१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पिसाब चुहिने समस्या

डा. अर्जुनदेव भट्ट

मूत्रथैलीको यो समस्या विश्वव्यापी छ । धनी होस् कि गरिब सबैलाई यो रोगले सताउन सक्छ । संसारका करोडौं मानिस यस रोगबाट पीडित छन् । खासगरेर ४० वर्षमाथिका पुरुष तथा महिलामा यो समस्या देखा पर्छ । पुरुषभन्दा महिलामा मूत्रथैलीबाट पिसाब चुहिने समस्या बढी देखिन्छ ।

दिउसो होस् कि राति पिसाब लागेपछि रोक्न नसक्ने, छिटोछिटो हुने र कहिलेकाहीं त रोक्दारोक्दै पनि पिसाब चुहिन सक्छ ।


मूत्रथैली मांसपेशीले बनेको अंग हो । प्रचुर मात्रामा रक्तनली तथा स्नायुले भरिएको हुन्छ । यसले मूत्र सञ्चय र निष्कासनको काम गर्छ । २४ घण्टामा ७/८ पटक पिसाब फेर्नु स्वाभाविक मानिन्छ । सामान्यतया मूत्रथैलीको आयतन ३ देखि ५ सय मिलिलिटर क्षमताको हुन्छ । तर, थैलीले एक पटकमा त्योभन्दा बढी पनि मूत्र सञ्चय गर्न नसक्ने होइन, सक्छ । पिसाब फेरिसकेपछि विशेष प्रकारको आनन्द अनुभव गरिन्छ । उपयुक्त ठाउँ तथा समय अभावमा पिसाब फेर्न नपाउँदा मानिसले केही समय रोक्न सक्छ । थैलीको मूत्र सञ्चय गर्ने क्षमता महिलामा गर्भधारण भए/नभएको र कब्जियत छ/छैन त्यसमा पनि भर पर्ने गर्छ ।


जब मूत्रथैलीका मांसपेशी अति सक्रिय हुन्छन् तब यो समस्या देखिन्छ । थैलीका मांसपेशी अति सक्रिय केले गर्दा हुन्छ ? यसका एउटै मात्र कारण छैनन् । विभिन्न अवस्थामा विभिन्न कारण छन् । मूत्र संक्रमण, कब्जियत, धेरै बसिराख्नुपर्ने पेसा, प्रचुर मात्रामा तरल पदार्थ सेवन, दुर्बल वा गतिशील मूत्रनली, कमजोर मानसिक अवस्था आदिले मूत्रथैलीको मांसपेशी अति सक्रिय हुन पुग्छ । र, यो रोग लाग्छ । यो रोग लागेको कसरी थाहा पाउने ?


लक्षण

पिसाब लागेपछि रोक्नै नसक्ने र छिटोछिटो पिसाब फेर्न गइराख्नुपर्ने हुन्छ । पिसाब चुहिन पनि सक्छ । जुन बिरामीलाई यी लक्षणले अति नै दिक्क पारेको हुन्छ तिनीहरूको दिनचर्या तथा सामाजिक आवतजावतमै नराम्रो असर पर्छ । चुहिएको पिसाबले जननेन्द्रिय आसपास घाउ हुने, चिलाउने, संक्रमण हुने इत्यादि हुन सक्छ ।


यस्ता बिरामीको प्रायः निद्रामा समस्या, चोटपटक लाग्ने सम्भावना र मानसिक सन्तुलनमा समेत असर पर्न सक्छ । यो समस्या भएका बिरामीले आफूलाई लज्जित महसुस गर्छन् । उनीहरू निरुत्साहित र खिन्न दखिन्छन् । महत्त्वपूर्ण कार्यमा संलग्न छन् भने तिनीहरूको कार्यमा बाधा पुग्नुका साथै उत्पादनशीलतामा नै नराम्रो असर पुग्न सक्छ । उमेरका कारण पनि मूत्रथैली बढी सक्रिय भई यो समस्या देखिन सक्छ ।


६५ वर्ष नाघेकाहरूमा यो समस्या ३० प्रतिशतभन्दा बढी पाइन्छ । महिलामा रजोनिवृत्ति यो रोगको अर्को कारण हो । मूत्रथैली तथा मूत्रनली, तल्लो पेटका अंग तथा मांसपेशी आफ्नो स्थानबाट तल झर्‍यो भने पनि यो रोग लाग्न सक्छ । मोटोपनले पनि यो रोगलाई निम्त्याउँछ । मोटोपन भएकाहरूलाई यो रोग लाग्यो भने उपचारमा जटिलता पैदा हुन्छ । धेरै मध्यपान गर्नेहरूलाई पनि यो रोगले सताउन सक्छ । तरल पदार्थको अपर्याप्त वा अत्यधिक सेवन गर्नु पनि अति सक्रिय मूत्रथैलीको अवस्था निम्त्याउनु हो ।


मस्तिष्कमा रक्तस्रावका कारणले पनि पिसाब रोक्नै नसकी चुहिने गर्छ । मस्तिष्क रक्तस्राव वा रक्तनली खुम्चिएर वा बन्द भएर मस्तिष्कमा रक्तअल्पता भएका बिरामीमध्ये करिब ७० प्रतिशतमा पिसाब चुहिने, छिटोछिटो फेर्नुपर्ने तथा यससम्बन्धी अन्य समस्या देखा पर्छन् ।


पारकिन्स, अल्जाइमर, मल्टिपल सक्लेरोसिस, स्पाइनल स्टेनोसिस, मस्तिष्क रक्तस्राव वा रक्तअल्पता हुनुभन्दा अघि पनि मूत्रथैलीसम्बन्धी अति सक्रिय समस्याले सताउन सक्छ । मधुमेहका रोगीहरूमा पनि मूत्र सञ्चय तथा निष्कासनमा समस्या देखा पर्न सक्छ ।


उपचार

रोग कुन चरणमा छ, त्यो हेरेर उपचार विधि अपनाउनुपर्छ । ज्यादै कम अप्ठ्यारो महसुस गर्ने बिरामीलाई खासै उपचार गरिराख्नु पर्दैन । तरल पदार्थ तथा पानीको सेवनमा आवश्यक सरसल्लाह दिए पुग्छ । पिसाब लागेर राति धेरै पटक उठ्नुपर्नेहरूले साँझपछि कम तरल पदार्थ पिउनु बेस हुन्छ ।


२४ घण्टामा खाए, पिएको सबै रेकर्ड राखेर कतिपल्ट, कति मात्रामा पिसाब भयो, त्यसको दैनिकी तयार गरी सतर्कता अपनाउनुपर्छ । तल्लो पेटको मांसपेशीलाई बलियो पार्ने कसरत गर्नुपर्छ । कब्जियत हुनेले प्रत्येक दिन दिसा हुने गरी खानपिन व्यवस्था गर्ने तथा आवश्यक पर्दा सामान्य औषधि उपचार पनि गर्नुपर्छ ।


‘बायो फिडब्याक’ तरिका अपनाएर स्वसञ्चालित स्वायत्त स्नायुलाई नियन्त्रणमा राख्ने प्रशिक्षण आवश्यक हुन्छ । उचाइअनुसार शरीरको तौल सही राख्नुपर्छ । यदि मूत्रथैली अति सक्रिय अवस्थामा पुगेर समस्या आएको हो भन्ने यकिन भयो भने त्यहीबमोजिम उपचार थाल्नुपर्छ ।


जस्तै : पिसाबमा संक्रमण देखा परे उपयुक्त एन्टिबायोटिक प्रयोग गरिन्छ । महिलामा हर्मोनको कमीले मूत्रनली साँघुरिने तथा योनी सुक्खा भएमा इस्ट्रोजेन मल्हमको प्रयोगबाट उपचार गर्न सकिन्छ । रोगको कारण थाहा छैन भनेचाहिँ ‘बिहेभिएरल’ उपचार, औषधि उपचार र शल्य उपचार विधि अपनाउनुपर्छ । एउटै उपचार विधिबाट आशा गरेअनुरूप उपचार हुन नसकेको अवस्थामा तीनै विधि अपनाउनुपर्छ ।


लेखक वरिष्ठ युरोलोजिस्ट हुन् ।

प्रकाशित : श्रावण १८, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?