वंशको वर्ग, नश्लको नालीबेली

राम गुरुङ

काठमाडौँ — १४ औं शताब्दीमा शासकले पेसालाई ब्राह्मण, क्षत्री, वैश्य र शूद्र बनाइदिएपछि रैतीले जातको भारी बोके । मुलुकी ऐन १८५४ मा शुद्ध र अशुद्ध बनाइएको उही जात, १९९० पछि खस–आर्य र जनजाति भए । मजदुर, किसान, व्यापारी र दलितको विभाजन भयो । र भौगोलिक एवं जैविक जनसंख्याको एउटा हिस्सा, वंशप्रधान अर्थ–राजनीतितिर लागे । 

वर्ग बहुआयामिक हुन्छन् । तर हामी जातले नै वर्ग बनायो भन्छौं । अर्थतन्त्र र राजनीति अनुसार बदलिने जात, नश्ल वा वंशजस्तो निरन्तर हुँदैनन् । युरोपमा इन्जिन आविष्कार भएपछि वर्ग पनि गतिशील भयो । मेसिन र प्रविधिको शोषण, बजारीकृत वस्तु, नाफाको सट्टेबाजी र वाणिज्य सञ्जाल वंश नियन्त्रित भए । नेपालमा भने जमिनमाथिको वंशीय बर्चस्व र शिल्पको विकासले वर्ग अस्तित्वमा आयो । तर चल्तीको वर्गीय विश्लेषणमा वंश, पेसा र वर्गको झन्डै ५४० वर्षलामो अन्तरसम्बन्धको हिसाब–किताब भने अद्यापि छुटिरहेको छ ।

वंशीय अर्थराजनीतिक संघर्षले वर्ग जन्मन्छन् । अतः एउटै नश्ल भए पनि सबै वंश शासक र सम्पन्न हुन सक्दैनन् । हल्यान्ड निवासी गोराहरूमध्ये क्यारालिन्जियन वंश सबैभन्दा शक्तिशाली थिए । चौधौं शताब्दीमा वर्गन्डी वंशसँग पराजित यो वंशले पश्चिम युरोपभर साम्राज्य गर्‍यो ।

सन् १६६७ मा ब्रिटिस अधीनस्थ भएपनि वर्गन्डी वंशको आर्थिक साम्राज्य आज पनि युरोप र अमेरिकाभर प्रभुत्वशाली छ । कन्फुसियस दर्शनले सिंगापुर, ताइवान, हङकङ र दक्षिण कोरिया सम्पन्न भए भनिन्छ । चिनियाँ दार्शनिक कन्फुसियसद्वारा संश्लेषित कन्फुसियस दर्शनमा पनिसाङ, झाउ र हानजस्ता राजवंशीय अर्थराजनीतिक मान्यता थिए । अर्थात् वर्ग जातीय नभई वंशीय अर्थराजनीतिक स्वार्थका विस्तारित रूप र चरित्र हुन् ।

वर्गको मुहान
समाजसँगै वर्गको धार, बनोट र चरित्र पनि बदलिन्छन् । यसरी १४ औं शताब्दीदेखिको समाज र अर्थतन्त्र केलाउँदा नेपाली वर्गका ४ मुख्य मुहान भेटिन्छन् ।

पहिलो, शासकीय प्रभुत्व । जयस्थिति मल्लद्वारा १३७४ मा भोट पराजित भएपछि काठमाडौ–तिब्बतबीच नयाँ वाणिज्य सन्धि भयो । ढुवानी कठिन भएपछिप्रताप मल्लले १६५० मा उक्त सन्धि हेरफेर गरे । यसले कुलिन शासकको सुनचाँदीको मौजदात बढ्नगई अर्थराजनीतिक हैसियत बढ्यो । १८ औं शताब्दीको मध्यमा राजनीतिक एकीकरणले नेपाल बनाएपछि कुत र अधियाँ बढाउन रैकर जमिन र कुत एवं झाराबेठी पनि थपिए । सीमा विस्तार तथा सुरक्षा र शासन व्यवस्थापनमा खर्चेर बचेको कुत, झाराबेठी प्रथाले नयाँ रैती र कुलिन जन्मिए ।

दोस्रो, भारदारिया राज्यप्रणाली । शासकीय प्रभुत्व बढ्दै जाँदा सुरक्षा प्रशासन फराकिलो भयो । यसबाट राज्यसंयन्त्रका प्रभावशाली विर्ता र जागिरेले थप फाइदा लिए । आर्थिक असमानता गहिरिएर सम्पन्न वर्गीय चरित्र खास वंशको नयाँ पुस्तामा हस्तान्तरण हुनथाले । शासन र सत्ताको संरक्षणमा हुने आर्थिक बाँडचुँडले वर्गीय अर्थतन्त्र संस्थागत भए ।

तेस्रो, वाणिज्य प्रशासन । प्रताप मल्लले काठमाडौं–तिब्बत सन्धि हेरफेर गरेपछि नेवार लगायत व्यापारी कुत असुली गर्ने कुलिन प्रशासक धनाढ्य हुँदै आर्थिक सम्पन्नता एकपछि अर्को वंशमा सर्दै गए । काठमाडौं बाहिर प्रभावशाली वंश आधारित जिम्मावाल जस्ता प्रशासकले तलब बापत पाउने झाराबेठीले उर्वर जमिन कब्जा तीव्र गरेर उब्जनी पनि बढायो । कृषि उत्पादनले बचतको रूप लिन थाल्यो । आर्थिक तथा राजनीतिक बदलाव पनि छिटो–छिटो बदलिए ।

चौथो, किसान एवं रैकर प्रणाली । किसानलाई रैकर जमिनमा सकेजति खेती गर्न छुट थियो । तर धेरै रैकरले कुत र झाराबेठी पनि बढ्ने भएपछि जमिन बढाउनेतर्फ किसान आकर्षित भएनन्, कृषि उत्पादन उस्तै रहे । किसानको आर्थिक, सामाजिक वृत्ति हुन नसक्दा यो चक्र दर्जनौं पुस्तासम्म एकोहोरो चलिरह्यो ।

विस्तार
सन् १७४४ पछि पृथ्वीनारायण शाह तिब्बत–काठमाडौं–भारत वाणिज्यका नाइके भए । काठमाडौं सुदखोर वाणिज्यको केन्द्र बन्यो । राज्यहरू गाभिँदै जाँदा शासकीय सदरमुकाम र प्रभावशाली वंशको प्रशासन पनि थपिँदै गए । सदरमुकाम र वरपरका वाणिज्य र कृषि उत्पादन प्रभावशाली कुलिन वंशका प्रशासक र व्यापारीले नियन्त्रण गरे । सन् १७९३ मा विहारको पुनिया, मधेस हुँदै विलियम कर्कपेट्रिक काठमाडौं आएपछि यो प्रभाव अन्तर्राष्ट्रिय वाणिज्य र सम्बन्धसम्म फैलियो । वंश नियन्त्रित सुदखोर अर्थराजनीति खास वंशको हातमा पुग्यो ।

१५ औं शताब्दीसम्म कल्याल वंश (जुम्ला) मा सीमित निजी सम्पत्तिको प्रचलन, राज्य एकीकरणसँगै अन्त पनि फैलिए । १७६० को दशकबाट विर्ता तथा रैकर जमिनको निजीकरण र किनबेच सुरु भयो । यसले जमिन बर्चस्वशाली खास परिवार र वंशको अधीनमा गयो ।

बसाइँ–सराइ र जमिनको मुद्राजन्य किनबेचले विर्ता र जागिरेहरू साहु बन्न थाले, वर्गका नयाँ रूप र चरित्र देखापर्‍यो । १४ औं शताब्दीदेखिको काठमाडौं ट्रान्जिट, तिब्बत–भारत वाणिज्यले १९ औं शताब्दीसम्म आइपुग्दा जिन्सी कुतप्रथा किनारा लाग्यो । मौद्रिक कुत असुलीले धन सञ्चित बढायो, खर्चिला भौतिक संरचना बन्न थाले । जुम्लाका राजाले कुतबाटै सन् १७५१ मा ९ हजार रुपैयाँ खर्चेर भव्य दरबार नै बनाए । यसले शासकीय उपभोक्ता वर्ग जन्मियो ।

निरन्तरता र गहिराइ
सन् १७४३ मा राजा बन्दा पृथ्वीनारायण शाहलाई २५ प्रतिशत व्याजको भारी ऋण थियो । भारतीय व्यापारीसँग लिइएका कतिपय ऋण वर्षौंसम्म तिरिएका थिएनन् । कम उब्जनी हुने जमिन र थोरै कुतवाला मौजा, कमजोर व्यापारले गर्दा गोरखाली अर्थतन्त्र बलियो थिएन ।

बढ्दो खर्च र ऋणबाट उत्रिन तिब्बत–भारत वाणिज्यमार्ग हत्याउनुको विकल्प नै थिएन । मकवानपुर र नुवाकोटमाथिको जितले काठमाडौं उपत्यका र वाणिज्यमार्ग अधीनमा आयो । राज्य व्यवस्थापनमाठूलो संख्यामा खास वंशका विश्वासिला भारदार र स्थानीय प्रशासक खटाइए । राज्य सुरक्षा र प्रशासकीय जिम्मेवारी एकोहोरो हस्तारण हुँदै जाँदा वंशीय बर्चस्व थप गहिरो भयो ।

विर्ता/जागिरले विशेषाधिकारी प्रशासनको विकास भयो । किसान वा अन्य पेसाधारीहरू रैती भए । मूल अर्थतन्त्र र राजनीति खास वंशले कब्जा गर्‍यो । यिनको वर्ग उत्थान छिटो र अस्वाभाविक झाङ्गियो । केन्द्र र वृत्तको अर्थतन्त्र नै अलग भयो । सन् १६०१ देखि नेपाल पसेको इष्ट इन्डिया कम्पनीका उपभोग्य वस्तुले उपभोग प्रणालीमा कायापलट गरिदियो । उपभोगमा आएको परिवर्तनले परम्परागत वर्गको जग हल्लियो । शासक/प्रशासक र आफन्त विलासी बन्दै गए । उत्पादन, व्यापार र राजनीतिसँग सामान्य मानिसले जोडिने मौका पाएनन् ।

वर्गको घुम्ती
औद्योगिक उत्पादन र अवसरले आधुनिक वर्ग बन्छन् । तर कुत तथा वाणिज्यप्रधान कर प्रणालीले शासक/प्रशासकको ध्यान आर्थिक सुरक्षातर्फ गयो । बाध्यकारी श्रम व्यवस्थाले किसानहरू गर्दा–खाँदाको थातथलोबाट विस्थापित हुनथाले । मूलधारको अर्थतन्त्रमा किसान वा अन्य पेसावालाको स्थायित्व भएन । यिनको आर्थिक तथा राजनीतिक हैसियत निरन्तर खस्किरह्यो ।

सन् १८३१ मा ब्रायन एच. हट्सनले दरबारका मुख्य कर्मचारीमध्ये ५२ जना नेवार र ३४ जना भारतीय व्यापारीका सन्तानलाई आधुनिक शिक्षा खाँचो भएको प्रतिवेदन इष्ट इन्डिया कम्पनीमा बुझाए । भौतिक संरचना र शिक्षाको महत्त्वको कमजोर लेखाजोखा शासकीय अन्तरकलहले गर्दा २३ वर्षपछि इष्ट इन्डिया कम्पनीको सहयोगमा सन् १८५४ मा औपचारिक विद्यालय शिक्षा सुरु भयो ।

शासक, प्रभावशाली प्रशासक एवं धनाढ्य व्यापारीका शिक्षित सन्तानले अर्थराजनीति थप कब्जा गरे । रैतीलाई यसले छोएन । सन् १९५१ मा लोकसेवा आयोग स्थापना नहुन्जेलसम्म प्रशासक/कर्मचारीको नियुक्ति प्रभुत्वशाली प्रशासकको सिफारिस र शासकीय हुकुममा हुन्थे । शिक्षाका कारण नेपालमा नयाँ वर्ग उदायो ।

सन् १९५१ पछि काठमाडौं र काठमाडौं बाहिरका स्थानीय शासक, प्रशासक र व्यापारीका सन्तान पढाउन थप विद्यालय खुले । बदलिएको शैक्षिक हैसियतमा विद्यालय शिक्षक र स्थानीय प्रशासक भएर काम गरे । प्रभावशाली सिफारिस र अख्तियारी दुरुपयोगमा तिनको वर्ग उत्थान हुँदै गयो । सन् १९३६ मा उद्योग स्थापना सुरु भयो ।

उद्योग प्रशासन, खास वंशका पढालेखाहरूले भरिए । उद्योगबाट वैकल्पिक राजनीति जन्मियो । सन् १९५० को राजनीतिक परिवर्तनको योजना र आन्दोलन यिनैको नेतृत्वमा भयो । सत्ता र राजनीति बदलिए पनि अर्थराजनीतिक वंश नियन्त्रण उस्तै छ ।

लेखक रिम इन्टरनेसनल रिसर्च नेटवर्कसँग आबद्ध छन् ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०७:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मूत्रथैलीको क्यान्सर

डा. अर्जुनदेव भट्ट

काठमाडौँ — मूत्रथैलीमा विभिन्न किसिमका अर्बुद रोग लाग्न सक्छ । परिवर्तित कोष क्यान्सर सबैभन्दा बढी देखिने गर्छ । यो मृगौलाको पेल्भिसदेखि मूत्रनलीको दुई तिहाइ ठाउँमध्ये जहाँ पनि देखापर्न सक्छ । सबैभन्दा बढी ९० प्रतिशत मूत्रथैलीमा देखिन्छ । ८ प्रतिशत मृगौलाको पेल्भिस र २ प्रतिशत मूत्रनलीमा पनि देखिन्छ । 

मूत्रथैलीको क्यान्सर पुरुष तथा स्त्री दुबैमादेखिए पनि पुरुषमा ४ गुना बढी हुन्छ । यो रोग सामान्यतया ५० वर्ष नाघेकामा देखापर्छ । तमाखुजन्य पदार्थ सेवन गर्नेमा यो क्यान्सर धेरै गुणा बढी हुन्छ । यो रोग लागेका ५० प्रतिशतभन्दा बढी बिरामी आफूले चुरोट पिउने गरेको स्वीकार्छन् ।

रङ कारखानामा काम गर्ने, फेनासेटिन औषधि अधिक प्रयोग गर्ने तथा विकिरण प्रभावित व्यक्ति पनि यो रोगबाट बढी ग्रस्त हुन्छन् । सिसटोसोमिआसिस भन्ने जुकाबाट हुने रोग, मूत्रथैलीको पत्थरी र केही केमोथेरापीमा प्रयोग हुने औषधि पनि मूत्रथैली क्यान्सरका कारण हुन सक्छन् । खेतीपातीमा प्रयोग हुने विषादीले पनि यस्तो हुनसक्छ । जीन तथा अरू विभिन्न कारणतत्त्वको अनुसन्धानजारी छ ।

प्रकार
मूत्रथैली क्यान्सर ३ प्रकारका हुन्छन् । १) सतही २) मांसपेशीमा लाग्ने ३) स्थलान्तरण गर्ने ।७५ प्रतिशत मूत्रथैली क्यान्सर सतही हुन्छ । यो भित्रसम्म जरो नहाल्ने, नगिचका रक्तनलीहरूसम्म पहुँच नराख्ने र अरु ठाउँ नफैलिने हुन्छ । यस्तो रोग वर्षौंसम्म बारम्बार देखापर्छ तर ज्यानलाई खतरा हुँदैन । यी अर्बुद रुखजस्तो भएर उम्रन्छन् । धेरै ठूलो भएपछि रक्त सञ्चारको कमी महसुस गर्न थालेपछि केही भाग मृत भई झर्ने गर्छ ।

यो क्यान्सरले २० प्रतिशत मांसपेशीमा आक्रमण गर्छ । मांसपेशीभित्र जरा हाल्ने र रक्त सञ्चारलाई छिटो प्रभावित गर्छ । गहिरिँदै जाँदा छोटै समयमा ज्यानै जान सक्ने अवस्था आउन सक्छ । मांसपेशीमा लाग्नमध्ये केही प्रतिशत स्थानान्तरण गर्ने क्यान्सरमा परिणत भई शरीरका विभिन्न भागमा फैलिन्छ ।

लक्षण
बिना पीडा पिसाबमा रगत देखापरे त्यसलाई मूत्रथैली क्यान्सर लक्षणको रूपमा लिएर जाँच गर्नुपर्छ । मूत्र तथा रक्त परीक्षण बाहेक अल्ट्रासोनोग्राफी तथा सिस्टोस्कोपी जाँच गरेर मात्र थैलीमा क्यान्सर भए–नभएको यकिन गर्न सकिन्छ ।

थैलीको क्यान्सर मांसपेशीभित्र घुस्रेको तथा थैली बाहिर फैलिएको थाहा पाउन छातीको एक्सरे, सिटिस्क्यान वा एमआरआई परीक्षण गर्नुपर्ने हुनसक्छ । पिसाबमा अर्बुद कोषिका जाँच गरेर पनि हेर्नुपर्छ । कोखा दुख्ने, ज्वरो आउने, खान मन नहुने तथा तौल घट्ने जस्ता लक्षण प्रायः अर्बुद शरीर भित्रका विभिन्न ठाउँमा फैलिएको अवस्थामा मात्र देखिन्छ ।

उपचार
मूत्रथैली क्यान्सरको कुन अवस्था छ, त्यो अनुरुप नै उपचार गर्नु पर्छ । सतही/मांसपेशीसम्म जरा नहालेको क्यान्सरलाई मूत्रनलीबाट भित्र थैलीमा औजार पुर्‍याएर काटेर निकालिन्छ । त्यस्तो उपचारपछि पनि क्यान्सर फेरि दोहोरिने प्रक्रिया करिब ५० प्रतिशत हुन्छ । त्यसरी दोहोरिँदै आउने क्यान्सरमध्ये ५ देखि २० प्रतिशत मांसपेशीभित्र जरा हाल्ने तथा अरु अङ्गमा फैलिने संभावना हुन्छ ।

सतही प्रकारका क्यान्सरलाई शल्यक्रिया बाहेक दुई अवस्थामा मूत्रथैलीभित्र औषधि हालेर थप उपचार गरिन्छ । बारम्बार पलाएर आउने र धेरै ठाउँमा उम्रेको क्यान्सरलाई सम्भव भए सम्पूर्ण रूपमा काटेपछि बीसीजी हप्तैपिच्छे कम्तीमा ५ हप्ता हालेर थप उपचार गरिन्छ ।

सतहमा फैलिने तर बढी खतरनाक सीआईएस नामका मूत्रथैली क्यान्सर पनि शल्यक्रियापछि मूत्रथैलीभित्र औषधि हालेर तथा विकिरण तरिकाले पूर्ण निको पार्ने प्रयत्न गरिन्छ । यस्तो उपचारपछि बिरामीलाई पहिलो वर्षप्रत्येक ३ महिना, दोस्रो वर्ष ६–६ महिना र त्यसपछि५ वर्षसम्मै वर्षको एकपल्ट सिस्टोस्कोपी गरेर निगरानीमा राख्नुपर्छ ।

मांसपेशीभित्र जरो हाल्ने क्यान्सरलाई मूत्रथैलीको पूर्ण वा आंशिक शल्य विधिबाट निकालेर उपचार सुरु गर्नु पर्छ । पूर्ण लाभ निम्ति क्यान्सरका कोषिकाहरू थैलीबाट बाहिर फैलिएको हुनु हुन्न । शल्यक्रियापछि यस्ता बिरामीलाई विकिरण तथा केमोथेरापी पनि अनिवार्य हुन्छ । शरीरका विभिन्न अङ्गमा फैलिएको मूत्रथैली क्यान्सर केमोथेरापी, शल्य उपचारको उद्देश्य क्यान्सरको लक्षण शमन गरी जीवन लम्व्याउनु हुन्छ ।

निचोड
मूत्रथैलीको क्यान्सर चुरोट खाने पुरुष तथा स्त्री दुबैमा प्रायः ५० वर्षपछिको उमेरमा देखापर्ने रोग हो । अल्ट्रासोनोग्राफी तथा सिस्टोस्कोपी परीक्षणबाट रोगको गम्भीरता थाहा पाउन सकिन्छ । सतही, मांसपेशीभित्र जरा हाल्ने र शरीरका विभिन्न अङ्गमा फैलिने गरी ३ प्रकारका मूत्रथैली क्यान्सर लाग्छ । यीमध्ये कुन प्रकारको क्यान्सर भएको हो यकीन गरी शल्य, केमोथेरापी, इम्युनोथेरापी र विकिरण जस्ता प्रविधिबाट उपचार गरिन्छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०७:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT