कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भातलाई साथी जाती 

असार बित्न लाग्दासम्म पनि प्रायः खेतका गरा भिज्न सकेका छैनन् । झरी अपेक्षा बमोजिम नपरिदिनाले किसानहरू पिरोलिइरहेका छन् । कोहीकोही कुनै दिन एक छिन गरामा उभिई फोटो खिचाएर फेसबुकहुँदि पोस्ट गर्ने धुनमा छन् ।

भातलाई साथी जाती 

बहुमत नेपालीको प्राण धान्ने भोजनका रूपमा लिइएको चामलको स्रोत धानको बिरुवा अंग–प्रत्यंगमा सजिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । पानी नपरे पनि असार १५ मा धान उत्सव मनाउने औपचारिकताले यस पालि पनि किसानइतरलाई रमाइलो दियो नै । धान नेपालीलाई नभई नहुने अनाज हो ? यो पोषणको मुख्य स्रोत हो ? जीवन बचाउने आधार हो त ? करिब पांँच हजार वर्षदेखि मानवले उपयोगमा ल्याएको अनुमान गरिएको भात अडिलो र नरम शाकाहारी भोजन हो । नेपाल मात्रै होइन, पूर्वी एवं दक्षिणी एसियाली सबैजसो मुलुकमा भातै भरपर्दो आहारा मानिन्छ । विश्वको आधा जनसंख्याले दैनिक रूपमा मुख्य भोजनका रूपमा भातै प्रयोग गर्ने गर्छ ।

वैज्ञानिकता र पौष्टिकताका दृष्टिले भात उपयोगी चाहिँ होइन । क्याल्सियम, प्रोटिन, खनिज एवं भिटामिन बढी मात्रामा आवश्यक पर्ने बढ्दो उमेरका केटाकेटीका निम्ति पनि भात मात्रै अपूरो हुन्छ । झन् बढी मिनरल र भिटामिन आवश्यक पर्ने सुत्केरीहरूलाई यी तत्त्व निकै थोरै पाइने भात र घिउ नै बढी मात्रामा खुवाउने प्रचलन नेपाली समाजमा अझै हटेको छैन ।

पोषण सन्तुलनका दृष्टिले उत्पादन प्रक्रियामा पानी कम चाहिने मकै, गहुँ, फापर, कोदो, गेडागुडी, बदाम आदि प्रोटिन एवं खनिज पदार्थयुक्त खाद्यान्नभन्दा कार्बोहाइड्रेट (स्टार्च) युक्त चामल निकृष्ट मानिन्छ । नेपालीमा पनि डायबिटिज र मोटोपनाको समस्या बढिरहेको छ अनि चामल सबैभन्दा बढी ग्लुकोजयुक्त अन्न हो ।

चामलमा ९० प्रतिशतभन्दा बढी स्टार्चका रूपमा कार्बोहाइड्रेट हुन्छ, जसबाट ग्लुकोज निःसृत हुँदै तुरुन्तै ऊर्जा प्रदान हुने र भात अडिलो हुने भएकाले बढी मिहेनत या गह्रौं काम गर्नेहरूका लागि यो नै रोजाइमा पर्ने गरेको हो । डायबिटिजबाहेक प्रायः रोगका बिरामीलाई भात खान वर्जित गरिन्न ।

चामल सामान्यतया दुई प्रकारको हुन्छ— सेतो र खैरो । पोषणका दृष्टिले सेतोभन्दा खैरो रंगको चामल उच्च कोटिको हुन्छ । सेतो चामलमा स्टार्च या कार्बोहाइड्रेट बढी हुन्छ । भिटामिन सी, भिटामिन बी (थायमिन, रिबोलाबिन), खनिज लगायतका पोषक पदार्थ खैरो चामलमा बढी हुन्छन् ।

चामलमा हुने कार्बोहाइड्रेट बाहेकका भिटामिन एवं खनिज पदार्थहरू चामलको बाहिरी पत्र अर्थात् चोकरमा हुन्छन् । विशेष गरी सेलर मेसिनमा धान कुटाउँंदा, चामल धेरै पटक पखाल्दा, ठूलो आगोमा नछोपी पकाउँदा वाष्पीकरण भई त्यस्ता पोषण पदार्थ उडेर जान्छन् । त्यसैले भात छोपेर सानो आँचमा पकाउनु उपयुक्त हुन्छ ।

प्रति १०० ग्राम चामलमा १२० क्यालोरी हुने भएकाले भात नखाए दुब्लो भइने सोचाइ गलत हो । भात मात्रै खाँदा प्रोटिन र भिटामिनको अभाव हुन्छ । त्यस्तो व्यक्ति मोटो भए पनि उसमा मांसपेशी, नसा, मस्तिष्क, रगत, छाला आदिका लागि आवश्यक प्रोटिन, भिटामिन र खनिजको कमी हुन्छ ।

भात धेरै अनि दाल–तरकारी अत्यन्त थोरै खाने हाम्रो बानी छ । तर भातसंँगै दाल, मौसमी तरकारी, दूधदही, अन्डा वा माछामासु खाने गर्दा पोषणका दृष्टिले बढी सन्तुलित र पोषिलो हुन जान्छ । चामलभन्दा मकै, गहुँ, कोदो, फापर आदि खाद्यान्न धेरै पोषिला हुन्छन् । फलफूल, विभिन्न प्रकारका तरकारी, गेडागुडी या दालजस्ता पौष्टिक अन्न सहजै उब्जिने पश्चिम पहाडमा यसबारे सचेतताको अभाव छ । बर्खाको भल छोपेर धान रोप्ने, त्यो हुन नसके घरमूली या लोग्नेमानिस परिवारै छोडी भात खान या दसैँ–तिहारको खर्चको जोहो गर्न बर्खा सिद्धिएपछि मुग्लान झर्ने चलन अझै छ ।

केही वर्षअघि पश्चिम पहाडमा सेवारत रहँदा मैले दसैंमा बच्चाहरूले निधारको अक्षता खस्दा हत्तपत्त टिपेर मुखमा हालेको देखेको थिएँ । आफ्ना खेतबारीमै सम्भव हुने मकै लगायतका खाद्यान्न बालीहरू उत्पादन नगर्ने, उत्पादन गरे पनि सस्तोमा बेच्ने अनि आफ्ना बच्चालाई तिनैबाट बनेका नानाथरी जंकफुडमा बानी पारेर स्वास्थ्यमा लापरबाही गर्नु विडम्बना हो । राप्तीमा कार्यरत हुँदा मैले आमाले बच्चालाई स्तनपान नगराई चिजबल्स घोलेर खुवाउने गरेको सुनेको थिएँ ।

हामीले भातलाई महत्त्व दिएकाले बढी श्रम र पानी चाहिने धान खेतीमा हाम्रो पसिना बगिरहेको हो । देशभित्रकै उब्जनीले नपुगेपछि वर्षेनि अर्बौंको चामल आयात भइरहेको हो । पौष्टिकतायुक्त खाद्यान्न एवं नगदेबालीको उत्पादनमा राज्यले जोड दिन सके नेपालीको भात खाने बानीमा परिवर्तन आउँदै जान सक्थ्यो, नेपालीले भातभन्दा त्यसका साथीमा बढी बल गर्न सक्थे ।

प्रकाशित : असार २४, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?