कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिचौलिया

सिउँडी
विमल निभा

काठमाडौँ — यतातिर पार्टी र सरकारको कुरा मिलिरहेको छैन भन्ने कुरा बाहिर आएको छ । यो कुरा बाहिर आइसकेपछि मैले झट्ट समातेर एक पार्टीको कमरेडसँग सोधेंँ, ‘के तपाईंहरूका सरकारसँग कुरा मिलिरहेको छैन कमरेड ?’ ‘कुन सरकार ?’ उनले पनि मसँग झट्ट सोधे ।

‘तपाईंहरूकै सरकार, अरु कुन सरकार ?’


‘म आफैं सरकारमा छु ।’ उनको निधार खुम्चियो, ‘मेरो मसँग कुरो किन मिल्दैन ?’

कमरेड भर्खरै मन्त्री बनेकाले मसँग यस्तो चुक हुनगयो । तर मन्त्री पनि पार्टीकै हुन् नि ! अनि पार्टीसँग कुरो किन मिलिरहेको छैन त ? त्यसैले मैले म अघि उभिएका मन्त्रीसँग भनेंँ, ‘तपाईहरूका पार्टीसँग कुरो मिल्दैन मन्त्रीज्यू ?’

‘के कुरा गर्नुभएको ?’ उनले मेरो कुराको आशय बुझ्न खोजे ।


‘मेरो कुरा स्पष्टै छ नि, सरकार र पार्टीको कुरो किन मिलिरहेको छैन ?’

‘वास्तवमा कुरो के हो भने हामीले यो कुरा बुझ्नसकेको छैन, पार्टीको कुरो के हो ?’ उनले गम्भीर भएर भने, जब कुरा नै बुझिँदैन भने कुरो कसरी मिल्छ ?’


‘त्यसो भए, पार्टीको कुरो कसरी बुझ्ने त मन्त्रीज्यू ?’

यसको जवाफमा सरकारका तर्फबाट सरकारी मन्त्रीले म सम्मुख जे–जे कुरा गरे, त्यो कुरा मैले बुझ्न सकिन । त्यसउसले कुरा बुझ्नैपर्‍यो भनेर मैले एक वरिष्ठ पार्टी कमरेडसँग कुरा गरेँं, ‘आखिर कुरो के हो कमरेड ?’

‘के कुरा ?’ उनले उल्टै मसँग नै सोधे ।

‘पार्टी र सरकारको कुरो के हो ?’

‘के पार्टी र सरकारको कुरा ?’


‘सरकार र पार्टीको कुरो किन मिलिरहेको छैन कमरेड ?’ मैले कुरा स्पष्ट पार्न खोजेँं, ‘कुरो के हो ?’

‘यसमा कुरो नै यही हो कि सरकारसँग हाम्रो कुरो मिलिरहेको छैन, अरु कुरो के छ ?’

‘तर सरकारका मानिसहरू भनिरहेका छन्, पार्टीको कुरो नै बुझिएको छैन, कुरो के हो ?’


‘जब सरकार हाम्रो कुरा नै बुझ्दैन भने अरु कुरा के गर्ने र ?’ वरिष्ठ पार्टी कमरेडले एउटा लामो सास फेरेर भने, ‘असलमा कुरो यही हो ।’


मलाई पार्टी र सरकारको कुरा गजब लाग्यो । सरकार एउटा कुरा गर्छ र यसको जवाफमा पार्टी अर्को कुरा । जब दुवैका कुरा नै बेग्लाबेग्लै छ भने त्यो कुरा कसरी मिल्छ त ? यो कुरा मिलाउन पार्टी र सरकारले एउटै कुरा गर्नुपर्‍यो, अनि कुरा त्यसै मिल्नेछ । यसमा गाह्रो कुरा के छ ? अब सरकार र पार्टीले दुई थरीका कुरा गरेर मिलेन भन्न मिल्छ त ? त्यो कुरा त मिल्दैमिल्दैन नि ! अँ, एउटा कुरा, असलमा कुरो के हो भने मैले भेटेको वरिष्ठ पार्टी कमरेडको पनि मन्त्री बन्ने कुरा चलिरहेको छ । यस्तो हुने हो भने त सरकारसँग कसो कुरा नमिल्ला ? तर यो पनि आंशिक समाधान हो ।

ठूला–ठूला सरकारी ठेक्का लिने ठेकेदार र सरकारको कुरा मिलाउने एक बिचौलियासँग मेरो भेट भयो । अचेल उनी पार्टी र सरकारको कुरा मिलाउन लागिरहेका छन् । मलाई पनि पार्टी र सरकारमा दिलचस्पी लिएको देखेर उनी मुस्कुराए, ‘तपाईं कुरै बुझ्नुहुन्न ।’


‘के कुरा बुझिन मैले ?’ साँच्चिकै कुरा नबुझेर भनेंँ मैले ।

‘यो अरुका कुरामा नचाहिँंदो इन्ट्रेस्ट लिने व्यंग्यकार–स्यंग्यकारले बुझ्ने कुरै होइन ।’

‘के कुरा ?’

‘मैले सरकारसँग कत्रो–कत्रो ठेक्काको कुरा मिलाइसकेँं भने यो के कुरा हो र ?’ उनको स्वरमा आत्मविश्वास थियो, ‘म भोलि नै बालुवाटार जाँदैछु ।’


‘सम्माननीय प्रधानमन्त्रीज्यू पार्टीका अध्यक्ष पनि होइनन् र ?’ मलाई चुपचाप टोलाइरहेको पाएर उनले थपे, ‘तपाईंहरू कुरै बुझ्नुहुन्न ।’


‘के कुरा ?’ मेरो बक फुट्यो ।

‘हेर्नोस्, पार्टी अध्यक्ष रहेका सम्माननीय प्रधानमन्त्रीज्यूसँग कुरा मिले सबै कुरा मिलेन त ?’ उनले हाँसेर भने, ‘पार्टी र सरकारको कुरा जरुर मिल्नेछ ।’

प्रकाशित : श्रावण ३२, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?