कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

डरको अन्तर्कथा

समय रेखा
अभि सुवेदी

हिजोआज नेपालमा हामी राजनीतिमा लोकतन्त्र र समाजवादका चर्चा गर्छौं । त्यो सिद्धान्तको रूपमा गरिने विषय हो । सबैतिर यिनै स्थुल विषयका छलफल हुन्छन् । नेपालको संविधानले नै यो राज्यका स्थापित मूल्य के हुनेछन् भन्ने लिपिबद्ध गरेको छ । सबै राज्यका हुन्छन्, स्थापित मूल्य । तिनको पालना गर्नुपर्छ भन्ने मान्यताहरू नै त्यो देशलाई डोर्‍याउने आधार मानिन्छन् ।

डरको अन्तर्कथा

म यो लेखमा संविधान वा राजनीति होइन, डरको विषयमा केही लेख्न लागेको छु । तर फेरि संविधानकै एकाध चर्चा गर्नु सान्दर्भिक छ । किनभने अमूक राज्यका मानिसका भर र डर दुबै संविधान भन्ने एउटा लिखित दस्तावेजसँग जोडिएका हुन्छन् । त्यसो त संविधान डरका स्रोत पनि हुन्छन् ।


संसारको प्रजातान्त्रिक संविधान र प्रयोगको जननी मानिने ब्रिटेनको अलिखित संविधान अनि सामन्ती युगबाट निस्किनसकेको अनि क्रान्तिहरू र उथल–पुथलबाट बनेको नेपाली संविधानले मेरो मनमा प्रश्नहरू जन्माएको छ । ब्रिटेनको ३० मे २०१९ को इकोनोमिस्ट पत्रिकाले ब्रिटेनको संविधान विषयमा लेखेका यी कुराले मलाई तरङ्गित पार्‍यो । लेखेको छ, असंख्य चलन, परम्परा र नित्य गतिशील परिवर्तनमुखी प्रयोगले बनेको संविधान अहिले भताभुङ्ग हुने खतरामा पुगेको छ ।


पत्रिका अझ थप्छ, देश विखण्डित पनि हुनसक्छ । चलन र परम्परा अनि कानुनको साम्य गरेर बनेको संसारकै बलियो मानिएको संविधान अहिले ब्रिटेनबाट अलग हुनलागेको वा ब्रेक्सिटको कारणले भत्किने त होइन भन्ने त्यो देशको त्यत्रो उत्तरदायी पत्रिकाले यस्ता कुरा लेख्नुको कारण एउटै हुनसछ । त्यो हो, अब संविधानजस्तो मूल कानुन पनि स्थायित्वको आधार नहुन सक्छ ।


त्यसैले नेपालको संविधान पूर्ण छैन, यो धेरै प्रयोग र चक्रवात पार गरेर आएको र यसमा संशोधन हुँदै जानेछन् भन्ने हामी सबैलाई बोध हुनु र यसको भित्री सामर्थ्यको सबैले सम्मान गर्नु समाधानको एकमात्र उपाय हो । यसमा संशोधनका विषयमा बहस सांसदहरूले नै गर्दै आएका छन् । विभिन्न राजनीतिक दलका माग त्यस्तै महत्त्वपूर्ण संविधान बलियो बनाउने विषय हुन् । अरु बहस पनि छन् । यो लिखित संविधानलाई पूर्ण गर्दै जाने माग, सुझाव र चिन्ता सबै सिर्जनशील छन् ।


हामीकहाँ धेरै किसिमका छलफल हुन्छन्, अनि तरङ्गहरू उठ्छन् । अहिले चर्चामा आउने विषयमा सरकारका नीति, पूरा नभएका ठेक्का, आसेपासे पुँजीवाद, जसरी पनि राज्यको वा जनताको धन खान गरिने प्रपञ्च र भूमिका, छलछाम गर्ने प्रयोग अनि शिक्षा, संस्कृति, मिडिया र अरु तीसँग जोडिएका विषयहरूमाथि नियन्त्रण गर्ने सरकारका प्रपञ्च पर्छन् । आमसञ्चार, छलफल, घर, सडक र सेमिनारमा यिनका खुला चर्चा भइरहनुले देखाउँछ, नेपाल प्रजातन्त्रको युगमा प्रवेश गरेको छ ।


तर अहिले नेपालमा हामीले खासै त्यति ध्यान नदिएको अर्को विषय छ । त्यो हो– डर । हामी त साहित्यमा डरको प्रयोग गर्छौं । हामी पात्रका रचना गर्छौं । तिनका भित्री भय र खुसी, पीडा र आल्हादित अवस्थाको चित्रण गर्छौं । कवितामा आक्रोश र कुण्ठा भन्ने हाम्रा शब्द धेरै चल्तीमा छन् ।


साहित्यमा डरको प्रयोग गर्दा त्यसलाई एउटा रचनाभित्र राखेर त्यसमा एउटा समाज र विश्व चेतनाको प्रयोग गर्ने व्यक्तिलाई पात्र बनाउँदै ती मानिस डराएको चित्रण हुन्छ । तिनले डराउने कारण अनेक हुन सक्छन् । जस्तो– युद्धको कारणले ती मानिस डराउँछन् । त्यस्तो डरको विषय कि त उपन्यास र कथामा लेखिन्छ कि कविता र नाटकमा । तर त्यस्तो डर संस्मरणहरूमा पनि लेखिन्छ । नेपालको माओवादी युद्धसँग जोडिएका अनेकौं संस्मरण मैले पढेंँ । आफूले पीएचडी शोध गराएका विद्यार्थीले प्रयोग गरेका त्यस्ता पाठका विश्लेषण पनि भए । तर अवस्था फरक हुन्छन् । हेरेका र भोगेका मनहरू फरक हुन्छन् ।


एकाध उदाहरण लिन्छु । दीनानाथ शर्मा नामका एक भद्र र शान्त लेखक छन् । ती उच्च तहका माओवादी नेता हुन् । अहिले मिलेको कमिनिष्ट पार्टीमा पनि ती माथि नै छन् । यी मानिसले लेखेका दसवटा कृतिमध्ये झन्डै पाँचवटा पढेको छु । तिनका किताब विमोचनहरूमा बोलेको पनि छु । यी क्रान्तिकारी नेताका सबै निबन्ध र संस्मरण शान्त छन् । ती कुनैमा पनि युद्ध संस्मरणमा जस्तो आगोका लप्का कहीं भेटिँंदैनन् । भर्खरै शमी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको शर्माको संस्मरणात्मक र अन्य निबन्धहरूको त शीर्षकै झरीको सौन्दर्य (२०७६) छ । तर त्यही युद्धमा संलग्न मानिसका मनस्थिति कसरी फरक हुन्छन्, त्यो आफैंमा खोजको विषय हो ।


युद्धले डरको मानसिकता जन्माउँछ । त्यसलाई ‘ट्रउमा’ भनिन्छ । त्यसलाई नेपालीमा अभिघात भनेर अनुवाद गरिएको छ । शान्तिमाया गिरी नामकी एक पीएचडी शोधार्थीले युद्धसापेक्ष नेपाली कथामा अभिघातको विश्लेषण गरेर तयार पारेको शोधप्रबन्ध बाह्य परीक्षकको रूपमा अध्ययन गरेपछि मलाई लाग्यो, नेपालमा युद्धले सिर्जना गरेको मनस्थितिको साहित्यमा प्रयोग भएको छ र त्यसको सम्यक् अध्ययन पनि हुँदैछ । गिरीको त्यो शोधप्रबन्ध आधुनिक नेपाली कथामा अभिघात (२०७५) शीर्षकको किताब भएर आइसकेको छ ।


म यो लेखमा ‘ट्रउमा’ वा अभिघातबारे छलफल गर्न लागेको होइन । ‘ट्रउमा’ अध्ययनकी मलाई सबभन्दा मनपर्ने विश्लेषक क्याथी कारुथले पनि दाबी नगरेका अनुभूतिको विषय आजको विश्वमा भयानक रूपले आइरहेको छ । त्यसबाट विश्वका कुनै पनि मुलुक र तिनका समाज, तिनका राजनीति र राजनेता अनि सरकार मुक्त छैनन् । मिडियाका जुनसुकै माध्यम खोलेर वा सुनेर बस्ने बित्तिकै अहिले यो एक्काइसौं शताब्दीको विश्व पहिले अनुभूति नगरिएको डर बोकेर हिँंडिरहेको छ । त्यो राजनीतिसँग सम्बन्ध राख्छ ।


जातीयता, धर्म, अनुहार, रङ्गसँग सम्बन्ध राख्छ । राजनीतिक सिद्धान्तमा भन्दा राजनीतिको बाटोबाट शक्ति हत्याउने मनोग्रन्थिसँग सम्बन्ध राख्दैछ, त्यसले । त्यो हरेक दिन र रात जटिल र खराब हुँदै गइरहेको छ । अहिले हाम्रा विशाल शक्तिशाली छिमेकी देशहरू भारत र पाकिस्तान संयुक्त रूपले डढेलो उद्घाटन गर्ने अवसर खोज्दैछन् ।


मलाई हिजोआज लागेको छ, नेपालमा डर भन्ने कुरा अहिले व्याप्त र शक्तिशाली बन्दै गएको छ । एउटा यस्तो देश जहाँका विपन्न मानिस, किसानलाई डर लाग्ने भनेको मौसम, बाढी आउने खोला, रोग, खेतीपाती सप्रिने हो कि होइन भन्ने कुरामा मात्र हो । साधारण खेती गरेर घाम, जून र तारामुनि स्वाभिमान बोकेर खुसीले बसेका ती मानिसकोमा राज्य, दल, क्रान्तिकारी अनि सैनिक पुगेपछि अनौठा डर जन्मिन सुरु भएका हुन् ।


ती साधारण विपन्न मानिसका मनमा डर पछिल्तिर केही आशा पनि थिए । त्यसका निम्ति उनले सकेका सहयोग पनि गरे । तर तिनीहरू छिटै विस्मृतिमा परे । कतिले ज्यान गुमाए, गुमाइरहेका छन् । यथार्थ डरसँग बाँच्ने धेरै छन् । राजनीति भन्ने अमूक विषय छ र त्यो सबैतिर छाएको छ, उनीहरूले बुझे ।


तर अहिले नेपालमा डराउनेमा राजनेताहरू पनि पर्छन् । सरकार पनि डराउँछ । म कुनै राजनीतिक दलसँग असम्बद्ध एक शिक्षक । नेपालको भव्य समयको भव्य सरकारका धेरै नीति र बिलहरूका अन्तर्यमा डर देख्न थालेको छु । मलाई लाग्न थालेको छ, सायद मिडियालाई नियन्त्रण गर्न खोज्नु डरै हो । राम्रा सांस्कृतिक र कलात्मक रचना बन्ने सन्दर्भहरूमा पनि नियन्त्रणका सपना बुन्नु डरै हो । स्वतन्त्र विश्वविद्यालयहरू बनुन्, स्वतन्त्र चिन्तकहरू बनुन् भन्नुको सट्टा तिनलाई नियन्त्रणमा राखौं भनेर तिनको छेकथुन गर्न पार्टीबाट डिठ्ठाहरू खटाएर पठाउनु डरै हो ।


किताब आयातमा कर लगाउनु डरै हो । गतिला स्वतन्त्र सिनेमाहरूमाथि नियमका भारी बोकाउन खोज्नु डरै हो । हिजोको इतिहास सम्झेर तर्सिनु डरै हो । दलहरूभित्र समस्या समाधान गर्न नसक्नु एकअर्काबाट डराउनु हो । डर इच्छाबाटै जन्मिने हुन्, जसको चरित्र पुँजीवादले निर्माण गर्छ । तिनै इच्छालाई दबाउन र आफूले मात्र परिपूर्ति गर्न कानुन बन्छन् ।


पछिल्लो पुँजीवादले जन्माएका अनियन्त्रित, दिशाहीन अनि लगाम नलागेका इच्छा परिपूर्ति हुँदैनन् कि भन्ने शंका नै नेपालमा डरको मूल कारण हो । त्यसैले धनका जति भ्रष्ट खेल हुन्छन् र तिनका चरित्रहरू प्रकटभन्दा लुप्त हुँदै जान्छन्, त्यति नै डर बढ्छन् । तर यस्ता डराउने इच्छा प्रताडित शक्तिशालीहरू सर्वसाधारण मानिसका निम्ति डरलाग्दा पात्र हुन सक्छन् ।


अन्त्यमा, डरको अर्को कारण पनि उच्चारण गर्न चाहन्छौं । साहित्यिक भावनाले पनि भन्छौं । नेपालमा डरको मूल कारण विश्वास र मानवताबाट टाढा हुँदै जानु हो । तर डर र लोभबाट एकैपटक काम गर्न थाल्ने मानिस र संस्था आफू पनि सकिन्छन्, अरुलाई पनि भत्काउँछन् । तर यत्ति भनौं, नेपालमा हामी डरबाट मुक्त हुन सक्षम छौं, किनकि हामीसँग मानव तत्त्व जीवन्त छ । विश्वास गर्नु, माया गर्नु, माफी माग्नु अनि माफ दिनुमा जति मुक्ति र स्वतन्त्रता छ, त्यो कुनै हतियार र हिंसाको बाटोबाट पाउन सकिंँदैन भन्ने प्रमाणित भैसकेको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?