्कार केवल धार्मिक संस्था र राजनीतिक शक्तिले विभिन्न तहका सत्ता आर्जन गर्न र आफू शक्तिशाली हुन प्रयोग गरिरहेका छन् । याद राख्नुस्, उनीहरूको सत्ताचाहिँ त्यही धार्मिक भावनालाई पनि हिसाब–किताबमा सञ्चालन गरेर मात्र चल्छ ।

नेपालमा जब आफूलाई कम्युनिष्ट भन्नेहरूले आदित्य ज्योतिपथलाई मार्गदर्शन सिद्धान्तको रूपमा खुलेआम उपयोग गर्न खोजेको देखियो, हालसम्म थुपारिएका दस्तावेज केवल भ्रमका पुलिन्दा रहेछन् भन्नुपर्ने भयो । नपत्याए नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सोध्नुहोस् । प्रधानमन्त्री ओलीले त आदित्यको अद्भुत क्षमताको दुहाइ दिँदै वैज्ञानिकहरूलाई नै दुत्कारिरहेका छन् । अनि आदित्य ज्योतिपथ उल्लेख गरिएको ब्यानर मुन्तिर ओली र दाहाल दुवै रामनामी वस्त्र ओढेर विराजमान देखिन्छन् ।

सिधै भन्नुपर्छ– नेकपालाई दुई अध्यक्षले आदित्य ज्योतिपथतिर डोर्‍याउनुका दर्दनाक कारण छन् । यो लेखको सुरुमै उल्लेख गरिएका भ्रष्टाचारका नमुनाहरू सम्झौं । अख्तियारदेखि अदालतसम्म, कर्मचारीतन्त्रदेखि सेना र प्रहरीसम्म, अनि ठूला दलहरू सबै भ्रष्टाचारको पाउजेब बजाएर हिँड्न बाध्य छन् । ती पाउजेबका छन्छन् क्षितिजसम्म गुञ्जायमान सुनिन्छ । गोर्खाली सत्ता स्थापना भएदेखि आजसम्म सत्ता र यसका अंगहरूमा पुग्नेले व्यक्तिगत सम्पत्ति आर्जन गर्न त्यो सत्तालाई प्रयोग गरेको इतिहास छ । आजसम्म सत्ताको दोहन जारी छ । नेकपाले त्यही सत्ताको विरासत धान्ने पछिल्लो मौका पाएको मात्र हो ।

सत्ताको विरासतलाई जस्ताको तस्तै काँध थापेर परिवर्तनको कुरा गर्नु भनेको काशी जाने कुरा गरेर कुतीको बाटो चम्पत ठोक्नु जस्तै हो । यो विडम्बना बाँच्न नेकपा बाध्य छ । प्रधानमन्त्री ओलीले पानीजहाज र रेलको उडन्ते गफ गरेर चुनाव जिते, हालसम्म पनि उनको उडन्ते गफ जारी छ । जीवनको सत्य थाहा पाउने मामलामा आमजनता जति चमत्कारी कोही हुँदैन ।

सरकारी स्कुल ध्वस्त हुने क्रम जारी छ, निजी स्कुलमा पढाउने क्षमता आम जनतासँग छैन । एक महँगो निजी अस्पतालको विज्ञापन गर्न प्रधानमन्त्री स्वयम् पुग्छन्, तर आम जनतासँग उपचार नपाएर मर्ने बाहेकको विकल्प छैन । सार्वजनिक अस्पताललाई साधन सम्पन्न र जनताको पहुँचसम्म पुर्‍याउने त परैको कुरो, प्रधानमन्त्री त्यहाँ पनि बिरामी बालकको चमत्कारमाथि प्रकाश पारेर समय बिताउँछन् ।

एक वर्ष पुग्दा–नपुग्दै आफू असफल भैसकेको थाहा पाएपछि प्रधानमन्त्री र नेकपासँग आदित्य ज्योतिपथ बाहेक के बाँकी छ त ? हो, चमत्कारको भाषण बाहेक नेकपासँग अब केही बाँकी छैन । उसको असफलता छोप्ने हदको प्रयत्न पनि दिनहुँ असफल भैरहेछ । रामनामी ओढेर आदित्य ज्योतिपथको प्रचार गर्न प्रधानमन्त्री ओली बाध्य छन्, अध्यक्ष दाहाल अभिशप्त छन् ।

नेकपाको आदित्य ज्योतिपथमा धनाढ्या व्यापारी, ठूला कर्मचारी सबै ठूलाहरूको साथ छ । नेकपालाई कम्युनिष्ट पार्टी ठानेर दिनहुँ आफ्नै विवेकमाथि प्रश्न खेपिरहेका नेता–कार्यकर्ता कोही बाँकी छन् भने उनीहरूको हालत हामी बुझ्न सक्छौं ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

राजधनेशलाई देऊन वनमा बास

कृष्णप्रसाद भुसाल

सन् २०१८ को अन्त्यमा बर्डलाइफ इन्टरनेसनलले प्रकाशित गरेको चराहरूको वर्तमान संरक्षण अवस्था प्रतिवेदनमा राजधनेशलाई संवेदनशील सूचीमा राखिएको छ । नेपालमा पनि पाइने राजधनेश विश्वमै दुर्लभको सूचीमा परेसँगै संरक्षणकर्मीहरू चिन्तित छन् । पछिल्ला दशकमा मानवीय क्रियाकलापहरूको परिणामस्वरुप बासस्थान संकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, डढेलो, घाँसे मैदानको नाशका कारण थुप्रै प्रजातिका चराले संकट झेलिरहेका छन् ।


अवैध चरा सिकार तथा व्यापार, रासायनिक मल र विषादीको बढ्दो प्रयोग, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता अन्य कारण पनि छन्। नेपालबाट आठ प्रजातिका चरा लोप भैसकेका छन् । १६७ प्रजातिका राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा छन् । विश्वमै दुर्लभ मानिएका ४४ प्रजातिका चरा नेपालमा पाइन्छन् । बासस्थान विनाश यहाँ चराका लागि मुख्य खतरा हो । यही कारण, ८६ प्रतिशत चरा संकटापन्न अवस्थामा पुगेका छन् ।

विश्वका ५७ प्रजातिका धनेशमध्ये नेपालमा चार प्रजाति पाइन्छन् । होमराई धनेश विश्वमै पहिलोपटक नेपालमा सन् १८५० मा रेकर्ड गरिएको थियो । त्यो नेपालबाट भने २० औं शताब्दीमा लोप भैसकेको छ । बाँकी तीन प्रजाति सानो धनेश, कालो धनेश र राजधनेश हुन् । तीमध्ये राजधनेश लोपोन्मुख अवस्थामा पुगेको हो । फलफूलका रुखहरू भएको तराईका सदावहार विकसित चौडापाते जङ्गलमा बस्ने राजधनेश मुख्यतया पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा पाइन्छ ।

संरक्षित क्षेत्र बाहिर झापा, सुनसरी, मकवानपुर, कपिलवस्तु र कैलाली जिल्लाको जंगलमा मात्र पाइन्छ । अन्यत्र चरा भारत, चीन, भूटान, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड, म्यानमार, लाओस, भियतनाम, कम्बोडिया र इन्डोनेसियाको सुमात्रा टापुमा पाइन्छ । अंग्रेजीमा ग्रेट हर्न बिल भनिने हेलमेटजस्तो रङ्गिन शिर भएको राजधनेश सबैभन्दा ठूलो धनेश हो । प्रायःजसो सानो–सानो झुन्डमा देखिने यो पन्छी निकै आकर्षक देखिन्छ । नेपालमा राजधनेश डेढ सय वटाभन्दा कम रहेको अनुमान छ । वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित ९ पन्छीमध्ये यो पनि एक हो । यो साइटिस अनुसूची–१ मा सूचीकृत छ । यस अनुसूचीमा अन्तर्राष्ट्रिय व्यापारका कारण लोप हुने अवस्थामा पुगेका प्रजातिहरू पर्छन् र तिनको व्यापारमा पूर्ण प्रतिबन्ध लगाइएको हुन्छ ।

राजधनेशले गुँड निर्माण र ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउँछ । यसले ठूला र बूढा रुखको टोड्कोमा गुँड बनाई वर्षायाममा प्रजनन गर्छ । भालेले पोथीलाई अन्डा पारेपछि बच्चा नहुर्कन्जेलसम्म टोड्कोमा रहेको गुँडमै थुनेर राख्छ । धनेश दम्पतिले हिलो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पुरै टाल्छन् । त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावा र आहारा लिने गर्छे । ओथारो अवधिभर पोथीलाई र पछि बच्चालाई भाले राजधनेशले नियमित आहारा खुवाउँछ ।

यही स्वभावका कारण यसलाई पत्नीवर्ता पन्छी भनिन्छ । बढीमा दुइटासम्म अन्डा पार्ने पोथी चालीस दिनसम्म ओथारो बस्छे । ओथारो अवधिमा प्वाँखहरू झरेर कुरूप बनेकी पोथी त्यसपछि पलाएका प्वाँखहरूले भने झन् सुन्दर बन्छे । करिब दुई महिनापछि मात्र बच्चा उड्न सक्षम हुन्छन् । जोडी बनिसकेपछि राजधनेशका भाले–पोथीले एकअर्कालाई दीर्घकालसम्म साथ दिन्छन् । तीस वर्ष वा त्यसभन्दा बढी आयु हुने यो पन्छीले उडानको बेला पखेटाको फटफटावट आवाज निकाल्छ । करिब एक किलोमिटर टाढासम्म पनि सुन्न सकिने उक्त आवाजको मद्दतलेटोड्कोमा थुनिएर बसेको पोथीले भालेको आगमन र क्रियाकलाप पहिचान गर्छे ।

प्रकृतिमा भएका कतिपय हानिकारक किराफट्याङग्रा, मुसा तथा छिपकलीहरू खाई राजधनेशले पर्यावरणीय सन्तुलन तथा खाद्यचक्र गतिशील राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । विभिन्न बिरुवा तथा फलफूलको विउ विस्तार र वितरणमा पनि यसले योगदान पुर्‍याएको हुन्छ । खास किसिमको बासस्थानमा मात्र पाइने यो चरा त्यस्ता क्षेत्रहरूको वातावरणीय सूचक मानिन्छ । पछिल्ला दशकमा वन विनाश र अतिक्रमणले ठूला र पुराना रुखहरूको अभावमा राजधनेशको संख्या दिनानुदिन घटिरहेको हो ।

चोरी सिकारी पनि चुनौती हो । मासु र यसको आकर्षक शिरका लागि अवैधानिक सिकार र व्यापार गरेको भेटिन्छ । ओथारो अवधिभर थुनिएर बसेको पोथी कमजोर र कम चलायमान हुने हंँदा मानव सिकारी र प्राकृतिक सिकारी जीवजन्तुको आक्रमणमा पर्ने सम्भावना हुन्छ । नेपाल तथा भारतका कतिपय आदिवासी समुदायले यसको ठोँड, प्वाँख र शिरलाई परम्परागत संस्कार तथा रीतिरिवाजमा प्रयोग गर्ने गर्छन् ।

राजधनेश जैविक विविधताको महत्त्वपूर्ण सूचक र पर्यापर्यटनको प्रमुख आकर्षण हो । बूढा र सुकेका धोद्रा रुखहरू नै राजधनेशका घर हुन् । यसर्थ यस्ता रुख जोगाउन जरुरी छ । सामान्यतया हामीले पुराना र सुकेका रुखहरूलाई त्यति महत्त्व दिँदैनौं । वन व्यवस्थापनका अभ्यासमा त्यस्ता रुखहरू मास्ने वा जंगलबाट निकाल्ने गरिन्छ ।

संरक्षित पन्छी राजधनेशको चोरी सिकार गरेमा १५ देखि ३० हजारसम्म जरिवाना वा ३ देखि ९ महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ । चरा संरक्षण विशुद्ध एकल अभियान होइन, यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवं पर्यटन उद्योग र विकास सँगसँगै हेरिनुपर्छ । नेपालमा चरा अवलोकनका लागि थुप्रै बाह्य पर्यटक आउँछन् ।

खास प्रकारका चराहरूको संरक्षण, बासस्थान व्यवस्थापन र प्रचार–प्रसारले देशलाई चरा अवलोकनका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ । स्थानीय निकायले राजधनेश जस्ता चरा र तिनको बासस्थान संरक्षणमा समन्वयकारी तथा अभिभावकीय भूमिका निभाउन सक्छन् । यस कार्यमा केन्द्र सरकार र सरोकारवाला निकायले पहल गर्नुपर्छ । अन्यथा राजधनेश यस धर्तीबाटै लोप भएर जानेछ । त्यसको कारक पुस्ता हामी हुनेछौं ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्