१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ग्रेड भर्सेज गुण 

रोश्ना सुब्बा

नारायणथान जाने साझा बस जावलाखेलमा कुरिरहेकी थिएँ । साढे ६ वर्षकी भदै पनि मेरो हात समातेर उभिएकी थिइन् । खर्पनमा तरकारी बोकेर ६० वर्षजतिका एक व्यक्ति हामीतिर आउँदै थिए । तरकारीको भारी भएर हो कि के हो उनको हिँडाइ सन्तुलित थिएन । अलिकति चढाएका पनि थिए कि सायद । किनकि उनी सडकको छेउ लागेर जोगिएर हिँडिरहेका थिएनन् ।

हामी नजिक पुग्दा उनको खर्पनबाट तरकारी झर्न थाल्यो । मेरी भदै मेरो हातबाट फुत्किएर तरकारी उठाउँदै खर्पनमा हाल्न थालिन् । तरकारी खर्पनमा हालिदिएपछि भदै म भएको ठाउँमा आई । ती व्यक्ति अलिकति अघि बढेपछि फेरि खर्पनबाट तरकारी झर्न थाल्यो । भदै फेरि सहयोग गर्न गई । यसपालि मैले पनि साथ दिएँ । र, स्याबासी पनि । साझा बस कुरिरहेकी एक महिलाले कति ज्ञानी नानी भनेर प्रशंसा गरिन् ।


एक अन्जान व्यक्तिलाई सहयोग गर्न यसरी अघि सर्ने मेरी सानी भदैलाई मैले यसकारण रोकिनँ कि केही वर्षअघि मैले मेरो छोरालाई रोकेकी थिएँ । ९ वर्षको थियो ऊ त्यतिखेर । रक्सीले मातेर सडकमा लडेका एक वृद्धलाई उठाउन खोज्दा मैले रोकेकी थिएँ । छोराले साह्रै चित्त दुखायो । सहयोग नगरोस् भन्ने मेरा चाहना थिएन तर उसलाई नै ती वृद्धले केही गर्देलान् कि भन्ने डर थियो । उसलाई उसको उमेरअनुसार सायद मैले बुझाउन सकिनँ कि त्यतिखेर । केटाकेटीहरू अरूलाई जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न अघि सर्छन् तर हामी अभिभावक प्रायः रोक्छौँ ।


यस्ता गुण सिकाउन विद्यालयमा नैतिक शिक्षा पढाउनुपर्‍यो पनि भन्छौँ हामी । पढाइ भइरहेको छ पनि । तर किताब पढाउने घोकाउने, जाँचमा राम्रो नम्बर पनि ल्याउने तर व्यवहारमा नउतार्ने काम भइरहेको छ । साँचो बोल्नुपर्छ, ठूलालाई आदर गर्नुपर्छ, वृद्ध वृद्धालाई माया अनि असहायलाई सहयोग गर्नुपर्छ इमानदार हुनुपर्छ भन्छौँ । घरमा विद्यालयमा यही सिकाउँछैँाँ । तर आफैँ केटाकेटीको अगाडि उल्टो व्यवहार गर्छौँ । समयमा पुग्दैनौँ, जाम थियो भन्छौँ । घरमा कसैको फोन आयो भने छैन भनिदेऊ भन्छौँ । उनीहरूकै अगाडि बूढाबूढीको वास्ता गर्दैनौँ, धूमपान मद्यपान गर्छौँ । अनि उनीहरू कसरी पत्याउँछन् ।


हामी भन्छौँ एकथरी, गर्छौँ अर्कोथरी । तर हामीले भनेको जसरी भए पनि केटाकेटीले पालना गर्नुपर्छ भन्ने ठान्छौँ । यस्तोमा चित्त नबुझेको कुरा उनीहरूले भनेमा वा प्रश्न गरेमा जान्ने हुन्छस् भनेर थर्काउँछौँ घरमा होस् वा स्कुलमा । यस्तोमा ठूलो भएर उनीहरूले कसरी प्रश्न या असहमति राख्न सक्लान् । फलानो यस्तो भनेर उनीहरूलाई अरूसँग तुलना गर्न खप्पिस हामी अभिभावक शिक्षक हाम्रा बारेमा पनि बिनादबाब बोल्न कुरा राख्न दिउँ न । सक्छौँ हामी ?


अझ केही विद्यालयमा निकै डरलाग्दो अभ्यास भइरहेको छ । कसले नेपाली बोल्यो, हल्ला गर्‍यो वा के नराम्रो काम गर्‍यो त्यस्ता विद्यार्थीविरुद्ध जासुसी गर्न लगाइन्छ । योभन्दा अनैतिक र अपरिपक्व काम के होला । जासुसी गर्ने विद्यार्थीचाहिँ अनुशासित ज्ञानी मानिन्छन् । राम्रो ग्रेड ल्याउने विद्याथीहरू नै जासुस बनाइन्छन् । परिपक्व भइनसकेका विद्यार्थीको जासुसी रिपोर्टका आधारमा अर्को विद्यार्थीलाई उसको कुरा नसुनी अपराधी दोषी ठहर्‍याइन्छ । जासुस विद्यार्थीलाई अरूले मन पराउँदैनन् । शत्रु ठान्छन् । विद्यार्थी विद्यार्थीबीच आपसी मेल, सहकार्य, सद्भाव वृद्धि गर्न सिकाउने दुश्मनी वा घृणा पैदा गर्न सिकाउने ?


जसलाई जासुस बनाइएको हुन्छ, उसमा म जान्ने, ज्ञानी अनुशासित हुँ भन्ने पर्छ । सबैले मलाई मान्नुपर्छ टेर्नुपर्छ वा डराउनुपर्छ भन्ने हुन्छ । उसमा कमीकमजोरी हुँदैन वा ऊबाट गल्ती हुँदैन भन्ने हुन्छ । तर ठूलो हुँदै जाँदा, योभन्दा फरक अवस्था आउँदा उसले त्यस्तो अवस्थालाई कसरी सामना गर्न सक्छ ? जबकि गल्ती सबैबाट हुन्छ, यसबाट धेरै सिक्न सकिन्छ भन्ने सबै विद्यार्थीले जान्न पाउनुपर्छ ।


जासुस बनाएर एकथरी विद्यार्थीलाई केही गल्ती नै नगर्ने जस्तो र अर्कोथरीलाई सधैँ गल्ती गर्ने जस्तो बनाइएको छ । दुई वर्षअघि अस्ट्रेलियाका केही पब्लिक स्कुल भ्रमण गर्ने मौका पाएकी थिएँ । जहाँ शिक्षकहरू ‘ट्राइ इट, मेक मिस्टेक एन्ड लर्न फ्रम इट’ भन्नेमा विश्वास गर्ने रहेछन् ।


पढ्दा, खेल्दा वा कुनै पनि गतिविधि गर्दा गल्ती हुन सक्छ र त्यसबाटै उनीहरूले सिक्छन् भन्ने मान्यता राख्दा रहेछन् । भ्रमणकै क्रममा एक विद्यालयमा एसेम्ब्लीका बेला पुगियो । अभिभावकहरू पनि बस्न पाउँदा रहेछन् । अभिभावकका लागि चिया कुकिज राखिँदो रहेछ । खुकुलो टिसर्ट र हाफ पेन्टमा थिए विद्यार्थीहरू । टाई बेल्ट कस्नु नपर्ने रहेछ । कुनै विद्यार्थीका कपाल लामो थियो भने कसैको पंक स्टाइल । हामीकहाँ भए यस्ता विद्यार्थीलाई अनुशासनहीन भनेर डिआईले समातेर कपाल काट्दिहाल्छन् ।


त्यस दिन विभिन्न क्रियाकलाप तथा विधामा विद्यार्थीलाई पुरस्कार वितरण गर्ने दिन रहेछ । ग्रेड वानका एक विद्यार्थीले अनेस्टी अवार्ड पाएको घोषणा गरियो । ती विद्यार्थी नाच्दै उफ्रँदै खुसी हुँदै अवार्ड थाप्न गए । सारा विद्यार्थी शिक्षक अभिभावकका अगाडि तालिका साथ उनलाई अवार्ड दिइयो ।


पछि मैले प्रिन्सिपललाई त्यो पुरस्कारका बारेमा सोधेँ । ती साना विद्यार्थीले विद्यालय परिसरमा भेट्टाएको पैसा उनलाई बुझाएका रहेछन् । ती साना विद्यार्थीलाई उनको इमानदारीको कदर गर्दै त्यत्रा मान्छेका अगाडि पुरस्कृत गरिँदा सारा विद्यार्थीलाई इमानदार बन्न प्रेरित गरिँदै थियो । यो पुरस्कारले अभिभावकहरूलाई पनि आफ्ना केटाकेटीको यस्तो गुणको कदर गर्न सकारात्मक सन्देश दिइरहेको थियो ।


हामीकहाँ त जब हाम्रा केटाकेटीले केही काम बिगार्छन्, अनि स्कुलले सम्झन्छन् । अभिभावकलाई बोलायो अनि केटाकेटीलाई बदमासको संज्ञा दियो । स्कुलको फोन आयो कि तर्सिने अभिभावक धेरै छन् । कक्षा ५ मा हुँदा यस्तै फोन आयो । छोरोले टाई फुकाएर घुमिरहेको पंखामा फालेछ । टाई त्यही अड्किएछ अर्थात् शिक्षकको भनाइमा बदमासी गरेछ ।


क्लासमा कोही हुनुहुन्नथ्यो त ? मैले सोधिहालेँ । सम्बन्धित शिक्षक नआएपछि अनुपस्थित भएका कारण कक्षा खाली भएको रहेछ । ‘तपाईंको छोरा अलि बदमासी नै गर्छ’ शिक्षकको यो आरोपमा संगीत खेल वा कुनै गतिविधिमा संलग्न गराइदिएको भए यस्तो हुँदैनथ्यो नि भनेर मैले पनि प्रतिवाद गरेँ । तर जब केटाकेटीले अरू विद्यालयमा भएका विविध प्रतियोगितामा राम्रो गछनर्् वा प्राकृतिक विपत्का बेलामा मनकारी काम गर्छन् स्कुलबाट अभिभावकलाई फोन आउँदैन ।


अपार सम्पत्ति जोड्नु र उच्च पद प्राप्त गर्नु नै सफलता र सुखको परिभाषा पनि हुन सक्छ कतिका लागि । राजनीतिक आस्था वा भागबन्डाका आधारमा क्षमताभन्दा उच्च पद पाइरहेको देखेर वा भ्रष्ट भएर कमाए पनि, जतिसुकै ठूलो अपराध गरे पनि केही नहुने अहिलेको समयमा यस्ता कुरा कतिलाई त हावादारी वा आदर्शवादी लाग्न सक्छ । तर अनैतिक काम गर्न मन नपराउने/नचाहने पनि छन् त समाजमा । यो गलत हो भनी बोल्ने–सोध्ने पनि छन् । अनि हामी मनभित्रबाट कस्तालाई आदर गर्छौँ ? समाज वा देशका लागि योगदान पुर्‍याइरहेका इमानदारलाई कि अरूलाई ?


पारिवारिक बेमेल, अनावश्यक लोभलालच, देखासिकी जस्ता कारणले राम्रो पद अनि प्रशस्तै सम्पत्ति भएका र नभएका पनि तनावमा छन् । औषधि खाइरहेका छन् । हामीमध्ये कतिपय यही अवस्थाबाट गुज्रिरहेका वा गुज्रिसकेका छौँ । आफ्नै ठानिएका कति त टाढिन्छन् यस्तो बेला ।


त्यस्ता आफन्त, प्रियजन र साथी संगीकै साथ महत्त्वपूर्ण हुन्छ, जो टाढा भाग्दैनन् र साथ दिन्छन् । खराब अवस्थाबाट पार लगाउन सहयोग गर्छन् । यस्तो साथ र सहयोग औषधिभन्दा बढी प्रभावकारी हुन्छ ।


हाम्रा केटाकेटी वा विद्यार्थीमा पनि अरूलाई आपत् पर्दा सहयोग गर्न अघि सर्ने गुण हुन्छ । उनीहरू गलतलाई गलत भन्ने आँट गर्छन् । गल्ती भए सरी भन्छन् । अरूलाई सजिलै माफ गर्न पनि सक्छन् । ठूलाले जस्तो इख राख्दैनन् । साँचो बोल्न र इमानदारी मन पराउँछन् । तर हामी उनीहरूको यस्ता गुणको साह्रै कम कदर गर्छौँ ।

हामीलाई त रिपोर्ट कार्डमा वा ग्रेड सिटमा उत्कृष्ट ग्रेड वा शैक्षिक उपलब्धि भए पुग्छ । हामी सामाजिक सञ्जालमा पनि यही देखाउँछौँ । यसैमा मख्ख पर्छौँ । गर्व गर्छौँ । कम अंक ल्याए उनीहरूलाई दबाब दिन्छौँ । पढाइमा जतिसुकै अब्बल भए पनि मानवीय गुण भएन भने अर्थहीन हुन्छ । बिरामीलाई राम्ररी नहेरे कसरी राम्रो डाक्टर भइन्छ ?


अरूको कृति चोरेर प्राध्यापक भए के योगदान भयो र ? बुढेसकालमा आमाबुबालाई नहेर्नेहरू आफ्ना छोराछोरीका अघि कसरी असल अभिभावक हुने त ? असल व्यक्ति भए मात्र घर परिवार, छरछिमेक, साथीभाइ, समाज र देशका लागि असल भूमिका निर्वाह गर्न सकिन्छ । त्यसैले केटाकेटीका राम्रो ग्रेड मात्र होइन, असल गुणको फनि कदर गरौँ ।


[email protected]

प्रकाशित : श्रावण १८, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?