मेयर, उपमेयरको उम्मेदवार बन्ने वली र थापाको तयारी

विमल खतिवडा

चितवन — जब नायिका रेखा थापा र गायिका कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरे । तब चर्चा चुलियो । सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा निकै टिकाटिप्पणी भए । त्यसलाई दुवैले सकारात्मक रुपमा लिए । अहिले दुवै पार्टीका केन्द्रीय सदस्य छन् । जहाँ पार्टीको कार्यक्रम आयोजना हुन्छ, त्यहाँ दुबैलाई देख्न पाइन्छ । उनीहरु नाच्न, गाउन कार्यक्रममा उपस्थित हुँदैनन् । राजनीतिक भाषण गर्दै जनतामा चुनावी माहोलमा होमिन उर्जा थप्ने काम गर्छन् ।

प्राय: छोटो पहिरनमा ठाँटिने रेखा अहिले साडी चोलीमा ठाँटिएर हिँड्ने गरेकी छन् । त्यस्तै वली पनि सारीमा सजिएर भाषण गर्न व्यस्त बन्ने गरेकी छन् । बुधबार यो जोडी पार्टीको सभामा भाग लिन चितवन आएका थिए । ‘चितवन भन्ने बित्तिकै मलाई हिम्मतवालाहरु भएको ठाउँ लाग्छ,’उनले भनिन्,‘औलो रोगसँग लडेर आफू बाँच्दै अरुलाई बचाउने सहासी ठाउँ हो चितवन’उनले जिल्लाको वर्णन गरिन् ।

‘स्थानीय तहको निर्वाचन नभएको २० वर्ष भइसके छ,’उनले भनिन्,‘म पनि पहिलो पटक चुनावमा भाग लिँदै छु, २० वर्ष पहिले म एकदमै सानी थिएँ, यो चुनावबारे थाहा थिएन ।’ उनले अधिकांश समय चुनावी भाषण गर्नमा खचिइन् । अघिपछि फिल्मको प्रमोसनमा हिँड्ने उनले दर्शकलाई फिल्म हेर्न आग्रह गरिनन् । दर्शकसँग उल्टै पार्टीका लागि भोट मागिन् । ‘एक पटक हाम्रो पार्टीलाई मौका दिनुस्,’उनले भनिन्,‘राप्रपाले तपाईंहरुलाई धोका दिने छैन ।’

उनले इकान्तिपुरसँग १५ वर्ष फिल्मी क्षेत्रमा बिताएकाले अब पार्टीमा लागेर देश र जनताको सेवा गर्ने पक्षमा रहेको सुनाइन् । ‘फिल्मी क्षेत्रमा लामो समय बिताएँ,’ उनले भनिन्,‘अब देश र जनताको सेवा गर्न मन छ ।’अहिले स्थानीय तह निर्वाचनमा उनको नाम काठमाडौं महानगरपालिकाको उपमेयरको रुपमा चर्चामा छ । ‘जिल्लाले उपमेयरको उम्मेद्वारको रुपमा सिफरिस गरेको सुनेको छु’उनले भनिन्,‘पार्टीले जे भन्छ त्यही गर्छु, टिकट पाए उपमेयरमा नलड्ने कुरै हुँदैन ।’ उनले साहस प्रकट गर्दै भनिन्,‘सक्दिनँ र गर्दिनँ भन्ने कुरा मेरो जीवनमा छैन, अवसर पाए चुनाव लड्न तयार छु ।’उपमेयरको उम्मेदवारको सम्बन्धमा काठमाडौं पुगेपछि खुलासा गर्ने बताइन् ।

गायिका वली भाषणको क्रममा भावुक बनिन् । ‘मैले रेडियो नेपालमा माडी बाँदरमुडे घटनाको समाचार पढ्दा डाको छोडेर रोएको छु,’ उनले भावुक हुँदै भनिन्,‘त्यही बेला दाङमा रहेको मेरो घरमा बम विस्फोट गराइयो, घर जलाइयो, अहिले दाङ जाँदा बस्ने घर छैन ।’उनले भोट हाल्ने बेलामा एकपटक बाँदरमुडे घटनालाई सम्झेर मात्र हाल्न आग्रह गरिन् । उनले इकान्तिपुरसँग मेयरको बारेमा बाहिर आएको कुरा साँचो रहेको सुनाइन् ।

उनलाई पार्टीले दाङको तुल्सीपुर उपमहानगरपालिकाबाट मेयरका लागि सिफारिस गरेको छ । ‘जिल्लाले मेयरको लागि सिफारिस गरिसकेको छ, तर मैले निर्णय गरेको छैन,’ उनले भनिन्,‘पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न तयार छु, यसमा अग्रजहरुको साथ सहयोग सधैं आवश्यक छ, उहाँहरुकै साथ र सहयोगमा अघि बढ्ने छु ।’उनी पार्टीले आयोजना गरेको सभामा दाङ, बर्दिया, टिकापुर, महेन्द्रनगर हुँदै चितवन आएकी हुन् । बिहीबार हेटौंडा र शुक्रबार झापामा पुगेपछि सभा टुंगिने छ ।

प्रकाशित : वैशाख ८, २०७४ १५:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सिरहा माछामा आत्मनिर्भर [फोटोफिचर]

भरत जर्घामगर

सिरहा — स्थानीय उत्पादनले माग पूर्ति गर्न नसक्दा सिरहामा गतवर्षसम्म भारतीय बजारबाट माछा आयात गर्नुपरेको थियो । भारतको आन्ध्र प्रदेश, कोलकातासहित विभिन्न प्रान्तबाट आयात हुने माछाले बजार माग धानिरहेको थियो । त्यतिखेर स्थानीय उत्पादनले ७० प्रतिशतमात्र माग धान्न सकेको थियो । तर, अब त्यस्तो रहेन, सिरहा माछा उत्पादनमा आत्मनिर्भर बन्न बनेको छ ।

तराई/मधेसमा माछालाई उच्च स्वादिष्ट भोजनको रुपमा लिइन्छ । माछालाई उत्कृष्ट परिकारसँगै पाहुना सत्कार र मांसाहारी भोजमा समेत अनिवार्य मानिन्छ । पछिल्लो समय साधारण कृषकहरुसमेत मत्स्यपालनप्रति आकर्षित हुन थालेपछि माछा उत्पादनमा वृद्धि भएको हो । स्थानीय उत्पादनले बजार माग धान्न थालेपछि उपभोक्ताले समेत ताजा माछाको स्वाद पाउन थालेका छन् । माछाको मूल्य समेत केही सस्तो भएको छ । ताजा माछा पाइन थालेपछि हाटबजारमा उपभोक्ताको चाप बढी हुन थालेको छ । सिरहाको लहान, धनगढी, मिर्चैया लगायत विभिन्न बजारहरुमा दैनिक तीन क्वीण्टलभन्दा बढी माछा बिक्री हुन्छ । माछा व्यापारी लहान ५ का बिहारी सहनीका अनुसार गर्मी मौसमको तुलनामा जाडो मौसममा हाटबजारमा माछाको माग र बिक्री बढी हुन्छ ।

सिरहामा रहु, नैनी, कमन कार्प, बिग हेड, सिल्भर कार्प लगायत प्रजातिको माछा बढीमात्रामा बिक्री हुन्छ । व्यापारीका अनुसार यी प्रजातिका माछा सिरहाका हाटबजारमा प्रतिकेजी १ सय ५० देखि ४ सय रुपैयाँमा बिक्री हुन्छ । जिल्ला कृषि विकास सिरहाको तथ्यांक अनुसार जिल्लामा ३ हजार मेट्रिक टनभन्दा बढी माछाको माग छ । सिरहाका विभिन्न ठाउँका १ हजार ६ सय ६५ वटा निजी र सार्वजनिक पोखरीको ८ सय हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा माछापालन गरिन्छ । मत्स्य विकास अधिकृत फुलगेन यादवका अनुसार यो उत्पादनले सिरहाको बजार माग पूर्ति गरेको छ । स्थानीय उत्पादनले गतवर्षसम्म सिरहाको बजार माग ७५ प्रतिशत मात्र धानेको थियो ।

कृषि विकासले माछा उत्पादन वृद्धि गर्न केन्द्रीय योजनाअन्तर्गत कृषकहरुलाई माछापालनतर्फ आकर्षित बनाउने अभियान चलाएको थियो । पछिल्लो तीन वर्षमा मात्र माछापालन प्रयोजनका लागि करिब ८ सय निजी पोखरीहरु खनिएको छ । कार्यालयका अनुसार, चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ९५ हेक्टर र मत्स्य विकास निर्देशनालयअन्तर्गत १८ हेक्टर गरी १ सय १३ हेक्टरमा थप २ सयवटा माछा पोखरी खनिदैछ जुन यही वैशाखदेखि असारसम्म सम्पन्न हुनेछन् । यी पोखरीमा प्रतिहेक्टर पाँच मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । मत्स्य विकास अधिकृत यादवले यही अनुपातमा माछा पोखरीको संख्या बढ्दै गए यहाँको उत्पादनले आउँदो केही वर्षमा माछाको स्थानीय खपतको आपूर्ति मात्रै होइन आयातलाई पुरै प्रतिस्थापन गरी निर्यातलाई प्रवर्द्धन गर्न सक्ने देखिन्छ । सिरहामा सिँचाई अभावका कारण धान खेती नफस्टाएको र एकै वर्षको माछाको आम्दानीले पाँच वर्षको धानखेतको आम्दानी उठाउन सकिने भएकाले स्थानीय किसान यसतर्फ आकर्षित भएका छन् जसका कारण सिरहा माछा उत्पादनमा आत्मनिर्भर बनेको छ ।

प्रकाशित : वैशाख ८, २०७४ १५:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT