कुकुरबारे किन यति धेरै किताब ?

न्युयोर्क टाइम्स

‘संगीत वा खोलानाला वा हरियाली र मुलायम घाँसबिना यो विश्व कस्तो होला ?’ कवि म्यारी ओलिभर आफ्नो किताब ‘डग संग्स’मा प्रश्न गर्छिन्, ‘कुकुर बिना यो संसार कस्तो होला ?’कुकुर बिनाको विश्वबारे सोच्न पनि मुस्किल छ  । कुकुरसँगको हाम्रो सम्बन्ध कुनै लिखित दस्तावेज र युगभन्दा पहिल्यै सुरु भएको हो  ।

कुकुर बिनाको विश्वबारे सोच्न पनि मुस्किल छ । कुकुरसँगको हाम्रो सम्बन्ध कुनै लिखित दस्तावेज र युगभन्दा पहिल्यै सुरु भएको हो । उनीहरू हाम्रा सिकारका साथी भए । खाट तताउने माध्यम बने । कहिलेकाहीं केही नभेटेका बेला खाना नै पनि हुन्थे । कुकुरहरू हाम्रो घरभित्र, भान्छा कोठामा डुल्छन् र सोफामा सुत्छन् । व्यावहारिक भएर विचार गर्दा ६ करोड अमेरिकी घरमा कुकुर बस्छन् । कुकुरबारे प्रकाशित किताबहरू अधिकांश कसरी कुकुर चयन गर्ने, तालिम दिने र स्याहर गर्ने भन्ने छन् ।


यो शताब्दी अझ भिन्न छ । जोन ग्रोगानद्वारा लिखित २००५ को मेगा बेस्ट सेलर ‘मार्ले एन्ड मी’ले कुकुरबारे हामीले के सोच्छौं भन्ने विषयमा महत्त्वपूर्ण बदलाव ल्याइदिएको छ । सन् १९९० मा कुकुर पाल्न थाल्दाको हाँसोउठ्दो अवस्थाबाट सुरु हुन्छ । कसरी ठूलो, बलिष्ठ मासु खाने जनावरलाई रेस्टुरेन्टमा वा हावाहुरी र चट्याङका बेला शान्त भएर बस्ने तथा समुद्र किनारमा डुल्दा दिसा नगर्ने भनेर सिकाउने ? किताबको अन्त्यसम्ममा ग्रोगान पूर्णरूपमा आफ्नो ल्याब्रोडर जातको कुकुर मार्लेको आन्तरिक जीवनमा केन्द्रित थिए । मार्लेले विश्वका बारे के सोच्छ, महसुस गर्छ र बुझ्छ भन्नेमा उनी चिन्तित थिए ।


यो शताब्दीको सुरुदेखि नै कुकुरहरूको दिमागमा के चल्छ भन्ने किताबहरू धेरै प्रकाशित भए । हाल एम्याजोनमा मात्रै कुकुरबारे लेखिएका ७० हजारजति किताब उपलब्ध छन् । केही दर्जन चर्चित उपन्यास पनि छन् । ‘द आर्ट अफ रेसिङ इन द रेन’, ‘ए डग्स पर्पोज’ पाठकहरूको आँखाबाट आँसु झार्न सफल उपन्यास हुन् । कुकुरहरूको दिमागमै आधारित भएर आख्यान लेखन बढ्दो छ ।
कुकुरहरूसँग १४ हजार वर्षसम्म सँगै रहेर अहिलेमात्रै किन हामी तिनीहरूले के सोच्छन् भन्ने विषयमा केन्द्रित भएका छौं ? यसबारे धेरै व्याख्या हुनसक्छ । त्यस मध्येको एक भनेको विज्ञानले दुई शताब्दीयता कुकुरहरूबारे धेरै अनुसन्धान गरेकोले हो । सन् १९०० देखि १९९९ सम्म अधिकांश मानसिक क्षमता सम्बन्धी अनुसन्धानकर्ताले कुकुरबारे अध्ययन गर्न रुचि नै राखेनन् । घरपालुवा बनाइएकाले यसको सम्पूर्ण क्षमता क्षय भइसकेको उनीहरूको अनुमान थियो ।


१९३१ मा प्रकृतिविद फ्रान्सिस पिटले कुकुरहरूको बुद्धि नभएको दाबी गरेका थिए । ‘कुकुरहरूमा बाँच्न आवश्यक पर्ने सम्पूर्ण क्षमता मानिसहरूको संरक्षणका कारण हराइसकेको विभिन्न प्रकारका प्राकृतिक परीक्षणबाट देखिएका छन्,’ उनले भनेका थिए । १९७१ मा पशु चिकित्सक माइकल फक्सले पाल्तु बनाइएकै कारण तिनमा नैराश्यता, अत्तालिने जस्ता मानसिक समस्या, दम, झाडा र पक्षाघातको समस्या देखिन थालेको उल्लेख गरेका थिए ।


१९५० देखि जनावरको मानसिक क्षमता जान्न गरिएका विभिन्न प्रयोगले तिनमा भएको बुद्धिको स्तर देखाउन थालेका थिए । सन् १९८० सम्म डल्फिनले कम्प्युटरको आवाजको नक्कल गर्नसक्ने पत्ता लागेको थियो । परेवाहरूमा विभिन्न वस्तुको तस्बिर हेरेर
छुट्याउन सक्ने क्षमता रहेको थाहा भएको थियो । हाम्रो पुर्खा मानिएका बाँदरहरूको मानसिक क्षमता मानिस जतिकै तेज हुने पनि देखिएको थियो । कुकुरको क्षमताबारे भने धेरै कुरा पत्ता लागेको थिएन । १९५० देखि २००० सम्म कुकुरको मानसिक क्षमताबारे केही लेखिएको छैन भने पनि हुन्छ ।


त्यसपछि भने एक्कासी कुकुरको मानसिक क्षमताबारे लेखिएका सामग्री छ्यापछ्याप्ती प्रकाशित हुनथाले । मनोविज्ञान, मानवशास्त्र र मस्तिष्क विज्ञानका अध्येताहरूले पनि यस विषयमा लेखे । मनोवैज्ञानिक एलेक्सान्ड्रा होरोविजको २००९ मा प्रकाशित ‘इन्साइड अफ ए डग’ यो क्षेत्रमा कोशेढुंगा नै बन्यो । त्यसले कुकुरहरूले आफू वरपरको संसारलाई कसरी हेरिरहेका हुन्छन् भन्ने थाहा पाउन महत्त्वपूर्ण भूमिका खेल्यो । सन् २०१३ मा प्रकाशित गर्जोरी बर्न्सको ‘हाउ डग्स लभ अस’ले कुकुरहरूको दिमागी क्षमताबारे नयाँ आयाम उजागर गर्‍यो । उनी पहिलोपटक जीवित कुकुरको दिमागको एमआरआई गर्न सफल भए । उनले कुकुरको दिमागमा रहेको पुरस्कार–केन्द्रले खानेकुरामा मात्रै नभई प्रोत्साहन गर्दा पनि समान प्रतिक्रिया जनाउने पत्ता लगाए । कुकुरको दिमागमा मानिसहरूको अनुहार चिन्नका लागि छुट्टै भाग हुने उनको अध्ययनले देखायो ।


कुकुरबारे हाम्रो सोच अग्रगामी छ । सँगै बसेपछि उनीहरूप्रतिको मनोवृत्ति परिवर्तन हुने हाम्रो इतिहासले नै देखाउँछ । कुनै बेला हामी कुकुरलाई उपयोगी माने पनि सफा जनावरका रूपमा लिँदैन थियौं । कुनै बेला हामी आफ्नै बच्चाहरूलाई पनि त्यही रूपमा हेर्थ्यौं । १८ औं शताब्दीको सुरुमा युरोपमा काम गराउनका लागि बच्चा जन्माइन्थ्यो । जन्मिएका सबै बच्चा जीवित नरहने भएकाले पनि त्यसबेला अभिभावक धेरै बच्चा पाउँथे र जीवित रहेकालाई काममा लगाउँथे ।


१९ औं शताब्दीमा बाल मृत्युदर घट्यो । त्यसपछि काम गर्नेको संख्या पनि बढ्यो । अभिभावकहरूले उनीहरूलाई कामदारको रूपमा मात्रै हेर्न छाडे । बालबालिकाका लागि १९ औं शताब्दी परिवर्तनको युग भएझैं २१ औं शताब्दी कुकुरका लागि हो । अहिले अधिकांश कुकुरलाई धेरै काम लगाइँदैन । उनीहरूको काम केवल हामीलाई माया गर्ने भएको छ । उनीहरू त्यसो गर्न माहिर पनि छन् ।
उड्स र हेयर विकासवाद सम्बन्धी मानवशास्त्रका प्राध्यापक हुन् । उनीहरूको ‘द जिनियस अफ डग्स’ पुस्तक प्रकाशित छ ।


न्युयोर्क टाइम्सबाट अनुदित ।

प्रकाशित : वैशाख २८, २०७६ ०८:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मेयरको चेपुवामा उपमेयर

देशका सबैजसो स्थानीय तहका प्रमुख–उपप्रमुखबीच कसले कति अधिकार प्रयोग गर्ने भन्ने विवादले विकास निर्माणसमेत प्रभावित हुने गरेको छ
विद्या राई

काठमाडौं — खुला मञ्च अतिक्रमण हटाउन डोजर चलाइएसँगै काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको बेमेल पनि सतहमा देखियो  । मेयर विद्यासुन्दर शाक्यले ऐनले प्रत्याभूत गरेको अधिकारसमेत कटौती गरी आफ्नो जिम्मेवारीमाथि हस्तक्षेप गरेको उपमेयर हरिप्रभा खड्गीले आरोप लगाइन्  ।

२०७५ चैत २४ मा सम्पन्न नगरसभाको चौथो अधिवेशनमा खड्गीले खुलामञ्चमा धमाधम पसल निर्माणबारे मेयर शाक्यको ध्यानाकर्षण गराएकी थिइन् । महानगरमा जनप्रतिनिधि आएपछिको पहिलो नगरसभामा समेत उनले रानीपोखरी र टुँडिखेलबीचको व्यापारिक भीडभाड हटाउनुपर्ने धारणा राखेकी थिइन् ।

जनप्रतिनिधि आउनुअघि जतिसुकै सम्झौता भए पनि पसलेहरूलाई ‘अल्टिमेटम’ दिएर हटाउनुपर्ने उनको तर्क थियो । केही पसलवाला उनकै सचिवालयमा पुगेर ‘कन्भिन्स’ भएर फर्केका थिए । तर, मेयरले उक्त विषयमा बेवास्ता गरिदिए । खुलामञ्चका विषयमा भने केही चासो देखाउँदै अनुगमन गरी वस्तुस्थिति खुल्ने प्रतिवेदन बुझाउन उपमेयरलाई मौखिक निर्देशन दिए । उपमेयरले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएकाले लिखित निर्देशन आउनुपर्ने भन्दै झन्डै तीन हप्तासम्म निर्देशन अटेर गरिन् ।


स्थानीय सरकार सञ्चालन ऐन २०७५ मा उपमेयरले योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण गरी प्रतिवेदन पेस गर्ने अधिकार छ । २०७५ मंसिर १२ मा बनेको अनुगमन समितिको संयोजकका रूपमा उपमेयरलाई प्राप्त मनोनयन पत्रमा स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ (परिमार्जित) बमोजिम महानगरबाट सञ्चालित योजनाको नियमित अनुगमन सुपरीवेक्षण गर्ने जिम्मेवारी मात्रै दिइएको छ ।

संविधानमा सुरक्षित अधिकार कटौती गरेर उपमेयरको जिम्मेवारी साँघुरो बनाएकाले मौखिक निर्देशनका आधारमा ‘एक्सन’ मा जान नसकेको खड्गीले बताइन् । ‘मलाई अनुगमन समितिको जिम्मेवारी दिँदा कतिसम्म कटौती गरिएको छ भन्ने मलाई थाहा थियो,’ उनले भनिन्, ‘मैले जानाजान थप अप्ठेरोमा फस्नु थिएन ।’


त्यतिन्जेल खुलामञ्चको विषय चर्किसकेको थियो । मेयरले वैशाख १३ मा उपमेयरलाई पत्र लेखेर स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत गठित अनुगमन समितिमार्फत अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिए । तर महानगरमा हालसम्म त्यसअनुसारको समिति गठन नभएको उपमेयर दाबी गर्छिन् ।

पत्र आएपछि उनी मेयरको निर्देशन कार्यान्यन गर्न विभागीय कर्मचारीहरूसँग एक चरण बैठक भने बसिसकेकी थिइन् । पत्र पाएको भोलिपल्टै मेयरको आदेशमा खुलामञ्चमा डोजर चलाइयो । मेयरले वैशाख १७ मा पुनः पत्राचार गरेर खुलामञ्चका संरचना भत्काउन थालिसकेको भन्दै थप अनुगमन आवश्यक नरहेको उपमेयरलाई जानकारी गराए ।
यसैगरी राजनीतिक रूपमा निर्देशित भएर उपमेयरले नटेरेपछि डोजर लगाउनुपरेको मेयरले सार्वजानिक अभिव्यक्ति पनि दिए । मेयरको अभिव्यक्तिमाथि उपमेयरले आपत्ति जनाएकी छन् ।

‘काम गर्नलाई अधिकारजति मेयरसाब नै खोसेर राख्नुहुन्छ, उल्टै राजनीतिक रंग लगाइदिनुहुन्छ, यो सरासर ममाथिको लान्छना हो,’ उनले भनिन् । मेयरले खुलामञ्च मात्रै नभएर विगतमा पनि पटकपटक अनेक बहाना बनाएर फसाउन खोजेको उनको भनाइ छ । यस विषयमा जिज्ञासा राख्दा मेयरले पद्धतिअनुसार चल्नुपर्ने भन्दै विगत कोट्याउन नचाहेको बताए । ‘काम गर्दै जाँदा कमीकमजोरी त हुन्छन्, महानगरमा कसैले अन्जानमा गल्ती गरे पनि भागिदार मै हुनुपर्छ, त्यसैले हामी सबै मिलेर महानगर बनाउने हो,’ उनले भने ।


मेयरले जिम्मेवारीविहीन बनाउन खोजेर महानगरलाई एकलौटी चलाउँदै आएको आरोप लगाइन् । जस्तो महानगरमा उपमेयरलाई न्यायिक समिति, बजेट तर्जुमा समिति, अनुगमन समिति र राजस्व समितिअन्तर्गतको जिम्मेवारी संविधानमा तोकेको छ । उक्त समितिहरू बनाउने वातावरण बनाउन मेयरलाई धेरैपटक आग्रह गर्नुपरेको थियो । न्यायिक समिति जनप्रतिनिधि आएको करिब ६ महिनापछि मात्रै बनेको थियो । बजेट तर्जुमा र राजस्व समिति दोस्रो परिषद्बाट अनुमोदन गरेका थिए । अनुगमन समिति भने मेयरले बनाउनै चाहेका थिएनन् । धेरै पटक आग्रह गरेपछि जनप्रतिनिधि आएको झन्डै डेढ वर्षपछि मात्रै बनेको थियो ।


‘अनुगमन समिति बनाउने कोसिस गर्नुभएको छदै थिएन, मैले पटक–पटक भनेपछि अन्तिममा ल तपाईंले धेरै ‘रिक्वेस्ट’ गर्नुभो बनाइदिएँ, भन्नुभो, मलाई हाँसो लाग्यो, समिति त मैले बनाउने होइन, संविधानमा लेखिएको कुरा हो ।’ उनले भनिन्, ‘त्यही पनि अधिकारजति कटौती गरिदिनुभयो ।’

बजेट तर्जुमा समितिमा आफू रहे पनि मेयरले एकलौटी बजेट तथा योजना चलाउने गरेका छन् । कार्यालय सञ्चालन खर्चका विषयमा पनि मेयरले आफूखुसी गर्दै आएका छन् । वित्त शाखाले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष ०७४/७५ मा बागदरबारस्थित मेयरको कार्यकक्ष र सचिवालयमा जलपान तथा खाना खर्च ७ लाख रुपैयाँ र राष्ट्रिय सभागृहमा रहेको मेयरको अर्को कार्यालयमा ६ लाख ८९ हजार रुपैयाँ गरी १३ लाख ८९ हजार रुपैयाँ खर्च भएको थियो । यसैगरी उपमेयरको सचिवालयमा गएको आवमा ५ लाख ५१ हजार रुपैयाँ जलपानमा खर्च भएको थियो । खर्च के कति र कहाँ, कसरी भइरहेको भन्ने सम्बन्धमा आफूलाई चासो र थाहै नभएको भन्दै मेयर गैरजिम्मेवार बन्न खोजेका छन् ।

‘खर्च कसले के राख्छ, वित्त शाखातिरै हुन्छ, मलाई सरोकारको विषय होइन ।’ यतिका छर्लङ हुँदाहुँदै पनि उनले पानी माथिको ओभानु बन्ने गरेका छन् ।


महानगरको स्थानीय राजपत्र बनाउने क्रममा पनि उपमेयरलाई थाहै नदिई अन्तिममा आएर पुस २४, २०७४ को नगरसभामा थमाएका थिए । उनले मेयरको विश्वास गरेर चुपचाप बस्दै आएकी थिइन् । तर पटक–पटक घात गर्न थालेकाले अबदेखि नसहने निर्णयमा पुगेकी छन् । जनताको सेवाका लागि प्रतिनिधि भएर महानगर बनाउन आएको भए पनि राजनीतिक दृष्टिकोण र महिला भएका कारणले थिचोमिचो गरिरहेको बताउँछिन् । ‘मेयरले अधिकार दिन त परै जाओस् सोध्न समेत आवश्यक ठान्ने गरेका छैनन्, यो त ‘ह्युमुलेसन’ हो, मलाई ‘अट्याक’ गरेको हो नि, अबदेखि चुप बस्दिनँ, मसँग धेरै प्रमाण भइसके ।’

मेयरले महानगरमा संविधानले तोकेअनुसारको पदीय जिम्मेवारी सबैलाई पालना गर्नुपर्ने बताए । कसैको व्यक्तिगत इच्छाचाहना, राजनीतिक आस्थाका कारण कसैलाई धेरै अधिकार, कसैलाई थोरै नभएको भन्दै भने, ‘म मेयरको हैसियत र अधिकारमा काम गर्छु, उहाँले उपमेयरको हैसियतमा रहेर काम गर्ने हो ।’


देशभरका सबैजसो स्थानीय तहका उपप्रमुखहरू प्रमुखको चेपुवामा छन् । उनीहरूलाई संविधानबमोजिम काम गर्न कतै प्रमुख, कतै कर्मचारी त कै सहकर्मी जनप्रतिनिधि बाधक बनेका छन् । उनीहरूका लागि अभिभावकको भूमिकामा रहनकै लागि कानुन सम्मत अघि बढ्ने अडान लिएकी छन् । ‘उहाँहरूले काठमाडौं महानगरलाई अभिभावकको रूपमा हेरिराख्नुभएको छ, यसैमाथि टेकेर काम गर्न चाहिरहनुभएको छ, मैले मेयरसँग जायज कुरामा आफ्ना गुनासा राख्न किन नपाउने, तर मुखको भरमा काम गर्न सक्दिनँ, मलाई जे समिति दिएको छ त्यहीअनुसार गर्ने हो,’ उनले भनिन् ।


राजनीतिक सवाललाई अहिले आएर जोड्न नमिल्ने र आफूले कहिल्यै त्यो दृष्टिले नहेको मेयरले जिकिर गरे । ‘चुनाव लड्नेबेलै जिम्मेवारी के कति भनेर पदमा लडेर आएको उपमेयरलाई थाहा हुनुपर्ने हो, जितेर आइसकेपछि यो र त्यो पार्टीको सवालै हुँदैन ।’ स्थानीय तह निर्वाचनमा मेयर तत्कालीन एमाले र उपमेयर कांग्रेसबाट विजयी भएका हुन् ।

प्रकाशित : वैशाख २८, २०७६ ०८:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT