रुन मन लागे पढ्नुस् गणित !

दीपक बस्याल

काठमाडौँ — केही समयअघि मेरो फेसबुक फिडमा एउटा मिम देखापर्‍यो । एक प्रश्नकर्ताले ‘मलाई किताब पढेर निदाउन मनलागेको छ, कुन किताब पढ्ने होला ?’ भनेर सोधेको छ । उत्तर दिनेले फिजिकल केमेस्ट्रीको किताबको चित्र देखाउँदै ‘यो किताब पढेर दुई मिनेटभित्र निद्रा लागेन भने त्यसको ग्यारेन्टी मैले लिने भएँ’ भनेको छ । भलै यो एउटा ठट्टा हो, तर यसले आजको समग्र शिक्षा प्रणालीले ग्रहण गर्न मिल्ने अनेक सन्देश पनि बोकेको छ ।

मसँग चाहिँ कसैले ‘पढेर रुन मन लाग्ने किताब’ को सिफारिस खोज्यो भने सुझाव हुन्छ— ‘गणित किताब पढ्नू । तर त्यो गणित किताब नेपालमै नेपालीले नेपालीलाई पढाउन अंग्रेजीमा लेखिएको चाहिँ हुनुपर्छ ।’

किन र कसरी यी किताबले तपाईंलाई रुन बाध्य पार्छन् त ! त्यसको निर्मम समीक्षा गर्नु आवश्यक छ । केही दिनअघि त्रिभुवन विश्वविद्यालयका गणित प्राध्यापकले एउटा अन्तर्वार्तामा वर्तमान समयमा नेपालमा प्रकाशित धेरै गणित पुस्तक ‘चोरी गरिएका हुन्’ भनेका थिए । गणित पढेर र पढाएर जीवनको आधाउधी समय बिताएका प्राध्यापकको यो अभिव्यक्तिले गणित शिक्षाको वर्तमान अवस्थाबारे खासै सकारात्मक सन्देश बोल्दैन ।

मयूरको शिखाजस्तै र नागको मणिजस्तै छ– वेदाङ्ग (शिक्षा, कल्प, व्याकरण, छन्द, निरुक्त र ज्योतिष) मा सर्वश्रेष्ठ गणितशास्त्र हो भनेर वेदाङ्ग ज्योतिषमा भनिएको छ । हिन्दु गणितको इतिहास पल्टाउँदा गणित आफैमा छुट्टै शास्त्रभन्दा पनि ज्योतिष र खगोल शास्त्र संँगसँंगै हुर्किएको देखिन्छ । परापूर्वकालमा वस्तुभाउको गणना गर्ने तरिकादेखि आजको सुपर कम्प्युटरले गर्ने कामसम्म सबै विज्ञानकी रानी भनेर मानिने गणितशास्त्रकै छत्रछायामा हुर्किएका हुन् ।

नेपालमा सात सालको परिवर्तन हुँदा स्कुल र गणित पुस्तक केही सय हाराहारीमै थिए । सन् १९९० मा विद्यालय र विद्यार्थीको संख्यामा गुणात्मक बढोत्तरीसँंगै पुस्तकहरूको संख्यामा पनि वृद्धि भयो । सन् १९७१ मा राष्ट्रिय पाठ्यक्रम लेखिएपछि गणितका पुस्तकहरू पाठ्यक्रमले निर्देश गरे अनुरूप लेखिन थाले ।

सन् ९० को दशकमा निजी विद्यालयको आगमनसँगै अंग्रेजी माध्यममा लेखिएका गणित पुस्तकको माग बढ्न थाल्यो । पैसा र प्रतिष्ठा कमाउने रहरले हो वा लेखक बन्ने, देशको शिक्षा विकासमा एउटा इँटा थप्ने वा आफैले लेखेको पुस्तक पढाउने रहरले, अहिले नेपालमा अंग्रेजी भाषाका गणित पुस्तक लेख्नेहरू सयौँ होलान् भन्ने अनुमान पाठ्यक्रम विकास केन्द्रका बुलेटिनबाट अनुमान गर्न सकिन्छ ।

सन् १८८३–८४ तिर नेपाली भाषामा गणितको पहिलो पुस्तक ‘व्यक्तचन्द्रिका’ लेख्दै गर्दा लेखक गोपाल पाँडेले भनेका थिए— ‘गोर्खालीलाई गणित आउँदो रहेनछ भनेर दुनियाँले नभनुन् भनेर पर्वतीय भाषामा व्यक्तगणित बनाएको हो ।’ करिब दुई शताब्दी अगाडिको गोपाल पाँडेको त्यो चिन्ता आज गणितका किताब लेख्दै गरेका लेखक पुस्तालाई एउटा प्रेरणा हुन सक्छ नै, तर त्योभन्दा बढी लेखकले ‘के मेरो पुस्तकले अन्तर्राष्ट्रिय गुणस्तर, राष्ट्रिय पाठ्यक्रमले मागेअनुरूप मापदण्ड र स्थानीय आवश्यकतालाई सम्बोधन गर्न सकेको छ’ भनेर आफैंलाई प्रश्न गर्नु हो ।

सन् ९० को दशकमै सरकारी विद्यालय पढ्दै गर्दा म नेपाली भाषामै लेखिएको गणित पुस्तक पढ्थेंँ । गृहकार्यको बोझ यस्तो हुन्थ्यो, खेल्ने र सुत्ने समयको कटौतीबिना भ्याउन सम्भव हुँदैनथ्यो । फेरि घरका टन्नै गाईवस्तुका लागि डोको–नाम्लो बोकेर घाँस काट्न जानुपर्थ्यो । बरु सजिलो स्कुलमा सरले ‘हात थाप् अल्छी’ भन्दा हात थापिदिन नै हुन्थ्यो ।

आखिर त्यो सबै केका लागि त ? के त्यति धेरै गृहकार्य जरुरी थियो ? पिटाइ जरुरी थियो ? गृहकार्य गर्नेहरूले नै आज प्रगति अथवा असल नागरिक बनेर जीवन व्यतीत गरेका छन् ? त्यो प्रश्न अब त्यो निमुखा शिक्षकलाई मात्रै होइन, बरु अझै पनि उही खालको पाठ्यक्रम र मूल्यांकन विधि बनाउने नीति निर्माता, पाठ्यक्रम निर्माता अनि पाठ्य–पुस्तक लेखकहरूलाई सोधिनुपर्छ ।

अहिले यी प्रश्नले घोच्दै गर्दा, नेपालको विद्यालयमा पढाइ हुने पुस्तकहरू फेरि एकपटक अध्ययन गर्ने मौका मिल्यो, अनुसन्धाताका रूपमा । विद्यार्थी हुँदा नबुझेका गणितका सूत्रहरू अचेल केही बुझिएको छ । विद्यार्थी हुँदा नदेखिएको पुस्तकको गल्ती आज केही देखिएको छ । त्योभन्दा पनि सिक्नु र सिकाउनु एउटा प्रक्रिया हो, सबैको सिकाइको रफ्तार फरक–फरक हुन्छ भन्ने कुरा पढ्न पाइएको छ ।

गल्ती नगरेर होइन, गल्तीबाटै दीर्घकालीन सिकाइ हुने कुरो न्युरोसाइन्सले बताएको छ भन्ने जान्न पाइएको छ । समस्या के भने त्यसो हुँदाहुँदै पनि पुस्तक लेखिने, परीक्षा लिने, गृहकार्य गर्ने–गराउने, पिट्ने–पिटाउने चलन र घोक्ने–घोकाउने हाम्रो चलन पुरानो भएको छैन । अनुसन्धान र नयाँ पाठ्यक्रमले पनि हाम्रा पुस्तकहरूले आधुनिक सिकाइ सिद्धान्तलाई आत्मसात् नगरेको, पाठ्यक्रमले सपना देखेजस्तो स्थानीय आवश्यकता र सामग्रीमा आधारित गणित प्रश्न समावेश नगरेको, गाह्रा तर घोक्नै प्रेरित गर्ने प्रश्न सोध्ने गरेको, सिर्जनात्मक हुने वातावरण बनाउन नसकेको यथार्थ घामजत्तिकै छर्लंग छ ।

गणित पुस्तकहरूमा भाषागत र तथ्यगत त्रुटिहरूको आधिक्य रहेको, गृहकार्य गर्दा सोच्न नपर्ने तर सार्नपर्ने कामलाई प्रेरित गरेको, लगभग सबै (९९ प्रतिशत) प्रश्नको संज्ञानात्मक माग (कग्निटिभ डिमान्ड) निम्नस्तरको भएको, गणितको प्रायोगिक पक्षलाई उजागर नगरिएको, प्रविधिको प्रयोग गर्न स्थान नदिएको, विद्यार्थीलाई प्रेरणा दिन सक्ने प्रसङ्ग (ऐतिहासिक र वर्तमान प्रगति) नभएको, चित्रग्राफ र टेबलको न्यून प्रयोग गरिएको र भएका यस्ता सामग्रीको पनि उपयुक्त प्रयोग नगरिएको, सामाजिक–राजनीतिक चेतलाई सघाउने यथेष्ठ सामग्री नराखिएको, पठन सामग्रीको सिलसिलाको औचित्य प्रस्ट नभएको हाम्रो अध्ययनबाट भेटिएको छ । आफैमा अंग्रेजी भाषामा लेखिएको पुस्तकले कुनै अर्को विदेशी भाषाकै रूपमा प्रस्तुत गरिदिँदा गणित आफैमा निरस विषय बनेको छ ।
हाम्रै जस्तो राष्ट्रिय पाठ्यक्रम हुने दक्षिण कोरियाको उदाहरण हेरौँ ।

प्राध्यापक तथा शिक्षकहरूको संलग्नता र वर्षौंको मिहेनतबाट बनेको पुस्तकले त्यहाँ तीन तहको परीक्षा पास गर्नुपर्ने हुन्छ । पहिलो परीक्षा सतही तर पछिल्ला दुई परीक्षा भने निर्मम हुने गर्छन् । विषयविज्ञ संलग्न तीनै परीक्षा उत्तीर्ण गरिसकेपछि पुस्तक लेखकले शिक्षण सहयोगी सामग्रीहरूको ड्राफ्ट पेस गर्नुपर्ने हुन्छ । ड्राफ्ट पास भयो भनेमात्र पुस्तकहरूले प्रकाशनको अनुमति पाउँछन् । तर दक्षिण कोरियाका प्राथमिक स्तरका पुस्तकहरू भने या त विश्वविद्यालयले अथवा कुनै अनुसन्धान गर्ने संस्थाले लेख्ने जिम्मा पाएको हुन्छ । जोकसैले चाहँदैमा लेख्न पाउँदैन ।

हाम्रामा आखिर किन यति धेरै गल्ती हुने पुस्तकहरू पनि पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेर पठाउँछ ? के स्वीकृत गर्ने प्रकिया नाम मात्रको हो ? होइन भने सामान्य एकपटक प्रुफरिड गरेर हटाउन सकिने, तर विद्यार्थीले पढ्दा त्यसले गलत अवधारणाहरू अवलम्बन गरेर दीर्घकालसम्म असर गर्नसक्ने खालका त्रुटिसम्म नदेख्ने विषयविज्ञ कसरी हुन्छ ? विषयविज्ञको योग्यता र क्षमतामा प्रश्न गर्नुपर्छ । जसरी त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समयमा विद्यावारिधि समकक्षता बाँडिएको छ, त्यसबाट भविष्यमा निम्त्याउने भनेको यस्तै खालका विज्ञ अनि रुवाउने पुस्तकहरूको बाढी नै हो ।

त्यसो त पर्याप्त पूर्वाधार, शिक्षकको मैत्रीपूर्ण व्यवहार, रचनात्मक सिकाइ शैलीबाटै सिक्ने–सिकाउने प्रक्रिया सहज र उत्पादक हुने हो । पुस्तकको प्रयोग कक्षाकोठामा आइपुग्दा कसरी गरिन्छ–गराइन्छ भन्ने पनि अध्ययनकै विषय हो । तर पनि पुस्तक एउटा प्रस्थानविन्दु, शिक्षकको नोटको आधार, गृहकार्य, सूत्रहरू आदिको पोको भएका कारण यसको गुणस्तरले समग्र शिक्षाको प्रगतिमा ठूलो भूमिका खेल्छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०७:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मिनिस्टर

विमल निभा

काठमाडौँ — '१'‘म म्मी–मम्मी ।’‘के सोमान बाबु ?’‘यता आउनोस् त ।’‘के भयो ?’‘भित्र कोही छ, मम्मी ।’ ‘कहाँ बाबु ?’‘किचेनमा मम्मी ।’‘को छ, किचेनमा ?’‘चोर हो, मम्मी ।’

‘होइन होला बाबु ।’
‘घारघार–घुरघुर गरिरहेको छ, मम्मी ।’
‘हो र ?’
‘अघिदेखि नै साउन्ड आइरहेको छ ।’
‘मिनिस्टर होला बाबु ।’

'२'
‘सोनाली मेडम, सोनाली मेडम ।’
‘के राममाया ?’
‘सोनाली मेडम, यो त भएन नि !’
‘के भयो राममाया ?’
‘यो के गर्नुभएको हो ?’
‘किन, के भयो ?’
‘हाम्रो कुखुरालाई यस्तो गर्नुभयो त मेडम ?’
‘होइन, के भन्न खोजेकी राममाया ?’
‘आज पनि हाम्रो कुखुराको चल्ला हरायो ।’
‘यसमा म के गर्न सक्छु, राममाया ?’
‘यो के भन्नुभएको मेडम ?’
‘होइन, प्रस्टसँग भन राममाया ।’
‘हाम्रो कुखुरा हराएको प्रस्ट छ नि मेडम ।’
‘कसरी हरायो राममाया ?’
‘कसरी नि, मिनिस्टरले ।’

'३'
‘मम्मी–मम्मी ।’
‘के छोरी ?’
‘मेरो नयाँ स्कार्फ देख्नुभयो ?’
‘अहँ देखिनँ, के भयो ?’
‘नयाँ स्कार्फ देख्दिन, मेरो रातो फ्रक पनि च्यातिएको छ मम्मी ।’
‘होइन, के भइरहेको हो यो ?’
‘के भइरहेको भन्ने मम्मी ?’
‘त्यही त, के भइरहेको हो यो ?’
‘मम्मीलाई थाहै छ नि !’
‘मिनिस्टरले गरेको हो छोरी ?’
‘त्यसैले त होला नि !’
‘यो मिनिस्टर पनि.......।’

'४'
‘प्रोफेसरसाब ।’
‘के डियर ?’
‘अब त अति नै भयो ।’
‘के भयो डियर ?’
‘ड्राइङरुममा जताततै फोहोर छ ।’
‘कसरी फोहोर भयो ?’
‘अस्ति पूजाकोठामा पनि यस्तै फोहोर भएको थियो ।’
‘होइन, कसरी फोहोर भयो त डियर ?’
‘हजुरकै मिनिस्टरले गर्दा नि, अरु कसले ?’
‘मेरो मिनिस्टर कसरी भयो ?’
‘हजुरले नै मिनिस्टर नाउँ राख्नुभएको होइन ?’
‘तर मिनिस्टरलाई आफ्नो बसको घरबाट सानोमै तिमीले ल्याएको होइन डियर ?’
‘हो, तर निकै क्युट छ भनी मिनिस्टर नाउँ हजुरले नै राख्नुभएको हो नि !’
‘त्यो त हो, म त प्राइमिनिस्टर नै राख्न चाहन्थेंँ, तर लामो नाउँ हुने भएकोले मिनिस्टर मात्रै राखियो ।’
‘हजुरको मिनिस्टरले जताततै उधुम मच्चाइरहेको छ ।’
‘के उधुम गर्‍यो, मिनिस्टरले ?’
‘छोरी गिन्नीको फ्रक च्यातिदियो ।’
‘हो र डियर ?’
‘छिमेकी राममायाको कुखुराको चल्ला चोर्ने गरिरहेको छ ।’
‘अब मिनिस्टरलाई यसरी खुला छाड्नु भएन ।’
‘के गर्ने त प्रोफेसरसाब ?’
‘बेसरी बाँधेर राख्नुपर्‍यो ।’
‘सधैंभरि कसरी बाँधेर राख्ने, अनि फेरि हजुरको प्यारो मिनिस्टरलाई ?’
‘तिम्रो पनि त हो नि मिनिस्टर डियर ।’

'५'
‘समात–समात ।’
‘के भयो हँ ?’
‘समात–समात ।’
‘कसलाई समात्ने ?’
‘त्यो बदमास मिनिस्टरलाई ।’
‘के गर्‍यो मिनिस्टरले ?’
‘आज पनि हाम्रो कुखुराको चल्ला मार्‍यो ।’
‘समात–समात ।’
‘भाग्न नपाओस् मिनिस्टर ।’
‘समात–समात ।’
‘फेरि भाग्यो मिनिस्टर ।’
‘समात–समात ।’
‘अब त मिनिस्टरलाई नसमाती छाड्दिन ।’
‘समात–समात ।’
‘म्याउँ–म्याउँ ।’

प्रकाशित : जेष्ठ २५, २०७६ ०७:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT