कसौटी 'बाबुराम' का

विमल निभा

कुनै समयका घाघडान कमरेड बाबुराम भट्टराई आफ्नो नयाँ शक्ति पार्टी, नेपालसहित एक अर्को पार्टीमा घुलित भएका छन्  । होइन, आफ्नो पुरानो नेपाल कम्युनिस्ट पार्टीमा नभएर अपेक्षाकृत नयाँ पार्टी फोरममा  ।

(यसको पुरा नाम जेसुकै भए तापनि यो उपेन्द्र यादवको ब्रान्डेड फोरम नै हो ।) तसर्थ नयाँ पार्टी परिवर्तनपश्चात पनि उनले आफ्नो पुरानो नयाँपन चाहिंँ दुरुस्तै राखेकोमा प्रशंसा गर्नैपर्छ ।


नेपालको राजनीतिमा बाबुराम भट्टराईलाई एक बौद्धिक आभामण्डल भएको नेताको रूपमा चिन्हित गरिन्छ । यस सम्बन्धमा केही बौद्धिक राजनीतिक विश्लेषकहरू अलिक फरक कुरा पनि गर्छन् । यसलाई एक प्रकारको उनको बौद्धिकताप्रतिको असहमति मान्ने हो भने पनि बाबुरामको बौद्धिकपनमा पूर्णतः सहमत हुनेहरू पनि कम्ता छैनन् ।

हो, केही बौद्धिकहरूचाहिँं सहमत तथा असहमत दुवै एकसाथ रहेका छन् । अब यी बौद्धिकहरूले जेसुकै भने पनि हामीजस्ता नितान्त अबौद्धिकहरूमाझ उनको बौद्धिकताको गहिरो छाप परेकोमा कुनै द्विविधा छैन । अँ, नेपालमा मात्र नभएर बाबुराम भट्टराईको बौद्धिक व्यक्तित्वको पहुँच सीमापारि हिन्दुस्तानमा पनि जबर्जस्त ढंगले रहेको छ । यहाँनेर स्मरणीय के छ भने उनी हिन्दुस्तानको विख्यात शिक्षण संस्थान ‘जवाहरलाल नेहरू युनिभर्सिटी’ का एक नाम चलेका भूतपूर्व विद्यार्थी हुन् ।

अर्थात् त्यहाँबाट उच्च विद्यावारिधिको उपाधि प्राप्त गरेका डाक्टर बाबुराम भट्टराई । म उनको चलनचल्तीको बौद्धिक आतंकबाट व्यक्तिगत तवरले ग्रस्त रहेको छु । यसको लिखित प्रमाणको रूपमा मैले उनी जनयुद्धमा व्यस्त रहँदा रचेको कविता पढ्नोस्– चप्पल । वास्तवमा उनी एक अपार सम्भावनायुक्त नेता भएकोमा कुनै शंका छैन । तर उनको यावत् सम्भावना अन्ततः फोरममा गएर समाहित हुनेछ भनी मैले कदापि सोचेको थिइन । तर डाक्टरसाबले मेरो सोच अनुकूल चल्नुपर्छ भन्ने केही छैन । उनको आफ्नो विलकुलै निजी सोच रहेको छ । यस अनुसार उनी विसं २०७६ वैशाख २३ गते सोमबारबाट एकदिन नयाँ उपेन्द्र फोरमवादी नेताको रूपमा नेपालको राजनीतिक क्षितिजमा उदित भएका छन् ।

‘बधाई छ, नेताजी ।’ मेरो ‘बनारसी पान भण्डार’ मा एक फोरम नेतासँग भेट भयो ।


‘केको बधाई ?’ उनले डबल पानको विडा मुखमा हुले ।


‘अब यतिका अनजान पनि नबन्नोस् नेताजी ।’


‘होइन, केको बधाई ?’ उनले उनी वाक्य दोहोर्‍याए ।


‘तपाईहरूले डाक्टर बाबुराम भट्टराईलाई आफ्नो पार्टीमा लिएकोमा ।’ मैले कुरा खुलाएर भनेंँ, ‘उनी एक ठूलो नेता हुन् ।’
‘ए....।’ उनले पानको पिक घुटुक्क निलेर मलाई हेरे । त्यसपछि स्वर मन्द भयो, ‘बाबुराम भट्टराईलाई....।’ अनि लगत्तै चुप लागे । केही भन्ने प्रयास गरेनन् ।


मेरो परिचित फोरमका नेताको कुरो मैले बुझ्न सकिन । एकता उनको आवाज मुखभरिको पानको थुकमा लत्पत्तिएको थियो, अर्को उनी कुट भावमा अधुरो वाक्यको प्रयोग गरिरहेका थिए । यस्तोमा मैले के र कसरी बुझ्ने ? त्यसैले मैले फोरम नेतालाई भनेँ, ‘तपाईले के भन्न खोज्नुभएको हो, नेताजी ?’


‘हेर्नोस्, बाबुरामजी हामीकहाँ जरुर आएका छन् ।’ एकछिन अडेर रहस्यमय पाराले मुस्कुराए, ‘अब उनी कतै पनि जाँदैनन् ।’


एकाएक मलाई छिमेकी मुलुक हिन्दुस्तानको एक लोकप्रिय टेलिभिजन सिरियल ‘कसौटी जिन्दगीका’ को स्मरण भयो । कुनै बखत त्यहाँ हमलोग, सास भी कभी बहु थी, कुम–कुम भाग्य, इस प्यारका क्या नाम दुँ, जिन्दगी की महक, बहुत अच्छे लगते हैं, साथ निभाना साथीया, दिल मिल गया, पवित्र रिस्ता जस्ता सिरियलहरू पनि उत्तिकै चल्ने गर्थे । तर ‘कसौटी जिन्दगीका’ को कुरै अर्को थियो । यो पारिवारिक (?) टेलिभिजन सिरियल नेपालमा पनि खुबै हेरिने गरिन्थ्यो । प्रत्येक सप्ताह नियमित आउने याने कहिल्यै नसकिने लम्बेतान सिरियल । तर एक दिन भयो के भने यो अचम्मैले आउन छाड्यो । कुन्नि, कता अलमलियो !

के मेरा परिचित फोरम नेताले बाबुराम भट्टराईको राजनीतिक नियतिको सन्दर्भमा यस्तै केही भन्न खोजेका हुन् त ? डाक्टरसाब पहिले पञ्चायतका बौद्धिक नेता ऋषिकेश शाहको अति निकटमा थिए । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महासचिव कमरेड मोहनविक्रम सिंहको सम्पर्कमा आएर कम्युनिस्ट भए । अनि केही समयपछि अर्को नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा पुगे ।


र त्यहाँबाट पनि आफ्नै गैरकम्युनिष्ट पार्टी नयाँ शक्ति पार्टी, नेपालको निर्माण गरेर गए । अब फोरमवादी भएर उपेन्द्र यादवकहाँ पुगेका छन् । के यो डाक्टर बाबुराम भट्टराईको धारावाहिक राजनीतिक व्यक्तित्वको आखिरी पार्टीगत विश्राम हो ? यस्तो नहुन पनि सक्छ । किनभने एक्कासी सकियो भनेको हिन्दुस्तानी टेलिभिजन सिरियल ‘कसौटी जिन्दगीका’ एकपटक फेरि एउटा अर्को च्यानलबाट निरन्तर प्रसारित भइरहेको छ ।


कहिलेकाहीं एउटा बृहत् औपन्यासिक मेटेरियल अलमलिएर फगत शीर्षकमै विलुप्त भएर जान्छ । केही लेख्न सकिँंदैन । एक लेखकको नाताले मेरो यस्तो एकाध अनुभव रहेको छ । के गर्न सकिन्छ ? म हिन्दुस्तान र नेपाल, दुवैतिर उत्तिकै चर्चित डाक्टर बाबुराम भट्टराईको बहुआयामिक व्यक्तित्वका लागि एक तीन लाइनको हाइकु समर्पित गरेर विदा हुन्छु ।

‘अकासिएको वटवृक्षयसको बैठक कोठाकोएक सुन्दर बोन्साइ ।’

प्रकाशित : वैशाख २८, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

जीवजन्तुलाई प्राकृतिक परिवेश

कमलजङ्ग कुँवर

हामीले राणाहरूको जहानियाँ शासन, फञ्चायती शासन र शाही शासन विरुद्ध मुक्ति आन्दोलन गर्‍यौं  । त्यसैगरी महिला, दलित, कमैया, हलिया, मधेस, जनजाति मुत्ति आन्दोलन लगायत विविध मुक्ति आन्दोलनमा सहभागी भयौं  ।

यसको अर्थ हामी अरुको बन्धनबाट मुक्त हुन चाहन्छौं । बन्धनमा बस्नु कष्टकर भएर नै हामीले त्याग, बलिदान, लडाइँबाट मुक्ति हासिल गर्‍यौं र अझै कैयन प्रयत्न जारी छन् । एकातिर हामी आफ्नो मुक्तिको कुरा गर्छौं भने अर्कोतर्फ आफैं अरुलाई बन्धनमा पार्न चाहन्छौं । हाम्रो लागि मुक्ति प्रिय लाग्छ भने अरु प्राणीका लागि पनि त्यो अपरिहार्य हुन्छ । हामी आफू भने मानव अधिकार, बाल अधिकारका कुरा गरेर थाक्दैनौं । तर हामीजस्तै अन्य प्राणीको पनि बालअधिकार र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार खोस्ने अधिकार हामीलाई कसले दियो ?


हामीले कुकुर, बँदेल, मृग, सुगा, मयुर लगायत थुप्रै जनावर र चराहरू पालेको देखेका छौं । जनावर पालकलाई यी जनावर किन पाल्नुभएको भनी सोध्यो भने सोखको लागि भन्छन् । मानौं, कुनै धनाढ्यलाई अरु मानिसको बच्चा ल्याएर खोरमा राखेर पाल्ने सोख भयो रे । तपाईका छोराछोरीलाई तपाईसँग जबर्जस्ती खोसेर पाल्न लैजान्छु भनी लगेर खोरमा राख्यो भने तपाई के गर्नुहुन्छ ? अरुलाई बन्धनमा राख्नु सोख होइन, कुचेष्टा हो । मनोवैज्ञानिकहरूको एक किसिमको मानसिक रोग नै हो । मैले एउटा कवितामा पढेको थिएँ, ‘प्राणीको हत्या र हिंसा दानवताको प्रतीक हो, करुणा र दया मानवताको रीत हो ।’ हामी आफ्नो इन्द्रिय सुखका लागि अरुलाई बन्धनमा पार्ने प्रयास गर्दैछौं । हामी मुक्तिको कुरा गर्छौं, तर आफ्नै इन्द्रियका बन्धनमा हुनु इन्द्रियको दास हुनु हो । हाम्रो नीतिशास्त्रले भन्छ–


अयं निजः परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानाम् तु वसुधैव कुटुम्बकम् ।।


हामी त वसुधैव कुटुम्बकम्को नीतिमा चलेको समाजमा हुर्केका मानिस हौं । हाम्रो सभ्यता त आफ्ना बन्धुबान्धव मात्र मेरा हुन् भन्ने संकुचित विचारबाट होइन, पृथ्वीका सम्पूर्ण चराचर जगत, मानिस र प्राणीलाई हामी आफ्ना साथी, मित्र र आफन्त मान्ने उदार विचारबाट प्रशिक्षित भएर आएका हौं ।


बँदेलले बच्चा जन्माएपछि मानिसहरूले झाडीमा बच्चा समात्न गाह्रो हुने हुँदा जंगलमा डढेलो लगाइदिन्छन् । माउ, बच्चालाई लखेट्दै माउ र बच्चालाई अलग गर्ने अनि बच्चा समात्ने । जंगलमा डढेलो लाग्दा जंगली जनावर, रुखबिरुवा, अपार प्राकृतिक सम्पदामात्र विनाश हुन्छ होला भन्ने सोच्ने गर्छौं ।

यसले वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ भन्ने सोच्दैनौं । नजिकको बस्तीमा आगो सर्दा जीउधनको क्षतिमात्रै हुने होइन, वर्षात्को समयमा बाढी, पैरो, भूक्षय हुने र जमिनमा पानीको सञ्चितिमा ह्रास आउँदा हिउँदमा खानेपानी र सिंचाइको लागि आवश्यक पानीको अभाव हुन्छ । त्यस्तै सुगाले परभक्षीहरूबाट आफ्ना बच्चालाई सुरक्षित राख्न अग्लो रुखमा गुँड बनाउँछ । यसो गरेर उसले जंगली परभक्षीबाट आफ्नो बच्चालाई त जोगायो, तर पृथ्वीको सर्वोत्कृट प्राणी मानिसजस्तो परभक्षीबाट जोगाउन सकेन, मानिसले सुगाको बच्चा समात्न जंगलको ठूलो रुख काटिदिन्छ ।


तपाईंले कुकुरको छाउरो, बँदेल, सुगा र मयुरको बच्चालाई जतिसुकै मिठो खानेकुरा दिए पनि, जतिसुकै नरम विछ्याउनामा राखे पनि, जतिसुकै माया गरे पनि ती बच्चालाई आफ्नो आमाको सामिप्यता नै प्यारो हुन्छ । सुत्केरी आमालाई कहिल्यै रमाइलो लाग्दैन कि आफ्ना बच्चा आफूबाट जबर्जस्ती खोसेर अन्तै लगेकोमा । तपाईले पालिरहेका जनावर र चराहरू आमाबाट जबर्जस्ती छुट्याएर ल्याइएका बच्चाहरू हुन् ।

ती आमा र बच्चाको क्रन्दन, चित्कार साथै असह्य पीडा र वेदनाले धिक्कार्दै उसको आत्माले हामीलाई श्राप दिन्छ । तपार्ई आफू एकपटक नवजात शिशु र सुत्केरी आमा भएर सोच्नुस् त । तर यहाँ कुकुर किन पाल्न नपाउने कस्तो खालको लेख हो यो भन्न सक्नुहुन्छ ।

कुकुरको बच्चा कम्तीमा १६ हप्तापछि मात्र तपाईले आमासँग छुट्याउनु उसको बाल अधिकारको हिसाबले जायज हुनसक्छ ? जसरी हामीलाई आफन्त, छिमेकीसँग बस्न आनन्द आउँछ, अरु प्राणीलाई पनि आफ्नो बाबुआमा, दाजुभाइ, दिदीबहिनी, साथीसंगीसँग बस्ने रहर हुन्छ भन्ने हामीले सोच्नुपर्छ । हुर्केको कुकुरलाई पनि खोरमा थुन्दा वा साङ्लोले बाँध्दा उसको मनोभाव कस्तो हुन्छ, कहिल्यै महसुस गर्नुभएको छ ? के त्यसो गर्दा ऊ खुसी भएको देख्नुहुन्छ ?


आम मानिस अहिले वन्यजन्तु पालनमा लालायित हुँदै गएका छन् । राष्ट्रिय निकुञ्ज ऐनमा वन्यजन्तु पालन गर्न पाउने प्रावधान थप गरी कार्यान्वयनका लागि राष्ट्रिय निकुञ्ज नियमावली संशोधन गर्न सबै आतुर देखिन्छन् । कतिपय वन प्राविधिकसमेत कहिले वन्यजन्तु पाल्न पाइन्छ भनेर आतुर छन् । नेपालमा वर्षेनि अर्बौंको मासु विदेशबाट आयात गर्नुपर्छ । तर हामी बाख्रा पालेर मासुमा आत्मनिर्भर हुन नसक्नेहरू मृग पालेर समृद्ध हुन्छौं भन्नु ‘आमाको लाम्टो चुसेर भएन, बाउको घुँडो चुस्’ भनेजस्तै हो । मृग, कालिज घरपालुवा हुन योग्य भएको भए उहिल्यै हाम्रा जिजुबाजेहरूले पालिसक्थे । वन्यजन्तु पालन गर्न न हामीसँग ज्ञान, सीप छ, न औषधी र डाक्टर नै छन् । कुखुरा पालन गरेको वर्षौं भयो र त महामारी लाग्यो भने न औषधी छ, नत डाक्टर नै उपलब्ध हुन्छन् । भोलि मृग, कालिजमा पनि महामारी आयो भने व्यवसायीको के हालत हुन्छ ? वन्यजन्तु पालेर करोडपति हुने सपना देख्नेहरू प्राणीले दिएको श्रापले रोडपति हुन पनि बेर लाग्दैनन् ।


वाग्मतीको माछा– रक्सीलाई चटनी खानका लागिभन्दा नदीको पानीको शुद्धताको सूचकका लागि हो । जुन दिन वाग्मतीमा माछा लस्कर लागेको देख्नेछौं, त्यो दिन वाग्मतीको पानी पिउन र पौडी खेल्न सकिने हुनेछ । वाग्मतीको पानी शुद्ध भएको हेर्न काठमाडौंमा आउने पर्यटकको भिड धान्न सकिने छैन । काठमाडौंको आर्थिक विकासमा यो कोशेढुङ्गा सावित हुनेछ । काठमाडौंमा घर–घरमा सिसाका पोखरीमा वाग्मतीको पानीमा जति माछा पाले पनि केही अर्थ छैन, अर्थ वाग्मतीमा एउटामात्र माछा जीवित हुनुमा छ ।


हामी जति धेरै मांसाहारी हुँदै जान्छौं, एकातिर हामीमा प्राणीमाथिको दयाभाव नाश हुँदै जान्छ भने अर्कोतर्फ अत्यधिक मासु सेवनले हामी रोगी र क्रोधी हुँदै जान्छौं । व्यत्ति तथा समाजका लागिमात्र होइन, पृथ्वीको भविष्यका र मानव अस्तित्वका लागि पनि सतोगुणी भोजन नै हितकर छ । शास्त्रमा ‘जीव जीवस्य भोजनम्’ भनिएको छ । बाघको लागि अर्को जीव, मृग, बाख्रा र शाकाहारी पशुका लागि घाँस हो भने हामी मानिसका लागि अन्नबाली, सागसब्जी, गेडागुडी, दूध, दही, फलफूल नै हो ।


जनावरलाई ६–८ केजी अन्न खुवाएपछि १ केजी मासु उत्पादन हुन्छ । मानिसले उस्तै परे एक छाकमा १ केजी मासु एक्लै खाइदिन्छ । ६–८ केजी अन्न पकायो भने करिब २०–२५ जना मानिसलाई पेटभरि एकछाक खान पुग्छ । अन्न उत्पादनका लागि कृषिभूमि बढाउन वन फँडानी गरिन्छ ।

सिंचाइ गर्न डिप बोरिङ गर्दा पृथ्वीको जल भण्डारण रित्तिँदै जानु, जनावर पालनबाट उत्पादन हुने फोहोरको व्यवस्थापनका लागि पानीको उपयोग यी सबै वैज्ञानिक तथ्यका आधारमा मानिस मांसाहारी हुँदा समाजमा भोकमरी, रोगव्याधि, अशान्ति मात्र हुने होइन, मानव अस्तित्वका लागि पनि घातक देखिन्छ । जहाँ तपाई जन्मनुभयो, जहाँको स्वच्छ हावा, स्वच्छ पानी र खानेकुरा खाएर तपाई जीवित हुनुहुन्छ, त्यही पृथ्वीको अत्यधिक दोहन गर्ने तपाईप्रति के अपेक्षा गर्न सकिन्छ ? जहाँबाट स्वच्छ पिउने पानी आइरहेको छ, त्यहीं डोजर लगाउने, वन विनाश गर्ने तपार्ई कस्तो बुद्धिमान हो ?


जंगली जनावर घरमा पालेपछि जंगलमा त्यसको संरक्षण हुन्छ भन्ने पनि हामीलाई लागेको हुनसक्छ । तर अहिले घरपालुवा भइसकेका बाख्रा, भैंसी, कुखुरा, घोडा, हाँस, भेडा, गाईको संख्या त्यसो भए जंगलभरि हुनुपर्ने होइन र ? यो त खालि घरमा पालेको छु भन्ने नाममा जंगलको सिध्याउने दाउमात्रै हो । अहिले पनि लुकीचोरी जंगली जनावर मारिरहेको सन्दर्भमा भोलि आफूले पालेको हो भन्ने बहानामा जंगलबाट मार्दै–बेच्दै गर्ने यो प्रपञ्च मात्रै हो ।


‘वेदमा अहिंसा परमो धर्म’ भनिएको छ । हाम्रा कविहरूले कवितामार्फत दयाभावबारे गहिरो सन्देश दिएका छन् । हामी सबैले पढेकै हौं, ‘दया नै हो, पृथ्वीको अति चहकिलो पारसमणि ।’ कविशिरोमणि लेखनाथ पौड्यालले चरीको विलापमा लेखेका छन्, ‘म मर्ने हो मर्छु, तर तिमी नराम्रोसँग चुक्यौ ।’ पिँजडाको सुगामा सुगाको वह, वेदना, रोदन, क्रन्दन पढेका हामीले नै स्वतन्त्र रूपमा आफ्नो बासस्थानमा रमाएका वन्यजन्तु, चरालाई हाम्रो पिँंजडामा कैद गर्दैछौं ।

हामीले बाल्यकालमा विद्यालयमा पिँजडाको सुगा, चरीको विलाप पढ्दा हामीभित्र जुन दया जागेको थियो, भित्रैदेखि हाम्रो मन छोएको थियो, त्यो कुरा हामीले किन यति छिटै बिर्स्यौं ? हाम्रो मानसपटलमा विद्यालयमा पढेको त्यो क्षणलाई स्मरण गरौं र एकपटक फेरि यी कविता खोजेर पढौं । अनि मात्र वन्यजन्तु पालन गर्न पाउने अधिकार कानुनमा राख्नु उचित हो वा होइन भनेर मात्र निर्णय गरौं ।

लेखक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव हुन् ।

प्रकाशित : वैशाख २८, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्