१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

आमा, पहिलो पाठशाला, पहिलो पाकशाला

कमल रिजाल

आमाको सम्झना गर्ने दिन हो, आज । आमा हुनेहरू मनपरेको खान-लाउन दिएर सम्मान गर्छन्, नहुनेहरू आफ्नै तौरतरिका अनुसार आमाको सम्झना गर्छन्, यस दिन । आमाभन्दा ठूलो कोही छैन, हुन्न कसैका लागि पनि । ठूला देवता पनि उनै हुन्, ठूला तीर्थ पनि उनै । संस्कृत भाषामा आमालाई माता भनिन्छ । सायद मदर, अम्मा, अम्मु पनि यसैका अपभ्रंश हुनुपर्छ ।

आमा, पहिलो पाठशाला, पहिलो पाकशाला

पाणीय व्याकरण अनुसार 'मान्' धातुबाट माता शब्द बनेको छ, जसको अर्थ हुन्छ- माननीय, वन्दनीय, स्मरणीय आदि । अथर्ववेदले आमा पृथिवी समान वन्दनीय हुन्छिन् भनेको छ । पृथिवीबाट जेजस्ता काम हुन्छन्, ती सबै आमाले गर्छिन् भन्ने उसको मान्यता छ ।

'माता भूमिः पुत्रो अहं पृथिव्याः ।' -अथर्ववेद १२।१।१२) अथर्ववेदको १२ औं काण्डको पहिलो सूक्तलाई भूमिसूक्त भनिन्छ, जहाँ ६३ मन्त्र छन् । रूपमा माता भूमिको विशेषता गाएको यस सूक्तले सारमा आमाको बढी वन्दना गरेको छ । वेदले आमालाई कतै अग्नि र हवि भनेको छ । -शुक्लयजुर्वेद २३।२५) कतै अन्तरिक्ष भनेको छ -शुक्लयजुर्वेद २५।२३) आमा द्यावाभूमि जत्तिकै महान् छिन्, विशाल उपनिषद् दर्शनमा आमा देवतासरह हुन्छिन्, मान्नुपर्छ भनिएको छ । 'मातृदेवो भव ।' -तैत्तिरीयोपनिषद् एकादश अनुवाक) आमा संसारभरिकै तीर्थ समान वरेण्य हुन्छिन् भन्ने धर्मशास्त्रको मान्यता छ । -माता तीर्थं पुनः पुनः) पौराणिक ग्रन्थहरूका अनुसार तीर्थका अनेक भेद छन्- जङ्गमतीर्थ, मानसतीर्थ, स्थावरतीर्थ, सन्ततीर्थ, भक्ततीर्थ, गुरुतीर्थ पितृतीर्थ, मातृतीर्थ, पतितीर्थ, पत्नीतीर्थ आदि । आमा तिनै मध्येकी एक हुन् । सन्तान कुसन्तान हुन सक्छन्, माता कुमाता हुँदैनन् भनेका छन्, आद्यशङ्कराचार्यले देव्यापराध क्षमापनस्तोत्रमा । 'कुुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति ।'

साङ्ख्या दर्शनले पुरुष र प्रकृतिको खेल मानेको छ, जगतलाई । यिनमा बाबुलाई पुरुषसित र आमालाई प्रकृतिसित तुलना गरिएको छ । गीतामा कृष्णले पनि यस्तै भनेका छन् । उनका अनुसार सन्तानोत्पादन प्रकृति -योनि) बाट हुन्छ भने बीज दिने काम ईश्वर -पुरुष) ले गर्छन् । 'मम योनिर्महद्ब्रह्म तस्मिन्गर्भ दधाम्यहम् ।' -गीता १४।३) बरु पुरुषविना संसार चल्न सक्ला, प्रकृतिविना सक्दैन । प्रकृति विना उत्पादनै सम्भव हुन्न । बाबु नभए व्यवहार चलाउन सक्छन्, चलाएका छन्, आमाविना सकिंँदैन ।

सन्तानोत्पादनमा बाबुको पनि भूमिका हुन्छ । उपनिषद्ले उनको समेत सम्मान गरेको छ, तर आमाविना सम्भव हुन्न । रामायणकी नायिका सीताको जन्ममा बाबुको भूमिका खोजिएको छैन । तर उनलाई प्रकट हुन आमाकोख -पृथिवीको गर्भ) अनिवार्य मानिएको छ । महाभारतकी नायिका द्रौपदीको अवस्था पनि त्यस्तै हो । उनको जन्म यज्ञकुण्डबाट भएको छ । उनलाई याज्ञसेनी भन्नुको अर्थ पनि यही हो । यहाँ पनि बाबु देखाउन अनिवार्य मानिएको छैन । आमाकोख -यज्ञकुण्ड) अत्यावश्यक ठानिएको छ ।

परम सत्य पनि आमा नै हुन् । सत्यका पुजारी पनि आमा नै हुन् । सत्य खोज्ने पनि आमा, सत्य चिन्ने पनि आमा, सत्य लिने पनि आमा, सत्य दिने पनि आमा । बाबुको वीर्य आफैमा वीर्यमात्र होइन, ब्रह्मतेज हो, ब्रह्मविन्दु हो, सत्यकण हो, परमसत्यको ज्योतिर्मय परमाणु भनेकै वीर्य हो । आमाले त्यसैलाई धारण गर्छिन्, मूर्त बनाउँछिन् । नवजात शिशु सबै सत्य हुन् । सत्यकै अंश हुन्, उनीहरूलाई असल-खराब बनाउने घरपरिवारले गर्छ, समाजले गर्छ, सङ्गतले गर्छ, आमाले होइन । उनले सत्य नै लिएकी हुन्, सत्य नै दिएकी छन् ।

वेदमा सत्यको कुरो पनि आएको छ, ऋतको कुरो पनि आएको छ । 'सत्यञ्च मे, ऋतञ्च मे' -शुक्लयर्जुवेद अध्याय १८) सत्य भनेको निरपेक्ष सत्य हो, ऋत भनेको सापेक्ष सत्य । दुवै अलग-अलग हुन्, एउटै होइनन्, एकैसाथ रहन सक्दैनन् । तथापि आमामा भने यी दुवै हुन्छन्, दुवै हुन् । सारमा सापेक्ष सत्य रूपमा निरपेक्ष सत्य । गर्भ धारण गर्ने पनि आमा, गर्भमै चलाउने र बढाउने पनि आमा । जन्माउने पनि आमा, हुर्काउने पनि आमा । बाबु देखाउने पनि आमा, चिनाउने पनि आमा । खेलाउने पनि आमा, खुवाउने पनि आमा ।

सुताउने पनि आमा, उठाउने पनि आमा । हिँडाउने पनि आमा । हिँड्न सिकाउने पनि आमा । बोल्न लगाउने पनि आमा, बोल्न सिकाउने पनि आमा । हँसाउने पनि आमा, रुवाउने पनि आमा, रोएको नानी देखेर आफै रुने पनि आमा । आफैलाई चिनाउने पनि आमा, नानीलाई चिनाउने पनि आमा ।

फकाउने पनि आमा, फुल्याउने पनि आमा । तल पनि आमा, माथि पनि आमा । भित्र पनि आमा, बाहिर पनि आमा । रातमा आमा, दिनमा आमा । धारणमा आमा, धड्कनमा आमा । न्यायमा आमा, दयामा आमा । मायामा आमा, कायामा आमा । कर्ममा आमा, धर्ममा आमा । रसमा आमा, रासमा आमा । आसमा आमा, त्रासमा आमा । नादमा आमा, विन्दुमा आमा । कस्तो चमत्कार ? सर्वत्र आमा, आमा नै आमा ।

नवजात शिशुले पहिले देख्ने पनि आमा, पहिले चिन्ने पनि आमा । पहिले संसार देखाउने पनि आमा, पहिले स्तनपान गराउने पनि आमा । परमानन्दको अनुभूति गराउने पनि आमा, शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने पनि आमा । पहिलो पाठशाला पनि आमा, पाकशाला पनि आमा । प्रयोगशाला पनि आमा, प्रकृति पनि आमा । परिचय पनि आमा, पहिचान पनि आमा । नानीहरू हाँसेको देखेर खुसी हुने पनि आमा, लड्ला भनेर डराउने पनि आमा ।

सगरमाथाको उचाइ हुन् आमा, समुद्रको गहिराइ हुन् आमा । संसार उठेको छ आमाबाटै, बनेको छ आमाबाटै, बढेको छ आमाबाटै । बनाउने पनि आमा, चलाउने पनि आमा । बढाउने पनि आमा, पहिलो उच्चारण पनि आमा, अन्तिम उच्चारण पनि आमा । दुर्गा पनि आमा, सीता पनि आमा । राधा पनि आमा, महाकाली पनि आमा । महालक्ष्मी पनि आमा, महासरस्वती पनि आमा । चाल पनि आमा, काल पनि आमा । कालको पनि काल महाकाल पनि आमा ।

नवजात शिशुको पहिलो उच्चारण हो- रुवाइ, जहाँ 'अ' को उच्चारण हुन्छ । संसारको पहिलो अक्षर भनेकै 'अ' हो । शब्दको स्रोत ओम हो । अ, उ र म तीन अक्षर मिलेर यो बनेको छ । 'अ' यसको पनि पहिलो अक्षर हो । अन्तिम उच्चारण पनि 'अ'मै पुगेर टुङ्गिन्छ, ऐय्या, आच्छु, आत्थु, मरे'नि आमा, लडेँ'नि आमा । सत्यभूमि पनि आमाको काख, ज्ञानभूमि पनि आमाको काख । शान्तिभूमि पनि आमाको काख, आनन्दभूमि पनि आमाको काख, पुण्यभूमि पनि आमाको काख । नाद हुन्छ आमाकै काखमा, विन्दु हुन्छ आमाकै काखमा । ओ हो ! के-के हो के-के, सबै आमा, सर्वत्र आमा, आमा नै आमा ।

प्रसव वेदना एक किसिमको मृत्यु नै हो, हर आमाका लागि । तैपनि उनीहरू त्यसको वास्ता गर्दैनन्, एकपटक आमा बन्नैपर्छ भन्छन्, बच्चा जन्माउन चाहन्छन्, हुर्काउन चाहन्छन्, खेलाउन चाहन्छन् । आमा नबनेको जीवन पूर्ण होइन भन्छन्, उनीहरू । स्वार्थ हुन्छ संसारमा, स्वार्थी हुन्छन् मानिस, तर आमा कहिल्यै स्वार्थी हुन सक्दैनन् ।

बरु आफू भोको बस्न रुचाउँछन्, तर बच्चा भोको रहेको हेर्न सक्दैनन् । उनीहरू बच्चालाई नखुवाई खाँदा पनि खाँदैनन्, नसुताई सुत्दा पनि सुत्दैनन् । आफू भोको रहिन्छ कि भन्नेभन्दा पनि बच्चा भोको हुन्छ कि भन्ने चिन्ता बढी हुन्छ, आमाहरूलाई । कत्रो त्याग, कत्रो समर्पण । तब न आमा, त्यसैले त आमा । उनैको सम्झना गर्ने दिन भएकाले विशेष हुनपुगेको हो, आजको दिन । यसको अर्थ वर्षको एकपटक मात्र सम्झना गरे हुन्छ भन्ने होइन । वर्षैभरि यसैगरी सम्झना गर्नुपर्छ भन्ने सन्देश दिएको छ, यस दिनले ।

प्रकाशित : वैशाख २१, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?