चन्द्रमामा मानिस पुगेको ५० वर्ष

उत्तमबाबु श्रेष्ठ

आइतबार २० जुलाई १९६९, अमेरिकाको टेक्सासमा अवस्थित अमेरिकी अन्तरिक्ष संस्था नासाको मिसन कन्ट्रोल कक्षमा एउटा आवाज गुञ्जियो । ‘ह्युस्टन, ट्रयाङक्युलिटी वेस हियर, द इगल ह्याज ल्यान्डेड ।’ मानवजातिको साझा घर पृथ्वीदेखि करिब ३ लाख ४८ हजार किलोमिटर टाढाबाट प्राप्त उक्त आठ शब्दको सांकेतिक सन्देशमा एउटा अभूतपूर्व सफलताको सूचना लुकेको थियो ।

त्यसले अमेरिकी अन्तरिक्ष यान एपोलो ११ को ‘इगल’ नामक भाग चन्द्र धरातलको ‘ट्रयाङक्युलिटी वेस’ भन्ने स्थानमा सफल अवतरण भएको जानकारी मिसन कन्ट्रोल कक्षलाई दिएको थियो, जसको कोड नाम थियो ‘ह्युस्टन’ । पहिलो चन्द्रयात्री निल आर्मस्ट्रङले चन्द्रमाबाट पठाएको त्यो सन्देश बुझ्दै नासाका चार्ली ड्युकले पृथ्वीबाट जवाफ फर्काए, ‘रोजर ट्रयाङक्युलिटी, वी कपी यु अन द ग्राउन्ड ।’

उक्त संवाद भएको अर्थात निल आर्मस्ट्रङ, वज एडविन र माइकल कोलिन्स (उनले पृथ्वी फर्कन डिजाइन गरिएको यानमा बसेर चन्द्रमाको चक्करमात्रै काटे चन्द्रमामा टेकेनन्) ले पहिलोपटक चन्द्रमा पुगेको आज ५० वर्ष पुगेको छ । हालसम्म १२ जनाले चन्द्र सतहमा टेकिसकेको भए तापनि ५० वर्षअघि पहिलोपटक मानिसले पृथ्वी इतरको खगोलीय संसारमा पाइला टेकेको आजको दिन निल आर्मस्ट्रङले भनेजस्तै ‘मानवताकै लागि एउटा ठूलो फड्को’ थियो ।

उडी छुनु चन्द्र एक
नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रश्नोत्तर कवितामा ‘के हो ठूलो जगतमा पसिना विवेक, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेर लेखेको करिब एक दशकपछि तत्कालीन सोभियत संघले साँच्चै चन्द्र छुने प्रयास गर्‍यो । उनीहरूले पहिले स्पुतनिक यानलाई र केही समयपछि युरी गाग्रिनलाई अन्तरिक्षमा पठाए । अन्तरिक्षमा शीतयुद्घको प्रतिद्वन्द्वी सोभियत संघको एकपछि अर्को सफलताले अमेरिकामाथि प्रशस्त दबाब पर्न गयो ।

त्यसको जवाफमा देवकोटाको मृत्यु भएको दुई वर्षपछि (२५ मे १९६१ मा) तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी दुवै सदनको संयुक्त बैठकमा चन्द्रमा छुने संकल्प सुनाए । ‘यो देशले त्यो उद्देश्य प्राप्तिमा कटिबद्घ हुनैपर्छ भन्नेमा म विश्वस्त छु, यो दशक सकिनु अगावै हामी चन्द्रमामा टेकेरपृथ्वीमा सकुशल आउनेछौं,’ मुनसट (चन्द्र—संकल्प) भनेर चिनिने उक्त चर्चित भाषणमा केनेडीले भने ।

सोभियत संघसँगको अन्तरिक्ष दौडको प्रतिक्रियामा गरिएको उनको त्यो उद्घोषले संसारभर हलचल मच्चायो । त्यसबाट सबैभन्दा बढी अचम्भित र स्तम्भित स्वयम् अमेरिकी अन्तरिक्ष वैज्ञानिक र इन्जिनियरहरू नै भए । किनभने केनेडीको घोषणालाई वास्तविकतामा बदल्न थुप्रै प्राविधिक कठिनाइ थिए । भाषण गरिएको भन्दा मात्रै तीन वर्षअघि स्थापित नासाका कुनै वैज्ञानिकलाई पनि चन्द्रमामा कसरी मान्छे पुर्‍याउने भन्ने मेसो थिएन ।

चन्द्र सतहमा कसरी नौचालन (नेभिगेन) गर्ने, चन्द्रमासम्म पुग्ने रकेट कसरी बनाउने, रकेटलाई सञ्चालन गर्ने कम्प्युटरको हार्डवेयर र सफ्टवेयर कसरी बनाउने र अन्तरिक्ष यात्रीहरूलाई के खुवाउने भन्ने आधारभूत ज्ञान उनीहरूसँग थिएन । केनेडीको चन्द्रमा छुने संकल्पमा प्राविधिक अनिश्चितता र चुनौतीमात्रै थिएन, उक्त अभियानको विरोध सदनदेखि सडकसम्म भएको थियो । चन्द्र अभियानको रकम देशमा विद्यमान प्रदूषण नियन्त्रण र गरिबी घटाउनमा खर्चिनुपर्ने आवाज उठेको थियो ।

त्यस्ता प्रश्नहरूको जवाफ केनेडीले एक वर्षपछि राइस विश्वविद्यालयको प्रांगणमा भएको एक कार्यक्रममा दिए । करिब ४० हजार मानिस सहभागी उक्त सभामा चन्द्र संकल्पलाई फेरि दोहोर्‍याउँदै उनले भने, ‘हामीले चन्द्रमा पुगेर फर्कने निर्णय सजिलो भएकोले गरेका होइनौं, यो कठिन भएकोले नै गरिएको निर्णय हो । मलाई विश्वास छ, यसले हाम्रो विशिष्ट ऊर्जा र क्षमतालाई एकीकृत गर्नेछ ।’

देवकोटा गरिब देशका कवि थिए, उनले चन्द्रमा छुने कवितामात्रै लेखे । तर केनेडी संसारकै सबैभन्दा धनी देशका राजनीतिज्ञ थिए, उनले भिजन दिए । नागरिक अधिकार आन्दोलनबाट सम्हालिँदै गरेको र अन्तरिक्ष दौडमा पछि परेको मुलुकको आत्मबल बढाउन उनले चन्द्रमासम्म पुगेर फर्कने भीमकाय संकल्प गरे । आफ्नो भिजनलाई योजनामा बदल्न केनेडीले प्रशस्त स्रोत परिचालन गरे, संस्थानहरूको निर्माण गरियो । भनिन्छ, उनको भाषणपछि नासाको बजेट एक दशकमा प्रतिवर्ष ११० प्रतिशतले बढेको थियो ।

एपोलो अभियानको उत्कर्षताका अमेरिकाको कुल बजेटको पाँच प्रतिशतभन्दा बढी रकम नासाको लागिछुट्याइन्थ्यो । यद्यपि उनले आफूले देखेको सपना— चन्द्रमामा मान्छे पुर्‍याएर सकुशल फर्काउने—साकार भएको हेर्न पाएनन् । चन्द्रमामा मान्छे पुग्नुभन्दा ६ वर्षअघि उनको हत्या भयो । चन्द्रमामा मान्छेले पाइला टेक्दै गर्दा केनेडीको समाधिस्थलमा एक अपरिचितले शब्द श्रद्घाञ्जलीमा लेख्यो— ‘मिस्टर प्रेसिडेन्ट, द इगल ह्याज ल्यान्डेड ।’

सहकार्यको नमुना
मानिसलाई चन्द्रमामा पठाउने अभियानको नेतृत्व नासाले गरेको भए तापनि उक्त काम थुप्रै वैज्ञानिक, निजी र सार्वजनिक संस्थाहरू बीचको सहकार्यको प्रतिफल थियो । उनीहरूले समस्यामात्रै पहिल्याएनन्, समाधानका उपायहरू र कार्यप्रगतिको मापन पनि संयुक्त रूपमा गरे । शीतयुद्धका प्रतिद्वन्द्वी अमेरिका र सोभियत संघले पृथ्वीमा होडबाजी गरे तापनि चन्द्रमामा मान्छे पठाउने अभियानमा सहकार्य गरे ।

मान्छेलाई चन्द्रमा पठाउने अभियानमा एक दशकसम्म चार लाख वैज्ञानिक, इन्जिनियर र मजदुरहरूले निरन्तर काम गरेका थिए । आईबीएम कम्पनीले मिसन कन्ट्रोलको कम्प्युटर बनायो । म्यासेचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले नौचालन र नियन्त्रण प्रविधिको निर्माण गर्‍यो भने जर्मनीमा जन्मेका वैज्ञानिक वार्नर फन ब्राउनले रकेट इन्जिन ।

चन्द्रमामा मान्छेले पाइला टेकेको दृश्यको विश्वभर प्रत्यक्ष प्रसारणलाई अष्ट्रेलियाको टेलिस्कोपले सघायो । यसरी चन्द्र अभियानमा बृहत सहकार्यको एकीकृत ऊर्जा र दक्षतामात्रै खर्च भएन, पैसा पनि थुप्रै लागेको थियो । उक्त अभियानमा ऊबेलाको २५ विलियन डलर (अहिलेको डलर भाउमा २९० विलियन डलर) रकम खर्च भएको थियो ।
सफलताको सन्देश
ठूलो धनराशि, उन्नत क्षमता र विशाल ऊर्जा खर्च गरेर सफल भएको चन्द्र अभियान ठोस उपलब्धिको हिसाबले ‘केटाकेटीको खेल’ जस्तो देखिए पनि त्यसले अमेरिकाको विज्ञान—प्रविधि र इन्जिनियरिङको उत्कृष्टतालाई संसारभर स्थापित गरिदियो । उक्त अभियानले थुप्रै प्रविधिहरू स्याटेलाइटदेखि जीपीएससम्म, उड्डयनदेखि सुरक्षासम्मको निर्माणमा सहयोगी भूमिका खेल्यो ।

साहस र रोमाञ्चले भरिएको चन्द्रयात्राको सफलताले एउटा सिंगो पुस्तालाई नै विज्ञान—प्रविधि र अनुसन्धानको क्षेत्रमा लाग्न प्रेरणा दियो । नेचर जर्नलले विश्वभरका ८ सय वैज्ञानिकमाझ गरेको एउटा सर्वेक्षणमा सम्मिलित आधाभन्दा बढीले मानिस चन्द्रमामा पुगेको घटनाले आफूहरूलाई वैज्ञानिक अनुसन्धानमा लाग्न प्रेरित गरेको बताएका थिए । आज पनि निल आर्मस्ट्रङको नाम लिँंदा मान्छेहरू रोमाञ्चित हुन्छन् । हाम्रो जस्तो अन्तरिक्ष विज्ञानको विकास नभएको मुलुकमा समेत बच्चाहरूले नासामा पुगेर काम गर्ने सपना देख्छन् । गीतदेखि कलेजको नाममा नासा जोडिन्छ ।

नेपालमा अहिले पनि कसैले ठूलो संकल्प गर्ने बेलामा महाकविको उडी छुनु चन्द्र एक कवितालाई उद्धृत गरेजस्तै विश्वभर केनेडीको चन्द्र संकल्पलाई सम्झिइन्छ । केनेडीको चन्द्र संकल्पको घोषणा एउटा युवा राष्ट्रपतिले गरेको दुस्साहसी भाषणमात्रै थिएन । त्यो एउटा विहंगम भिजन थियो ।

जसमा समस्या पहिचान, समाधानको ठोस योजना, आवश्यक स्रोत र साधन तर्जुमा, कार्यान्वयन गर्ने संस्थानहरू निर्माण र ती बीचको सहकार्यको संयन्त्र साथै कामलाई निश्चित समयभित्रै सकाउने प्रतिबद्धता जस्ता सफलताका लागि चाहिने सबै अवयव थिए । त्यसैले मानव इतिहासमै सबैभन्दा बढी खतरनाक, साहसिक र अनिश्चयको उडान मानिएको चन्द्रमाको यात्रा सफल भएको थियो ।

केनेडीको भाषणले जनतामा उत्साह जगाएको थियो । उनले भाषण गर्नुपूर्व विज्ञहरूसँग चन्द्रमा यात्राको चुनौतीहरूको विश्लेषण र सफलताको पूर्वानुमान गरेका थिए । त्यसैले त्यो विश्वसनीय पनि थियो । चन्द्र यात्राको सफलताले आफ्नो देशले फड्को मार्ने भन्दै उनले जनताले तिरेको करको पैसा सही ठाउँमा प्रयोग हुने विश्वास दिलाएका थिए ।

नेपालमा विकासका ठूला सपना देखाउने नेताहरूले गर्ने भाषणमा केनेडीको चन्द्र संकल्पजस्तो सफलताको सुनिश्चित गर्ने अवयव र विश्वसनीयताको कमी दुवै देखिन्छ । देश विकासको ‘भिजन’ आफ्नोमात्रै भएकोले त्यसको कार्यान्वयन आफैले मात्र गर्न सक्ने दृष्टान्त दिएर सदैव पदमा टाँसिरहने नेपालका नेताहरूले केनेडीको जीवनबाट सिक्न सक्छन् ।

पचास वर्ष अघिको चन्द्रमामा मान्छेले टेकेको घटना अहिले हाम्रो देशले भोगिरहेको कतिपय घटनाक्रमसँग मिल्दोजुल्दो लाग्छ । नेपालमा कुनै नयाँ कुरा सुरु गर्दा हुने विरोध वा अवरोध स्वाभाविक भएजस्तै चन्द्र अभियानमा पनि विरोध र अवरोध भएको थियो । एपोलो ११ को रकेट प्रक्षेपण गर्ने दिन जुलाई १६ मा प्रक्षेपणस्थलफ्लोरिडाको केप कार्निभलमा सयौंले नारा–जुलुससहित प्रदर्शनसमेत गरेका थिए ।

उक्त अभियान पनि प्राथमिकताहरू बीचको द्वन्द्वबाट गुज्रिँदं अघि बढेको हो । त्यसमा साहसमात्रै थिएन, बलिदान र त्यागको कथाहरू पनि थिए । थुप्रै असफल परीक्षणबाट सिक्दै सुधार्दै बढाइएको उक्त कार्यक्रममा परीक्षणका क्रममा तीनजना अन्तरिक्ष यात्रीले ज्यानै गुमाएका थिए । चन्द्रमासम्म पुगेर पनि त्यहाँ पाइलानटेक्ने माइकल कोलिन्स जस्ता इतिहासको पर्दा पछाडि बस्ने मानिसहरूको कथा हो— चन्द्र अभियान ।

खर्बौं डलरको खर्च, लाखौं मानिसको ऊर्जा र क्षमताले सफल भएको उक्त आयोजनाको सत्यलाई एउटा मान्छेले फैलाएको भ्रमले कतिसम्म प्रभावित पार्न सक्छ भन्ने उत्कृष्ट उदाहरण चन्द्रमामा मान्छेले टेकेको घटनाभन्दा सायदै अरु होला । सन् १९७६ मा विल केसिङले छापेको ‘हामी कहिल्यै चन्द्रमामा गएका थिएनौं ः अमेरिकाको ३० विलियन डलरे झुट’ नामक पर्चाले चन्द्रमामा मानिस नपुगेको भ्रम विश्वभर छरिदियो । षडयन्त्रको सिद्घान्तमा विश्वास गर्नेहरूले त्यसको प्रचारबाजी गरे । फलस्वरुप अझै पनि कतिपय मानिस त्यही भ्रममा विश्वास गर्छन् ।

‘मानवताले ठूलो फड्को मारेको’ पचास वर्षपछि पनि पृथ्वीबाट हेर्दा चन्द्रमा उस्तै देखिन्छ । बरु यतिखेर मानव बस्ने पृथ्वी र प्रविधि फेरिएको छ । हामीले अहिले बोक्ने स्मार्ट फोनको क्षमता एपोलो ११ मा जडित कम्प्युटरको क्षमताभन्दा हजारौं गुणाले बढ्दै गर्दा पृथ्वीको स्वास्थ्यको ग्राफ निरन्तरघट्दो छ । जलवायु परिवर्तन र वातावरण विनाशले मानवीयता नै संकटमा पर्दै गरिरहेको वर्तमानमा मानवजातिलाई आफ्नै वासस्थान जोगाउने नयाँ संकल्पको खाँचो छ । नयाँ चन्द्र—संकल्प अर्थात पृथ्वी जोगाउने संकल्प ताकि मानवताले फेरि एकपटक नयाँ फड्को मारोस् ।

लेखक इन्स्टिच्युट फर इन्टरडिसिफ्लिनरी स्टडिजसँग सम्बन्धित छन् ।
ट्विटर : @uttambabu

प्रकाशित : श्रावण ४, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

अपरिचित रूप, अपरिमेय डर

सुभेच्छा भण्डारी

‘तिम्रो जस्तो मुटु मेरो पनि...नबोलाउ मलाई निठुरी भनी...’, पृष्ठभूमिमा नारायण गोपालले आफ्नो स्वरको जादुले गीतमा समेटिएका हरेक शब्दलाई इन्साफ दिँदै थिए भने मचाहिँती शब्दहरूमा रमाउँदै लेसन प्लानिङलाई इन्साफ दिने प्रयासमा तल्लिन थिएँ ।कपासझैँ मुलायम आफ्नै दुनियाँमा रमाउने ती बादलहरू त्यो दिन खै कोसँग रुष्ट थिए।

काला र निला हुँदै रुन्चे अनुहार बनाउँदै हरिया डाँडासँग सहयोगको अपेक्षा गर्दै थिए । तिनीहरूको भलाकुसारी धेरै बेर नै चल्यो । डाँडाले पनि त्यो दिन ती बादललाई आफूसँगै बस्ने निम्तो दिएछन् कि खै बादल त्यहाँबाट हटेनन् । बेलुका पखको त्यो सिरेटोले अनुहारभरि छरपस्ट पारिदिएको कपाल र भुइँभरि खलबल पारिदिएका कापीका पानालाइ समेट्दै गर्दा घडीले सवा सात भएको संकेत गर्‍यो । सोचेँ आजलाई यति नै ।

बरन्डासँगको दुई घन्टाको साथपछि कापी–किताबको सानो चाङ बनाएर कोठामा छिर्ने मेसोमेलो गर्दा नगर्दै एउटा अन्जान आवाजले मेरो होश उडाइदियो । ‘नानी, घरमा एक्लै हौ ?’ नौलो अनुहार न कहिल्यै देखेको नत भेटेको । अनुहारमा फिँजारिएका रेखाहरू देख्दा लाग्यो, अर्धशताब्दी पार गरेर रमाइरहेको वा किशोरावस्थाका दिन सम्झेर बुढेसकाल लाग्दाको दुःखमाछट्पटाइरहेको पुरुष चरित्र हुनुपर्छ ।

जति भयानक प्रश्नलाई पनि सजिलै हल गरेर परीक्षा कोठाबाट निस्कने मलाई त्यो प्रश्नले पहाडझैँ थिच्यो । अन्जान मुखबाट निस्किएको प्रश्न भएर पनि होला । हुन त बोर्ड परीक्षामा प्रश्नपत्र निकाल्ने शिक्षक ’नि सबै परिचित कहाँ हुन्थे र ? मुटु पृथ्वी हाइवेमा ड्राइबरले कुदाएको हाइसझैँ हाँकिन थाल्यो । पावरलेसनेस स्वस्तिका दिदीले इन्स्टिच्युटमा कैयौँपटक उच्चारण गरेको शब्दको अर्थ त्यो दिन सिँढीमा मलाइ घोरिएर हेर्दै प्रश्न गरेको व्यक्तिलाई देख्दा मैले महसुस गरेँ ।

उत्तरमा के भनुँ ? मुटुको रफ्तारलाई उछिन्दै मस्तिष्कको रफ्तारले जित हासिल गर्‍यो । त्यो दिन थाहा भयो, हाम्रो मस्तिष्क कति रफ्तारमा चल्छ भनेर । केही सेकेन्डको अवधिमै सयौँ विचारहरूको ओइरो लाग्यो । महेन्द्रपुलको भिडलाई छिचोल्दै ५० प्रतिशत सेल लागेको दोकानमा आत्तिँदै पुगेको व्यक्तिझैँ एउटा विचारले मस्तिष्क हुँदै मुखसम्म बाटो बनायो । फ्याट्ट जवाफ आयो, कहाँ एक्लै हुनु, हुनुहुन्छ नि अरू पनि । केही काम थियो र ? भोलि आउनुहोस् न । बाआमा आउन अलि ढिला होलाजस्तो छ ।

धान बारीको बीचमा घर अनि एक्ली म । आमा र बा कुनचाहिँ आफन्त बिरामी परेर उतै बस्नेगरी जानुभएको थियो र सहकर्मी साथी भने राजधानी । मेरो उत्तरपश्चात त्यो व्यक्ति चारैतिर आँखा डुलाउँदै मुस्कुराउँदै सिँढीबाट ओर्ली तगारोतर्फ लाग्यो । सूर्यले पनि त्यतिन्जेलसम्म बिदाइ मागेर डाँडापारि गैसकेको थियो। मेरो मुटुमा सिर्जिएको भयावह अवस्थाको जानकारी र मस्तिष्कमा उब्जिएका परिकल्पनाको भेउमात्र मलाई थियो र म छु यहाँ भन्दै मैतिर ढल्किएर म बस्ने धन्सारलाई घेरिरहेका धानलाई ।

मन र मस्तिष्कको रफ्तार सँगसँगै हातकोरफ्तारले पनि बढाउँदै कापीको चाङलाई उठाउँदै कोठाभित्र पसेँ । ढोका र झ्याल बन्द गरेर तिनको निरीक्षण गरिसकेपछि ढोका छेउमा आएर बसेँ। जेको डर थियो, त्यही भयो । मोबाइल खोलेर हेर्छु, मेरो होशजस्तै त्यसको टावर पनि उडेको रैछ । हुन त बरन्डामा त नटिप्ने टावर कोठाभित्र, म पनि सपना देख्दै थिएँ । ग्यालेरी खोलेर भएभरका पावर र मोटिभेसनका कोट्स पढ्न थालेँ । तर आँखाले जति नै कोट्स पढे पनि मस्तिष्कमा सावधान इन्डियाका कथा र विद्यार्थीहरूले मिस, हजुर बस्ने घरमा त डरलाग्दो घटनाहरू भाछ भन्ने कुराहरू घुम्न थाले ।

आँखाले मोबाइलको स्क्रिन बाहेक केही हेर्न खोजेन । लेखेर पठाएका एउटा मेसेज डेलिभर भएनन् । ढोकामा बसेर मोबाइल हेर्दाहेर्दा डेढ घन्टा भयो । आँखा पोल्न थाले । घाँटी मरुभूमिझैँ सुक्खा भयो । तर ज्यानले पानी ल्याउने त के ढोका खोल्नेसम्म पनि आँट गरेन । मुटु ज्वालामुखीझैँ पोलिरहेको थियो । त्यही छट्पटीमा अर्को आधी घन्टा पनि बितेछ । केही बेरपछि आँगनमा सर्याक् सुरुक् गरेको आवाजले मेरो शरीरको तापक्रम बढाइदियो ।

लाग्यो, रगत उम्लेर नसा राफमा जलिरहेछन् । बाँच्नुछ भने एक मिनेटमा जे गर्छस् गर, आफूलाई बचाउन भनेझैँ मैले भकारी पछाडिभएको गोर्खालीले दुश्मनको घाँटी छिनालेपछिनपखाली राखेर खिया लागेको खुकुरीजस्तै खुकुरी झिकेर हातमा समाएँ । अनि विस्तारै गएर बत्ती निभाएर खाटमा पल्टिएँ ।

आँगनबाट सिँढीतर्फ आउँदै गरेको आवाज बरन्डानिर आएर रोकिएको आभास भयो मलाई । लामो श्वास फेरेर आफूलाई होशमा ल्याउने प्रयास गरेँ । सपना भैदियोस् भनेर प्रार्थना पनि गरेँ । तर त्यो नितान्त विपना नै थियो। मेरै ढोका अगाडि आएर रोकिएका ती पाइलाले खै कस्तो कदम अघि सार्ने सोचमा थिएँ । शरीरमा बढेको त्यो तापक्रमले मेरा भावहरूलाई पगालिदिए र आँखाबाट खोला बनेर कानको बाटो गर्दै घाँटी बनेर सिरानीमा मिसिन गए मेरा भावहरू ।

एउटा हातमा खुकुरी र अर्को हातमा मोबाइल। आँसु पुछ्नलाई कुनै हात बेरोजगार थिएनन्, त्यो रात । बादलले जति रुष्ट भए पनि त्यो दिन किन आँसु झारेनन् भनेको त त्यो दिन रुने पालो मेरो थियो । ढोकामा आएको हल्का धक्काले मलाइ गेटसेटको पोजिसनमा बस्न आह्वान गर्‍यो । लामो सास तानेँ, फेरि खुकुरीलाई कस्सिएर समाएँ, अनि जुरुक्क उठेर सिधा बसेँ । लाग्यो, गोर्खालीकै सन्तति हुँ, आइलागे जे पनि गर्न सक्छु । तर त्यसपछि निकै बेरसम्म कुनै आवाज आएन । मन दह्रो पारेर खाटमा के पल्टिएकी मात्र थिएँ, पाइला अघि बढेर अर्को कोठा भएसम्म पुगी फर्किएँ ।

तर मेरो होश भने त्यो रातभर फर्किएन । हातमा खुकुरी लिएर काठको सिलिङतिर हेर्दै मन र मस्तिष्कमा हजारौँ कुरा खेलाउँदै बिहानको घामको झुल्कोको पर्खाइमा बसिरहेँ ।

घडीले ५ बजेको संकेत गर्न नपाउँदै र आमाबाको आवाज सुन्न नपाउँदै म जर्‍याक–जुरुक उठेँ। हातबाट खुकुरी के तल राख्न लागेको थिएँ, औँलाहरू त कुँजिएझैँ भए । औँलाका हरेक कोस दुखाइमातड्पिरहेका थिए । तर पनि खुकुरी भुइँमा फालेर बाहिर निस्किएँ । नयाँ दिन अनि नयाँजीवन । नयाँ हिम्मत अनि नयाँ सिकाइ। डरलाइ जितेर त्यो दिन म त्यो कोठाबाट बाहिर निस्किएँ । आमाबालाई आँखा अगाडि देख्दा भक्कानो फुट्नेगरी रुन पनि मन लाग्यो, तर आँसु त राति नै सकिएछन् । त्यसैले मुसुक्क हाँसिदिएँ, अनि ठिक छ भनी जवाफ दिएँ, के छ मिसको प्रश्नमा ।

बादल पनि शान्त भएर डाँडासँग बिदाइ मागेर गइसकेछन् र म पनि शैक्षिक असमानता हटाउने लडाइँमा खुकुरी हैन, कलम लिई त्यस दिनको तयारीमा जुटेँ ।

लेखक टिच फर नेपालमार्फत श्री त्रिभुवन माध्यमिक विद्यालय, लमजुङमा अध्यापन गर्छिन्।

प्रकाशित : श्रावण ४, २०७६ ०८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT