गाँजाको पुनर्जागरण

रमेश घिमिरे

गाँजा हरेक मानव सभ्यताको इतिहासमा उच्च महत्त्व दिइएको वनस्पति हो । तर यो निर्दोष औषधीय वनस्पति विश्व राजनीतिको भुँमरीमा परेर पीडित बन्न पुग्यो । कुनै समय गाँजा प्रतिबन्ध गर्न भूमिका खेलेको अमेरिका अहिले बल्ल गाँजा प्रबर्द्धनमा लागेको छ । नेपालले पनि ढिला नगरी गाँजाको गुमेको सम्मान फिर्ता गर्नुपर्छ ।

गाँजामा नशा लगाउने र औषधीको रूपमा उपयोग हुने दुई प्रमुख तत्त्व हुन्छन् । गाँजामा हुने ८० रसायनमध्ये फूलमा हुने क्यान्ना बिडियोल (सीबीडी) र टेट्रा हाइड्रो क्यान्नाबिनोल (टीएचसी) को मात्राको आधारमा अमेरिकामा २ वर्गमा छुट्याइएको छ । गाँजामा टीएचसी ०.३ प्रतिशतभन्दा बढी भए म्यारुवाना र सोभन्दा कम भए हेम्प भनिन्छ । टीएचसीमा औषधीय गुण भए तापनि यसले नशा लगाउने कार्य गर्छ । मदिराले जस्तो गाँजाको नशाले मानिसलाई झैझगडा गर्न प्रोत्साहन गर्दैन ।

हार्वड विश्वविद्यालयमा मेडिकल विषयका प्रोफेसर पिटर ग्रिन्सपोन भन्छन्, ‘क्यान्नाबिसमा हुने रसायन सीबीडीले दुखाइ (पेन), चिन्ता (एन्जाइटी), अनिद्रा (इन्सोमेनिया), मिर्गी (इपिलेप्सी), मनोविकृत (साइकोसिस), अटिजम जस्ता सबै मानसिक रोगमा सबैभन्दा प्रभावकारी औषधीको काम गर्छ ।’

अर्थराइटिस (जोर्नी खिइने) रोगमा गाँजाको तेल सबैभन्दा प्रभावकारी पाइएको छ । सीबीडीले कलेजोलाई बलियो पार्ने रिसर्चबाट देखिएको छ । केही रोगमा सीबीडी सेवनको मात्रा अझै यकिन गर्न बाँकी छ । जनावरहरूमा यसको परीक्षणमा पूर्ण सफलता मिलेको छ । यसको कुनै साइड इफेक्ट हुँदैन ।

अमेरिकामा गाँजाको जीन आलुको बीउमा हालेर आलुमा सीबीडी उत्पादन गरिएको छ । अमेरिकामा टीएचसी कम र सीबीडी ज्यादा उत्पादन हुनेगरी बीउ बनाएर खेती गरिएको छ । त्यस बाहेक गाँजा (हेम्प) बाट बनेका मलम, तेल, चक्की र गैर औषधीय वस्तुसमेत गरी २५ सयभन्दा बढी प्रडक्ट बजारमा छन् । नियन्त्रित रूपमा उत्पादन गरिएको र अनुसन्धानमा धेरै लागत परेको कारण हाल औषधी र अन्य प्रडक्ट महँगा छन् । भविष्यमा गाँजा खेती बढेपछि मूल्य घट्नेछ ।

अमेरिकामा सन् २०१४ मा गाँजाबारे रिसर्च गर्न विश्वविद्यालय र राज्यहरूलाई खुला गरियो । सन् २०१८ मा किसानहरूले राज्य सरकारमा दर्ता भएर मापदण्ड पूरा गरेर सिफारिस गरिएका गाँजाका प्रजाति खेती गर्न खुला गरियो । गाँजा खेती ४६ वटा राज्यले खुला गरिसकेका छन् भने ४ वटा राज्यले खुला गर्न मापदण्ड तर्जुमा गरिसकेका छैनन् । धान, मकै, तरकारीजस्तो खेती गर्न र बिक्री–वितरण गर्न भने खुला गरिएको होइन ।

अमेरिकाले गाँजाको महत्त्वलाई ढिलो गरी स्वीकार गरेको हो । सन् २०१४ अघि गाँजाबारे अनुसन्धान गरी यसका लाभपक्ष उजागर गर्ने कतिपय व्यक्ति अहिले बल्ल जेलमुक्त हुँदैछन् । केही राज्य सरकारले आजभोलि पनि गाँजाको कारोबार गर्नेलाई जेल हालिरहेका छन् । यस अघि नै युरोप र क्यानाडामा गाँजालाई वैध गरेर धेरै प्रडक्टहरू तयार भइसकेका छन् । गाँजाबाट निर्मित अर्बौं डलरका सामान अमेरिकाले क्यानाडाबाट आयात गरिरहेको छ ।

नगदेबालीको रूपमा कपास खेतीलाई प्रबर्द्धन गर्दै आएको अमेरिकी सरकारले अब गाँजालाई प्रबर्द्धन गर्न लागेको छ । गाँजा खेतीबाट किसानको आम्दानी चार गुणा बढ्ने प्रक्षेपण अमेरिकामा गरिएका छन् । अमेरिकामा कपास खेतीबाट किसानले गर्ने आम्दानी गाँजाको फाइबरबाट मात्र हुने अनुमान गरिएको छ । गाँजाको फाइबर निकै बलियो हुनेहुँदा कपडा बनाउन उपयोगी हुन्छ ।
अमेरिकामा सन् १९३७ मा म्यारुवाना कर ऐनले गाँजाको कारोबारलाई प्रतिबन्ध लगाएको थियो ।

मेक्सिकोबाट मानिसहरू त्यतिखेरदेखि नै अमेरिकामा घुस्ने र बसोबास गर्ने गर्थे । अमेरिकामा गाँजालाई क्यान्नाबिस भनिन्थ्यो भने मेक्सिकोमा म्यारुवाना । म्यारुवाना मेक्सिकनको जीवनशैली थियो । उनीहरूले औषधी र आनन्दका लागि यसको सेवन गर्थे । अमेरिकी सरकारले मेक्सिकनको र अफ्रिकीको दबदबालाई निरुत्साहन गर्न उनीहरूको संस्कृतिमाथि प्रहार गर्ने रणनीति अनुरुप म्यारुवानामा प्रतिबन्ध लगाएको थियो ।

संघ र राज्य सरकारहरूले गाँजालाई विष, लागूऔषध आदिको संज्ञा दिई विभिन्न ऐन, कानुन बनाएर अमेरिकामा मात्र प्रतिबन्ध लगाएनन्, अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमै गाँजालाई लागूऔषधको रूपमा चित्रण गरी प्रतिबन्ध लगाउन प्रोत्साहन र दबाब दिने रणनीति लियो । नेपाल पनि त्यसको हिस्सा बन्न पुगेको हो । अमेरिकाले गाँजालाई राजनीतिक एजेन्डाको रूपमा दुरुपयोग गरेको अमेरिकी गाँजा विशेषज्ञहरू बताउँछन् ।

दोस्रो विश्वयुद्धताका नेपालको गाँजा विश्वमा लोकप्रिय थियो । त्यतिखेर नेपाली किसानको मुख्य नगदेबाली गाँजा थियो । सन् १९६० को दशकमा अमेरिकामा परम्परागत धर्म, संस्कृति र जीवनशैलीलाई नमान्ने युवा अभियान ‘हिप्पी संस्कृति’ विस्तार भएको थियो । हिप्पीहरू लामो कपाल पाल्ने, फरक लुगा लगाउने, गाँजाको धुवाँ उडाउने र आनन्द लिने गर्थे । नेपालमा सस्तो गाँजा पाइने हुँदा उनीहरू काठमाडौं आएर लामो समय बिताउँथे ।

नेपाल सरकारले सन् १९६१ मा विदेशीलाई गाँजा बेच्न काठमाडौंमा ३० वटा पसललाई लाइसेन्स दिएको थियो । यसबाट सरकारले ठूलो राजस्व प्राप्त गरेको थियो । अमेरिकामा नेपालबाट गाँजा तस्करी भएको भन्दै अमेरिकाले गाँजा नियन्त्रण गर्न दबाब दियो । सरकारले सन् १९७३ मा पसलहरूको लाइसेन्स रद्द गर्‍यो भने १९७६ को लागूऔषध नियन्त्रण ऐनले गाँजालाई पूर्ण प्रतिबन्ध लगायो ।

अमेरिकामा गाँजा खेतीका लागि माटो, बीउ, हावापानी र अन्य बालीमा पर्ने असरका बारेमा निकै खर्चिलो रिसर्च गर्नुपरेको छ । नेपालको माटो यति गाँजामैत्री छ कि हरेक वर्ष गाँजा नष्ट गरे पनि अर्को वर्ष आफैं उम्री सप्रिन्छ । तराईदेखि पहाडसम्म सबैतिर गाँजाको लागि उर्वर वातावरण छ । प्रायः खेत बाँझो रहने सुख्खा मौसममा गाँजा उम्रन्छ । त्यसैले नेपालमा गाँजा खेतीका लागि लगानी एकदमै कम पर्छ ।

अथर्व वेदका अनुसार पाँच आधारभूत वनस्पतिमा गाँजा पर्छ । वेदका अनुसार, यसले स्वतन्त्रता, खुसी र एकाग्रता दिन्छ । विषले मुर्च्छित व्यक्तिलाई गाँजाको उपचारले बचाउन सकिने हिन्दु कथामा उल्लेख छ । विभिन्न रोग लाग्दा मानिस र पशुपन्क्षीलाई गाँजाको पात, फूल र फल (दाना) खुवाउने चलन पनि छ । फल (भाँगो) त्यसै वा अचार बनाएर खान अत्यन्त स्वादिलो र स्वास्थबर्द्धक मानिन्छ ।

आशा गरौं, गाँजाबाट हुने फाइदा वैज्ञानिक पुष्टिसहित थपिएर आउनेछन् । हालै नेदरल्यान्डको बाली संरक्षण अनुसन्धान केन्द्रले पत्ता लगाए अनुसार गाँजाको जराले माटोमा हुने हानिकारक जीवाणु र ब्याक्टेरियालाई नष्ट गर्छ । एक सिजनमा गाँजा खेती गरेको खेतमा अर्को सिजनमा अन्य बाली लगाउँदा त्यो बालीसमेत रोगमुक्त हुनसक्छ । अमेरिकी सरकारले अहिले उच्च प्राथमिकता दिएर गाँजामा अनुसन्धान, उत्पादन, उपभोग र निर्यातको नीति लागू गरेको छ । नेपाल सरकारले पनि गाँजामा लगाएको प्रतिबन्धमा फुनर्विचार गर्न अब निकै ढिला गर्ने छैन ।

rameshghimire21@gmail.com

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:००
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुन भन्दा महँगा वस्तु

रमेश घिमिरे

काठमाडौँ — विश्वका धनी व्यक्ति जेफ बेजोसको सम्पत्ति १४३ अर्ब अमेरिकी डलर छ । उनी अनलाइन सपिङ मार्केट अमेजनका मालिक हुन् । फोर्ब्स म्यागजिनका अनुसार सन् २०१८ मा विश्वमा २ हजार २ सय ८ जना बिलिनियर (अर्बपति) भए । तर अहिलेसम्म विश्वमा कोही पनि ट्रिलिनियर (दस खर्बपति) भएका छैनन् ।

विश्वमा कतिसम्म महंँगा वस्तु छन् भनी अनुमान लगाउँदा गलत हुनसक्छ । अति महँगा वस्तु जसका स्वामित्वमा हुनेछन्, उनीहरू खर्बपति हुन सक्नेछन् । विश्वमा सबैभन्दा महँगो वस्तु कुनै पदार्थ (म्याटर) नभई प्रतिपदार्थ (एन्टि–म्याटर) हो, जसबारे यहाँ चर्चा गरिनेछ ।

धेरै मानिसले देखेको र प्रयोग गरेकोमध्ये सबैभन्दा महँगो धातु सुन हो । तर सुनभन्दा लाखौं गुना महँगा वस्तुको कारोबार विश्वमा हुने गरेको छ । कुनै पनि वस्तुको मूल्य त्यसको लागत, आपूर्तिको मात्रा र उपभोक्ताको आवश्यकताले निर्धारण गर्छ । सुनभन्दा महँगो धेरैले सुनेको र केहीले प्रयोग गरेको वस्तु हीरा हो । सुन तोला अर्थात दस ग्राम इकाइमा कारोबार गरिन्छ भने हीरा क्यारेट अर्थात ०.२ ग्रामको इकाइमा कारोबार गरिन्छ ।

सुनभन्दा महँगा वस्तुको कुनै निश्चित मूल्य हुँदैन । बजार, समय र कारोबार अनुसार कैयौं गुणासम्म फरक मूल्य हुनसक्छ । सुनभन्दा महँगा वस्तुमा केही धातु र अधातु (पत्थर) छन् भने केही जैविक वस्तु पनि छन् । १० ग्राम सुनको मूल्य करिब ५० हजार रुपैयाँ पर्छ । लागूऔषधको कुनै बजारको मूल्यलाई हेर्ने हो भने प्रतिग्राम हिरोइनको २२ हजार, कोकिनको ३१ हजार र एलएसडीको ३२ हजार रुपैयाँ पर्छ ।

लागूऔषध अधिकांश मुलुकमा प्रतिबन्धित छ भने कहीं नियन्त्रित छ । कुनै देशले भने लागूऔषधको खेती गरेर मनग्ये आम्दानी गर्छन् । जस्तै– अफगानी जनताको आम्दानीको प्रमुख स्रोतमध्ये हिरोइनको कच्चापदार्थ गाँजाको खेती एक हो । त्यस्तै कोकिनको कच्चापदार्थ कोकाको खेती गरेर कोलम्बियाका किसानले आयआर्जन गर्छन् । सुनको खानी भएका मुलुकहरूले सुन बेचेर अर्थतन्त्र सञ्चालन गर्छन् । ह्वेल माछाको वान्ताबाट बनेको वस्तुको मूल्य प्रतिग्राम एक लाख रुपैयाँभन्दा बढी पर्छ । यो अत्तर (सेन्ट) बनाउन प्रयोग हुन्छ ।

प्रतिक्यारेट हीराको मूल्य ५० लाख रुपैयाँ पर्छ । सौन्दर्यका लागि गरगहनामा तथा कडा वस्तु काट्न हीराको प्रयोग हुन्छ । प्लाटिनमको मूल्य प्रतिग्राम ६० हजार रुपैयाँ पर्छ । यसको प्रयोग मोइबाइल लगायत विद्युतीय उपकरण निर्माण गर्न गरिन्छ । अर्को धातु रोहडियमको मूल्य प्रतिग्राम १ लाख रुपैयाँ पर्छ । गाडीको इन्जिनमा कार्बन बन्नबाट रोक्न यसको प्रयोग गरिन्छ । त्यस्तै प्लुटोनियमको मूल्य प्रतिग्राम ५ लाख रुपैयाँ पर्छ । यसको प्रयोग हतियार बनाउन गरिन्छ । ट्राइटियमको मूल्य प्रतिग्राम ३५ लाख रुपैयाँ पर्छ । अँध्यारोमा हरियो प्रकाशबाट घडी हेर्न यसको प्रयोग हुन्छ ।

युरेनियमको मूल्य प्रतिपाउन्ड (४५३ ग्राम) १२ हजार रुपैयाँ पर्छ । यसको प्रयोग क्यान्सर रोगीको उपचार गर्न, आणविक बम बनाउन र बिजुली उत्पादन गर्न गरिन्छ । पृथ्वीमा रहेको युरेनियमको २९ प्रतिशत अर्थात् १७ लाख टन अष्ट्रेलियामा रहेको छ । युरेनियम बिक्री गरेर पनि मुलुकहरूले अर्थतन्त्र टिकाएका छन् । हाफनियमको मूल्य पनि यसैगरी महंँगो रहेको छ । आणविक भट्टीको सुरक्षाको लागि यसको प्रयोग जरुरी हुन्छ ।

सबै वस्तु पदार्थबाट बनेका हुन्छन् । पदार्थको सानो कण परमाणु (एटम) मा घनात्मक प्रोटोन र ऋणात्मक इलोक्ट्रोन रहेको हुन्छ । यसको विपरीत प्रतिपदार्थ (एन्टिम्याटर) मा ऋणात्मक प्रोटोन र घनात्मक इलोक्ट्रोन रहेको हुन्छ । प्रति १० ग्राम एन्टिम्याटरको मूल्य नासाले सन् १९९९ मा ६५ ट्रिलियन डलर अनुमान गरेको थियो भने सन् २००६ मा जेराल्ड स्मिथले प्रति १० ग्रामको मूल्य २५ करोड डलरमात्र पर्ने अनुमान गरेका थिए ।

खगोलीय किरणबाट एन्टिम्याटर प्राप्त हुन्छ । तर त्यसलाई संकलन गर्न सकिएको छैन । प्रतिपदार्थ पदार्थसँग मिल्नासाथ ध्वस्त भई गामा किरण उत्पन्न हुन्छ । आणविक अनुसन्धानका लागि युरोपियन संगठन (सीईआरएन) ले स्वीट्जरल्यान्डमा लार्ज हाड्रोन कोलिडर निर्माण गरी एन्टिम्याटरको उत्पादन सुरु गरेको छ । यसको उत्पादनमात्र होइन, भण्डारण पनि अत्यन्तै जटिल र महँगो हुन्छ । अहिले उत्पादन भइरहेको गतिमा उत्पादन हुँदा करोडौं वर्षमा मात्र केही ग्राम उत्पादन हुनसक्छ । निकै थोरै एन्टिम्याटरबाट एकदमै धेरै ऊर्जा उत्पादन गर्न सकिन्छ । यसको प्रयोगले अन्तरिक्ष यानको यात्रा सहज हुनसक्छ ।

१८ औं शताब्दीमा वाष्प इन्जिन र कोइला रेलको आविष्कारपछि विश्वमा औद्योगिकीरणको सुरुवात भयो । अहिले दुर्लभ र बहुमूल्य औद्योगिक धातुको माग उच्च छ । त्यसैले खगोलबाट यस्ता पदार्थ ल्याउने सम्बन्धमा अध्ययन भइरहेका छन् । सौर्यमण्डलमा धेरै छुद्र ग्रह (एस्ट्रोइडस) छन् । तिनको उत्खनन (एस्ट्रोइड माइनिङ) का लागि सन् २००९ मा स्थापित प्लानेटरी रिसोर्स कम्पनीले कार्य जारी राखेको छ । २०१६ मा दिएको अन्तर्वार्तामा उक्त संस्थाका खगोलवेत्ता एवं डिस्कभरी च्यानलका प्रस्तोता निल डिग्रिस टाइसनले २०२० सम्ममा माइनिङ सुरु हुने बताएका थिए ।

खोज, अनुसन्धान र आविष्कारले विश्वमा धेरै चमत्कार गरी मानिसको जीवनयापन र अर्थतन्त्रको आयाम नै परिवर्तन गरेको छ । बढ्दो ऊर्जाको माग र अति आधुनिक तथा उच्च क्षमतायुक्त उपकरणहरू निर्माण गर्न आवश्यक बहुमूल्य धातुको आपूर्ति बढाउने प्रयासमा सफलता मिल्यो भने विश्वमा अहिले देखिएका धेरै समस्या हल हुनुका साथै विकासको नयाँ आयाम सुरु हुनेछ ।

लेखक काठमाडौं महानगरपालिकाका योजना अधिकृत हुन् ।
rameshghimire21@gmail.com

प्रकाशित : चैत्र २, २०७५ ०८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT