पोखरा, पटाया र 'इन्जोय जोन’

सरस्वती प्रतीक्षा

पोखरामा रेडलाइट एरिया बनाउनुपर्छ भनेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति दिएपछि उनको सर्वत्र विरोध भयो । केही आवाज उनको समर्थनमा पनि सुनिए ।

अधिकांश पोखरेलीले भने मुख्यमन्क्रीको समृद्घिको शरीर त्रय–विक्रयको रोडम्यापलाई ठाडै अस्वीकार गरे ।

मुख्यमन्त्रीको रेडलाइट एरियाको हल्ला विस्तारै सेलाउँदै थियो । एक्कासी उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले रेडलाइड एरियालाई नयाँ प्याकेजिङका साथ प्रस्तुत गरे, जसको नाम राखियो, ‘इन्जोय जोन’ ।

त्यसको डीपीआर तयार गर्न मन्त्रालयले ९ करोड बजेट छुट्याएको खुलासासमेत गरियो । मन्त्री लम्सालकै शब्दमा ‘इन्जोय जोनमा गाँजा, भाङ, धतुरोदेखि मदिराजन्य पदार्थ सबै र यौन क्रियाकलाप गर्नसमेत पाइन्छ । विदेशमा पर्यटकीय क्षेत्रमा यो सामान्य हो । हाम्रो देशमा मात्र इस्यु बनाइएको हो ।’

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलको पर्यटन भित्र्याउने योजना पनि मन्त्री विकास लम्सालकै सोचको वृत्तमै घुम्छ । भन्छन्, ‘इन्जोय जोनभित्र रेडलाइट एरिया पनि सञ्चालन गर्ने हो भने थाइल्यान्ड जाने पर्यटकको गन्तव्य पोखरा हुनसक्छ ।’

थाइल्यान्ड अर्थात पीडाल्यान्ड
थाइल्यान्डका पर्यटकहरू भित्र्याएर पोखरालाई समृद्घ बनाउने सोच पाल्ने हाम्रा पर्यटन मन्त्री एवं पर्यटन परिषदका अध्यक्षका भनाइहरू पत्रपत्रिकामा छाइरहँदा केही समय अगाडि थाइल्यान्डबारे गरिएको एउटा सर्वेक्षण याद आयो । सर्वेक्षण भन्थ्यो, ‘थाइल्यान्ड एउटा यस्तो देश हो, जहाँ स्कुलका शिक्षक–शिक्षिकाभन्दा बढी पेसेवर यौनकर्मीहरू छन् ।’

पोखरालाई पटाया बनाउने सिलसिला सुरुभइरहँदा अर्को एउटा उखानको पनि बारबार बाडुल्की लागिरह्यो– ‘गुड गायज गो टु हेभन, ब्याड गायज गो टु पटाया ।’

आज वा भोलिको पोखरा कस्तो बनाउने ? त्यो हाम्रो वशमा छ । तर आजको थाइल्यान्ड कसरी यस्तो बन्यो ? त्यो स्वयं थाईहरूको वशभन्दा बाहिर थियो । त्यहाँको इतिहास पल्टाएर हेर्‍यौं भने थाहा हुन्छ– थाइल्यान्ड एउटा यस्तो देश हो, जहाँ महिलाहरूले कहिल्यै सम्मानित जीवन बाँच्नै पाएनन् । महिलाहरूले मान्छेको दर्जा नै पाएनन् ।

थाइल्यान्डमा अयुथया पिरियड आसपास अर्थात १३५१ देखि १७६७ सम्म महिलाहरू किनबेचका लागि राखिन्थे । खुलमखुल्ला बजारमा लिलामीका लागि राखिनु र जसले बढी मोल तिरेर किन्यो, उसैको गुलामीमा महिलाले जीवन काट्नु सामान्य मानिन्थ्यो । युद्घमा लड्ने बहादुर सैनिकलाई चढाइने उपहारको रूपमा पनि प्रयोग हुन्थे, महिलाहरू । जसको नाममा उपहार चढाइयो, उसैको दासी भएर बाँच्नुपर्ने बाध्यता थियो ।

विशेषगरी पन्ध्रौंदेखि सत्रौं शताब्दीसम्म महिला भनेकै पुरुषको सम्पत्तिमात्र हो भन्ने सोचाइ व्याप्त थियो । आफ्नो स्वास्नीलाई कुट्न, पिट्न अरू कसैलाई बेच्न हर लोग्ने स्वतन्त्र थियो । यति सम्मकी बहुपत्नी राख्नुलाई सम्मानित प्रथा मानिन्थ्यो ।

जति बढी स्वास्नी बटुल्न सक्यो, त्यति बढी सामाजिक हैसियत प्राप्त हुन्थ्यो, लोग्नेमान्छेलाई । श्रीमतीहरूको समेत वर्गीकरण गरिएको थियो, तीन तहमा– मेजर श्रीमती, माइनर श्रीमती र दासी श्रीमती ।

मेजर श्रीमती केटामान्छेको बाउआमाले चुन्थे आफ्नो छोराको लागि, जो घरकी शोभा हुन्थी । माइनर श्रीमती केवल गर्भाधारण गर्न र बच्चा पाउनका लागि प्रयोग हुन्थी । दासी श्रीमतीको कामचाहिँ लोग्नेको यौन प्यास मेट्नु र उसको मनोरञ्जनका लागिमात्र प्रयोग हुनु हुन्थ्यो ।

सन् १९३० मा आएर थाइल्यान्डमा कानुनी रूपमै बहुपत्नी प्रथाको अन्त्य भयो । मनोरञ्जनका लागि महिलाहरूलाई दासी बनाएर गरिने व्यवहार भने उस्तै रह्यो । बिसौं शताब्दीमा आएर मात्र राजा रामा पाँचौंले दासप्रथा उन्मूलन त गरे, तर पैसाका लागि महिला बेचबिखन हुने क्रम रोकिएन ।
सन् १९६० अघिसम्म थाइल्यान्डमा यौन व्यवसाय कानुनी कुरा थियो । राज्यस्वयंले वेश्यालयहरू चलाउँथ्यो र त्यसबापत कर असुल गर्थ्यो ।

गरिबीले आँखाहरू तिरमिराएपछि मान्छेको गलत र सही छुट्याउन सक्दैन । आफ्नैजमिन, काम र पैसाको अभावले राज्यले नै खोलेका वेश्यालयहरूमा स्वयंलाई बेच्नु ती दिनहरूमा कतिपय महिलाका निम्ति चर्को बाध्यता बनिदियो ।

विश्वयुद्घको चपेटाले पनि थाई महिलालाई नजानिँदो गरेर शरीरकै धन्दामा धकेल्यो । दोस्रो विश्वयुद्घताका जापानी सैनिकले थाई महिलालाई मनोरञ्जनका खातिर प्रयोग गरे र वेश्यावृत्तिमा लाग्न बाध्य बनाए । भियतनाम युद्घताका अमेरिकी सैनिकले पनि थाई महिलालाई सस्तो मूल्यमा आफ्नो यौन प्यास मेट्ने माध्यम बनाए ।

मछुवारहरूको ठाउँ भनेर चिनिने पटायालाई ‘सेक्स स्पट’ का रूपमा निर्माण गर्न अमेरिकी सैनिकहरूले ठूलो भूमिका खेले । संसार सामु आज यौन पर्यटनका लागि चिनिने थाइल्यान्ड ‘महिलाहरू मान्छे होइनन्, वस्तु हुन्’ भन्ने मान्यता स्थापित गर्नेमा अग्रपंक्तिमा पर्छ ।

प्रेम जस्तो सुन्दर कुराको त ‘साइड इफेक्ट’ हुन्छ भने सिंगो देश नै सेक्स टुरिजमका लागि चित्रित हुँदा त्यसको साइड इफेक्ट नहुने भन्ने कुरै भएन ।

सबैभन्दा ठूलो पार्श्व प्रभाव के हो भने सन् १९६० मा नै थाई सरकारले वेश्यावृत्तिलाई गैरकानुनी भनेर घोषणा गरिसक्दा पनि खुल्लमखुल्ला वेश्यावृत्ति गरिनु । बैंकक पोष्टको रिपोर्ट अनुसार थाइल्यान्डको कुल राष्ट्रिय आम्दानीको ६० प्रतिशत हिस्सा पर्यटनले ओगटेको छ ।

पर्यटनको आम्दानीको ६० प्रतिशतभन्दा बढी हिस्सा फेरि यौन पर्यटनमा आधारित छ । यो आँकडाले पनि बताउँछ, थाइल्यान्डमा यौन व्यवसाय कानुनभन्दा माथि छ । पटायाको वाकिङ स्टेटको कुरै छोडिदिऊँ, साँझ पर्न नपाउँदै पटायाका कुनै पनि सामुद्रिक किनारा वा अन्य सडकका पेटीहरूमा ब्रा र पेन्टीमात्र लगाएर घाँटीमा २ सयदेखि ५ सय भाट अंकित ‘प्राइस ट्याग’ बोकेर उभिरहेका युवतीहरूको लस्कर देख्नु सामान्य लाग्छ ।

‘पिङपङ शो’ र पटाया पनि एकअर्काका पर्यायजस्तै हुन् । पिङपङ शो अरू केही होइन, महिला जननेन्द्रियहरूलाई मनोरञ्जनका खातिर कतिसम्म घिनलाग्दो तवरले प्रस्तुत गर्न सकिन्छ, त्यसैको पराकाष्ठा हो । अलि फरक खाले पोर्न मुभीको एक प्रकारको लाइभ भर्सनभन्दा पनि हुन्छ, यस्ता शोहरूलाई ।

सन् २०१८ को एक रिपोर्ट अनुसार पटायामा मात्र २७ हजार महिला तथा ७ हजार पुरुष यौनकर्मी छन् । उमेर पुगेकाले आफ्नो इच्छामा धन्दामा लाग्नु एउटा कुरा । उमेर नपुगेका ससाना नानीहरूसमेत यौनका लागि प्रयोग गरिन्छन् ।

यौन उन्मादले ग्रस्त मान्छे जे प्रयोग गर्न पनि हिच्किचाउँदैन । यसका साथै थुप्रै आपराधिक क्रियाकलापको नदेखिने जरा थाइल्यान्डका पटाया, फुकेट जस्ता सहरहरूमा लुकेको छ भनिन्छ ।
संसारकै ‘सेक्स क्यापिटल’ का रूपमा थाइल्यान्ड बदनाम भएपछि त्यहाँको सरकारले आफ्नो छवि सुधार्न प्रयास नगरेको होइन । थाइल्यान्डका प्रथम महिला पर्यटन मन्त्री कोबकार्न वत्तानाव्रांगकुलले सन् २०१६ मै संख्यात्मकभन्दा पनि गुणात्मक पर्यटनमा ध्यान दिनुपर्ने बताउँदै यौन पर्यटन अन्त्य हुनुपर्नेमा जोड दिएकी थिइन् ।

देशको कुनै जालोमा देहव्यापार अड्केको भए पो कानुनी वा अन्य उपचारमार्फत उक्त उल्झनबाट निस्कन सकिन्थ्यो । देह व्यापारको जालोमा अड्केको देशलाई कानुन वा उपायले सफा गर्ने भन्ने प्रश्न भीमकाय छ । अहिले थाइल्यान्ड पर्यटनको हब त बनिरहेछ, तर कस्तो खालको ? यो पक्ष सोचनीय छ । देशको अर्थतन्त्रबाट यौन पर्यटन हटाइदिँदा सिंगो देशकै अर्थतन्त्र तहस–नहस हुने सम्भावना छ ।

थाइल्यान्ड आफै प्रदूषित भुमरीमा फँसेको छ र त्यसबाट निक्लने प्रयास गर्दैछ । त्यहाँको सरकार ‘ह्याप्पी जोन’को नयाँ अवधारणा अगाडि सारेर पटायाको इमेज सुधार्न प्रयासरत छ । यताको सरकार भने ‘इन्जोय जोन’को अवधारणामार्फत पोखरालाई पटाया बनाउन लागिपर्नु घातक छ ।

पोखरा भर्सेस पटाया
पर्यटन क्षेत्रमा एउटा भनाइ प्रचलित छ–इफ यु ह्याभन्ट बिन टु पोखरा, यु ह्याभन्ट बिन टु नेपाल । अर्थात् पोखरा गएका छैनौ भने नेपाल गएका छैनौ । यस भनाइले पनि पोखरा र पर्यटनको अन्योन्याश्रित सम्बन्ध बुझाउँछ ।

पोखराको ऐतिहासिक, सांस्कतिक, सामाजिक पृष्ठभूमिको जगमा उभिएर हेर्दा यो स्वच्छता र सौन्दर्यको एउटा ध्यानभूमि हो । यस्तो पावनभूमिलाई गाँजा र रक्सीको तालमा शरीर किन्ने र बेच्नेहरूको यौनभूमि बनाउन खोज्नु लज्जास्पद कुरा हो ।

गण्डकी प्रदेश सरकार डलर कसरी झार्ने भन्ने ध्याउन्नमा मग्न देखिन्छ । वर्षौंदेखि फेवातालमा उम्रिएको जलकुम्भी झार व्यवस्थापनप्रति आँखा चिम्लन्छ । त्यही फेवातालको बीचमा कफी हाउस खोलेर हजार डलरमा कफी बेच्ने सपना देख्छ ।

फेवातालमा देखिने माछापुच्छ्रेको छायाको ब्रान्डिङ गर्नुपर्नेमा ठूलो झण्डा बनाएर फेवातालमा झण्डाको छाया उतार्ने कुरामा विश्वास गर्छ ।

पर्यटनको सम्भावनै नभए अन्तिम अस्त्रका रूपमा ‘इन्जोय जोन’ निर्माण गर्नु एउटा कुरा । पोखरा त सम्भावना नै सम्भावना भएको उपत्यका हो । गुफा, तालतलैया, मठमन्दिर, नदीनाला, खोचहरूको सौन्दर्य सर्लक्कै एकातिर छ, अर्कोतिर साहसिक पर्यटन ।

प्याराग्लाइडिङ, बन्जी जम्प, र्‍याफटिङ, क्यानोनिङ, माउन्टेन बाइकिङ, वाटर बलिङ, ट्युबिङ, हाइकिङ जस्ता अनेकन साहसिक खेलहरूका माध्यमबाट पर्यटक आकर्षित गर्न सकिन्छ ।
अपवाद छोडेर कुनै त्यस्तो नेपाली फिल्म छैन, जहाँ कुनै न कुनै रूपमा पोखरालाई क्यामेरामा कैद नगरिएको होस् ।

कतिपय हिन्दी तथा अंग्रेजी फिल्म पनि पोखरामा सुटिङ गरिएका छन् । पोखरा फिल्मकर्मीका लागि प्राकृतिक स्टुडियो हो । इन्डोर तथा आउडडोर दृष्टिकोणले पोखरालाई फिल्म सिटीका रूपमा विकास गर्न सकिने सम्भावना उत्तिकै छ ।

केही दिन अघिमात्र डा. बसन्त गौतमको एउटा स्टाटस आएको थियो, ‘पोखरामा यतिखेर बिहान उठ्दा हेमन्तको कडा ठन्डी हुन्छ, ८ देखि १० बजे जतिसम्म शरदको कोमलताले भरिएको न्यानो मिल्छ । घाम चढ्दै जान्छ, त्यसपछि ग्रिष्मको कठोर रापले पोल्छ । २,३ बजेबाट वर्षायाम सुरु हुन्छ र ६,७ बजेतिर सकिन्छ ।

सुत्ने बेलासम्म शिशिरको सिरेटो चलिरहेको हुन्छ । आँखै अगाडि जता हेर्‍यो, त्यतै हरियाली र चराहरूको चिरबिर, जता हेर्‍यो, त्यतै वसन्त । एकैदिनमा छवटा ऋतु प्राप्त हुने गजबको छ, पोखरा ।’ मायावी हावापानी र मौसमका कारण पनि पोखरासित लठ्ठिन पुग्छ, मान्छे ।

पोखरा भनेकै लेकसाइड वरपर हो भन्ने भ्रमले धेरै कुरा बिगारेको छ । पोखरामा ‘इन्जोय जोन’ वा ‘रेड लाइट एरिया’ बनाउनुपर्छ भन्ने अवधारणा पनि ताल वरपरका पर्यटकलाई मात्र लक्षित अवधारणा हो ।

एकातिर प्रदेश सरकार पोखरा आसपासका मौलिक नेपाली गाउँलाई ‘होम स्टे’का रूपमा विकास गर्नुपर्छ भन्दै कुर्लन्छ, अर्कोतिर पोखरा आएका पर्यटकलाई ताल वरपर नै रक्सी, गाँजा र यौनको रमझममा मात्र भुलाउने लक्ष्य राख्छ । कस्तो विरोधाभाष !

विश्वका दुस अग्ला हिमशृंखलामध्ये तीनवटा (अन्नपूर्ण, धौलागिरि र मनास्लु) त पोखराबाटै देख्न सकिन्छ । विश्वकै सबैभन्दा गहिरो गल्छी गण्डकी प्रदेशमै पर्छ । हिन्दुहरूले विष्णु अवतारको रूपमा पुज्ने शालिग्राम विश्वमै अन्त पाइँदैन, सिवाय गण्डकी प्रदेशमा ।

वनस्पति तथा जैविक विविधता पनि समृद्ध छ, पोखरा । २ सय ६० प्रजातिका त सुनाखरी छ, हामीसित र अनेकन जडीबुटीहरू । प्रसिद्घ मुक्तिनाथ धामदेखि ७ सय वर्ष पुरानो चराङको गुम्बा छ, गण्डकी प्रदेशसित ।

नेपालको हरिद्वार मानिने गजेन्द्रमोक्ष धाम अर्थात त्रिवेणी धामदेखि दामोदर कुण्डसम्मको धार्मिक पर्यटनको रुट ब्रान्डिङ गरेर लाखौं पर्यटक भित्र्याउन सकिने सम्भावना छ । यस्ता सबै सम्भावना नकारेर खुला गाँजा र सेक्सको पछाडिमात्र दौडनु कतिको जायज हो ?

कवि तथा संस्कृतकर्मी तीर्थ श्रेष्ठ भन्छन्, ‘प्रकृतिले दिएको उपहार बाहेक पर्यटकीय विकासका लागि के गर्ने भनेर पोखरामाकहिल्यै गम्भीर बहस भएन । न पर्यटन व्यवसायी, न राज्यसित पर्यटकीय विकासको कुनै ठोस र योजनाबद्घ रोडम्याप छ । इन्जोय जोनको अवधारणा पनि सोचविचार नैनगरी ल्याइएको प्रतीत हुन्छ ।’

सन् २०१६ मै गरिएको एक सर्वेक्षण अनुसार पोखरामा भित्रिने पर्यटकले दिनको सरदर पचास डलरमात्रै खर्च गर्छ । उसको औसत बसाइ जम्मा डेढदेखि दुई दिनमात्र हुन्छ । पर्यटकको संख्या बढाउन र बसाइ लम्ब्याउन ध्यान दिन आवश्यक छ । पर्यटकलाई जतिसक्दो लामो ‘होल्ड’ गराउन र खर्च बढाउन सकिए पोखराको पर्यटनले कोल्टो फेर्नेमा दुईमत हुन सक्दैन ।

पोखरामा आउने पर्यटकको बसाइ अवधिले भन्छ, यो अझै पनि पर्यटकीय हबभन्दा ट्रेकिङका लागि आउने पर्यटकहरूको ट्रान्जिट पोइन्ट बढी हो । यहाँका दुई–चार ताल वा गुफा देखाएर पाहुनासित ङिच्च हाँसो हाँस्दै ‘यही हो पोखरा’ भन्ने रेडिमेड प्याकेज पस्केको त वर्षौं भइसक्यो ।

एक डाँडादेखि अर्को डाँडा जोड्ने केबलकार बनाएर, हिमशृंखला अवलोकनका खातिर प्याकेजहरू अगाडि सारेर, धार्मिक पर्यटनलाई बढावा दिन आकर्षक विज्ञापन गरेर, यहाँका मौलिक सांस्कृतिक बाजागाजा र नृत्यमाभुलाएर पर्यटकलाई ४/५ दिन त यसै पनि भुलाउन सकिन्छ ।

कुनै दूरदर्शी योजना नबनाई लुकीछिपी गाँजा खाएकै छन्, यौनधन्दा चलाएकै छन् भनेर खुला गाँजा र यौन क्षेत्रका रूपमा पोखरालाई स्थापित गर्दा डलर त भित्रिएला, तर के पोखराले आफ्नो अस्मिता गुमाउँदैन ?

फ्रान्स र बेलायतमा पनि रेडलाइट एरिया खोलिएकै छन् भनेर उदाहरण दिँदै पोखरामा यस्तो अवधारणा अघि सार्दै गर्दा बुझ्नुपर्छ– हाम्रो देश ती देशका तुलनामा व्यवस्था र सुरक्षाका सवालमा कति अपरिपक्व छ ?

गरिब देशहरूमा जब–जब देहव्यापारले जरा फिजाउँछ, मानव बेचबिखनको समस्या सुल्झाउनै नसक्नेगरी विकराल बनेको इतिहास छ । कम्बोडिया, केन्या जस्ता देशहरू यस्तै खाले समस्याबाट गुज्रिरहेका छन् ।

यसै त हामीले आफ्ना दिदीबहिनी बम्बईका कोठीहरूमा बेचिनबाट त रोक्नसकेका छैनौं, त्यहीमाथि ‘इन्जोय जोन’ का नाममा उनीहरूलाई बेच्ने लाइसेन्स दिनु कहाँको न्याय हो ?

खुला गाँजा र यौनले आफू सँगसँगै खुला हातहतियार, बालयौन शोषण र दुराचार, आपराधिक क्रियाकलाप, तस्करी, गुन्डागर्दी जस्ता पार्श्व प्रभावहरू पनि बोकेर ल्याउँछन् । त्यो सबको नियन्त्रण गर्न के हाम्रो प्रहरी प्रशासन सक्षम छ ? डलरको चस्माले आँखा टालिएपछि छातीमा प्राइस ट्याग बोकेर सिसाको शोकेसभित्र सजिएका हाम्रा दिदीबहिनीहरूको दुर्दान्त चित्र हामीले सम्झनसकेका छैनौं ।

खुला समाजको अर्थ खुला मानसिकता हो, छाडा मानसिकता होइन । ट्राफिक लाइट, जेब्राक्रस जस्ता सामान्य कुराको प्रयोगलाई लिएर त यहाँ चेतनाको कमी देखिन्छ । एउटी नेपाली युवतीले साँझपख ताल हेर्दै एक्लै एककप कफी वा बियर खाए आँखा तरीतरी हेर्ने संकीर्ण समाज छ ।

खुलेर आमाछोरी वा बाउछोराको बीचमा यौनको कुरा गर्नसक्ने पारिवारिक वातावरण अझै छैन । यस्तोमा सरकारी स्तरबाट मन्त्रालयबाटै बजेट विनियोजन गरेर कुनै सहरको अनुहार र अंग–अंगमै ‘इन्जोय जोन’को ट्याटु खोप्दा यौन र गाँजा व्यवसाय व्यवस्थित हुन्छ कि विशृंखलताको बाटोमा गएर नयाँ पुस्ता भड्किन्छ र झनै अल्मलिन्छ ?

विकासको रोल मोडल छान्नपरे किन नजिकैको सिक्किम नरोज्ने ? हाम्रो जस्तै प्राकृतिक सौन्दर्यलाई पस्केर सिक्किमले वर्षेनि चौध–पन्ध्र लाख पर्यटक भित्र्याउँछ । नेपालको दोस्रो ठूलो पर्यटकीय स्थल पोखराले सिक्किमको जति पनि पाहुना भित्र्याउन सकिरहेको छैन । यस्तोमा थाइल्यान्डका यौन पर्यटक तान्ने ताना काँडे भ्याकुरको सक्कली पखेटा उखेलेर कागजको नक्कली पखेटा लगाइदिएर उडाउन खोज्ने सपनामात्र हो ।

समाजको चेतना छिप्पिएपछि के कुरा खाँदा पच्छ, के खाँदा पच्दैन ? समाजले आफै तय गर्न सक्छ । समाजले नै रेडलाइट एरियाको आवश्यकता महसुस गरेर बहस र पैरवी गर्दै त्यतातर्फ जान खोज्छ भने त्यसलाई रोक्न हुँदैन । तर पोखरेलीको जनचाहनाको नजरअन्दाज गरेर केही नेता तथा पर्यटन व्यवसायीको पहलमा सिंगो सहरलाई ‘इन्जोय जोन’को ट्याग लगाउन खोजिनु कदाचित् स्वीकार्य हुँदैन ।

पटायालाई रोल मोडल मानेर त्यस्तैबनाउन खोज्दा पोखरा लज्जाको सुरुङ र खोचसँगै भास्सियो भने भोलि त्यसको जिम्मेवारी कसले लिने ?

ट्वीटर : @saraswati_prati

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:३३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हाइबरनेसन

सिउँडी
विमल निभा

सिमसारमा एक प्रकारको हलचल व्याप्त थियो । सबै जलचर सामूहिक ढंगले कोलाहल गरिरहेका थिए । एकाएक एउटा विचित्र जीव उफ्रिएर किनारमा आयो । र मतिर बढेर भन्यो, ‘जयनेपाल बन्धु ।’



पहिले त म अचम्मित भएँ, त्यसपछि अज्ञात डर मभित्र प्रवेश गर्‍यो । एउटा फरक प्रजातिको प्राणी म सम्मुख थियो । म भयको आधिक्यले जडीभूत थिएँ । मलाई विलकुलै अवाक् मुद्रामा पाएर त्यो अमानवी आकृतिले आफ्नो अभिवादन दोहोर्‍यायो, ‘बन्धु, जयनेपाल ।’
‘तपाई को ?’ बल्ल मेरो गलाबाट वक फुट्यो ।

‘मलाई चिन्नु भएन ?’ उसले अघिल्तिरको दुवै हात उचाल्यो, ‘म कुनै अफरिचित व्यक्ति होइन नि !’
‘व्यत्ति !’ मेरो भनाइमा बहुतै आश्चर्य थियो, ‘म त तपाईंलाई कुनै व्यक्तिजस्तो देखिरहेको छैन ।’
‘के देखिरहनुभएको छ, बन्धु ?’

‘माफ गर्नोस्, मलाई सफासफी भन्न गाह्रो छ ।’
‘तपाई निर्धक्क भन्न सक्नुहुन्छ बन्धु ।’

‘तपाई भर्खरै सिमसारबाट आइपुगेको पाहा होइन ?’ मैले अप्ठ्यारोसँग मुख खोलेंँ ।
‘यस्तो नभन्नोस् बन्धु ।’ उसले नाकको पोरा फुलायो, ‘म कुनै फाहा होइन ।’
‘अनि को त ?’

‘म एक राजनीतिक व्यक्ति हुँ ।’
‘राजनीतिक व्यत्ति ?’
‘हो, पुरै राजनीतिक व्यक्ति ।’

सिमसारमा कोलाहल बढेको थियो । एक्कासी एउटा अर्को जलजन्तु मास्तिर उफ्रियो । (मेरो आँखा त्यतातिर गयो) । र म नेर आएर गाला फुलाउँदै भन्यो, ‘उहाँहाम्रो नेता ।’

‘हो, हाम्रो नेता ।’ अर्को पनि उफ्रिएर बाहिर आएको थियो ।
एकपछि अर्को गरेर सिमसारका जलचरहरू बुर्लुक्क–बुर्लुक्क उफ्रिएर माथि सतहमा आइरहेका थिए । र विभिन्न आकार–प्रकारका जलजन्तुहरूका ठूलो जमघट भइसकेको थियो । जस्तो– भ्यागुतो, सर्प, कछुवा, स्नेल इत्यादि । एकछिनपछि सबै आफ्नो नेताको एकस्वरमा जयकार
गर्न थाले ।

‘हाम्रो नेता फ्यारो नेता ।’
‘जिन्दावाद–जिन्दावाद ।’
‘हाम्रो नेता कस्तो छ ।’
‘महान् मानव जस्तो छ ।’
‘वी वान्ट डेमोक्रेसी ।’
‘डेमोत्रेसी–डेमोक्रेसी ।’
‘नेपाली कांग्रेस अमर रहोस् ।’
‘नेपाली कांग्रेस अमर रहोस् ।’

सिमसारबाट बाहिरिएका जलचरहरूका मुखबाट ‘नेपाली कांग्रेस’ को उच्चारण सुनेर म दंग परेंँ । कतै म गलत त सुनिरहेको छैन ? मलाई पटक्कै विश्वास भइरहेको थिएन । म सामुन्ने जलजन्तुहरू जोड–जोडले ‘नेपाली कांग्रेस अमर रहोस्’ को नारा लगाइनै रहेका थिए । मैले तिनीहरूका अगुवातिर हेरेर भनेंँ, ‘महोदय, यो के हो ?’

‘किन, के भयो बन्धु ?’ उसले सुइरे जिब्रोनिकालेर भन्यो ।
‘तपाईंहरू नेपाली कांग्रेस किन भनिरहनुभएको छ ?’
‘के नेपाली कांग्रेस भन्नु हुँदैन ?’
‘मेरो मतलव, के तपाईंहरू कांग्रेसी हो ?’

उसले शिर उचाल्यो । र मतिर सुस्तरी हेर्‍यो । यही प्रक्रियामा उसको ससाना आँखाको चमक बढ्यो । अनि आफ्नो चुच्चे मुखलाई अरू चुच्चो पारेर भन्यो, ‘वास्तवमा हामी कांग्रेसी नभएर कांग्रेसको छाया हौं बन्धु ।’

‘मैले तपाईंको कुरो बुझिन महोदय ।’
‘यसमा नबुझिने के छ र बन्धु ?’

‘यो कांग्रेसको छाया भनेको के हो ?’ मैले उसको चम्किलो आँखामा हेरेर भनेंँ ।
‘हामीले हालै छाया सरकारको गठन गरेका छौं ।’ दुवै हात (खुट्टा पनि) उफारेर ऊ केही अघि बढ्यो, ‘तपाईँलाई नेपालको राजनीतिको कुनै ज्ञान रहेनछ बन्धु ।’

‘त्यसो भए, छाया सरकार तपाईहरूकै हो त महोदय ?’
‘हो, हाम्रो छाया सरकार ।’ उसको घिच्रो (जस्तो) अलिकति हल्लियो, ‘अब योभन्दा हाम्रो छायापनको अरू के प्रमाण हुनसक्छ बन्धु ?’

‘त्यो त हो ।’ मैले विस्तारै भनेँं, ‘मैले अखबारमा छाया सरकारको खबर पढेको थिएँ ।’
नीला, पहेंँला, काला, हरिया, राता रंगका (कुनै टाटेपाटे पनि) जलचरहरू लगातार उच्च स्वरमा नारा लगाइरहेका थिए । यसले हाम्रो संवादमा थोरबहुत व्यवधान पैदाभएको थियो । त्यसैले उसले आफ्नो खरखराउँदो आवाजलाई अरू चर्को पारेर भन्यो, ‘हामीलाई सरकारविहीनतामा बाँच्ने कुनै अभ्यास नभएकोले यो छाया सरकार बनाउनुपरेको हो बन्धु ।’

‘अब तपाईंहरूका छाया सरकारले के गर्नेछ त महोदय ?’ मेरो उत्सुक प्रश्न थियो ।
‘के तपाईंहरू केही पनि गर्नुहुन्न त ?’ उसलाई चुप पाएर मैले फेरि भनेंँ ।

‘बन्धु, तपाईंलाई थाहा छैन, हामीले जागरण अभियान सुरु गरेका छौं । यो राष्ट्रिय स्तरको जागृतिको हाम्रो सन्देश हुनेछ । राष्ट्रिय जागरण अभियान । अब हाम्रो छाया सरकार सबैलाई नै जगाउने काममा लागिसकेको छ । यसले सम्पूर्ण मुलुक नै जुरुक–जुरुक उचालिनेछ । हाम्रो प्यारो नेपाल जाग्नेछ । हामी त्यसै बसेका छैनौं । योछाया सरकार....।’ र बोल्दाबोल्दै सिमसारबाट
निस्किएको जलजन्तुको बोली लरखरायो ।

टाउको लुलो भएर तल लत्रियो । उसका दुवै चिम्से आँखा बन्द भइसकेका थिए । मैले हेर्दाहेर्दै ऊ आफ्नो चार हातखुट्टासहित सिमसार किनारको गिलो भुइँमा ड्याम्म पछारियो । र एकछिनमै विचित्र आकारको जलचर नेता झन्डै डल्लो पर्‍यो ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT