२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जापानी राजदूतले भने- 'नेपाली सिक्दैछु' [अन्तरवार्ता]

घनश्याम खड्का

काठमाडौँ — मासामिची साइगो नेपालका लागि राजदूत भएर एक वर्षदेखि काठमाडौंमा छन् । नेपालका हिम चुचुरा, गाउँको हरियाली र नेपालीहरुको संस्कृति मन पराउने उनी एक राजदूतका रुपमा नेपाललाई कसरी हेर्छन् ? फुर्सदमा कहाँ घुम्न जान्छन् र नेपालबारे के सोच्छन् ? कान्तिपुर अनलाइनका लागि घनश्याम खड्काले गरेको अन्तरवार्ताको सम्पादित अंश : 

जापानी राजदूतले भने- 'नेपाली सिक्दैछु' [अन्तरवार्ता]

महामहिमज्यू, फुर्सदमा के गर्नुहुन्छ ?

सन् २०१८ मा मेरो पदस्थापन भएको पनि एक वर्ष भइसक्यो । बेलाबखत यहाँको प्राकृतिक सौन्दर्य नियाल्न म श्रीमती एरिकोसँगै नगरकोटतिर निस्कने गर्छु । तथापि सामान्यतया मेरो सप्ताहन्त यहाँका ऐतिहासिक स्थल तथा स्थानीयवासीसँग रमाउँदै काठमाडौं सहरमै बित्ने गर्छ ।


नगरकोटमा म सूर्योदय हेर्न मन पराउँछु । दुःखको कुराचाहिँ के भने, धेरैजस्तो बिहान बादलले ढाकेर त्यो हेर्नै पाइन्न । नगरकोटमा धेरै पटक यसरी सूर्योदय हेरौंला भन्दा बादलले ढाकेको बिहान सामना गर्नु परे पनि पोखराको साराङकोटमा गएर मैले धेरै पटक हिमालको कापबाट उदाइरहेको सूर्य हेरेको छु । त्यो ठाउँ मलाई उपद्रै रमाइलो लाग्छ ।


यहाँ आउनुअघि म जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयमा आवद्ध थिएँ । त्यसै सन्दर्भमा मैले भारतस्थित जापानी राजदूतावासमा कार्यरत रहँदा (१९८८-१९९१) दुई पटक नेपाल भ्रमणमा आएको सुखद् अनुभव पनि मसँग छ ।

त्यतिबेला काठमाडौंमा हरियाली थियो । खाली फाँट र लहलह परेका धानबाली हेर्दा रमाइलो लाग्थ्यो । अहिले त काठमाडौं प्रदूषित भयो । सन् ७० को दशकतिर जापान पनि यस्तै फोहोर थियो । हामीले प्रदूषणलाई हटायौं । जापान पहिलेभन्दा निकै सफा छ, यद्यपि चुनौतीहरु अझै पनि छन् । मलाई लाग्छ, काठमाडौंले आफ्नो दूषित धूँवालाई हटाउन जापानी अनुभवबाट सिक्न सक्छ । वातावरण सफा राख्ने उपायहरु छन् । यो हामीले भुल्नु हुँदैन ।

मलाई हरियाली मन पर्छ । मेरो कामको प्रकृतिले गर्दा नै होला, यहाँको तरकारी तथा फलफूलप्रति मेरो गहिरो अभिरुची छ । बाटोमा हिँड्दा होस् वा स्थानीय बजार डुल्दा यहाँका तरकारी र फलफूलमा मेरा नजर पुगिहाल्छन् ।


यहाँले अभिवादन गर्दा जहिल्यै नेपालीमा नमस्ते भनेको सुनेको छु । त्यसबाहेक अरु पनि नेपाली जान्नु हुन्छ कि ?

एकजना राम्रो जापानिज जानेको नेपालीसँग म र मेरी पत्नी एरिको हरेक आइतबार नेपाली सिक्छौं । केही प्रशंसा गर्न प्रयोग हुने शब्दहरु म भन्न सक्छु । तर, अंग्रेजीको एउटै अक्षर 'डि' नेपालीमा चार थरी अक्षरहरु (द, ध, ड र ढ) लाई जनाउन प्रयोग हुने रहेछ, यो सुन्दा म त चकित परेँ । अर्को कुरा, नेपालीमा आधा अक्षरहरु पनि हुने रहेछन् अनि अक्षरको खुट्टा पनि काटिँदो रहेछ ! कस्तो रमाइलो ! भाषा सिक्नुको अप्ठेरो र यसको काइदा थाहा पाउनुको मज्जाले मलाई एकै पटक गिजोल्न आउँछ ।

जापानी भाषा सजिलो छ ?

पक्कै ! यो सिक्न नेपालीजस्तो गाह्रो व्याकरण जानिराख्नु पर्दैन । त्यसैले अलिकति मिहेनत गरे जापानी भाषा बोल्न सकिन्छ । तर, समस्या के छ भने, यसका ३ हजार जति वर्णहरु छन् जसलाई खान्जी भनिन्छ । कुनै समय मलाई सबै यो लेख्न आउँथ्यो, अब त पढ्न मात्रै सक्छु । तर, मिहेनतै गर्ने हो भने लेख्न यो पनि सकिन्छ । जस्तो कि, मेरा एक जना सहकर्मी नेपाली हरेक दिन पाँच वटा नयाँ खान्जी सिक्ने गर्थे । केही वर्षमै उनी यसमा पोख्त भइहाले । अर्को कुरा, जापानी भाषा चित्रमय भएकाले हेर्दैमा के भन्न खोजेको हो भन्ने अर्थ लगाउन सकिन्छ । जस्तो कि, माछा लेख्नु पर्‍यो भने जापानीमा माछाकै जस्तो चित्र भएको अक्षर छ । त्यसले गर्दा पढ्न सजिलो हुन्छ ।

नेपाली गीतहरु पनि सुन्नु हुन्छ कि ?

किन नसुन्नु र ! म युटुवमा बेलाबेला नेपाली गीत बजाइरहन्छु । शब्द नबुझे पनि गज्जबका बाजा र मज्जाको नाच हेरेर दङ्ग पर्छु ।


माउन्टेट फ्लाइटमा जानु भएको छ ?

अस्ती अप्रिलको अन्ततिर जापानबाट केही पाहुना आएका थिए । तिनका साथ म र एरिको माउन्टेट फ्लाइटमा उडेका थियौं । जहाजका क्याप्टेन साह्रै मिजासिला रहेछन्, हामीलाई हिमालका टुप्पा टुप्पासम्म लगेर सबै घुमाए ।

यसअघि एरिकोले चार पटकसम्म यसरी हिमालहरु वरपर उड्ने प्रयास गरेकी थिइन् । तर, हरेक पटक मौसम गडबड भएर हेर्ने समय जुर्दैनथ्यो । यसपटक भने अचम्मैसँग हामीलाई मौसमले साथ थियो । पाहुनाहरुमध्ये जापानकी प्रसिद्ध उपन्यासकार मारिको ह्यासी पनि आउनु भएको थियो । नेपालको सौन्दर्यले उहाँलाई विछट्टै लट्ठ्याएछ । फर्केपछि जापानको एक पत्रिकामा यात्र संस्मरण लेख्नु भएको थियो जसलाई थुप्रै जापानीले मन पराएका छन् ।


राजदूतको रुपमा रहँदा यहाँको स्मरणयोग्य कुनै अनुभव छन् कि ?

अवश्य । केही स्मरणहरू तपाईसँग बाँड्न चाहन्छु । जापानका परराष्ट्रमन्त्री कोनोजीले यही जनवरीमा नेपाल भ्रमण गर्नुभयो, त्यस्तै नेपालका परराष्ट्रमन्त्री ज्ञवालीजी पनि गत नोभेम्बरमा जापान भ्रमणमा जानुभयो र म पनि उहाँसँगै यात्रामा सामेल थिएँ । मलाई विश्वास छ कि यस्ता द्विपक्षीय भ्रमणले हाम्रा संबन्धहरूलाई अझै मजबुत बनाउँदछन् ।


यही मे महिनादेखि जापानमा नयाँ युग 'रेइवा' सुरु भएको छ, जसको अर्थ 'अनुपम सद्भाव' भन्ने हुन्छ, यो पनि अर्को सुखद अनुभव नै हो । पूर्वसम्राटले गद्दीत्यागपश्चात् वर्तमान सम्राट नारुहितोको गद्दीआरोहणसँगै उक्त नयाँ युगको थालनी भएको हो । काठमाडौंमा रहनुहुने थुप्रै नेपाली मित्रहरू तथा कूटनीतिक समुदायहरूले यस विशेष कार्यक्रमलाई हार्दिकतापूर्वक स्वागत गरिदिएकामा हामी आभारी छौं ।


यसबाहेक आगामी सेप्टेम्बर-नोभेम्बरमा जापानमा हुने विश्व रग्वी च्याम्पियनसिप १०१९को प्रवर्द्धन गर्ने उद्देश्यले यस खेलको ट्रफी गत डिसेम्बरमा नेपाल ल्याइएको थियो, जुन कुरा मैले सोचेकै थिइनँ । रग्वी खेलप्रेमीका नाताले मेरा लागि यो अर्को अविस्मरणीय क्षण रहन गयो । विश्वकप रग्वीपछि २०२० को ओलम्पिक तथा पारालम्पिक खेल पनि जापानको टोकियो सहरले आयोजाना गर्दैछ ।


विश्वको सर्वोच्च शिखर रहेको मुलुकमा हुनुहुन्छ, कहिलेकाहिँ सगरमाथा चढौं झैं लाग्दैन ?

आहा ! त्यहाँ पुग्न पाए साँच्चै बहुमूल्य अनुभव हुँदो हो । मैले सुनेअनुसार सगरमाथामा निकै लामो लाइन लागेको थियो रे । हुनसक्छ, त्यो लाइन सकिएपछि आधार शिविरको फोहोर बटुल्न एकचोटि जाऊँ कि !


तपाईंको मनपर्ने नेपाली खाना के हो र त्यो कत्तिको खाने गर्नुहुन्छ ?

मलाई दाल-भात एकदमै मनपर्छ । जुन आम नेपालीको आधारभूत खाना हो । यो हामी जापानीहरूको आधारभूत खानासँग पनि मिल्दोजुल्दो छ- भात, तोफुको सुप, अलिकति मासु, माछा वा तरकारी, भलै नेपाली खाना अलि मसलेदार हुन्छ । नेपाली ढिँडो र तरकारी पनि मीठो लाग्छ । जापानमा पनि फापरको ढिँडो लोकप्रिय छ, अझ फापरको थुक्पा (सोवा) त जापानको परम्परा नै बनिसकेको छ, जसलाई माछाको धूलो र सोया-ससमा भिजाएर खाइन्छ ।


नेपाल भ्रमण गर्ने थुप्रै जापानी पर्यटकहरू झैं तपाईले पनि नेपाली टोपी लगाएर आफूलाई ऐनामा हेर्नुभएको छ ? छ भने त्यसबेला कस्तो महसुस गर्नुभयो ?

मेरो भतिजाको बिहेमा मैले नेपाली टोपी लगाएर काठमाडौंबाट स्काइपमार्फत टोष्टको प्रस्ताव गरें । त्यसबेला कुनै औपचारिक नेपाली पहिरन लगाउने मेरो चाहनामा टोपी एउटा राम्रो छनोट हुन गयो, जुन नेपाली साथीहरूसँग घुलमिल हुने राम्रो अवसर पनि भयो । विवाह समारोहमा उपस्थित सबैले मेरो टोपीको प्रशंसा गरेका थिए ।


नेपाल र नेपालीका बारेमा तपाईंलाई सबभन्दा धेरै मनपर्ने के कुरा हो ?

मलाई नेपाली खाना, यहाँका जनता, उनीहरूको मित्रता र आत्मियता असाध्यै मनपर्छ । नेपालीसँग मित्रता गाँस्नु ठूलो कुरा भएकाले धेरैभन्दा धेरै मित्र बनाउन चाहन्छु । यहाँ कसै न कसैले तपाईंको बारेमा मनन गरिरहेकै हुन्छ, जुन मित्रता र पारिवारिकताको महान् नेपालीपन हो ।


तपाईलाई सबभन्दा मनपपर्ने ठाउँ ?

म एरिकोसँगै लुक्ला र सराङ्कोट गएको छु, जहाँ सूर्यको किरणसँगै सुन्दर हिमाली पर्वतहरूले आफ्नो रंग घरिघरि बदलिरहेका हुन्छन् । उक्त क्षणहरू हाम्रा लागि अविस्मरणीय हुन्छन् ।


हालसम्म नेपालका कतिवटा सहर घुम्नुभएको छ ?

काठमाडौं बाहिरका त्यस्तै ७-८ वटा सहरहरू घुमें होला । र, अझै पनि अरू थुप्रै सहर घुम्ने इच्छा छ ।

काठमाडौंमा तपाईलाई सबभन्दा मनपर्ने जमघटस्थल कुन हो ?

हाम्रो दूतावास नजिकै, लाजिम्पाटको एम्बेसेडर होटेलमा रहेको कोतेचु जापानी रेस्टुरेन्ट मेरो छनोटमा पर्ने ठाउँ हो । परम्परागत जापानी खाना 'वासोकु' लाई युनेस्कोले २०१३मा विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गरेको छ । यसलाई हामी विश्वभरि नै प्रवर्द्धन गर्न सहयोग गर्दछौं ।

तपाईको मुलुकमा नेपाललाई कसरी चिनिन्छ ?

अवश्य पनि यहाँको अद्भूत प्रकृति, पहाड, इतिहास, संस्कृति र विशेषत: विश्व सम्पदा क्षेत्रहरू तथा बुद्धको जन्मस्थल लुम्बिनीको मुलुक भनेर चिनिन्छ ।

परम्परागतरुपमा हामीबीच राम्रो सम्बन्ध छ । नेपाली संस्कृति, हिमाल र लुम्बिनी जापानीले मन पराउँछन् ।

भविष्यमा नेपाल र जापानबीच हुनसक्ने आपसी सहयोगका क्षेत्रहरू के के हुन सक्लान् ?

सन् १९५६ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएसँगै विगत ६ दशकदेखि जापान र नेपाल असल साझेदारका रुपमा रहँदै आएका छन् । दुई मुलुकका विदेशमन्त्री बीचका भ्रमण आदान-प्रदान तथा 'निर्दिष्ट दक्ष कामदार' अवधारणापत्र जारी भएपश्चात् द्विपक्षीय सम्बन्ध थप मजबुत भएको छ । यही जुलाइदेखि सुरु हुन लागेको नेपाल वायुसेवाको काठमाडौं ओसाका सिधा उडानको सफलताको कामना गर्न चाहन्छु ।


नेपालको एक अशल तथा सच्चा मित्रका नाताले 'समृद्ध नेपाल, सुखी नेपाली' भन्ने नेपाली नारालाई कार्यान्वयनमा ल्याउन जापान हातमा हात मिलाएर आर्थिक, गुणस्तरीय र प्राविधिक सहायता तथा लगानी वृद्धि आदिबाट सहकार्य गर्न चाहन्छ ।


दुई देशबीच जनस्तरीय सम्बन्ध अभिवृद्धिमा कूटनीतिको के भूमिका हुन्छ ?

मेरो विचारमा कुटनीति भनेकै दुई मुलुकबीचको मित्रता हो । यदि हामी हाम्रा विचार र बुझाइहरू एक-आपसमा बाँडीचुँडी गर्छौं भने यो संसार नै समुन्नत हुनेछ । त्यसमा पनि युवाहरू मुलुकका भविष्य भएकाले उनीहरूबीचको आपसी आदान-प्रदान झनै महत्वपूर्ण हुन जान्छ । काठमाडौं र ओसाकाबीच जुलाइदेखि सिधा हवाइसम्पर्क स्थापना हुँदैछ । हप्ताको तीन दिन नेपाल वायुसेवा निगमको जाहाज ओसाका-काठमाडौं गर्दैछ । यसले अब दुई देशबीचको जनसम्पर्कलाई बाक्लो पार्ने आसा मलाई छ ।

जापानमा ८५ हजार नेपाली छन् जो त्यहाँ उपस्थित पाँचौं ठूलो आप्रवासी संख्या हो । दुई देशबीच श्रम सम्झौता भएको छ र अब जापानमा धेरै युवाहरु रोजगारीका लागि पनि जाँदैछन् । त्यसले गर्दा यो संख्यामा अझै वृद्धि हुनेछ । तर, नेपालमा चाहिँ जम्मा १ हजार ७ सय जापानी बसोबास गर्छन् जसमा म पनि पर्छु । मलाई लाग्छ, सिधा हवाइ सम्पर्कले जापानी पर्यटक र यहाँ कामका सिलसिलामा बस्न आउने मानिसहरुमा वृद्धि हुनेछ ।

लगानी सम्मेलनले केही सकारात्मक संकेत जापानमा पठाएको छ । भौतिक पूर्वाधारलाई अलिक सुधार गर्ने हो भने नेपालमा जापानका उद्योगपतीहरु लगानी गर्न इच्छुक छन् ।


प्रकाशित : जेष्ठ २४, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?