जातको समाजशास्त्र

कुमारी लामा

जातको आधारमा कसैको बौद्धिकता माथि प्रश्न उठाउनु कतिको जायज होला ? एउटा सामान्यजस्तो लाग्ने घटनाले उमारिदिएको हो यो प्रश्न । फितलो विषयप्रतिको बेखबरीलाई औंल्याउँदै एक नाम चलेका लेखकले भयंकर ‘जजमेन्टल’ वाक्य बोलिपठाएका थिए पंक्तिकारप्रति ।

जनजाति त्यसमा पनि महिला अनि कहाँ थाहा हुन्छ त । 
बौद्धिक मानिने कलमकर्मीकै मुखबाट यस्तो कुरा सुन्दा म निकै बेर रन्थनिएकी थिएँ । बोल्ने व्यक्तिले खासै हेक्का नराखी बोलेका पनि हुन सक्लान् । तर स्वतस्फूर्त निस्कने यस्ता वाक्यका पछाडि निश्चय नै कुनै जाति वर्गलाई हेर्ने दृष्टिकोण प्रस्ट देखिन्छ । यसै विषयमा घोत्लिन बाध्य भएकी छु ।

जड मानसिकता
दुई दशकको अन्तरालमा भएका अनेकन राजनीतिक र सामाजिक घटनाक्रमहरू मनन गर्दा हाम्रो समाजले निकै फड्को मारेझैँ लाग्छ । २०६२–०६३ को जनआन्दोलनले राज्यको विभेदकारी नीतिको चपेटामा परेर लामो समयसम्म दबिएर बसेका जाति वर्गका मुद्दाहरू प्रखर रूपमा अगाडि ल्याइदियो । झन् नयाँ संविधानले त त्यस्ता विषयमाथि निकै उदारता देखाएको छ ।

तर संविधानमा भएको परिवर्तनजस्तै हामीभित्रको मानसिकतामा परिवर्तन आएको छ कि छैन ? विशेषत: कुनै जाति वर्ग, धर्म, लिंग आदिसँग जोडिएको आम मानसिकतामा कत्तिको परिवर्तन भएको छ ? केही बद्लाब आएजस्तो देखिए पनि जड मानसिकतामा परिवर्तन सजिलो रहेनछ । अझ पनि कति विषयसँग हामीभित्र निहित उही मानसिकता हावी भएको देखिन्छ । यस लेखमा मुख्यत: जोड्न खोजेको कुरा तामाङ जातिप्रतिको आम दृष्टिकोण हो । 

कुनै जातिविशेषलाई सरासर हियाउने भावका अनेकन उखान टुक्का र शब्दहरू हामीमाझ प्रचलित छन् । तामाङका विषयमा त झन् अनेकन छन् । तामाङबारेका प्रचलित केही भनाइले यस जातिको बौद्धिकता र खानपिनको संस्कृतिप्रति डरलाग्दो प्रहार गरेको देखिन्छ । ती उखान तुक्काहरू बिनाकारण र छोटो समयमा निर्माण हुनै सक्दैनन् । निकै लामो समयसम्म राज्यपक्षबाटै त्यस जातिप्रति लादेको विभेदकारी नीतिकै उपज हुन् यी । 

आज पनि जातसँग जोडिएका अनेकन जड मानसिकताहरूसँग घम्साघम्सी झेलिरहेका छन् तामाङलगायत अन्य पिछडिएका जातिहरू । तामाङ जातिप्रतिको बौद्धिकताप्रति या प्रगतिप्रति शंका व्यक्त गर्ने जमात ठूलै छ । एउटा तामाङ मित्रले दुखेसो सहित सुनाएको मार्मिक घटना बारम्बार दिमाग चिमोट्न आइबस्छ ।
उनी तामाङहरूको बाहुल्य भएको रामोछामका हुन् । चिम्से आँखा र थेप्चो नाकले रोक्न नसकेको मिहिनेतले उनलाई बीएस्सीमा गोल्ड मेडल दिलाएको थियो । त्यसै ताका विद्यार्थीकालीन आर्थिक अभावलाई टेको दिन उनी टयुसन पढाउन लामो नाक भएका प्रहरीका उच्च ओहदामा कार्यरतका घरमा पुगेछन् । अन्तर्वार्ता र अन्य वार्तालाप असाध्य सौहार्द रूपमा सकिएपछि अन्तमा नाम सोधिएछ । उनले आफ्नो नाम ... लामा बताएपश्चात् एकाएक संशयमिश्रित मुद्रामा हाकिम साबले ओकलेछन् आफ्नो जड मानसिकता । 

‘ए लामा पो ? पढाउन सक्नुहुन्छ त ?’

उनले बेहोरेको यस घटना सुन्दा म निकै स्तब्ध भएकी थिएँ । कसरी एक जिम्मेवार ओहदामा रहेका व्यक्तिले कुनै जातिप्रति यस्तो संकीर्णता बोल्न सकेका होलान् ? 
यस्ता दृष्टिकोणका पछाडि तामाङले भोगेको एक सय साठी वर्षसम्मको विभेदपूर्ण समय चित्रित भएको देखिन्छ । लेखक आहूति त यसलाई ठाडै हिन्दु उच्च जातीय खस अहंकार भन्छन् । तामाङहरूले राम्रो पढेको देख्दा, राम्रो ओहदमा पुग्दा होस् या कुनै बौद्धिक बहसमा भाग लिँदा सधँै नै आश्चर्यभावले हेर्ने गरिन्छ । विभिन्न क्षेत्रमा कार्यरत तामाङहरूसँगको भलाकुसारीमा उनीहरूले भोगेका यस्तै कुराहरू सुन्नमा आए । 

घरव्यवहार सम्हाल्दै सरासर एमए पास गरेकी लेखक बिना थिङले साथीहरूबाट पाउने प्रतिक्रिया नै तामाङनी भएर पनि कस्तो पढ्न सकेको भन्ने हो । उनलाई लाग्छ– यस्ता प्रतिक्रियाका पछाडि राज्यले यस समुदायप्रति थोपरेको विभेदकारी नीतिका कारण लामो समयसम्म शिक्षामा पहुँच हुन नसक्नु नै हो । 
जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनको भोगाइ पनि उस्तै छ । स्कुल पढ्दाताका एक जना शिक्षकले तामाङ त फोहोरी जात हो भनेको होस् या पढाइमा या जागिरमा राम्रो गर्दा निकै अनौठो तरिकाले लिने गरेकाजस्ता अनेकन अनुभव छन् उनीसँग । आजकल त झन् जागिरमा प्रमोसन आदिका कुरालाई लिएर आरक्षणका कारण त हो नि भनी अन्य जातका साथीहरूले टीकाटिप्पणी गरेको सुन्दा एमएडका गोल्ड मेडलिस्ट उनलाई निकै नमीठो लाग्छ । 

कवि, सञ्चारकर्मी लक्ष्मी रुम्बाले चाहे स्टेजमा कार्यक्रम चलाउँदा होस् या एफएममा बोल्दा प्रतिक्रियास्वरूप पाउने एउटै कुरो रहेछ– तामाङ भएर पनि कति प्रस्ट बोलेको ?
उनी कन्फयुजनमा पर्छिन्, यी शब्दहरू प्रशंसा हुन् या डोमिनेसन । साँच्चै नै कहिलेकाहीं प्रशंसा र डोमिनेसनका रेखा निकै ब्लर भइजाने रैछ । यस्ता प्रतिक्रियाहरू एकातिर सकारात्मकजस्तो देखिए पनि अर्कोतिर राम्रो बोल्ने काम भनेको त तथाकथित अभिजात वर्गकै मात्र हो भन्नेजस्तो बुझिन्छ । तामाङले त यस्तो बोल्न नसक्नुपर्ने भन्ने शंकाभाव देखाउँछ । कवि भुपाल राईको अनुभव पनि यस्तै छ । उनलाई बारम्बार आउने प्रतिक्रिया नै तपाईं त राईजस्तै बोल्नुहुन्न भन्ने रहेछ । जब राज्यको मूलधारबाट लामो समय टाढा रहेका जातिहरू पनि वैचारिक बहसमा खरो गरी उत्रन्छन् तब यस्ता संशयका शृंखलाहरू सामना गर्नुपर्छ । राईले यस विषयलाई लामो समयसम्म एउटै भाषा, एउटै नश्लबाट जो राज्य सञ्चालन भयो त्यसकै कारण अन्य जाति र उनीहरूले बोल्ने भाषाप्रतिको दृष्टिकोण निर्माण भएको हो भन्छन् । 

राईकै कुरासँग मिल्ने विचार ‘कर्णालीको जनजाति र तिनको वास्तविकता’ नामक लेखमा छक्कबहादुर लामा र दीपेन्द्र रोकाया लेख्छन्— ‘जयस्थिति मल्ल होस् वा जंगबहादुर राणा, उनीहरूले ल्याएको मुलुकी ऐनले व्यवस्था गरेको जातअनुसार यी समुदाय (व्यासी र भोटे) सामाजिक र सांस्कृतिक रूपमा पेरिफेरीमा नै परे । त्यसमा नेपाली भाषाका कारण मातृभाषा, रहनसहन, धर्म, मनोविज्ञान, समग्र सोच्ने शैली नै ओझेलमा पर्दै गयो ।’ 

तीतो सत्य 
जंगबहादुरले लागू गरेको विसं १९१० को मुलुकी ऐनमा नै जातका आधारमा समाजको विभाजन गरिएको थियो । जातिको आधारमा राज्यसत्ता नजिक या टाढा पार्ने काम भएको थियो । पोडे–च्यामेहरूलाई घाम अस्ताएपछि सहरभित्र नपस्नू भन्ने उर्दी र तामाङलाई मासिन्या मतवालीको रूपमा राख्नुबाट मुलुकी ऐनले जारी गरेको डरलाग्दो विभेद छर्लंग हुन्छ । साहित्यकार आहूतिको विचारमा— केही जातबाहेक जंगबहादुरले जो जातको स्केज्युअल बनाएका थिए को कहाँ बस्ने भन्ने त्यो अझै पनि भत्केको छैन । 

राज्यले कानुनै बनाएर तामाङ जातिमाथि गरेको विभेदका कारण यस्ता जड मानसिकता अन्य जातिहरूमा विकास भएको प्रस्ट हुन्छ । यसै प्रसंगमा चिन्तक पाउलो फ्रेरेको विचार निकै सान्दर्भिक लाग्छ ।  शासकहरूले शासकहरूमा परपीडक मानसिकता हुर्काउँछ भने शासित वर्गमा आत्महीनता र मौनताको संस्कृति । त्यही शासक मानसिकता र मौनताको संस्कृतिकै उपज होलान् आजसम्म पनि विशेष जाति वर्गप्रति हुर्किएको ‘बायस्ड’ नजर । तर मौन रहने समय त रहेन अब । हामी लेख्ने या पब्लिक फोरममा बोल्ने जनजाति या दलित या अन्य पिछडिएका जातिहरूले बारम्बार पाउने भन्नु नै उनीहरूले लेखेको या बोल्न सकेकाप्रतिको घोर आश्चर्य । उनीहरू राज्यको कुनै उच्च ओहदामा पुगेको कुराले मच्चाउने सनसनी । मानौं कि राम्रो लेख्नु, बौद्धिक बहसमा भाग लिनु या उच्च ओहदामा पुग्नु कुनै निश्चित जाति वर्गको पेवा हो ।

मानसिकता या चिन्तन निश्चय नै एकराते घटनाको देन हैन । यो त शताब्दिऔँ लामो अभ्यासको उपज हो । जब तामाङलाई मासिन्या मतवाली भनेर देशको ऐनले नै तोकिदिएपछि उसको हकहित, अधिकार, जागिर खाने व्यापार गर्ने या आर्थिक समृद्धिका सम्पूर्ण बाटाहरू बन्द भए । जहिले पनि बिनाज्याला खानाको भरमा साहुको काम गर्नु, अशिक्षा, गरिबीले ग्रस्त हुनु सिवाय अन्य विकल्प रहेन । उनीहरूकै राम्रा छोरीहरू राणाहरूको नजरमा पर्नु, केही काण्डमा मारिए भने पनि राज्य तमासे भएर बसिदिनुजस्ता राज्यपक्षकै विभेदकारी नीतिमा परेको जातप्रतिको आम धारणा संकुचित हुनु स्वाभाविक नै पनि हुन सक्छ । कवि राजु स्याङतनको विचारमा पनि तामाङ जुन परिवेशबाट गुज्रिएर यहाँ आइपुग्यो शासकीय मनोवृत्ति भएकाहरूको नजरमा त तामाङ त हिजोकै तामाङ हो त्यसैले यस्ता संशयका शब्दहरू पोखिन्छन् । 

बद्लिँदो समय
कुनै जातिविशेषलाई हेर्ने मानसिकतामा लचकता नै नआएको भन्ने पक्कै हैन । मैले एउटा जनजाति भए पनि सधैं नै सबै जातिका लेखक पाठकहरू या साथीहरूबाट न्यानो आत्मीयता पाएकी छु (एकाध तीता अनुभवबाहेक) । केही समयअघिको लमजुङ यात्रामा पूर्वी लमजुङ ढोडेनीका बोगटी परिवारबाट पाएको स्नेह र आत्मीयता अझै ताजै छ मनमा । यसका बाबजुद पनि जातको रहलपहल संकीर्णताले भने बेलाबखत पिरोल्ने गरेको छ । 

नेपाली साहित्यमा ठूलो योगदान दिएकी पारिजत हुन् या कवि कृष्णभूषण वल, नेपाली सुगम संगीतमा अतुलनीय काम गरेका गोपाल योञ्जन हुन् या निष्ठावान राजनीतिज्ञका रूपमा मानिएका निर्मल लामा या भीमबहादुर तामाङ सबै नै यही राज्यले उठ्न नदिएकै जातिबाट उछिट्टिएका हुन् त्यो गाह्रो समयमा पनि । आज त समय निकै फरक भइसकेको छ । विभिन्न पिछडिएका जातिवर्गका पढालेखा, क्षमतावान् ब्यक्तिहरू राजयसंयन्त्रका उच्च ओहदामा पुगेका छन् । राजनीति, कला, साहित्य, संगीत, विज्ञान आदि सबै क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउन सफल छन् । यसमा तामाङहरूको पनि बाक्लै उपस्थिति देखिन्छ । 
सहरका हट टक कुलमान घिसिङ या रुद्रसिंह तामाङ आफ्नो क्षमताका कारण त्यो उच्च ओहदामा पुगेर जिम्मेवारीपूर्वक काम गरिरहेका छन् । उनीहरूजस्तै धेरै तामाङ युवाहरू जागरुक भई अगाडि बढिरहेको अवस्था छ । त्यसैले अब पनि जातको आधारमा कसैको बौद्धिकतामा प्रश्न उठाउनु या नाक खुम्च्याउनु भनेको मुलुकी ऐनको धङधङीसहितको संकीर्णता ओकल्नु मात्रै हुन सक्छ । 
त्यो ‘हयाङओभर’बाट उत्रिन ढिला भएन र ? 

प्रकाशित : फाल्गुन १, २०७३ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'वर्गको विकल्प !'

‘अमेरिकी राजनीतिमा विशेषत: जे भइरहेको छ, अन्य मुलुकहरूमा पनि त्यही चलिरहेको छ– वर्गको विकल्पमा राष्ट्रियता वा नश्ल वा जातिका आधारमा पहिचान ।’

सन् १९८९ मा ‘नेससनल इन्ट्रेस्ट’ मा छापिएको राजनीतिक वैज्ञानिक फ्रान्सिस फुकुयामाको निबन्ध ‘द एन्ड अफ हिस्ट्री ?’ ले पश्चिमी प्रजातन्त्रको निकै प्रशंसा गरेको थियो, ‘हामीले जे देखिरहेका छौं, यो शीतयुद्धको अन्त्य मात्रै होइन वा युद्धपछिको विशेष समयको इतिहास पनि होइन ।

जुन प्रकारले पश्चिमी उदार प्रजातन्त्र नै मानवीय सत्ताको अन्तिम बिन्दु हो भन्ने विषयको विश्वव्यापीकरण भयो, त्यो नै मानिसको विचार उत्पादनको अन्तिम बिन्दु हो र एउटा इतिहासकै अन्त्य हो ।’ तर तिनै फुकुयामाका लागि डोनाल्ड ट्रम्पको विजय र हिलारी क्लिन्टनको पराजय— ‘पपुलिस्ट राष्ट्रियताको नयाँ युगको सुरुआत हो । यो अमेरिकी राजनीतिको मात्र नभएर पूरै विश्व व्यवस्थाका लागि पानीढलो हो ।’ अन्य विज्ञहरू अमेरिकी राष्ट्रपतिको चुनावी नतिजाका करणहरू खोजिरहँदा फुकुयामाको विश्लेषण भने जबर्जस्त रूपमा वर्गको धारणामा केन्द्रित छ । चुनावपछिका केही अवसरहरूमा उनले वर्ग विभाजनले पहिचानसँग गाँसिएका अन्य सबै विभाजनलाई किनारा लगाउने कुरा दृढताका साथ राख्दै आएका छन् । फाइनान्सियल टाइम्समा छापिएको एक विश्लेषणमा उनले लेखेका छन्, ‘आजको औद्योगीकरण तथा बढ्दो बजारको युगमा समाजमा विभाजन ल्याउने थुप्रै विषयमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिसको पढाइको स्तर भएको छ । यसले मानिसको सामाजिक वर्गको पनि व्याख्या गर्छ ।’ यसै क्रममा अमेरिकन डेमोक्रेटिक पार्टी अब ‘पहिचानको राजनीति गर्ने पार्टी : महिला, अफ्रिकी–अमेरिकी, हिस्प्यानिक (अमेरिकामा बसोबास गर्ने दक्षिणी अमेरिकी), वातावरणवादी, तेस्रोलिंगी तथा समलिंगीहरूको गठबन्धन’ बनेको छ जसले आर्थिक विषयहरूमा आफ्नो ध्यानभंग गरेको छ । यिनै सेरोफेरोमा फकुयामासित पत्रकार नटलिया कौलिंकाले गरेको यो अन्तर्वार्ता ‘ओपन डेमोक्रेसी डट नेट’ बाट साभार गरिएको हो ।

वर्गको अवधारणा पुन: विजयी भएर प्राज्ञिक तथा सार्वजनिक बहसको विषय बनेर फर्किने सम्भावना छ ?
यो निकै जटिल छ । मेरो विचारमा मानिसले राजनीतिबारे जुन प्रकारले सोच्छन्, त्यसलाई वर्गले प्रभाव पार्छ । शिक्षादेखि सबै कुरा राम्रो पाउने सम्भ्रान्त वर्गसँग आर्थिक रुपमा प्रगति गर्न नसकेको वर्गको रिस वास्तविक हो । यद्यपि धेरैले आफूलाई मजदुर वर्गमा गणना गर्न रुचाउँदैनन् । उनीहरूले आफूलाई आर्थिक रूपमा भन्दा पनि जातिय पहिचानका आधारमा परिचित गराउँछन् । त्यसैले अमेरिकी र अन्य देशको राजनीतिमा जे भइरहेको छ त्यो वर्गको विकल्पमा राष्ट्रियता वा नस्ल वा जातीय पहिचानका रूपमा अगाडि आएको छ । थोरै शब्दमा भन्नुपर्दा वर्ग पहिचानको विकल्पमा विविध पहिचान । त्यसकारण अमेरिकाका धेरै मजदुर वर्गका मानिसले हिलारी क्लिन्टन र डेमोक्रेटिक पार्टीलाई मन पराउँदैनन् । किनकि उनीहरूको विचारमा प्रजातान्त्रिक पार्टी भनेको अल्पसंख्यकहरूको पार्टी हो । र, उनीहरूलाई लाग्छ ‘विभिन्न समूह र समुदायले आफूहरूभन्दा बढी फाइदा पाइरहेका छन् । उनीहरूले विशेष व्यवहार पाइरहेका छन् तर आफूहरू गोरा भएकैले त्यो पाएका छैनन् ।’ यस प्रकारको तर्कबाट उनीहरू अल्पसंख्यकहरूबाट आफू पेलिएको वा भेदभावमा परेको महसुस गर्छन् । अर्को शब्दमा भन्नुपर्दा सामाजिक वर्ग र मानिसले सोच्ने तरिका बीचको आधारभूत सत्यमै भिन्नता छ । यो नयाँ घटना भने होइन । सन् १९१४ मा, पहिलो विश्व युद्धताका समाजवादी र कम्युनिस्ट दुवैले पूरै विश्वका मजदुर एक हुन्छन् भनेर सोचेका थिए । तर, ती सबै अंग्रेज वा फ्रेन्च वा जर्मनका रूपमा अगाडि आए । वर्ग विभाजनमा धेरै शक्ति भए पनि राष्ट्रिय पहिचानद्वारा निर्देशित शक्तिको उदाहरण हो त्यो । राष्ट्रिय पहिचानप्रतिको ठूलो आकर्षणको व्याख्या भनेको यसले सजिलै मानिसलाई रोमाञ्चित हुन प्रभावित पार्छ । सबै समान हुन् भन्ने समाजवादको सिद्धान्तले भने त्यसलाई केही हदसम्म प्रतिरोध गर्छ ।
त्यसमा म सहमत छु ।

अमेरिकी चुनावी नतिजामा शिक्षाको प्रभावबारे तपाईंको बुझाइलाई अझै व्याख्या गरिदिनुस् न । तपाईंले मानिसको शिक्षाको स्तरले प्रभाव पार्‍यो तर अन्य विषयले भने फरक पारेन भन्न खोजेको हो ?
होइन । अन्य विषयले पनि फरक पार्छ । तर आजको अमेरिकी अर्थतन्त्रमा मानिसले कस्तो प्रकारको काम पाउँछ भन्ने कुरा उसले प्राप्त गरेको शिक्षामै निर्भर गर्छ । उच्च शिक्षामा पनि विज्ञान वा गणित विषय लिएर पढेको छ भने राम्रो काम पाउने सम्भावना रहन्छ । उच्च शिक्षा राम्रो छैन भने राम्रो काम पाउन मुस्किल हुन्छ किनभने अहिले हरेकजसो काममा प्रविधिको प्रयोग हुन्छ ।  यसरी मानिसको राजनीतिमा शिक्षाले अप्रत्यक्ष प्रभाव पार्छ । शिक्षाले नै मानिसको आर्थिक हैसियत र उनीहरूले मत दिने मानसिकतामा फरक पार्छ ।

तपाईंले कतै लेख्नुभएको छ, ‘मुख्य प्रश्न भनेको पपुलिजम किन २०१६ मा अगाडि आयो, किन यो प्रकट हुन यति लामो समय लाग्यो भन्ने हो ?’ तपाईं यसलाई कसरी वर्णन गर्नुहुन्छ ?
अमेरिकी राजनीतिक संस्कृतिमा नेताहरूले जनतालाई आफू उनीहरूको प्रतिनिधित्व गर्न सक्षम रहेको, उनीहरूको समस्याबारे अवगत रहेको र त्यसलाई समाधान गर्नेबारे विश्वस्त पार्नुपर्छ । यो परिप्रेक्ष्यमा, दुवै पार्टीका उम्मेदवारले मजदुर वर्गका लागि केही पनि गरेका थिएनन् । डेमोक्रेटिक समूहले धेरै मजदुर वर्गबाट आफ्नो पकड निकै पहिल्यै गुमाइसकेको छ भने रिपब्लिकन पार्टीमा कर्पोरेट अमेरिकाको वर्चस्व छ । खासमा भएको के हो भने, राजनीतिज्ञले जनतालाई कुनै एउटा विषयमा केन्द्रित गराउने अवसर समात्ने प्रयास गरिरहन्छन् । उनीहरूले कुनै समूहसँग कुराकानी गरिरहेका बेला अचानक त्यो त्यो समूहले महसुस गर्छ, ‘हो, हामी यो व्यवस्थाका पीडित हौं । सम्भ्रान्तहरूले हामीविरुद्ध षड्यन्त्र गरिरहेका छन् ।’ मेरो विचारमा डोनाल्ड ट्रम्पले गरेको पनि त्यही हो ।

मजदुर वर्गका लागि एक अर्बपतिलाई आफ्नो प्रतिनिधिका रूपमा स्विकार्नु दु:खको कुरा होइन र ?
मलाई यसले केही प्रभाव पार्छजस्तो लाग्दैन । यो मुख्य रूपमा सन्देश मात्रै हो । उनी व्यक्तिगत रूपमा धनी छन् भन्ने कुराले केही अर्थ राख्छ भन्ने मलाई लाग्दैन । यो सन् १९३० मा सम्भ्रान्त वर्गमा जन्मिएका, राम्रो शिक्षा–दीक्षा प्राप्त गरेका फ्रयांकलिन रुसबेल्टले कल्याणकारी समाज निमार्ण गर्न पपुलिस्ट आन्दोलन गर्दै वाल स्ट्रिट र बैंकहरूमा धाबा बोलेजस्तै हो । मानिसहरूलाई रुसबेल्टले आफ्नो समस्या बुझेका छन् र उनीहरूको राम्रो प्रतिनिधि हुन्छन् भन्नेमा विश्वास थियो ।

तपाईंले लेख्नुभएको छ, ‘अमेरिकामा बेलायत, युरोप र अन्य देशको प्रभावसँगै राजनीतिक व्यवस्थाको प्रजातान्त्रिक भागको वर्चस्व उदार भागभन्दा बढी देखिन थालेको छ । त्यसले कानुनी रूपमै खुला समाज निर्माणका लागि अगाडि धकेलिरहेको छ ।’ यसको मतलब प्रजातन्त्र दुईथरीको हुन्छ ?
प्रजातन्त्र दुई किसिमको हुँदैन । तर त्यसको भाग दुई किसिमको हुन्छ । प्रजातान्त्रिक भागले चुनाव र प्रतिनिधि चयन गर्छ । उदार भागले भने कानुन, अधिकारहरूको सुनिश्चिततातर्फ केन्द्रित रहन्छ । मलाई लाग्छ पूर्ण प्रजातन्त्र हुन यी दुवै भाग आवश्यक पर्छ । अर्को हिसाबमा भन्नुपर्दा, मानिसहरूले आफ्नो प्रतिनिधि चयन गर्न पाउनुपर्छ तर उनीहरूको चयन प्रक्रिया साझा समझदारीमा राजनीतिक सीमाको आधारमा कानुनले निर्देशित गरेको हुनुपर्छ ।

‘उदार प्रजातन्त्र’ मा उदार भागको अनुपातमा प्रजातान्त्रिक भाग कति छ ?
चुनावले प्रजातान्त्रिक भाग माथि छ भन्ने देखाइसकेको छ । यद्यपि राजनीतिमा पैसाको बढ्दो प्रभाव छ । र, मलाई लाग्छ धरै अमेरिकीले यसलाई समस्याकै रूपमा बुझेका छन् । तर, यदि पैसाले मात्रै चुनावी नतिजामा फरक पाथ्र्यो भने जेब बुस रिपब्लिकनको उम्मेदवार चयन हुनुपर्ने हो । र बर्नी स्यान्डर्स हिलारीको अगाडि उभिन पनि नसक्नुपर्ने हो । हिलारीसँग पराजित भए पनि स्यान्डर्सले निकै राम्रो चुनौती दिएका थिए । तर, बाजी ट्रम्पले मारे । ट्रम्पले पनि आफ्नो पैसा खर्च गरेकाले चुनाव जितेका भने होइनन् । उनले व्यक्तिगत पैसा त निकै कम खर्चे । मलाई लाग्छ विश्वको कुनै पनि देशमा गरिब जनतासँग कमै मात्र राजनीतिक शक्ति हुन्छ, किनभने उनीहरूलाई आफ्नो स्वार्थका लागि कसरी संगठित हुने भन्ने थाहै हुँदैन । कर्पोरेसन, मजदुर संगठन र यस्तै अन्य समूहलाई भने राजनीतिक व्यवस्थालाई आफूअनुकूल कसरी प्रयोग गर्ने भन्ने थाहा हुन्छ । 

प्रकाशित : फाल्गुन १, २०७३ १३:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT