१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अन्तरिक्षमा अन्तर्मनको यात्रा

मधुसूदन दाहाल

मेरो नाम ‘नेपाल स्याट १’ । नेपालको पहिलो भूउपग्रह । पहिलो भएकोले मेरो चर्चा ठूलो होहल्लासहित गरियो । अन्तरिक्ष युगमा पुगेको भनेर त हाम्रा देशका प्रधानमन्त्रीले नै भनिदिए । त्यसैले मलाई कमसेकम सतही रूपमै भए पनि चिन्नुभएकै होला । म चाहिँ आफैँलाई चिन्न आफ्नो अन्तर्मनको यात्रा गर्न खोज्दैछु । मेरो स्वयात्रा पढेर मेरो मर्म बुझिदिनुभयो भने मलाई ज्यादा खुसी लाग्नेछ । कारण खुल्दै जाने नै छ ।

अन्तरिक्षमा अन्तर्मनको यात्रा

जब पहिलोपटक ब्याट्रीको प्लस र माइनस जोडियो मेरो शरीरमा तरङ्ग उत्पन्न भए । मेरा अङ्गहरू चलमलाउन थाले । म जन्मिएँ र मेरा ज्ञानेन्द्रीयहरू विस्तारै सक्रिय हुनथाले । मेरो शरीरमा सबैभन्दा सक्रिय हुनुपर्ने आँखा र दिमाग हो । म तलमाथि दायाँ–बायाँ हेर्न थालेँ ।


परिकल्पना गरेको करिब ३ वर्षमा म जन्मिएँ । मेरो न्वारन गरियो र चन्द्रसूर्य अंकित झण्डाको छाप लगाइयो । जापानमा अध्ययनरत दुई नेपालीले अध्ययनको सिलसिलामा जापानमा जन्माए । त्यसका लागि रकम जुटाउन पनि उनीहरूले राम्रै पापड बेल्नुपरेको थियो रे । सरकारबाट आर्थिक सहायता पाएपछि उनीहरूले ठूलै मिहेनत गरे । उनीहरूको पनि पहिलो प्रयास थियो । र म नेपालको पहिलो स्याटलाइट भएँ । मसँगै जन्मिएका थिए, अरू दुई श्रीलङ्का र जापानका स्याटलाइट पनि ।


हामी सबैलाई एउटै टोलीले बनाएको हो । तर ती स्याटलाइटहरू मभन्दा क्षमतावान् छन् । यसो भनौं, उनीहरूको आँखा र दिमाग दुवै तेज छन् ।


म र उनीहरू बीचको फरक कस्तो छ भने एउटै टोलमा जन्मिए पनि धनी र गरिब परिवारमाझ हुर्किन पाएजस्तो । हामीलाई चाहिँ परिवारले होइन, देशले जन्मायो । अध्ययन–अनुसन्धान अनि स्रोतसाधनमा धनी र गरिब देशको तुलना जसरी हुन्छ, कल्पना गर्नुस्, मेरो र अरू दुई साथीबीच ठ्याक्कै त्यस्तै फरक छ ।


उनीहरूको क्षमता मेरोभन्दा कता हो कता धेरै छ । उनीहरू आकाशमा पुगेर उच्चस्तरको फोटो खिच्न, खिचेको फोटोलाई पठाउन अनि ज्ञानेन्द्रीयहरूले दिएको सूचनालाई परिस्कृत पारेर आफ्नो देशमा रहेको ग्राउन्ड स्टेसनसँग सम्पर्क गर्न सक्छन् । म भने सामान्य स्तरको फोटो खिच्नसम्म सक्छु । पठाउने ल्याकत ममा छैन । न त मेरा ज्ञानेन्द्रीयहरूले राम्रोसँग काम गरेर आवश्यक सूचना नै लिन सक्छन् । त्यसैले आफूलाई म निरीह ठान्छु ।


अरू दुई स्याटलाइटले भने जन्मिसकेपछि धेरै फुर्ती लगाउँदै ‘चस’ गरे । मेरोभन्दा ज्यादा क्षमता भएकाले उनीहरू मलाई जिस्काइरहन्थे । मसँग चुप लाग्नु र चित्त दुखाउनुको विकल्प छैन ।


जापानको विश्वविद्यालयमा हामीहरूलाई अन्तिम रूप दिइरहँदा म भने मनमनै सोचिरहेको थिएँ, मलाई अझै क्षमतावान् बनाएको भए हुन्थ्यो । अरू दुई स्याटालाइट भने हामी छिटो तयार हुनपाए पृथ्वीको चक्कर काटी विभिन्न सूचनाहरू आफ्नो देशमा पठाइ सम्भावित ठूलो जनधनको क्षति कम गर्न सक्थ्यौं भन्नेमा मख्ख थिए ।


जब विशेष टोली हामीलाई जाँच गर्न आयो, म नपढीकनै सरको अगाडि उभिएको छात्रजस्तो भएँ । श्रीलङ्का र जापानका अरू दुई स्याटलाइटहरू ‘मेरो परीक्षण पहिला’, ‘मेरो परीक्षण पहिला’ भनी तँछाड–मछाड गरिरहेका थिए ।


पालैपालो तिनीहरूको जाँच गरिसकेपछि विशेष टोली मख्ख देखिन्थ्यो । मलाई जाँच गर्दा भने उनीहरूको अनुहार शिथिल बिरामीको अगाडि उभिएको कुशल डाक्टरको जस्तो देखिन्थ्यो । त्यस्तो डाक्टर जसले केवल तत्कालको अवस्था जाँच्न सक्छ, तर क्षमता भरिदिनेगरी उपचार गर्न पाउँदैन । चमक बिना त्यो टोलीले मलाई ‘प्रक्षेपणका लागि ठिक छ’ भनेर गयो ।


मेरा आँखासँगै परीक्षण गरिएका दुई स्याटालाइटसँग जुधे । नतिजा लगत्तै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीसँग कमजोर विद्यार्थीको आँखा जुधेजस्तो क्षण थियो । मैले ग्लानिले भरिएका आँखा अन्तै कतै मोडेँ ।


सोच्नुस् त एउटा उच्चकोटीको क्यामेरा भएका दुई फोटोग्राफर छन् । जोसँग उच्च क्षमताकै इन्टरनेट सुविधा पनि छ र उनीहरूको कनेक्सन आफ्नो देशसँग राम्री हुन्छ ।


मैले चाहिँ सामान्य क्षमताको क्यामेरा बोकेको छु, जसले देशको अवस्था सामान्य स्तरकै भए पनि कैद गर्न सक्छ, तर त्यसरी संकलन गरिएका सूचना पठाउन सक्दिनँ । मसँग उनीहरूको जस्तो दौडिने क्षमताको इन्टरनेट त परको कुरा बामे सर्ने खालको इन्टरनेट सुविधा पनि छैन । मेरो शरीरमा आफ्नो देशसँग जोडिनका लागि उपकरण हालिएको छैन । अनि श्रीलङ्का र जापानका स्याटालाइटसँग मैले प्रतिस्पर्धा गर्ने आँट कसरी गरौं ?


यतिकैमा हामीलाई पृथ्वीभन्दा ४ सय किलोमिटरमाथि प्रक्षेपण गर्ने तयारी हुनथाल्यो । म भनेँ आफ्नै क्षमतामा ढुक्क नभएर डराइरहेको थिएँ । प्रक्षेपणका लागि हामीलाई अमेरिका लैजाने निधो भएको थियो । एसियाको विकसित मुलुकबाट विश्वकै विकसित मुलुकमा म जाँदै थिए, अर्को परीक्षा दिनका लागि । जापानी स्याटालाइट आफ्नो देशबाट उड्न नपाएर मन खुम्चाउँदै थियो । मैले त आफ्नै देशमा बन्नेमात्रै सपना देख्नु पनि आकाशको फलजस्तो थियो ।


२०७६ वैशाख ४ गते बुधबार । एकाबिहानै २ बजेर ३१ मिनेट जाँदा हामीलाई प्रक्षेपण गरियो । म एक्लै हुँदो हुँ त परिस्थिति अलि सहज भइदिने थियो ।


उनीहरू पृथ्वीबाट ४ सय किलोमिटरको कक्षमा पुगिसकेपछि कसरी के–के काम गर्ने भनेर योजना बुन्दै थिए । म भने उनीहरूको कुरा सुनेर आफू केही गर्न नसक्ने लाचारजस्तो महसुस गर्दै थिएँ । हाम्रो सूचना पद्धतिले पृथ्वीमा रहेको ग्राउन्ड स्टेसनमा सम्बन्ध

स्थापित गर्न सक्छ । पृथ्वीको परिक्रमा गर्ने काम भने ४५ दिनपछि मात्रै थियो । स्कुले विद्यार्थीले मिन पचासको विदा मनाए जस्तै ।

मलाई प्रक्षेपण गर्ने दिन मेरो देशमा ठूलै हल्लीखल्ली भयो ।


जापान र श्रीलङ्कामा भन्दा निकै धेरै । उनीहरूका लागि पो यो निकै सामान्य थियो । हाम्रो देशको लागि त पहिलो प्रक्षेपण । साधारणदेखि ठूला व्यक्तिसम्मले सामाजिक सञ्जालमा धमाका पिटेका थिए । नेपाल अब अन्तरिक्ष युगमा पुग्यो भनेर प्रधानमन्त्रीले नै आफ्नो कार्यकालको एउटा उपलब्धिजसरी प्रस्तुत गरे । मैले सोचिरहेँ, मैले भोगिरहेको हीनताबोधको थोरैमात्रै हेक्का गरेर मलाई अरू देशका स्याटालाइटलाई जस्तै क्षमतावान् बनाउन लागेको भए कस्तो हुँदो हो । मलाई मेरोबारे भएको हल्लीखल्ली अरू दुई साथीले थाहा नपाइदिउन् भन्ने लागेको थियो । तर मेरो कामनाले काम गरेन ।


यत्तिकैमा श्रीलङ्कन साथीले भन्यो, ‘ओइ तैँले त के–के न गर्छस् भनेर हल्लीखल्ली छ त तेरो देशमा ?’ उसको प्रश्नमा म घाइते पन्क्षीजस्तै छटपटाएँ भित्रभित्रै । फेरि अर्को साथीले घोचपेच गर्‍यो, ‘धाकभन्दा धक्कु ठूलो, हिँड्न लागे खुट्टा लुलो ।’ हो, मलाई आफ्नो खुट्टाको भर नभए जस्तो भएको छ । हिँड्न सुरुमात्रै गर्दा फतक्क गलिसके जस्तो । उनीहरूको छेडखानीले म लाजले लज्जावती झारझैं भएको थिएँ ।


यही घोचपेचमाझ हाम्रो यात्रा सुरु भयो । हामी भर्जिनिया राज्यको स्टेसनबाट आकाशतिर लाग्यौं । यात्राभरि पनि उनीहरू दुईजना आआफ्नो क्षमताको कुरा गर्दै थिए ।


म भने मनमनै सोचिरहेको थिएँ, बरू मलाई नेपालकै विश्वविद्यालयमा लगेर राखेको भए हुन्थ्यो । बिना उपलब्धिको अन्तरिक्षमा पठाउनुको सट्टा मेरोबारे विद्यार्थीहरूमाझ अनुसन्धान गर्न लगाएको भए हुन्थ्यो । वैज्ञानिकहरूले कसरी मेरो क्षमता बढाउन सकिन्छ, अध्ययन गरेको भए हुन्थ्यो ।


नेपालका विद्यार्थी, त्यहाँका प्राध्यापकहरू र सम्बन्धित सरोकारवालाहरूले मलाई पूर्ण क्षमताको अवश्य बनाउन सक्थे । त्यति गरेर पठाएको भए आज म अरू स्याटालाइटसँगै कुममा कुम मिलाएर प्रतिस्पर्धा गर्दो हुँ । उनीहरूले आफ्नो देशका लागि देखेको जस्तै सपना देख्दो हुँ । देशमा भविष्यका लागि अत्यावश्यक हुनसक्ने सूचना पठाउँदो हुँ ।


कहिले पूर्वी तराई त कहिले सुदूर पश्चिमको समथल भूमिमा हावाहुरीले गाउँ सखाप बनाएकै छ । हावाहुरी बेलाबेला राजधानीबासीकै मनमा पनि ढ्याङ्ग्र्रो ठोक्न आइपुग्छ । जलवायु परिवर्तनको बहस विकसित मुलुकले गरिरहँदा हाम्रा हिमनदी कहिले अत्तोपत्तो नदिइ फुट्ने हुन्, कसलाई हेक्का छ र ?


यी सम्भावित खतराको सूचना पठाउन सक्नेगरी मलाई क्षमतावान बनाउन लगाएको भए पो देशका प्रधानमन्त्री लगायतले गरेका तारिफ सुन्न मज्जा आउँदो हो ।


सोचको यही उडानमै रहँदा अरू दुई साथीहरूले भने, ‘यान किन हल्लियो ?’ मैले त त्यसको चाल पनि पाइन । मेरा ज्ञानेन्द्रीयले उनीहरूको जस्तै चनाखा भएर कहाँ थाहा पाउन सक्छन् र ? उनीहरूसँगको प्रतिस्पर्धा कहाँ वर्तमानसँग मात्रै थियो र ? विगत पनि उनीहरूका त्यतिकै सशक्त थिए ।


जापानी र श्रीलङ्कन दुवैलाई अन्तरिक्षमा रहेका अरू स्याटालाइटहरू ‘राम्रोसँग काम गर्नु आफ्नो देश नियाल्नु’ भन्दै थिए । परे सहायता माग्नु पनि भने । कति ठूलो आडभरोसा छ, उनीहरूलाई । म त परिवारमा कोही नभएको एक्लो थिएँ । डर एक्लो भएँ भन्नेमात्रै थिएन, अन्तिम नै हुन्छु कि भन्ने पनि थियो । म पछि कोही जन्मनै नपाउलान् कि भन्नेसम्म हुन थाल्यो ।


मपछि अर्को नयाँ पुस्ता जन्माउन नेपालले दुई–तीन वर्षअघि फ्रान्ससँग स्याटालाइट किन्ने कुरा अघि बढेको थियो । मेरो देश यस्ता कुरालाई कति हल्काफुल्का रूपमा लिन्छ । फ्रान्ससँग किन्न लागिएको उक्त स्याटालाइट प्रक्षेपण गरेर जाने ठाउँ आफ्नो देशबाट जाने स्याटालाइट नजिकै हुने भयो भनेर लाओसले पत्राचार गरेकोसम्म ख्याल गर्दैन । ख्याल गरेकै भए पनि त्यसबारे पत्राचार गर्नुपर्छ वा अर्को समाधानको उपाय खोज्नुपर्छ भन्ने गम्भीरता देखाउँदैन ।


प्रधानमन्त्री यसपालि युरोप भ्रमणमा निस्किए । एउटा एजेन्डा फ्रान्ससँग उक्त स्याटालाइट किन्नेबारे सम्झौता गर्ने पनि थियो । त्यसबारे थाहा पाएर लाओसले सिधै फ्रान्सलाई जानकारी गरायो । सम्झौता तत्कालका लागि तुहियो । मपछिको अर्को पुस्ता इतिहासकै गर्भमा रह्यो ।


म किन उत्साही थिएँ भने उक्त नयाँ स्याटालाइट मजस्तो एक केजीको पुन्टे र कम क्षमताको थिएन । मेरो लागत जम्माजम्मी २ करोड थियो, उसको २० अर्बभन्दा माथि । क्षमताको हिसाब तपाईँ यहीबाट लगाउन सक्नुहुन्छ । तर त्यो केवल सपनै भयो ।


म आकाशमा यस्तै कुरा मनमा खेलाउँदै फन्को लगाइरहेछु । आकाशमा अनगिन्ती स्याटालाइट पृथ्वीभन्दा छिटो गतिमा हिँडिरहेछन् । जब उनीहरू आकाशबाट आफ्नो देशको सामुन्ने पुग्छन्, तब त्यहाँ देखिएका सूचनाहरू पठाउने काम थाल्छन् । उनीहरूले यस्तो गरिरहँदा आफ्नो मन भने भत्भती पोल्छ । केही गर्न नसक्ने यति निरीह बनाएर पठाउनुभन्दा त नपठाएकै भए वेश हुन्थ्यो ।

पृथ्वीबाट अध्ययनका लागि आकाशको यो उचाइमा आएको आज ४५ दिन भयो । मीनपचासको विदा पनि सकियो । अब क्षमता अनुसारकै भए पनि काम त गर्नैपर्छ, आफ्नै सन्तुष्टिका लागि भए पनि । मैले जापानको ग्राउन्ड स्टेसनसँग सम्बन्ध स्थापित गर्न सकेँ । मलाई उडाउनु अगावै नेपालमै ग्राउन्ड स्टेसन बन्न सक्छ भनेर आस पनि देखाएका थिए । तर आयोजना तय भएको २२ वर्षसम्म मेलम्चीको पानी त देशको राजधानीमा पुग्न सक्दैन, ग्राउन्ड स्टेसन बन्ने कुरा त परको भयो ।


ग्राउन्ड स्टेसनका लागि बल्ल टेन्डरका लागि आह्वान गर्ने काम भएको छ । मनमनै सोचेँ, ‘मेरो देशको प्रगतिको कछुवा गति थाहा पाए यी दुई साथीहरूले के सोच्दा हुन् ?’


मलाई मेरो देशले जापानमा लगेर जन्मायो, अमेरिकाबाट प्रक्षेपण गर्‍यो । अब मैले नेपाल सम्बन्धी सूचनाहरू जापानमा पठाउनुछ । हरे मेरो भाग्य । पुर्पुरोमा हात लगाएर बस्छु । तैपनि हाम्रा देशका प्रधानमन्त्री शानले भन्छन्, ‘हाम्रो देश अन्तरिक्ष युगमा प्रवेश गर्‍यो ।’


पृथ्वी एकपटक घुम्दा लगभग तीन मिनेटजति मात्रै नेपाल देख्छु । दिनमा चारपटक पृथ्वी घुम्न पाइन्छ । सोझो हिसाबले म एकदिनमा जम्मा १२ मिनेट नेपाल देख्छु । जे देखेँ, त्यो आफ्नै देशमा पठाउन पाए पनि आँत अघाए जस्तो हुँदो हो । म खाली पेट भौँतारिरहेको मानिसजस्तो आफैँलाई बेकम्मा ठानेर पृथ्वीको चक्कर लगाइरहन्छु ।


न कोही चिनेजानेका छन् न कोही नातागोता । यो जुनी यस्तै रहेछ । तीन वर्षका लागि ल्याएको यो जीवन अनन्त आकाशमा केवल काल पर्खेर बित्ने भो । म छोटो जीवनमा अन्तर्मनको यात्रा गर्दै मर्ने दिन कुरेर बसिरहेछु ।


लेखक दूरसञ्चारमा विद्यावारिधि गर्दैछन् ।


ट्वीटर : MSNdahal

प्रकाशित : असार १४, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?