कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेतृत्वविहीन नेविसंघको भविष्य

लक्ष्मण पन्थी

काठमाडौँ — नेपाली कांग्रेस एक वर्षे जागरण अभियान लिएर आमनागरिक माझ पुगिरहेको छ । बढ्दो महँगी, असुरक्षा र भ्रष्टाचारलगायत सरकारका गलत क्रियाकलाप उजागर गर्न देशव्यापी जागरण अभियान सञ्चालन गर्न लागेको हो ।

नेतृत्वविहीन नेविसंघको भविष्य

जागरण अभियान ३ चरणमा सम्पन्न गरिनेछ । जिल्ला, निर्वाचन क्षेत्र हुँदै स्थानीय तहसम्म कार्यक्रम हुनेछ । हिमाल, पहाड, तराई-मधेस समेटिएको जागरण अभियान अन्तर्गत पहिलो चरणको एकमहिने अभियान वैशाख २५ गते सुरु भइसकेको छ । दोस्रो चरणको अभियान भदौ २४ देखि असोज ७ सम्म चल्ने छ । तेस्रो चरणको अभियान पुस ७ देखि १६ सम्म सञ्चालन हुनेछ । राष्ट्रव्यापीरूपमा पार्टी पंक्तिमा नविन ढंगको एकता, समन्वय, हार्दिकता सहित सुदृढीकरणका गतिविधि बढाउन अभियान थालिएको हो ।


लामो समयको सशस्त्र द्वन्द र राजनीतिक संक्रमण कांग्रेसकै नेतृत्वमा अन्त्य भएको हो । लोकतन्त्र संस्थागत गर्न र समृद्धिको यात्रा चलाउनुपर्ने दुई तिहाईको बाम सरकार संविधानवादका न्यूनतम सिद्धान्त विपरीत अधिनायकवादतर्फ उन्मुख छ । शान्तिसुरक्षा खल्बलिएको छ । सत्ताधारी र विद्रोही कम्युनिस्टहरुको दोहोरो बन्दुकको चपेटामा पर्ने खतराको बादल मडारिइरहेको छ । सरकारका दैनिकी प्रपोगाण्डा फैलाउन बित्दैछन् । व्यवस्थापिका, न्यायपालिका लगायत संवैधानिक अंगहरु सरकारी पार्टीका छायाँमा परिणत गर्न खोजिँदैछ । शिक्षा र स्वास्थ्यमा माफियाकरण बढ्दो छ ।


जागरण अभियानलाई सार्थक बनाउनु सम्पूर्ण लोकतन्त्रवादीको दायित्व हो । तर सम्पूर्ण नागरिक समाजको चिन्ता र चासो कांग्रेस आफैभित्रको गुटबन्दीका कारण सशक्त रुपमा प्रस्तुत हुन सकिरहेको छैन भन्ने छ ।


कांग्रेस जागरण अभियानमा जाँदै गर्दा आफ्ना सबै संयन्त्रलाई के कसरी परचिालन गर्छ त्यसमा पनि यसको सफलता निर्भर रहन्छ । जागरण र नेतृत्व विकासको प्रमुख आधार र स्रोत नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन छ ।


संसारका हरेकजसो परिवर्तनमा युवाहरुको नेतृत्वदायी भूमिका रहेको यथार्थलाई हृदयंगम गर्न कांग्रेसले सकिरहेको छैन । सामाजिक न्याय र लोकतन्त्रको रक्षार्थ युवालाई अग्रमोर्चामा खटाउनुपर्नेमा आफ्ना पिछलग्गूहरुको जमात बढाउने प्रवृत्तिले लोकतान्त्रिकिकरणलाई फाइदा गर्दैन ।


राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका संघर्षहरुमा विद्यार्थीहरु नै अग्रमोर्चामा रहे । २००४ सालमा जयतु संस्कृतम् आन्दोलनले राखेका भूगोल, इतिहास र अर्थशास्त्रजस्ता विषय पढ्न पाउनुपर्ने माग पूरा गर्न नमान्ने राणाविरुद्ध उठेको आन्दोलन पहिलो विद्यार्थी आन्दोलन मानिन्छ । यो अभियानले समाजमा जागरण ल्याएको थियो । २०३७ सालको जनमत संग्रह, २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना, २०६२/६३ मा गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा विद्यार्थी संगठनको भूमिका अग्रणी छ । नेबिसंघकै पृष्ठभूमिबाट राजनीतिको शीर्ष तहमा पुगेकाहरुबाटै यो संगठनलाई नेतृत्वविहिन बनाइनु दुःखको कुरा हो । आपसी गुटबन्दी र भागवण्डामा अभ्यस्त भई नेतृत्व विकासको स्वाभाविक मार्गलाई अवरुद्ध पार्नु कुनै पनि लोकतान्त्रिक पार्टीका लागि सुहाउने कुरा होइन ।


संगठनको नेतृत्वमा स्वाभाविक व्यक्तिलाई स्थापित गर्नुपर्नेमा सम्बन्धित वर्ग वा समुदायको मर्म र भावना नबुझ्ने तर आफ्ना सबैखाले कमजोरी ढाकछोपमा ढाल बन्नसक्ने मानिसको खोजी र चयन हुनु हुँदैन । सम्बन्धित वर्गको आधारभूत तहबाट चुनिने मार्ग अवरुद्ध गरी रोबोट बन्न तयारहरुलाई नेतृत्वमा स्थापित गर्ने प्रयास दल र लोकतन्त्रकै निम्ति घातक हुन्छ । यस्तो सोच र प्रवृत्तिले लोकतान्त्रिक चरित्रमा ह्रास ल्याउँछ । लोकतन्त्रका मूल्य र मान्यतालाई नै ध्वस्त पार्छ । शैक्षिक माफियाकरणलाई बढावा दिन्छ ।


नेपाल विद्यार्थी संघले भविष्यमा दलीय मात्रै होइन, न्यायिक, सैनिक, प्रशासनिक, व्यावसायिक, प्राज्ञिक लगायत हरेक क्षेत्रको नेतृत्व गर्न सक्षम व्यक्तित्व निर्माणमा लाग्नुपर्छ । यस कुरालाई आत्मसात गरी पार्टीको जिम्मेवार नेतृत्वबाट समयमै मुलुकको भविष्यका कर्णधार युवा विद्यार्थीलाई शैक्षिक, राजनीतिक, सामाजिक नेतृत्वको अवसर प्रदान गर्नु पर्छ ।


बाम राज्यसत्ताको उन्मत्त व्यवहारको चुनौती सामना गर्दै बढ्न अहिलेको नेविसंघ सक्षम हुन सक्दैन । संगठन धरासायी भएको छ । यसमा सुधार आवश्यक छ । यसको संगठनात्मक सुदृढीकरण निम्ति मातृपार्टी नेपाली कांग्रेसले सहजीकरण गर्नु जरुरी छ ।


विद्यार्थी समुदायलाई चेतनाले समृद्ध र संगठनले सुदृढ बनाएर अबको शैक्षिक, राजनीतिक र सामाजिक आन्दोलनका निम्ति तयार गर्नु आज नेविसंघको जिम्मेवारी हो । लोकतान्त्रिक समाज निर्माणकर्ता र राष्ट्रियताका पहरेदार युवा विद्यार्थीहरुको सीप, कौशल र क्षमता अभिवृद्धिका लागि प्रशिक्षित गर्न नेविसंघले भूमिका खेल्नुपर्छ । भोलिको नेपाल र यसको नेतृत्व नेविसंघमा प्रतिविम्बित हुन सक्नुपर्छ । नेपाली राजनीति र समाजमा हाल देखिएका विकृति र विसंगतिलाई शुद्ध पार्न संगठन आफैंमा शुद्धिकरण जरुरी छ ।


नेविसंघको नेतृत्वविहीनतालाई समयमै अन्त्य गर्नु पर्छ । शिक्षण संस्थाहरुसँग आर्थिक लेनदेनमा संलग्नहरुले नेतृत्व गरेको संगठनले विद्यार्थी हित गर्दैन । लोकतान्त्रिक मर्यादालाई बचाउन सक्दैन । अनि स्वच्छ शैक्षिक वातावरण कायम राख्न सक्दैन ।


प्रकाशित : वैशाख ३१, २०७६ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?