कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कृषि, क्रिकेट र ब्यारेक

कमलजङ्ग कुँवर

क्रिकेटको विश्वकप चलिरहेको छ । सन् १९९२ को विश्वकप क्रिकेट हुँदा म वन विज्ञान अध्ययन संस्थानमा स्नातक अध्ययन गर्दै थिएँ । क्रिकेट नबुझे पनि साथीहरूसँग मैले पनि क्रिकेट खेल हेर्न थालेंँ । हेर्दाहेर्दै क्रिकेटबारे बुझ्न थालेंँ अनि हेर्ने बानी लाग्यो । अहिले चितवनमा विश्वस्तरकै सुविधा सम्पन्न क्रिकेट रंगशाला बन्न सुरु भएको छ । भोलि विश्वका ठूला खेल यही रंगशालामा भइदिए !

कृषि, क्रिकेट र ब्यारेक

चितवन र क्रिकेट खेलको सम्बन्ध घनिष्ट छ । गैँडा संरक्षणका लागि चितवन विश्वमै प्रख्यात छ, क्रिकेट संघको लोगोमा पनि गैँडा छ । चितवनमा रंगशाला निर्माण अहिले सञ्चार माध्यम र सामाजिक सञ्जालमा ठूलो बहसको विषय बनेको छ ।


म पढेको गौरीशंकर माध्यमिक विद्यालयमा कृषि विषय पठन–पाठन हुन्थ्यो । २०३० को दशकमा म सानो कक्षामा पढ्थेंँ । त्यतिबेला लुम्ले कृषि केन्द्र र मालेपाटनको वागवानी केन्द्रमा कृषि र वागवानीबारे बुझाउन शैक्षिक भ्रमणमा लगिन्थ्यो । हिँडेरै पुग्न सकिन्थ्यो, त्यहाँ । पशु सम्बन्धी ज्ञानका लागि मझेरीपाटनको भेँडीफारममा लगिन्थ्यो ।


अलि ठूलो कक्षामा पुगेपछि तनहुँ, खैरेनीटारको कृषि फारममा लगिन्थ्यो । कास्की र वरपरका अरु जिल्लाका विद्यालयबाट शैक्षिक भ्रमणको रोजाइमा पनि अक्सर यिनै स्थान पर्थे । बच्चामा वागवानी, कृषि, पशुफारम घुम्न पाउँदा अलौकिक आनन्दको अनुभूति हुन्थ्यो । वन विज्ञानमा प्रविणता प्रमाणपत्र तह पहिलो वर्षमा कृषि विषय पढ्नुपर्छ । २०४५ सालमा क्याम्पसले रामपुरको कृषि क्याम्पसस्थित नमुना परीक्षणस्थलमा शैक्षिक भ्रमण गराएको स्मरण ताजै छ ।


मैले वागवानीबारे ज्ञान हासिल गरेको मालेपाटनमा द्वन्द्वकालमा सशस्त्र प्रहरी बलको गण बस्यो । मान्छेलाई जीवन दिने फलफूलको अध्ययन तथा अवलोकन गर्ने उक्त थलोमा अहिले मान्छेको जीवन सिध्याउने गोलाबारुद राख्ने कोत, पड्काउने मानिस बस्ने व्यारेक र पेट्रोल पम्प आसिन छन् । मेरो घर जाने बाटैमा पर्ने त्यो ठाउँ पुग्दा जहिल्यै मेरो मन अमिलो हुन्छ । नाम कहलाएको वागवानी केन्द्र किन अर्कै प्रयोजनको रोजाइमा पर्‍यो होला भनेर ।


वन विज्ञान पढ्दा अन्डा सस्तो पाइने भेँडीफारमसम्म हिँडेर जान्थ्यौँ । त्यहाँको केही जग्गामा समेत अहिले सशस्त्र प्रहरी बलको गण रहेछ । सडकबाटै देखिने खैरेनीटारको कृषि अनुसन्धान केन्द्रमा द्वन्द्वकालमै नेपाली सेनाको बाहिनी राखियो । कृषिप्रधान देशमा कृषिकै अध्ययन, अनुसन्धान हुनुपर्ने ठाउँमा किन ब्यारेक राख्नका लागि पटक–पटक हस्तक्षेप हुन्छ, सोचनीय विषय छ ।


अहिले फेरि कृषि–वन विश्वविद्यालय रामपुरको जग्गामा कृषिको अध्ययन–अनुसन्धान हुनुपर्ने ठाउँमा क्रिकेटको रंगशाला बन्ने भयो । यसको चर्चा चलेदेखि नै मलाई खल्लो लागेको थियो, अर्कै ठाउँमा बनाए पनि हुन्थ्यो नि भनेर । कृषि अध्ययन–अनुसन्धान गर्ने ठाउँमा व्यारेक र रंगशाला, अन्न उत्पादन गर्ने ठाउँमा कंक्रिटको जंगल, चुरे विनाशबाट तराईको उर्वर कृषि भूमिको मरुभूमिकरण भएको देख्दा लाग्छ– यो देशमा के हुनलाग्यो ? रंगशाला बनाउन जरुरी छ, तर यसका लागि फलफूल, अन्नपातको अनुसन्धान गर्ने ठाउँ नै रोज्नुपरेको हो ?


हामी भौतिक विकासले पछि छौं । खानका लागि प्रशस्त अन्न छैन । देशमा जबर्जस्ती युद्ध थुपार्ने र हतियारको व्यापार गर्ने खेलमा हामीले कतै हतियार खरिद र व्यारेक निर्माणका लागि अर्बौं खर्च गरेका त छैनौं ? भोलि हतियार किन्दा र विदेशबाट खानेकुराका आयात गर्दा बजेट सकिएर देशै टाट उल्टिने त होइन ? डल्ला फ्याँक्न र गोला पड्काउने शक्ति आर्जन गर्न पनि अन्नपात, फलफूल त चाहिन्छ नै । भोको पेटले डल्ला फ्याँक्न र गोला पड्काउन सक्दैन होला ।


रंगशालाको नामकरणको पनि चर्चा छ । खेल भनेको पनि एक किसिमको वैध ‘युद्ध’ नै हो । यस्तो ठाउँमा पनि शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको नाममा रंगशालाको नामकरण गर्नु कति सान्दर्भिक होला ? सहर बजारमा बुद्ध मिटसप, बजरंगी माछा पसल राखेको देख्दा पनि मलाई अचम्म लाग्छ ।


सुनेको थिएँ, क्रान्तिपश्चात चीनमा माओको प्रभाव यस्तो रह्यो कि खेलकुद विकासका लागि समिति बनाउने क्रममा अध्यक्षको नाम प्रस्ताव गर्न भन्दा बैठकका सहभागीहरूले अध्यक्ष माओ भनेका थिए रे । माओकालमा चीनमा अध्यक्ष भन्ने बित्तिकै जुनसुकै संघ–संस्थाको नाम पनि माओ भनेजस्तै नेपालमा पनि जस्तोसुकै प्रयोजन होस्, बुद्धकै नाम राख्ने भन्ने विचार आउनु कति उचित हो ?


कलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात् धुर्मुस–सुन्तलीले चाहँदा बस्ती र रंगशाला बनाउने योजना साकार हुन सम्भव छ भने कृषिको विकासका लागि पनि उचित स्थान छनोट गरी अध्ययन–अनुसन्धान गर्ने ठाउँ बनाउनसकेमा सबैको हित हुनसक्छ ।

कृषि अध्ययन–अनुसन्धान हुने ठाउँमा सेना र प्रहरीका व्यारेक बस्दै जाने र रंगशाला बन्न थाल्ने हो भने कृषिप्रधान देशको हालत के होला ?


कृषि अनुसन्धान र उत्पादन बढाउने कार्यक्रम अगाडि बढाउन र गोलाबारुदको आयात र प्रयोग न्यून गर्नसके मात्र बुद्ध जन्मेको देशले विश्व समुदायलाई दिने सन्देशको सार्थकता होला । क्रिकेट रंगशालाका लागि जग्गा खरिद गर्ने पैसाको जोहो गर्नसक्ने सामर्थ्य राख्ने धुर्मुस–सुन्तलीजीलाई मेरो विनम्रतापूर्वक अनुरोध— क्रिकेट रंगशाला चितवनमै बन्नुपर्छ, तर कि अर्को जग्गामा कित कृषि अनुसन्धानचाहिँ अर्को जग्गामा ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?