२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कतिले गर्छन्, भेट्टाएको पर्स फिर्ता ?

पाम बेलुक

काठमाडौँ — सामान्यतया ठानिन्छ, कसैले पैसा भएको पर्स भेटेमा फिर्ता गर्ने सम्भावना निकै न्यून हुन्छ ।

विश्वका चर्चित अर्थशास्त्री तथा सामान्य मानिसले पनि मानवीय गुणका आधारमा यस्तै अनुमान गर्छन् । तर ४० देशका हजारौं मानिसमा गरिएको एउटा अध्ययन अनुसार हामीले मानवीय स्वभावबारे गरेको आंँकलन गलत देखिएको छ ।

कतिले गर्छन्, भेट्टाएको पर्स फिर्ता ?

तीन वर्ष लगाएर गरिएको उक्त अध्ययन आफैंमा ठूलो थियो । बिना कुनै आर्थिक सहयोग मानिसहरू साँचो रूपमा प्रस्तुत हुने/नहुनेमा केन्द्रित थियो, अध्ययन । यसले अधिकांश मानिसले भेटिएको पर्स फिर्ता गर्ने तथ्य उजागर गरेको छ । जति धेरै पैसा भएको पर्स भेटियो, त्यति नै फिर्ता गर्ने सम्भावना रहने अध्ययनले देखाएको छ ।


यो अध्ययनले नीति निर्माता तथा उद्योग व्यवसायीले कर छल्ने प्रवृत्ति सजायको डरले भन्दा उच्च नैतिकता प्रदर्शनको कसीले कम हुने सुझाव दिएको छ । ‘यसले हामीले कस्तो सही निर्णय केका आधारमा लिन्छौं भन्ने प्रश्न उठाएको छ,’ बोस्टन विश्वविद्यालयकी व्यवहारवादी वैज्ञानिकले भनिन्, ‘मैले यसो गरे के हुन्छ र कस्तो सजाय पाइन्छ वा के मिहेनत पर्छ भन्ने पक्ष निकै महत्त्वपूर्ण छ । मानिसहरू नैतिकतालाई निकै महत्त्व दिन्छन् र आफूलाई राम्रो व्यक्तिका रूपमा चित्रण गर्न चाहन्छन् ।’


यो अध्ययनका लागि शोधकर्ताहरूले १७ हजार ३ सय ३ वटा पर्सलाई एन्टार्टिका बाहेकको हरेक महादेशका ३ सय ५५ सहरमा प्रयोग गरे । अमेरिकाका २५ सहरमा यो अध्ययन २०१५ मा सम्पन्न गरियो । जसमा न्युयोर्क जस्तो ठूलो सहरदेखि अल्बाकर्की जस्तो सानो सहर समावेश थिए ।


उक्त पर्स र पारदर्शी बिजिनेस कार्ड होल्डरमा तीनवटा बिजनेस कार्ड र पुरुष व्यक्तिको नाम–थर उल्लेख थियो । जसमा रूसका लागि दिमित्री इभानोभ, इन्डोनेसियामा टोनो हिन्ड्रिआन्टा, केन्यामा पिटर किहिगा तथा अमेरिकामा ब्राड ओब्रायन, ब्रेट मिल्लर जस्ता नाम प्रयोग गरिएका थिए ।


हरेक कार्डले उक्त व्यक्ति स्वतन्त्र सफ्टवेयर इन्जिनियर रहेको दर्शाउँथ्यो । यस्तो यसकारण गरिएको थियो कि पर्स भेट्ने व्यक्तिले कम्पनीमा सम्पर्क नगरोस् । यस्तै हरेक पर्समा एउटा साँचो, हस्तलिखित घरेलु सामानका सूची हुन्थे । कुनै पर्समा पैसा हुँदैनथ्यो भने कुनैमा १४ डलर (हरेक देशको पैसाको हिसाब अनुसार) जति हुन्थ्यो ।


शोधकर्ताका सहायकहरू हुलाक, होटल, प्रहरी कार्यालय, बैंक, संग्रहालय वा यस्तै सार्वजनिक स्थानमा गएर त्यहाँको रिसेप्सनमा गएर ‘मैले यो पर्स कुनामा भेटें भनेर दिन्थे । र ‘कसैले खसाले जस्तो छ, म हतारमा छु, कृपया यो सम्बन्धित व्यक्तिलाई दिनुस् है’ भनेर हिँड्थे ।


दुइटा बाहेक प्रायः सबै देशमा मानिसहरूले पैसा नभएको भन्दा पैसा भएको पर्समा रहेको कार्डमा उल्लेख भएको इमेलमा मेल गरेर पर्स भेटिएको सूचना दिए । पेरु र मेक्सिकोका भने त्यसो नगरेको देखियो । यद्यपि त्यो दर निकै कम थियो । औसतमा ४० प्रतिशत मानिसले पैसा नभएको पर्स पनि फिर्ता गरेको देखियो । पैसा भएको पर्स फिर्ता दिने ५१ प्रतिशत थिए ।


शोधकर्ताहरू अचम्मित हुँदै यस प्रकारको प्रयोग अरु तीन देशमा गरे । पोल्यान्ड, बेलायत र अमेरिकामा । यस पटक भने उनीहरूले पर्समा रहेको रकम बढाएर ९४ डलर पुर्‍याए । लगभग १४ डलर भएको पर्स फिर्ता गर्न ६१ प्रतिशत मानिसले मात्रै सम्पर्कको प्रयास गरेका थिए भने ९४ डलर भएको पर्स फिर्ता दिन ७२ प्रतिशत मानिसले सम्पर्क प्रयास गरे ।

किन ?

‘प्रमाणहरूका आधारमा मानिसहरू पर्सधनीलाई सहयोग गर्न उद्यत रहेको देखियो । उनीहरू आफूलाई चोरका रूपमा चित्रण गर्न चाहँदैनन् भन्ने बुझियो,’ मिसिगन विश्वविद्यालयको सूचना विषयका सहप्राध्यापक तथा यस अध्ययनका एक शोधकर्ताले भने । धेरै रकम भएको पर्स भेट्नेहरूमा त्यो पैसा लिएमा गलत कार्य गरेंँ भन्ने मनोवैज्ञानिक छाप पर्ने भय देखियो ।


अध्ययनका सहलेखक तथा पीएचडी गरिरहेको क्रिस्टियन जुन्डका अनुसार, ‘पैसा नभएको पर्स राख्दा मानिसहरूलाई चोरी गरेँ भन्ने भावना नआउने तर पैसा भएको पर्स राख्दा भने चोरी गरेंँ भन्ने भावनाले ग्रसित बनाउने देखियो । यस्तो अनुभूति पर्समा भएको रकम बढेसँगै बढ्ने पनि देखियो ।’


शोधकर्ताहरूले पर्स प्राप्त गर्ने व्यक्तिको लिंग, उमेर, मित्रवत व्यवहार र उनीहरूको कार्यव्यस्तता पनि टिपोट गरेका थिए । उनीहरूसँग इमेल पठाउनका लागि कम्प्युटर थियो वा थिएन र साथै पर्स प्राप्त गर्दा अरु कसैले वा क्यामेराले देख्ने अवस्था थियो/थिएन भनेर पनि याद गरेका थिए । तर यी सबै कुराले पर्स फर्काउने सवालमा खासै असर गरेको देखिएन ।


पर्स प्राप्त गरेर इमेल गर्नेहरूलाई सहयोगका लागि धन्यवाद दिँदै पर्सधनीले सहर छोडिसकेकोले त्यो पैसा आफैं राख्न वा कतै दान दिन भनेर प्रत्युत्तर लेखिएको थियो । तर शोधकर्ताहरूलाई उक्त पर्स लिन गए, ती व्यक्तिले पर्समात्रै फिर्ता दिन्छन् कि त्यसमा रहेको पैसा पनि दिन्छन् भन्ने कौतुहल थियो । त्यसैले उनीहरूले भ्रष्टाचार लगभग शून्य रहेको स्वीजरल्यान्ड र चरम भ्रष्टाचार रहेको चेक रिपब्लिकमा गरेको अनुसन्धानमा त्यो कौतुहल पनि परीक्षण गरे । दुवै देशमा केही चानचुन पैसा बाहेक लगभग सबै रकम फिर्ता गरियो । त्यो चानचुन पैसा पनि कतै खसेको अनुमान थियो ।


प्रयोगशालामा मानिसको साँचोपन अध्ययन गर्ने माजारका अनुसार मान्छेहरू आफ्नो चरित्रबारे निकै सजग रहन्छन् । ‘रकम लिएर खाली पर्समात्रै फिर्ता गर्दा चरित्र झनै खराब देखिने डर उनीहरूमा थियो,’ उनले भनिन्, ‘मानिसहरूले आफूलाई आफ्नै नजरमा गिराउन चाहँदैनन् ।’


शोधकर्ताहरूले धेरै रकम भएको पर्स फिर्ता गर्दा मानिसहरूले धेरै उपहार आशा गर्छन् कि भनेर पनि अध्ययन गरे । तर त्यस्तो पाइएन । पर्समा साँचो नराख्दा के हुन्छ भनेर हेर्दा, त्यस्तो पर्स पनि

फिर्ता गरियो ।


विभिन्न देशमा हराएको पर्स फिर्ता गर्ने दर भने भिन्न–भिन्न थियो । स्वीजरल्यान्ड लगायत प्रायः स्कान्डेनेभियन देशमा यो दर निकै माथि थियो भने चीन र मोरोक्कोको सबैभन्दा तल । अमेरिकामा यो दर बीचमा थियो । अमेरिकी र स्पेनीले भने पैसा भएको पर्स फिर्ता गर्नमात्रै उत्सुकता देखाएको अध्ययनमा देखियो ।

न्युयोर्क टाइम्सबाट अनुदित ।

प्रकाशित : असार ७, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?