कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सन्दर्भ विश्व वातावरण दिवस : प्रदूषण रोक्ने चुनौती

गोविन्द पोखरेल

केही दशकअघि काठमाडौ‌ंमा अहिलेको तुलानामा धेरै हरियाली, सफा र सुन्दर थियो । त्यसबेला काठमाडौंमा मास्क लगाएर हिँड्नुपर्ने अवस्था थिएन । थोरै सवारी साधन, उद्योग, निर्माण र जनघनत्व कम हुँदा धूवाँधूलो स्वभावैले न्यून थियो । तर,
काठमाडौंमा अहिले स्वच्छ हावा पाइँदैन । स्वच्छ हावा त परको कुरा भयो, धूलो मास्क नलगाई सडकमा हिँड्न सकिने अवस्था छैन  ।

सन्दर्भ विश्व वातावरण दिवस : प्रदूषण रोक्ने चुनौती

सवारीको चाप अनि त्यसबाट निस्कने धूवाँधूलोले मन्दिरहरूको सहर काठमाडौंलाई बदलिदिएको छ । ईपीआईको एक रिर्पोटले काठमाडौंलाई दुई वर्षअघि विश्वकै चौथो प्रदूषित सहरको रूपमा राखेको थियो ।

रत्नपार्कमा राखिएको वायु गुणस्तर मापन केन्द्रले सन् २०१८ मा पीएम २.५ (२ दशमलव ५ माइक्रो मिटर वा सोभन्दा कम व्यास भएका धूवाँ र धूलोको कण) को मात्रा प्रतिघनमिटर हावामा १३६ एमजी रेकर्ड भएको थियो । यो विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको मापदण्डभन्दा ५ दशमलव ४४ गुणाले बढी हो । डब्लूएचओको तोकेका मापदण्डअन्तर्गत हावामा पीएम २.५को मात्रा प्रतिघनमिटर २५ एमजी हुनुपर्ने उल्लेख छ । नेपालको मापदण्डमा ४० एमजी छ ।


‘स्वच्छ वायु, स्वच्छ जीवन’ भन्ने नाराका साथ यसवर्ष विश्वभर ४७ औँ विश्व वातावरण दिवस मनाइँदैछ । नेपालमा पनि जून ५ तारिख अर्थात् बुधबार यो दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । वायु प्रदूषण अहिले हाम्रो मात्र नभएर सिङ्गो विश्वको चिन्ताको विषय बनेको छ । यसले स्वास्थ्य, कृषि, जलवायु लगायत क्षेत्रमा प्रत्यक्ष असर पुर्‍याएको छ । प्रत्येक वर्ष ७० लाख मानिसहरू वायु प्रदूषणका कारण ज्यान गुमाउने गरेको डब्लूएचओले जनाएको छ । विश्वका ९१ प्रतिशत मानिसहरू डब्लूएचओले तोकेको मापदण्डभन्दा कम गुणस्तरको हावा लिने गर्छन् । गुणस्तरीय हावा पाउनु अहिले संसारभरका मानिसहरूका लागि चुनौती बनेको छ ।


डब्लूएचओकै एक रिर्पाटअनुसार नेपालमा वर्षेनी ३७ हजार ३ सय ९९ जना मानिसहरू वायु प्रदूषणका कारण ज्यान गुमाउने गरेको छन् । जसमध्ये १ हजार ४ सय २९ जना बालबालिकाहरू छन् । कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन अक्साइड, नाइट्रस अक्साइड, ओजोन, ब्ल्याक कार्बन, मिथेन, सल्फर डाइअक्साइड, हाइड्रोकार्बन जस्ता ग्यासहरु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । यी ग्यासहरु विभिन्न माध्यम हुँदै वायुमण्डलमा फैलिन्छन् ।


घरायसी, यातायात, कृषि, फोहोर, उद्योग तथा कलकारखाना, आणविक हतियार प्रक्षेपण र प्राकृतिक कारणबाट वायु प्रदूषण हुने गरेको छ । घरमा बालिने इन्धन,काठ/दाउराले कार्बनडाइअक्साइड जस्ता ग्यासहरु उत्सर्जन गर्छन् । यसबाट विशेष गरेर घरको भान्सामा काम गर्नेहरू बढी प्रभावित हुने गरेको अध्ययनले देखाएका छन् । डब्लूएचओको अनुसार घरायसी प्रदूषणका कारण विश्वमा वार्षिक ३८ लाख मानिसहरूको मृत्यु हुन्छ ।


उद्योग क्षेत्रमा प्रयोग गरिने कोइला, इन्धन र दाउराले वायु प्रदूषण बढाइरहेका छन् । वायुमण्डलमा उत्सर्जन हुने कूल कार्बनको २५ प्रतिशत हिस्सा यातायात क्षेत्रले ओगटेको अन्तर्राष्ट्रिय उर्जा संस्थाको प्रतिवेदनमा उल्लेख छ । उक्त संस्थाका अनुसार सन् २०१० देखि २०१५ सम्म यातायात क्षेत्रबाट कार्बन डाइअक्साइडको उत्सर्जन २ दशमलव ५ प्रतिशतको दरले वृद्धि भएको थियो ।


कृषि क्षेत्रबाट मिथेन र एमोनिया ग्यासले पनि वायु प्रदूषण गराइरहेका छन् । मिथेन जलवायु परिवर्तन गराउने एक हरित गृह ग्यास हो । यसको कार्बनडाइअक्साइडभन्दा ३४ गुणा बढीले हरित गृह प्रभाव हुन्छ । विश्वका २४ प्रतिशत हरित गृह ग्यास कृषि क्षेत्रबाट निस्कने गरेको संयुक्त राष्टिसंघीय वातावरणीय कार्यत्रम (युनेप)ले जनाएको छ ।


फोहोर मैला व्यवस्थापन पनि समस्या बनेको छ । फोहोर विसर्जन र सरसफाइको नाममा फोहोरलाई खुल्ला रूपमा बाल्ने गरिएको छ । जमिन प्रदूषण भयो भनेर फोहोर त बालिन्छ तर त्यही फोहोरलाई जलाउँदा निस्कने हानिकारक ग्यास र सस्पेन्डेड पार्टिकल्सहरुले वायु प्रदूषण बढाइदिएका छन् । विश्वमा ४० प्रतिशत फोहोर खुल्ला स्थानमा जलाइने गरेको युनेपले उल्लेख गरेको छ । ज्वालामुखी विस्फोटन, धूवाँधूलो, हावाहुरी, प्राकृतिक कारणले पनि वायु प्रदूषण निम्तने गर्छ ।


वायु प्रदूषणका कारण मुख्यतः श्वास प्रश्वास, पक्षघात र मुटुसम्बन्धी रोगहरू देखिने गरेको अध्ययनहरूले देखाएको छ । हावामा मिसिएका स–साना कणहरू श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्छन् अनि असर पुर्‍याउँछन् । यसले मानिसको मस्तिष्क, रक्तनलीदेखि मुटुसम्म असर गर्छ । स्ट्रोक पनि वायु प्रदूषणका कारण हुने गरेको अध्ययनहरूले देखाएका छन् । स–साना कणहरूले रक्तनली बन्द गरिदिने अनि यस्ता कणहरू फोक्सो हुँदै शरीरका विभिन्न भागहरूमा पुग्ने हुँदा यिनीहरूले नशा तथा न्यूरोसम्बन्धी रोगहरू निम्त्यिाउने अध्ययनहरूले देखाएको छ । कतिपय अवस्थामा वायु प्रदूषणले क्यान्सर पनि लाग्ने गरेको विश्व स्वास्थ्य सङ्गठनका प्रतिवेदनहरूमा पढ्न पाइन्छ ।

वायु प्रदूषणले अझ बढी बालबालिकाहरू प्रभावित हुने गरेका छन् । उनीहरूको श्वासप्रश्वास दर एउटा वयस्क मानिसको भन्दा बढी हुन्छ । जमिनसँग उनीहरू नजिक हुन्छन् । सास लिने दर धेरै हुनु, हावामा मिसिने एरोसोल तथा पार्टिकुलेट म्याटर(पीएम)हरू सजिलैसँग उनीहरूले सास फेर्ने क्रममा लिन्छन् । जसका कारण बालबालिकाहरूको मस्तिष्क विकासमा अवरोध हुने गरेको डब्लूएचओले गरेको अध्ययनले देखाएको छ । अम्लीय वर्षा पनि वायु प्रदूषणका कारण हुने गर्छ । वायुमण्डलमा उत्सर्जन भएको सल्फर डाइअक्साइट रासायनिक प्रतिक्रिया भएर सल्फरिक अम्लको रूपमा बर्सिन्छ । अम्लिय वर्षाका कारण भारतको ताजमहल, बेइजिङका ऐतिहासिक संरचनाहरूको सुन्दरतालाई असर पुगेको अध्ययनले देखाएका छन् ।

सन् २०५० सम्म विश्वको ७० प्रतिशत मानिसहरू सहरमा बसोबास गर्ने आकलन गरिएको छ । त्यही मात्रामा उपभोग बढ्छ । यस्तो अवस्थामा वायु प्रदूषणबाट कसरी सुरक्षित रहने भन्ने विषयमा बहसहरू सुरु भइसकेको छन् । सहरलाई हरियाली प्रवर्द्धन तथा धूवाँ रहित बनाउनका लागि के के गर्नुपर्छ ? यस्ता सवालहरूप्रति चासो देखाउनुपर्ने हुन्छ ।


नेपालमा हवाई र यातायात उद्योगको आकार बढ्दो छ । त्यही अनुरूपमा इन्धनको खपत छ । वार्षिक रूपमा कार्बन डाइअक्साइड उत्सजर्नको मात्रा पनि बढिरहेको छ । सन् २०१६/२०१७मा ४ लाख ४४ हजार २ सय ५९ वटा सवारीहरू दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकमा उल्लेख छ । काठमाडौंमा ४ लाख सवारी साधानहरु गुड्ने गरेको अनुमान छ ।

यहाँ सञ्चालित इँटाभट्टाहरुले पनि प्रदूषण बढाएका छन् । ईसीमोडले सन् २०१७ मा निकालेको एक रिर्पोटमा हिन्दूकुश हिमालयमा क्षेत्रमा ब्ल्याक कार्बन जस्ता हानिकारक एरोसोल पार्टिकल्सहरुले उच्च हिमाली क्षेत्रमा जमेका हिउहरु पगाल्नका लागि भूमिका खेलिरहेका छन् । भारतका विभिन्न सहरमा हुने उत्सर्जनका कारण नेपालको ऐतिहासिक क्षेत्र लुम्बिनीमा वायुप्रदूषणको बढ्दो छ । एटमोस्फेरिक, केमिकल एण्ड फिजिक्स जर्नलमा सन् २०१७मा प्रकाशित रिर्पोटले पनि लुम्बिनीमा पार्टिकुलेट्स म्याटर(पीएम)हरुको मात्रा बढिरहेको देखाएको छ ।


वायु प्रदूषणले विश्वमा हुने खाद्य उत्पादनमा पनि असर पुर्‍याउँछ । मौरीले खाद्य उत्पादनमा र परागसेचनमा महत्त्वपूर्ण योगदान गरेका छन् । फूलहरुबाट आउने प्राकृतिक गन्धलाई वायु प्रदूषणले बाधा पुर्‍याइदिन्छ जसका कारण भमराहरू फूल भएको ठाउँमा पुग्न सक्दैनन् जसका कारण परागसेचनमा प्रत्यक्ष असर पुग्छ ।


उत्सर्जन नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रयासहरू नभएका होइनन् । अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरूमा नेपालले हस्ताक्षर गरेको छ । क्योटो प्रोटोकल, पेरिस सम्झौतामा पनि यिनै यस्ता प्रयास हो जसले उत्सर्जन घटाउन र कार्बनको सञ्चितीकरणमा नै केन्द्रित छन् । युरो–४ मापदण्ड लगायत त्योभन्दा अझ गुणस्तरका सवारी साधन प्रयोगलाई मान्यता पनि यसकै निरन्तरता हो । तर पनि उत्सर्जन कम भएको छैन । चीन,अमेरिका,भारत,युरोपियन युनियन आबद्ध मुलुकहरू विश्वमा सबैभन्दा बढी हरित गृह ग्यास उत्पादन गर्ने मुलुकहरूले पनि विकल्प खोजिरहेका छन् ।


काठमाडौँ एउटा उपत्यका भएकाले यहाँ उत्सर्जित ग्यासहरु सजिलैसँग बाहिर जान सक्दैनन् र केही समयसम्म रहिरहन्छन् । जसका कारण वायुमण्डलमा धूवाँधूलो र हानिकारक कणहरूको मात्रा बढिरहेको छ । उत्पयाकाका डाँडाहरुमाथि स्थिर वायुमण्डलीय अवस्था छ जसले हावालाई आकाशतिर जानबाट रोकिदिन्छ अनि उत्सर्जित ग्यासहरु उत्पयाकतिरै रहन्छन् ।


अहिले सवारी साधनका कारण प्रदूषण बढिरहेको त्रिभुवन विश्वविद्यालयको वातावरण तथा विज्ञान केन्द्रीय विभागकी प्रमुख प्राडा रेजिना मास्केको भनाइ छ । काठमाडौँमा ट्रक, टिपर, मिनी बसजस्ता ठुला सवारी साधनहरूले प्रदूषण बढाइरहेको उनले सुनाइन् । त्यस्ता सवारी साधनहरूले मर्मतसम्भार र सर्भिसिङ नगर्ने परिपाटीले पनि प्रदूषण बढाएको उनको अध्ययनले देखाएको छ । सरकारले प्रदूषण नियन्त्रणका लागि कडा कानुन र नियम लागू गर्नुपर्ने मास्केको भनाइ छ ।


सरकारले बजेट भाषण मार्फत आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षको रूपमा मनाउने घोषणा गरेको छ । वृक्षारोपणले प्रदूषण नियन्त्रणमा सहयोग पुर्‍याउँछ किनभने बिरुवाहरूले एयर फिल्टर र कार्बन सञ्चितकरणको काम गर्छन् । नेपालले पनि सन् २०२० सम्म उद्योग क्षेत्रमा २० प्रतिशत नवीकरणीय ऊर्जाको प्रयोग, सन् २०२५ सम्म वायु पदूषणको दरलाई घटाउने, सन् २०५० सम्म इन्धन(डिजेल, मट्टितेल, पेट्रोल) को प्रयोग ५० प्रतिशतले घटाउने लक्ष्य विश्व समुदाय समक्ष प्रस्तुत गरिसकेको छ । सरकार महत्वकांक्षीं योजनाहरू त राख्छ तर व्यवहारमा भने पिटिक्कै लागू गर्दैन ।


छिमेकी चीनले विद्युतीय बस प्रयोगमा ल्याइसकेको छ । बेइजिङको वायु प्रदूषण ५ प्रतिशतले घटाएको छ । यस्तै, चीन विश्वको सबैभन्दा बढी विद्युतीय सवारी उत्पादन र खपत गर्ने मुलुक पनि हो । प्रदूषण नियन्त्रणमा उसले प्रयोग गर्ने मोड्युल हामीले पनि विकसित गर्न सके उत्तम हुन्थ्यो । यस वर्ष संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमले विश्व वातावरण दिवस बेइजिङमै गर्दैछ ।


प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको विद्युतीय बस हालसम्म सञ्चालनमा आएको छैन । कुनै समय विद्युत्बाट चल्ने ट्रली बस अहिले धराशायी बनेको छ । यस्ता सवारी साधनको प्रयोगलाई प्राथमिकता दिँदै डिजेल/पेट्रोलबाट चल्ने सवारीलाई कम महत्त्व दिएर वैकल्पिक ऊर्जा र विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सके वायु प्रदूषण नियन्त्रणमा सघाउ पुग्छ ।

घरायसी प्रयोजनमा खपत हुने ग्यास दाउराको विकल्पमा विद्युतीय माध्यमबाट खाना पकाउने उपकरणहरू प्रयोगमा जोड दिने र यस्ता उपकरणहरूमा अनुदान तथा छुटेको व्यवस्था सरकारले गर्ने सके खपत बढ्छ । विद्युतीय र सौर्य ऊर्जालाई उद्योग तथा कलकारखानाले बढी प्राथमिकता दिएर अगाडि बढ्न सके उत्सर्जन घटाउन सकिन्छ ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?