१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मस्तिष्कको कथा

रमेश के.सी.

के मस्तिष्क भ्रम हो ? यो जैविक तन्तुहरूको मेसिन हो ? भाष, स्मृति, संज्ञान, भावना र सपना यो भित्रै छ । यसर्थ स्नायु वैज्ञानिकहरू यसको अध्ययनमा जुटेका छन् । राष्ट्रपति जर्ज डब्ल्यू बुसले सन् ९० को दशकलाई ब्रेनको दशक नामकरण गरेका थिए । जसको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा डा. भी.एस. रामचन्द्रनले सम्भाषण दिएका थिए ।

मस्तिष्कको कथा

रामचन्द्रन ती स्नायु वैज्ञानिकहरूमा पर्छन्, जसलाई अक्सफोर्ड विश्वविद्यालयका जीव वैज्ञानिक रिचर्ड डकिन्सले स्नायु विज्ञानका मार्कोपोलो भनेका थिए ।

चारैतिर हड्डीहरूको बीचको एक पाउ मासु रहेको यो मस्तिष्क विज्ञानको आविष्कार गर्न बाँकी रहेको अन्तिम सिमाना बताइएको छ । एक्काइसौं शताब्दीको दोस्रो दशक आइपुग्दा मस्तिष्कबारे धेरै नै अध्ययन भएको छ । यसले निकट भविष्यमा मानव चेतनाको उत्पत्तिबारे पनि आविष्कार गर्ने छ । यदि मानव चेतनाको उत्पत्तिको रहस्य थाहा लाग्यो भने ज्ञान/विज्ञानको क्षेत्रमा नयाँ क्रान्ति हुनेछ । अहिलेसम्म हामीलाई रहस्य र अज्ञात लागेका प्रश्नहरूको उत्तर भेटिनेछ ।

मानसिक रोगको सजिलै निदान हुनेछ । आखिर यो चेतनाले मानव जीवनको आदि र अन्त्यको कथा बोकेको छ । यही चेतनाका कारण समाजमा बुद्ध भगवान् भए, हिटलर राक्षस भए । अहिलेसम्मको अनुसन्धानअनुसार मस्तिष्क एक कपोकल्पित अवधारणा बनेको छ । विचारलाई नै हामीले मस्तिष्क भन्दै गएका छौं । तर ब्रेन अर्बौं न्युरोन्सहरूको संयोजन हो । न्युरोट्रान्समिटरहरूको रसायनहरूको खेल हो ।

१७ औं शताब्दीका फ्रान्सेली दार्शनिक रेने डेकार्ट पीनएल ग्लान्ड आत्मा हो भन्थे । तर त्यो सही सावित भएन । उनको प्रसिद्ध भनाइ छ, ‘म सोच्छु त्यसैले म छु ।’ दर्शनशास्त्रको क्षेत्रमा अत्यन्त धेरै उद्धृत गरिएको यस उक्तिले अहिले पनि स्नायु वैज्ञानिकहरूलाई चकित तुल्याएको छ । ‘म’ भन्ने नै भ्रम हो भन्ने निर्णयमा स्नायु विज्ञान पुगेको छ ।

प्रायःजसो सिजोफ्रेनियाका बिरामीहरूको ‘म’ विखण्डित भएको हुन्छ । उनीहरू विभ्रम र मनको विशृंखलताबाट गुज्रिरहेका हुन्छन् । आफ्नो स्व भन्ने हराएपछि उनीहरू डिपर्सनालाइजेसनमा पुगेका हुन्छन् । यो जटिल रोगको उपचारका लागि स्नायु विज्ञानले नयाँ आविष्कार गर्न लागेको छ ।

अटिजम, डिप्रेसन, अल्जाइमर्स, बाइपोलर र क्षारे रोगको निदानका उपाय पनि पत्ता लाग्नेछ । मनोविकार विज्ञानको समस्यालाई स्नायु विज्ञानले समाधान गर्ने छ । यसै क्रममा न्युरल टेक्नोलोजीको अवधारणा आएको छ । यो प्रविधि विकास भएमा मस्तिष्कको संसारमा अद्भुत क्रान्ति आउने छ ।

‘दि फ्युचर अफ दि माइन्ड’ का लेखक मिचियो काकु भन्छन्– भविष्यको साम्राज्य मस्तिष्कको साम्राज्य हो । मस्तिष्कलाई सूचना प्रविधिसँग जोडेपछि यसको क्षमतामा वृद्धि हुन्छ । यसले अचम्मको काम गर्नेछ । मानव मस्तिष्कको विषयमा प्राचीनकाल देखिनै चिन्तन हुँदै आएको हो । आध्यात्मिकहरूले ध्यानस्थ मस्तिष्कको आविष्कार गरेका थिए ।

अब स्नायु विज्ञानले यसको नयाँ आयामबारे उजागर गर्नेछ । सन् १९४० मा बेलायती दार्शनिक गिल्बर्ट रायलले ‘दि कन्सेप्ट अफ माइन्ड’ लेखी यसको अध्ययनलाई लोकप्रिय बनाएका थिए । मस्तिष्क ब्रेन नै हो । ब्रेनले जे गर्छ त्यो नै मस्तिष्क हो भन्ने दार्शनिकहरू पनि छन् । यसको अध्ययनमा द्वैतवादी र पदार्थवादीहरू छन् । द्वैतवादीहरू धर्मको नजिक हुन्छन् भने पदार्थवादीहरू विज्ञानको नजिक हुन्छन् ।

पदार्थवादी स्नायु वैज्ञानिक डेनियल डेनेट हुन् । उनी चेतनाको उत्पत्तिको आविष्कार गर्न लागेका छन् । सन् ६० को दशकमा सबै कुरा संस्कृतिमा खोजिन्थ्यो । त्यतिखेर सांस्कृतिक अध्ययन फस्टाएको थियो । अहिले हिंसा, प्रेम, आवेग, यौन, दया, माया र सिर्जना सबै मस्तिष्कमा खोजिन्छ । मानव जीवनको अध्ययनमा यसले पद्धतिगत परिवर्तन ल्याएको छ । प्रमात्रा भौतिकी जस्तो विज्ञान पनि अहिले यसको अध्ययनमा लागेको छ ।

रोजर पेनरोज जस्ता गणितज्ञ मस्तिष्कमा चेतनाको उत्पत्ति अणुहरूको अन्तर्क्रियाबाट हुने बताउँछन् । मस्तिष्कको क्षमता बढाउने औषधिहरू उपलब्ध हुन थालेको छ । अहिले व्यापक रूपमा प्रयोग हुन थालेको कृत्रिम बुद्धिको आधार एल्गोरिदम पनि मस्तिष्कको क्षमतामा नै छ । मस्तिष्क बूढो उमेरसम्म प्लास्टिक जस्तो तन्किने गरेको अनुसन्धानले देखाएको छ । न्युरो प्लास्टिसिटी भनिएको यस स्वभावले विभिन्न मानसिक घात र रोग भएका मानिसलाई निको हुन मद्दत गर्छ ।

यो तन्किने स्वभावले मस्तिष्क परिवर्तन भइरहन्छ र आफ्नो पुरानो स्वास्थ्य रूपमा फर्कन खोज्छ । सांस्कृतिक रूपमा भारतीय, नेपाली, अमेरिकी, अरबी र अफ्रिकी मस्तिष्कहरू पनि सक्रिय हुन्छन् । यसर्थ मस्तिष्क स्नायुदेखि संस्कृतिसम्म जोडिएको छ । यसै प्रसङ्गमा अहिले ईश्वरको अस्तित्व पनि मस्तिष्कमै खोज्न थालिएको छ । न्युरोन्सको अध्ययनबाट ईश्वरको खोजी हुन सकिने तथ्य आएको छ । मस्तिष्कका बाह्य र आन्तरिक रूपहरू हुन्छन् । बाह्य रूपमा यसको सामाजिक र सांस्कृतिक प्रभाव हुन्छन् भने भित्री रूपमा स्नायु र रसायनका कार्य हुन्छन् ।

बीसौं शताब्दीको प्रारम्भसम्म मस्तिष्कलाई बर्जित विषय मानिन्थ्यो । मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले मनको अध्ययनबाट नयाँ दर्शन पत्ता लगाएपछि मस्तिष्कलाई गम्भीर रूपमा लिन थालियो । सन् ९० को दशकबाट प्रविधिको विकाससँगै एमआरआई र ईसीटीको आविष्कारले क्रान्ति ल्यायो । अहिले हामी रङ्गीन मस्तिष्क चलिरहेको अवस्थामा कम्प्युटरमा हेर्न सक्छौं । मस्तिष्क कम्प्युटर प्रविधिसँग जोडिने छ । माइन्ड नेटको उत्पत्ति हुनेछ ।

सपनाहरूलाई भिडियो टेपमा राख्न सकिने छ । सुदूर भविष्यमा शरीरबाट चेतनालाई निकालेर अन्तरिक्षमा पठाउन सकिने छ । भाषा र सौन्दर्य कसरी उत्पन्न हुन्छ त्यो पत्ता लाग्नेछ र कृत्रिम रूपमा मस्तिष्क बनाउन सकिनेछ । स्पेस विज्ञान जस्तै अत्यन्त जटिल मानिएको यो क्षेत्र बिस्तारै सार्वजनिक रूपमा प्रयोग र उपभोगको साधन बन्नेछ । अहिले प्रभावशाली रहेको कम्प्युटर विज्ञान, इन्टरनेट र भविष्यमा व्यापक हुने कृत्रिम बुद्धिको आधार भनेको मस्तिष्कको क्षमता र कल्पनाशीलता नै हो ।

नयाँ विज्ञानले बाह्य संसारको होइन कि आन्तरिक संसारको अध्ययन गरिरहेको छ । मानव शरीरको संरचना र बुद्धिमाथि केन्द्रित यो अध्ययनले शरीरको जैविक यन्त्रलाई अनुकरण गरिरहेको छ । अघिसम्म पदार्थको अध्ययनको युग मानिएको समय अब शरीरको युगमा प्रवेश गरेको छ ।

प्रकाशित : श्रावण ४, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?