नेतृत्वविहीन नेविसंघको भविष्य

लक्ष्मण पन्थी

काठमाडौँ — नेपाली कांग्रेस एक वर्षे जागरण अभियान लिएर आमनागरिक माझ पुगिरहेको छ । बढ्दो महँगी, असुरक्षा र भ्रष्टाचारलगायत सरकारका गलत क्रियाकलाप उजागर गर्न देशव्यापी जागरण अभियान सञ्चालन गर्न लागेको हो ।

जागरण अभियान ३ चरणमा सम्पन्न गरिनेछ। जिल्ला, निर्वाचन क्षेत्र हुँदै स्थानीय तहसम्म कार्यक्रम हुनेछ। हिमाल, पहाड, तराई-मधेस समेटिएको जागरण अभियान अन्तर्गत पहिलो चरणको एकमहिने अभियान वैशाख २५ गते सुरु भइसकेको छ। दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ सम्म चल्ने छ। तेस्रो चरणको अभियान पुस ७ देखि १६ सम्म सञ्चालन हुनेछ। राष्ट्रव्यापीरूपमा पार्टी पंक्तिमा नविन ढंगको एकता, समन्वय, हार्दिकता सहित सुदृढीकरणका गतिविधि बढाउन अभियान थालिएको हो।

लामो समयको सशस्त्र द्वन्द र राजनीतिक संक्रमण कांग्रेसकै नेतृत्वमा अन्त्य भएको हो। लोकतन्त्र संस्थागत गर्न र समृद्धिको यात्रा चलाउनुपर्ने दुई तिहाईको बाम सरकार संविधानवादका न्यूनतम सिद्धान्त विपरीत अधिनायकवादतर्फ उन्मुख छ। शान्तिसुरक्षा खल्बलिएको छ। सत्ताधारी र विद्रोही कम्युनिस्टहरुको दोहोरो बन्दुकको चपेटामा पर्ने खतराको बादल मडारिइरहेको छ। सरकारका दैनिकी प्रपोगाण्डा फैलाउन बित्दैछन्। व्यवस्थापिका, न्यायपालिका लगायत संवैधानिक अंगहरु सरकारी पार्टीका छायाँमा परिणत गर्न खोजिँदैछ। शिक्षा र स्वास्थ्यमा माफियाकरण बढ्दो छ।

जागरण अभियानलाई सार्थक बनाउनु सम्पूर्ण लोकतन्त्रवादीको दायित्व हो। तर सम्पूर्ण नागरिक समाजको चिन्ता र चासो कांग्रेस आफैभित्रको गुटबन्दीका कारण सशक्त रुपमा प्रस्तुत हुन सकिरहेको छैन भन्ने छ।

कांग्रेस जागरण अभियानमा जाँदै गर्दा आफ्ना सबै संयन्त्रलाई के कसरी परचिालन गर्छ त्यसमा पनि यसको सफलता निर्भर रहन्छ। जागरण र नेतृत्व विकासको प्रमुख आधार र स्रोत नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन छ।

संसारका हरेकजसो परिवर्तनमा युवाहरुको नेतृत्वदायी भूमिका रहेको यथार्थलाई हृदयंगम गर्न कांग्रेसले सकिरहेको छैन। सामाजिक न्याय र लोकतन्त्रको रक्षार्थ युवालाई अग्रमोर्चामा खटाउनुपर्नेमा आफ्ना पिछलग्गूहरुको जमात बढाउने प्रवृत्तिले लोकतान्त्रिकिकरणलाई फाइदा गर्दैन।

राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका संघर्षहरुमा विद्यार्थीहरु नै अग्रमोर्चामा रहे। २००४ सालमा जयतु संस्कृतम् आन्दोलनले राखेका भूगोल, इतिहास र अर्थशास्त्रजस्ता विषय पढ्न पाउनुपर्ने माग पूरा गर्न नमान्ने राणाविरुद्ध उठेको आन्दोलन पहिलो विद्यार्थी आन्दोलन मानिन्छ। यो अभियानले समाजमा जागरण ल्याएको थियो। २०३७ सालको जनमत संग्रह, २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना, २०६२/६३ मा गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा विद्यार्थी संगठनको भूमिका अग्रणी छ। नेबिसंघकै पृष्ठभूमिबाट राजनीतिको शीर्ष तहमा पुगेकाहरुबाटै यो संगठनलाई नेतृत्वविहिन बनाइनु दुःखको कुरा हो। आपसी गुटबन्दी र भागवण्डामा अभ्यस्त भई नेतृत्व विकासको स्वाभाविक मार्गलाई अवरुद्ध पार्नु कुनै पनि लोकतान्त्रिक पार्टीका लागि सुहाउने कुरा होइन।

संगठनको नेतृत्वमा स्वाभाविक व्यक्तिलाई स्थापित गर्नुपर्नेमा सम्बन्धित वर्ग वा समुदायको मर्म र भावना नबुझ्ने तर आफ्ना सबैखाले कमजोरी ढाकछोपमा ढाल बन्नसक्ने मानिसको खोजी र चयन हुनु हुँदैन। सम्बन्धित वर्गको आधारभूत तहबाट चुनिने मार्ग अवरुद्ध गरी रोबोट बन्न तयारहरुलाई नेतृत्वमा स्थापित गर्ने प्रयास दल र लोकतन्त्रकै निम्ति घातक हुन्छ। यस्तो सोच र प्रवृत्तिले लोकतान्त्रिक चरित्रमा ह्रास ल्याउँछ। लोकतन्त्रका मूल्य र मान्यतालाई नै ध्वस्त पार्छ। शैक्षिक माफियाकरणलाई बढावा दिन्छ।

नेपाल विद्यार्थी संघले भविष्यमा दलीय मात्रै होइन, न्यायिक, सैनिक, प्रशासनिक, व्यावसायिक, प्राज्ञिक लगायत हरेक क्षेत्रको नेतृत्व गर्न सक्षम व्यक्तित्व निर्माणमा लाग्नुपर्छ। यस कुरालाई आत्मसात गरी पार्टीको जिम्मेवार नेतृत्वबाट समयमै मुलुकको भविष्यका कर्णधार युवा विद्यार्थीलाई शैक्षिक, राजनीतिक, सामाजिक नेतृत्वको अवसर प्रदान गर्नु पर्छ।

बाम राज्यसत्ताको उन्मत्त व्यवहारको चुनौती सामना गर्दै बढ्न अहिलेको नेविसंघ सक्षम हुन सक्दैन। संगठन धरासायी भएको छ। यसमा सुधार आवश्यक छ। यसको संगठनात्मक सुदृढीकरण निम्ति मातृपार्टी नेपाली कांग्रेसले सहजीकरण गर्नु जरुरी छ।

विद्यार्थी समुदायलाई चेतनाले समृद्ध र संगठनले सुदृढ बनाएर अबको शैक्षिक, राजनीतिक र सामाजिक आन्दोलनका निम्ति तयार गर्नु आज नेविसंघको जिम्मेवारी हो। लोकतान्त्रिक समाज निर्माणकर्ता र राष्ट्रियताका पहरेदार युवा विद्यार्थीहरुको सीप, कौशल र क्षमता अभिवृद्धिका लागि प्रशिक्षित गर्न नेविसंघले भूमिका खेल्नुपर्छ। भोलिको नेपाल र यसको नेतृत्व नेविसंघमा प्रतिविम्बित हुन सक्नुपर्छ। नेपाली राजनीति र समाजमा हाल देखिएका विकृति र विसंगतिलाई शुद्ध पार्न संगठन आफैंमा शुद्धिकरण जरुरी छ।

नेविसंघको नेतृत्वविहीनतालाई समयमै अन्त्य गर्नु पर्छ। शिक्षण संस्थाहरुसँग आर्थिक लेनदेनमा संलग्नहरुले नेतृत्व गरेको संगठनले विद्यार्थी हित गर्दैन। लोकतान्त्रिक मर्यादालाई बचाउन सक्दैन। अनि स्वच्छ शैक्षिक वातावरण कायम राख्न सक्दैन।

प्रकाशित : वैशाख ३१, २०७६ १३:००
प्रतिक्रिया
पठाउनुहोस्

चन्द समूहका जिल्ला इन्चार्ज पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ परेका छन् । जिल्ला इन्चार्ज कर्णवहादुर नकाल 'शिशिर' रुकुम पश्चिमबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गएराति २ बजे जिल्लाको सानीभेरी गाउँपालिका-३, गरायला मुलपानीबाट उनलाई पक्राउ गरेको हो । 

उनी सोही ठाउँ निवासी हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले नकाललाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि प्रहरीले नेकपाका गतिविधिमा विशेष निगरानी राखेको डिएसपी खड्काले बताए ।

प्रहरीले यसअघि विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरेको थियो । त्यस अघि पनि प्रहरीले नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष प्रेमप्रशान्त बोहरा र संगठनकै जिल्ला सचिव हरि पुनलाई पक्राउ गरेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७६ १२:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्