कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

सहरी छाउसँगको संघर्ष

सुभेच्छा भण्डारी

काठमाडौँ — ‘घामतिर नहेरी हिँडेस् नि’, भान्छाको झ्यालबाट नियालेर हेरिराख्नुभएकी आमाले बाहिर निस्केर भन्नुभयो । कालो, लामो कपालमा ठूला राता रिबन । माथि सेतो कमिज अनि तल फुर्र परेको जामा । शिशु कक्षादेखि ८ सम्मको रातो जामासँगको त्यो यात्रा । साँचिकै रातो रङसँग नै प्रेम बसिसकेको थियो ।

सहरी छाउसँगको संघर्ष

रातो रङजस्तै गाडा प्रेम । त्यसमै रङ्गिएकी म घर बाहिर रहेको कोठाको झ्यालमा आफ्नो प्रतिविम्ब नियालिरहेकी थिएँ । आमाको बोली सुनेपछि उहाँलाई पुलुक्क हेरेँ । थोरै रिसमा, धेरै जिज्ञासु भावमा । प्रतिक्रियामा के भन्ने मसँग

जवाफ थिएन ।


घरको छेल पर्दै गेटबाट बाहिर निस्किएँ । त्यसैगरी बाहिर निस्किँदै थिए, मनको बाँध फुटेर जिज्ञासाका भेलहरू । घामलाई चाहिँ किन नहेर्ने होला भन्ने सोचले डोर्‍याउँदा–डोर्‍याउँदै आधा बाटो हिँडिसकेछु, पत्तो भएन । मुन्टो तल झुकाएर, कुनै अपराधपछि मान्छेले चिन्छन् भन्ने डरले अनुहार लुकाएको अपराधीजस्तै अघि हिँडिरहेँ म ।


टिँटिट्...। नजिकै आएर एउटा गाडीले हर्न बजायो । झस्केर मुन्टो माथि उठाउँदा त आफ्नै दाइ । मलाई हेरेर मुसुक्क

हाँस्नुभयो । हर्नको आवाजको झस्काइभन्दा दाइलाई देखेपछिको झस्काइ बढी भयावह भयो । सम्झिएँ, आमाले घरका छोरा मान्छेको अनुहार नहेर्नु भनेको । अनि मुन्टो झुकाउँदै केही नबोली फटाफट पाइलाको गति बढाएँ ।

साँच्चिकै प्रतिघन्टाको दरमा काटिँदै थिए मेरा स्वतन्त्रताका पखेटा र निसास्सिएका आशाहरू बैसाखीको सहाराले अघि बढ्दै थिए ।


विद्यालयको गेटमा पुग्दा मेरा पाइलामा स्वतः ब्रेक लाग्यो । विद्यालय शिक्षाको मन्दिर । र मन्दिरभित्र नछिर्ने नियम आमाले बनाइदिनुभएको सूचीको पहिलो नम्बरमा थियो । यसपाली म छिरेँ । नियम तोडेर म भित्र छिरेँ । ढुङ्गाको मूर्तिलाई नछुने आज्ञा विपरित मैले सजिव मेरा शिक्षाका देवी र देवतालाई छोएँ । पूजाको थालीरूपी कापी–किताब खोली मेरो भविष्य रङ्गाउने मन्त्रोच्चारण गर्न थालेँ । दुर्भाग्यवश मैले धेरै माया गर्ने रातो रङले भने मलाई आफ्नो काबुमा राख्न थालिसकेको थियो ।


यसरी मेरो रातो जामा पछाडि झुक्किएर लागेको रातो दागले कतै मलाई हाँसोको पात्र बनाउँछ कि भन्ने डरले मेरा अनगिन्ती महिना बितिरहे । विद्यालयको रातो जामाभन्दा कलेजको निलो जामा पछाडिको दाग बढी शक्तिशाली ठहरियो । मेरो प्यारो रातो रङ मेरालागि रातो ट्राफिक बत्ती जसरी स्टपको सिग्नल बन्यो, जसले मेरो स्वतन्त्रतालाई निचोरेर त्यसको रसले सामाजिक कुरीतिलाई पोसिरह्यो ।


‘छाउगोठमा सर्पको टोकाइबाट १ महिलाको मृत्यु’ । एक गाँस चाउमिन मुखमा हाल्दै एउटा साथीले मोबाइलको स्क्रीन हेर्दै सुनाइन् । त्यसपछि चाउमिन गला तल पुर्‍याउँदै भनिन्, ‘यो छाउगोठको आतङ्क के हो यस्तो ? कता कता रहेछ हो मित्र यो आतङ्कको असर ?’


स्नातक पढ्दै गर्दा देशका घटना र सामाजिक विषय–वस्तुका गफले चाउमिन र समोसाका प्लेटसँगै टेबुलमा ठाउँ पाएको थियो । दुई प्रश्न उनको मुखबाट खस्न नपाउँदै तर्कको ओइरो लाग्यो । ती प्रश्नले मलाई भने सोचमग्न बनाइदिए । त्यही सोचको फलस्वरुप सेमिनारको टपिक रोजेँ ‘छाउपडी इन नेपाल’ ।


एउटा माकुरा आफूले बनाएको जालोमा सिकारको खोजीमा टहलिएझैँ टहलिएँ म इन्टरनेटको जालोमा । मैले खोजेँ, पढेँ । सुदूर पश्चिमका छाउका छाप्रामा कुक्रुक्क परेर बसेका ती खुट्टाको दुखाइ पर्दा बाउँडिए मेरा खुट्टा । तिनै छाप्रामा निसास्सिएका पलहरू सोच्दा मेरा सुस्केरा छुटे ।


एउटा सेमिनार सकेर स्लाइडमा भएका तस्बिरमा प्रस्ट भावले अमिलिएको मेरो मन लिएर घर पछाडिको आँगन टेक्दा गिज्यायो, मलाई त्यो कन्क्रिट कोठाले । गिज्यायो, त्यो झ्यालको सिसाले जसमा म रातो पोसाक लगाएपछिको आफ्नो रूपलाई नियाल्थेँ ।


त्यो सेमिनारको अन्तिम स्लाइडमा त्यतिबेला मैले आफ्नो तस्बिर पनि हुनुपर्ने महसुस गरेँं— एउटा निलो कन्क्रिट छाउगोठको चिसो भुइँमा काला थाङ्नामाथि कक्षा ८ को तयारी गरिरहेकी म ।


फराकिलो थियो, म बसेको छाउगोठ । ढोका पनि अग्लो । निसास्सिनलाई आगोको धुवाँ थिएन । अगाडि नै थियो धारो, रगतले निथ्रुक्क भएका कपडा धुन । तर बेलुका घाम अस्ताएपछि मात्र । साँच्चिकै लुगा धुँदा रातो पानीसँगै बगेको मेरो आत्मबल समेट्न कुरेका दिन निकै सङ्घर्षपूर्ण थिए । शारीरिकभन्दा कैयौँ गुणा मानसिक रूपले । धर्म र सामाजिक रीतिको ढिकीमा पिसिएका मेरा प्रश्नले पनि कुनै अस्तित्व पाएनन्, त्यतिबेला ।


नौ वर्षअघि दबिएका ती प्रश्नलाई आज पनि समाज हरेक पल दबाउने चेस्टा गर्छ । सुदूर पश्चिमका व्यथा र ग्रामीण परिवेशका चलनचल्तीलाई औँल्याउँदै गर्दा मानिस आज आधुनिकताको व्याख्यामा अझै प्रचलित कन्क्रिट छाउगोठलाई समावेश गर्न बिर्सिन्छ । स्वतन्त्रतालाई निमोठेर लैङ्गिक विभेदलाई ऊर्जा दिने कुरीतिलाई मानिस च्वाट्ट छोड्न डराउँछ । देवीको पूजा गरेर घरकी सजीव देवीलाई रातो अविरले रङ्गाउन अनगिन्ती मानिस आज पनि समाजको स्वीकृति पत्रको पर्खाइमा बस्छन् ।


बनेका नियमलाई चुनौतीस्वरुप छाउगोठको प्रचलनलाई नियमितता दिँदै सृष्टिकर्ताको मृत्युको तमासा हेर्ने समाजले कुन हदसम्मको अमानवीयताको परिचय दिँदैछ ? आधुनिकताको मुकुट लगाएर सहरी छाउपडीलाई ऊर्जा दिने मानसिकतामा परिवर्तन ल्याउन तपाईँको भूमिका के ?

प्रकाशित : श्रावण ३२, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?