१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हाइबरनेसन

सिउँडी
विमल निभा

सिमसारमा एक प्रकारको हलचल व्याप्त थियो । सबै जलचर सामूहिक ढंगले कोलाहल गरिरहेका थिए । एकाएक एउटा विचित्र जीव उफ्रिएर किनारमा आयो । र मतिर बढेर भन्यो, ‘जयनेपाल बन्धु ।’

पहिले त म अचम्मित भएँ, त्यसपछि अज्ञात डर मभित्र प्रवेश गर्‍यो । एउटा फरक प्रजातिको प्राणी म सम्मुख थियो । म भयको आधिक्यले जडीभूत थिएँ । मलाई विलकुलै अवाक् मुद्रामा पाएर त्यो अमानवी आकृतिले आफ्नो अभिवादन दोहोर्‍यायो, ‘बन्धु, जयनेपाल ।’

‘तपाई को ?’ बल्ल मेरो गलाबाट वक फुट्यो ।

‘मलाई चिन्नु भएन ?’ उसले अघिल्तिरको दुवै हात उचाल्यो, ‘म कुनै अफरिचित व्यक्ति होइन नि !’

‘व्यत्ति !’ मेरो भनाइमा बहुतै आश्चर्य थियो, ‘म त तपाईंलाई कुनै व्यक्तिजस्तो देखिरहेको छैन ।’

‘के देखिरहनुभएको छ, बन्धु ?’

‘माफ गर्नोस्, मलाई सफासफी भन्न गाह्रो छ ।’

‘तपाई निर्धक्क भन्न सक्नुहुन्छ बन्धु ।’

‘तपाई भर्खरै सिमसारबाट आइपुगेको पाहा होइन ?’ मैले अप्ठ्यारोसँग मुख खोलेंँ ।

‘यस्तो नभन्नोस् बन्धु ।’ उसले नाकको पोरा फुलायो, ‘म कुनै फाहा होइन ।’

‘अनि को त ?’

‘म एक राजनीतिक व्यक्ति हुँ ।’

‘राजनीतिक व्यत्ति ?’

‘हो, पुरै राजनीतिक व्यक्ति ।’

सिमसारमा कोलाहल बढेको थियो । एक्कासी एउटा अर्को जलजन्तु मास्तिर उफ्रियो । (मेरो आँखा त्यतातिर गयो) । र म नेर आएर गाला फुलाउँदै भन्यो, ‘उहाँ हाम्रो नेता ।’

‘हो, हाम्रो नेता ।’ अर्को पनि उफ्रिएर बाहिर आएको थियो ।

एकपछि अर्को गरेर सिमसारका जलचरहरू बुर्लुक्क–बुर्लुक्क उफ्रिएर माथि सतहमा आइरहेका थिए । र विभिन्न आकार–प्रकारका जलजन्तुहरूका ठूलो जमघट भइसकेको थियो । जस्तो– भ्यागुतो, सर्प, कछुवा, स्नेल इत्यादि । एकछिनपछि सबै आफ्नो नेताको एकस्वरमा जयकार

गर्न थाले ।

‘हाम्रो नेता फ्यारो नेता ।’

‘जिन्दावाद–जिन्दावाद ।’

‘हाम्रो नेता कस्तो छ ।’

‘महान् मानव जस्तो छ ।’

‘वी वान्ट डेमोक्रेसी ।’

‘डेमोत्रेसी–डेमोक्रेसी ।’

‘नेपाली कांग्रेस अमर रहोस् ।’

‘नेपाली कांग्रेस अमर रहोस् ।’

सिमसारबाट बाहिरिएका जलचरहरूका मुखबाट ‘नेपाली कांग्रेस’ को उच्चारण सुनेर म दंग परेंँ । कतै म गलत त सुनिरहेको छैन ? मलाई पटक्कै विश्वास भइरहेको थिएन । म सामुन्ने जलजन्तुहरू जोड–जोडले ‘नेपाली कांग्रेस अमर रहोस्’ को नारा लगाइनै रहेका थिए । मैले तिनीहरूका अगुवातिर हेरेर भनेंँ, ‘महोदय, यो के हो ?’

‘किन, के भयो बन्धु ?’ उसले सुइरे जिब्रो निकालेर भन्यो ।

‘तपाईंहरू नेपाली कांग्रेस किन भनिरहनुभएको छ ?’

‘के नेपाली कांग्रेस भन्नु हुँदैन ?’

‘मेरो मतलव, के तपाईंहरू कांग्रेसी हो ?’

उसले शिर उचाल्यो । र मतिर सुस्तरी हेर्‍यो । यही प्रक्रियामा उसको ससाना आँखाको चमक बढ्यो । अनि आफ्नो चुच्चे मुखलाई अरू चुच्चो पारेर भन्यो, ‘वास्तवमा हामी कांग्रेसी नभएर कांग्रेसको छाया हौं बन्धु ।’

‘मैले तपाईंको कुरो बुझिन महोदय ।’

‘यसमा नबुझिने के छ र बन्धु ?’

‘यो कांग्रेसको छाया भनेको के हो ?’ मैले उसको चम्किलो आँखामा हेरेर भनेंँ ।

‘हामीले हालै छाया सरकारको गठन गरेका छौं ।’ दुवै हात (खुट्टा पनि) उफारेर ऊ केही अघि बढ्यो, ‘तपाईँलाई नेपालको राजनीतिको कुनै ज्ञान रहेनछ बन्धु ।’

‘त्यसो भए, छाया सरकार तपाईहरूकै हो त महोदय ?’

‘हो, हाम्रो छाया सरकार ।’ उसको घिच्रो (जस्तो) अलिकति हल्लियो, ‘अब योभन्दा हाम्रो छायापनको अरू के प्रमाण हुनसक्छ बन्धु ?’

‘त्यो त हो ।’ मैले विस्तारै भनेँं, ‘मैले अखबारमा छाया सरकारको खबर पढेको थिएँ ।’

नीला, पहेंँला, काला, हरिया, राता रंगका (कुनै टाटेपाटे पनि) जलचरहरू लगातार उच्च स्वरमा नारा लगाइरहेका थिए । यसले हाम्रो संवादमा थोरबहुत व्यवधान पैदा भएको थियो । त्यसैले उसले आफ्नो खरखराउँदो आवाजलाई अरू चर्को पारेर भन्यो, ‘हामीलाई सरकारविहीनतामा बाँच्ने कुनै अभ्यास नभएकोले यो छाया सरकार बनाउनुपरेको हो बन्धु ।’

‘अब तपाईंहरूका छाया सरकारले के गर्नेछ त महोदय ?’ मेरो उत्सुक प्रश्न थियो ।

‘के तपाईंहरू केही पनि गर्नुहुन्न त ?’ उसलाई चुप पाएर मैले फेरि भनेंँ ।

‘बन्धु, तपाईंलाई थाहा छैन, हामीले जागरण अभियान सुरु गरेका छौं । यो राष्ट्रिय स्तरको जागृतिको हाम्रो सन्देश हुनेछ । राष्ट्रिय जागरण अभियान । अब हाम्रो छाया सरकार सबैलाई नै जगाउने काममा लागिसकेको छ । यसले सम्पूर्ण मुलुक नै जुरुक–जुरुक उचालिनेछ । हाम्रो प्यारो नेपाल जाग्नेछ । हामी त्यसै बसेका छैनौं । यो छाया सरकार....।’ र बोल्दाबोल्दै सिमसारबाट

निस्किएको जलजन्तुको बोली लरखरायो ।

टाउको लुलो भएर तल लत्रियो । उसका दुवै चिम्से आँखा बन्द भइसकेका थिए । मैले हेर्दाहेर्दै ऊ आफ्नो चार हातखुट्टासहित सिमसार किनारको गिलो भुइँमा ड्याम्म पछारियो । र एकछिनमै विचित्र आकारको जलचर नेता झन्डै डल्लो पर्‍यो ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?