कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

छाकैपिच्छे साग

नारायण घिमिरे

पछिल्लो समय बायोसाइन्स क्षेत्रमा प्राप्त उल्लेखनीय सूचनाहरूका कारण आज मानिसले के खाने र किन खाने भन्ने अवधारणामै अमूल परिवर्तन आएको छ । हिजैसम्म पनि हाम्रा चिकित्सक, खाद्य र पोषण विज्ञहरूले सर्वसाधारणको तागतका लागि भिटामिन र पोषणका लागि कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, भिटामिन, मिनरल, फाइबर र पानीको समुचित संयोजन मिलेको सन्तुलित आहारले शरीर हृष्टपुष्ट राख्छ भनेर दिने सल्लाह नै आज अपूर्ण र अर्धसत्य भइसकेको छ ।

छाकैपिच्छे साग

दिनहुँ वयस्क पुरुषलाई १५०० र महिलालाई १२०० क्यालोरी इनर्जी जरुरी हुन्छ । शरीरको तापक्रमको व्यवस्थापन र रक्त सञ्चार, श्वास–प्रश्वास, मुटु, फोक्सो, कलेजो, मिर्गौला, मस्तिष्क आदि स्वचालित गतिविधिहरूमा लगभग ७० प्रतिशत इनर्जी सकिन्छ । पाचन प्रक्रियामा ५ देखि १० प्रतिशत र अन्य भौतिक गतिविधिमा लगभग २० प्रतिशत खर्च हुन्छ ।

खाने खानाबाट (८ प्रतिशत) र पिउने पानीबाट (२ प्रतिशत) गरी मानिसको शरीरमा खपत हुनेमध्ये मात्र १० प्रतिशत इनर्जी खानपानबाट पूर्ति हुन्छ । बाँकी ९० प्रतिशत इनर्जी अक्सिजनबाट आउने गर्छ । कोषिकामा हुने मेटाबोलिजममा अक्सिजनबाट ९० प्रतिशत इनर्जी आउने हुँदा, शरीरको दैनिकीलाई जरुरीभन्दा बढी हुन जाने कोषिकामा पुगेको मात्र १ ग्राम ग्लुकोज खर्च गर्न मानिसले लगभग १५ मिनेट हिँड्नुपर्ने हुन्छ । यसबाट प्रस्ट हुन्छ— तन्दुरुस्तीमा थोरै सन्तुलित आहार, अनि धेरै अक्सिजन र त्योभन्दा पनि क्रिटिकल अर्कै तेस्रो पक्ष छ ।

स्नायु प्रणालीमा न्युरोनले नयाँ परिस्थिति अनुकूलनको काम गर्ने र आफ्नै आन्तरिक परिवर्तन गरी शरीरका जरुरी गतिविधिहरू सुचारु गर्ने क्षमतालाई प्लास्टिसिटी भन्ने गरिन्छ । परिवर्तित परिस्थितिमा समेत न्युरोन–न्युरोन जोडिने विन्दुमा आवश्यक परिवर्तन गरी आपसमा सूचना आदानप्रदान गर्न सक्षम रहिरहने स्नायु प्रणालीको क्षमतालाई स्न्याप्टिक प्लास्टिसिटी भनिन्छ ।

सन्तुलित आहारले शरीरको सामान्य तन्दुरुस्तीमा सहयोग गर्छ । वनस्पतिमा आधारित हर्बल, जडीबुटी लगायतका खानामा पाइने पोली–फिनोलहरू मानवशरीर तन्दुरुस्त राख्न स्नायु प्रणालीको प्लास्टिसिटी अभिवृद्धि गर्ने अमृतमय शक्ति बोकेका हजारौँ सूक्ष्म तत्त्व रहेको भेटिएको छ । स्नायु प्रणालीको प्लास्टिसिटी क्षमता अभिवृद्धि गर्ने पोली–फिनोलहरू शरीरलाई खानामार्फत उपलब्ध गराउने सन्दर्भमा आयुर्वेदिक खाना संसारकै नयाँ आकर्षणमा पर्न गएको छ ।

त्यसमा पनि हरियो सागसब्जीमा पाइने पोली–फिनोलहरू स्नायु प्रणालीको स्न्याप्टिक प्लास्टिसिटी क्षमता बढाउने अचूक अमृत भेटिएकाले संज्ञानात्मक र मानसिक स्वास्थ्यको व्यवस्थापनका लागि प्रत्येक छाक केही हरियोपरियो खान जोड दिइएको हो ।

हरियो सागसब्जी मानव सचेतनाभन्दा अतुलनीय हिसाबमै फुर्तिलो, चतुर र चलाख हुन्छन् । दुईचार सेकेन्डलाई ट्रिलियनले भाग गर्दा हुने समयभित्रै सागसब्जीले आफ्नो सम्पर्कमा आएको ९५ प्रतिशत सूर्यको किरण सोसेर मेटाबोलिजम र फोटोसेन्थेसिस प्रक्रियाबाट शक्ति उत्पादनमा पठाउन सक्छन् । अचेल बजारमा आएका मानवनिर्मित फोटो भोल्टानिक सेलको क्षमता २० प्रतिशत सूर्य किरण मात्र सदुपयोग गर्न सक्ने अवस्थाका छन् ।

सूर्यको सेतो प्रकाश हामीले देख्ने सक्ने सात रङ्ग मिलेर बनेको हुन्छ । बिरुवाको पातमा रहने क्लोरोफिलको मलिकुलले सात रंगमध्ये नीलो र रातो प्रकाश सोसी इनर्जीका लागि चाहिने खाना बनाउने गर्छ । कतिपय बिरुवाको फलमा हुने केरेटिनोइड पिगमेन्ट (जस्तै— गोलभेडाको लाइकोपिन, मकैको जियोजेन्थिन, सुन्तलाको फलको बोक्राको बिटा केरोटिन आदि) ले सूर्य किरणबाट बैजनी र नीलो–हरियो लाइट लिएर आफूलाई आकर्षक बनाउने गर्छन्, कीरा आदि झुम्मिऊन्, फल खाऊन्, बीउ अन्यत्र पुगोस् र आफ्नो वंश विस्तार होओस् भनेर । सूर्यको सेतो प्रकाश जस्तै चन्द्रमाबाट आउने प्रकाश प्रिज्मबाट पास गर्दा सूर्यको प्रकाश जस्तै सातै वटा किरण त दिन्छ, तर अलि इन्फ्रारेडतिर सरेको भेटिन्छ । सूर्यबाट आउनेभन्दा ४ लाख गुना मलिन, इन्फ्रारेडतिर सरेको प्रकाशले बिरुवाको वृद्धि र मेटाबोलिजममा आश्चर्यजनक सकारात्मक भूमिका पुर्‍याउँछ ।

चन्द्रमाको प्रकाश नपाएका (आधुनिकीकरणमार्फत जडान भएका प्रकाशका कारण निक्खर उज्यालो, अँधेरो भोग्न र चन्द्रमाको प्रकाश पाउनबाट वञ्चित बनेका) बिरुवाको फसलमा रोगको प्रतिरोधात्मक शक्ति क्षीण हुने, घाउ निको पार्ने शक्ति नहुने, पोषण तत्त्व नै नहुने र फोटोसेन्थेसिस प्रक्रियासमेत बलियो नहुने भेटिएको छ ।

आधुनिक रिसर्चका अनुसार, पूर्णचन्द्रको मन्द प्रकाशमा उम्रने–हुर्कने बिरुवा र कन्दमूलले पानी र कार्बनडाईअक्साइड लिई ग्लुकोज बनाउने, ग्लुकोजलाई प्रोटिनमा परिवर्तन गर्ने, ग्लुकोज र प्रोटिन चिल्लोमा परिवर्तन गरी सञ्चय गर्ने गर्छन् । घाममा बढेका सागसब्जीमा पोषण तत्त्वहरू रहने तथा चन्द्रमाको प्रकाशसमेत भेटेका र हलक्क बढेका सागसब्जी, फलफूल र कन्दमूल एन्टी–अक्सिडेन्टयुक्त फ्लेबोनोइडले समेत भरपूर हुने भेटिएको छ । कृषि आधुनिकीकरणका नाममा रैथाने सीप र प्रविधिको अतिक्रमण गर्दै मुलुकभर फैलाइएका अवैज्ञानिक र अप्राकृतिक नाफाखोरी खेती प्रणालीका उपजहरूले मानव स्वास्थ्यलाई सम्पूर्ण रूपमै प्रतिकूल असर पारिरहेका छन् ।

मानिसको रगतमा पाइने हेमोग्लोबिन र हरियो सागसब्जीमा पाइने क्लोरोफिलको केमिकल स्ट्रक्चर लगभग उस्तै हुन्छ । फरक के मात्र हो भने, हेमोग्लोबिन आइरनको वरिपरि बनेको हुन्छ, क्लोरोफिल मेग्नेसियमको वरिपरि । हेमोग्लोबिनको मुख्य काम फोक्सोबाट शरीरका अन्य भागमा शुद्ध अक्सिजन लैजाने हो । रगतमा केही क्लोरोफिल हालिदिँदा यसले हेमोग्लोबिनलाई आफ्नो काम गर्न सघाएको पाइएको थियो । सागसब्जीबाट पाइने क्लोरोफिलले मानिसको शरीरमा रक्त सञ्चारमा सघाएको, रगत सफा गरेको, रगतमा रातो कोषिकाको संख्या बढाएर शरीरमा अक्सिजनको आपूर्ति बढाएको पाइएकाले क्लोरोफिलले हेमोग्लोबिन बन्न सहयोग गर्ने निचोड निक्लेको छ ।

हुन त हामीले खाएको सागसब्जी पाचन र शोषण प्रक्रियामार्फत रगतमा पुग्ने गर्छ । उस्तैउस्तै स्ट्रक्चर भएकाले क्लोरोफिलको स्ट्रक्चरको माझमा मेग्नेसियमको सट्टा शरीरले आइरन घुसाएर हेमोग्लोबिन हुने अवस्था भने हाम्रो शरीरको हालको प्रक्रियामा सम्भव छैन । खाएको खानाको पाचन प्रक्रियामा क्लोरोफिलको स्ट्रक्चर भाँचिने र टुक्रिने गर्छ । आन्द्रामा शोषणका लागि जस्ताको तस्तै उपलब्ध हुँदैन ।

तर क्लोरोफिल र हेमोग्लोबिन दुवैमा समान स्ट्रक्चर भएका कार्बन, हाइड्रोजन, अक्सिजन र नाइट्रोजन चेन भएका कारण सागसब्जी खाएर उपलब्ध हुने क्लोरोफिलका कारण शरीरलाई धेरै हेमोग्लोबिन बनाउन सहयोग पुग्ने भेटिएको

हो ।

लेखक क्यानडा निवासी खाद्य वैज्ञानिक हुन् ।

प्रकाशित : असार २४, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?