बाढीबीच यसरी कट्यो दिन र रात

जितेन्द्र साह

विराटनगर — शनिबार (२८ साउन) बिहान सात बजे पलंगबाट भुईमा खुट्टा राख्दा झन्डैझन्डै घुँडासम्म पानी थियो । राति अबेरसम्म उठेको थिएँ । त्यसैले निन्द्राबाट ब्युझने बित्तिकै पानीमा खुट्टा चोपलिँदा सपनामा हो की विपनामा छुट्टयाउन कठिन भयो । कसैले बाथरुमको धारा खुल्लै छाडेकोले कोठामा पानी छिरेको हो की भनेर श्रीमतीलाई सोधेँ ।

उनी पनि वरिपरि हेरेर चकित हुँदै ‘धारा बन्द गरेरै सुतेको हो’ भन्दै जवाफ फर्काइन् । बत्ती बालेर हेर्दा त हाम्रो तीन कोठे फल्याट पोखरीमा परिणत भइरहेको थियो । वरिपरि किरा फटयांग्रा पौडिरहेका थिए । 

छेउकै कोठामा सुतिरहेको छोरालाई हतारहतार उठाएँ । कोठामा पानी देखेर छोरा पनि स्तब्ध थियो । तीनै जना ट्वाल्ल परेर एक अर्कालाई हेरिरहेका थियौं ।
   
हामी विराटनगरको मधुमारा हरिहरचोक बालमार्गस्थित दुई तल्ले घरको भुइतल्लामा बस्छौं । तल्लो तल्लाको तीन कोठामा हामी र अघिल्तिरको तीन कोठामा मोरंगकै विभिन्न थलोबाट आएका विद्यार्थी एवं जागिरे भाइबहिनी बस्छन् ।
   
भित्रैबाट अर्कोतिर बसिरहका छिमेकीलाई पानी कहाँबाट आएको हो भनेर सोध्दा अचानक भेल छिरेको हो भनेर उनीहरुले जवाफ दिए । त्यसपछि त्यो ढोका खोल्न लगाउँदा बाढीको पानी मुख्य द्वारबाट सोझैं सडकभन्दा मुनि रहेको हाम्रो वास स्थानमा बगिरहेको देख्यौं ।
 
राती अबेरसम्म पढ्दापढ्दै भुइमा निंदाएका एक भाइले शरीरमा पानी छताछुल्ल भएपछि उठेको सुनाए । उनीहरुको पनि पठन सामग्री एवं लुगाफाटा पानीमा भिजिसकेको थियो । उनीहरुमध्ये कोही सामान समेटिरहेका थिए भने कोही बाल्टिनले पानी बाहिर फालिरहेका थिए । 

हामीले पनि भुइँमा छरपस्ट झोला, विद्युतीय र अन्य केही हल्का सामग्री उठाएर अग्लो ठाउँमा राख्यौं । वास्तवमा क्षति भइसकेको थियो । तत्काल पानीको बहावलाई रोक्न पनि सकिंदैन्थ्यो । यो हाम्रो तर्फबाट बचाउको एउटा औपचारिकता मात्र थियो । 

हुन त शुक्रबार रातभरी अविरल वर्षा भएको थियो तर विराटनगर महानगरपालिकाको सबैभन्दा सुरक्षित आवासीय क्षेत्र मानिने यो वस्तीमा घरभित्रै वर्षाको पानी प्रवेश गर्ला भन्ने कहिल्यै सोच्न सकेको थिइन् । 

यो कुनै खोला, नहर, पोखरी वा घाट छेउकै वस्ती पनि होइन की वर्षा हुँदा बाढीको डर होस् । तर करिब आधी किमी परको सिंघिया खोलाको पानी निकास नपाएर घुमिफिरी यहाँसम्म आइपुगेको थियो ।
   
वास वस्न आउनुअघि निश्चित हुनलाई सोध्दा घरबेटिले भनेका थिए, ‘जस्तो सुकै मुसलधारे वर्षा भए पनि यहाँ आजसम्म पानी प्रवेश गरेको छैन ।’ त्यही भएर पनि ढुक्क भएर सुतिरहेका थियौं । अविरल वर्षाभन्दा पनि अपूरो नाला, अव्यवस्थित ढल र सडकले गर्दा हामी बलजफ्ती बाढीपीडित हुन पुग्यौं । 

२०४५ सालपछि यसै पटक यो वस्तीमा पानी पसेको स्थानीयले भनिरहेका थिए । म उनीहरुको कुरा सुन्दै वरिपरिका वस्ती एवं घर पनि जलमग्न रहेकाले तत्कालै कसरी पानीको निकास हुने चिन्तामा थिएँ । विभिन्न खाले रमिते प्रयास र सान्त्वना दिने कार्यहरु पनि भइरहेका थिए । पहल गर्छौं भन्दै थुप्रै व्यक्तिहरु आए तर फर्केर वा दोहोर्‍याएर कोही आएनन् । 

परेको बेला जे गर्न पनि तयार छौं भन्ने राजनीतिकर्मी/समाजसेवी मित्रहरु पनि विभिन्न बहाना गर्दै पन्छिएका थिए । 

पानी पर्न नरोकिएसम्म केही नहुने पक्का भएपछि हिम्मत बटुलेर आफ्नै कोठाको केही तस्बिरहरु खिचेँ । भारी वर्षासँगै बिहान साढे सात नबज्दै विद्युत आपूर्ति बन्द भइसकेको थियो भने सञ्चार सञ्जालले काम गर्न छाडेको थियो । सम्पूर्ण मित्र, परिवारजन एवं शुभेच्छुकलाई जानकारी गराउन सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्ने प्रयास पनि सफल भइरहेको थिएन ।
 
केही सहकर्मीहरुलाई आफ्नो स्थिति अवगत गराउँदै सहयोगकालागि महानगरपालिकासँग समन्वय गराइ दिन आग्रहकासाथ मोबाइल सन्देस पठाएँ । जलमग्न सडक एवं त्यसमा झमझम परिरहेको वर्षाबीच कोठाबाट बाहिर निस्कने स्थिति समेत नरहेको मित्रहरुले भनिरहेका थिए । ‘सबैतिर यस्तै छ, त्यही भएर तत्काललाई जोगिने उपाय खोजौं, अरु कुरा पछि सोचौंला,’ सहकर्मी माधव घिमिरले भने । 


मोरंगका प्रहरी प्रमुख, आफ्नो वडाका एक जनप्रतिनिधि र उनले नम्बर उपलब्ध गराएका महानगरका बरिष्ठ अधिकारीहरुलाई मोबाइल नेटवर्क लागेको मौकामा मिलेसम्म पानी निकास गराउन अनुरोध गरेँ । 

कोही आफ्नै घरमा पानी पसेर बाल्टिनले फालिरहेको र महानगरपालिकासँग सिमित साधनस्रोत भएकाले उद्धारकालागि घरघरै पुग्न नसकिने भनिरहेका थिए । महानगरपालिकाका मेयरसम्म पहुँच पुग्ने वातावरण थिएन ।  

साँच्चिकैभन्दा पुरा विराटनगर टापुमा परिणत भएको थियो । हजारौं बेघर भइरहेका थिए । खोला किनारका वस्तीहरुदेखि सबैतिर विनाश, हताहती र क्षतिको मात्र दृश्य थियो । यस्तो भिषण वर्षामा सञ्चारकर्मी मित्रहरु जसोतसो आफ्नो सञ्चारमाध्यम मार्फत यथार्थ बाहिर ल्याउन व्यस्त थिए भने सारा प्रहरी, प्रशासन एवं महानगरको संयन्त्र उद्धार तथा राहतमा जुटिरहेकै थिए ।

राजधानीको महाभूकम्पमा समेत खुट्टा नकमाइ समाचार संप्रेषणकालागि दिनरात खटेको म भने जलमग्न कोठा, श्रीमती र छोराको मलिन अनुहार हेरेर बसेको थिएँ । एक सक्रिय सञ्चारकर्मी म आफैं भने लाचार थिएँ । 

वास्तवमा सबैलाई आफ्नै पीडा ठूलो लाग्दो रहेछ ।  विचल्लीमा परेका छोरा, श्रीमती र वर्षौंदेखि जोडेको सरसामानको बिजोग भएको देखेर म पनि यतिबेला आफ्नै बारेमा सोचिरहेको थिएँ ।

आखिर के गर्न सक्थेँ त ? कोठामा पानी बढिरहेको थियो । अघिल्लो दिन मात्रै चिकित्सकलाई जचाएर पाखुरा दुखाइको औषधि खाइरहेका छोराले झन्डै चार घण्टासम्म बाल्टिनको मद्दतले कोठा बाहिर पानी फालेका थिए । श्रीमती र बहालमा बस्ने भाइबहिनी पनि यस्तैयस्तै खाले प्रयास गरिरहेका थिए । 

साराथोक अलपत्र छाडेर कही जान पनि सक्दैन्थ्यौं । श्रीमतीले हिम्मत बटुलेर पानीले भरिएको किचनमै उभेर खाना पकाइन । पानी घट्ने आशमा उभिएरै खायौं । यो बीचमा धेरै पटक घर अघिल्तिरको बाटो बीचबाट वा यो वस्ती प्रवेशको पश्चिमपट्टिको मोडको सडक वारपार हल्का काटेर पानी बगाउन पनि छलफल भयो । यसो गर्दा वरिपरिका अन्य घर एवं वस्तीलाई क्षति पुग्ने संभावना थिएन । यसकोलागि प्रशासनको समेत अनुमति चाहिन्थ्यो जसको उपस्थित वरिपरि महसुस गरेका थिएनौं ।
 
समाधानको खोजीमा पानीमा रुझ्दै दिउँसोको दुई बज्यो । केही पर अलिक अग्लो थलोमा फल्याट लिएर बसेका भाइलाई डाँके । उनी पनि चकित थिए । अनि स्वास्थ्य एवं सुरक्षाकालागि सबैभन्दा पहिले छोरालाई उनीसँग पठाएँ । अन्तत: मैंले सबैलाई सार्वजनिक जानकारी हुने गरी फेसबुकमा केही तस्बिर राख्ने र शब्द कोर्ने मनसाय बनाएँ ।

श्रीमतीलाई नआँतिई पलंगमाथि बस्न लगाइ घरदेखि झन्डै १ किमी पूर्व दक्षिणमा कार्यालय रहेको एक राष्ट्रिय टिभी च्यानलमा कार्यरत मित्रकोमा पुगेँ । उनको कार्यालय अगाडी कम्मरसम्म पानी थियो । बडो मुश्किलले त्यहाँ पुगेँ । धन्य, उनकोमा इन्भर्टर र इन्टरनेटले काम गरिरहेको थियो ।  

फेसबुकमा बिहानको तस्बिरहरु राख्न नपाउँदै कोठामा पानीको सतह बढिरहेको भन्दै श्रीमतीले तत्कालै फर्कन भनिन् । आँखाले हेर्न सकिने थलोसम्म पानी भएकाले अब ति मित्रको कार्यालयबाट कोठासम्म फर्कने चुनौती थियो । लौरो खोजेर त्यहाँबाट हिंडे । आफ्नो वासस्थानसम्म आइपुग्दा साँझको छ बजिसकेको थियो । 

एक सुरक्षा टोली हेरेर गएको र पानी नरोकिएसम्म संयमता राख्न भनेको श्रीमतीले जानकारी गराइन् ।
 
यी सब गफगाफ चलिरहँदा छोरा लिएर अघिको भाइ पनि जलमग्न कोठामा आइसकेका थिए । सल्लाहअनुरुप सबथोक इन्द्रदेवको भरमा छाडेर तीनै जना भाइको डेरामा शरण लिन पुग्यौं । भोक, तिर्खा र निंद्रा हराएको थियो । बिहान हुने पखाईमा आँखा आकाशमै टिकेको थियो । उता मोरंगको रंगेली बजारस्थित पुर्खौली घर अघिल्तिरको मुख्य द्वारबाट रातभरी आँगन तथा करेसाबारी हुँदै स्थानीय धाँधरी खोलाको पानी बगेको परिवारजनबाट जानकारी पाएँ ।
 
यता विराटनगरमा भने आइतबारको दिन र रात पनि आकाशतिर हेर्दै कटिरहेको थियो । सोमबार बिहानसम्म पानी बगिसकेपनि कोठाहरु हिलामय, फोहोर एवं दुर्गन्धित थियो । ढोका पछाडी झुण्डयाएको लुगा र दराजमाथि राखिएको केही सामान बाहेक सबथोकमा माटो थियो । बिहान ८ बजदेखि झन्डै ६ घण्टा हिलो फाल्न र किराफटयांग्रा धपाउनमै बित्यो ।
 
केही दिनसम्म आइरहने दुर्गन्धको सामना गर्ने आँटकासाथ तीनैजना सोमबार साँझ आफ्नै कोठामा बास बस्न थाल्यौं । सुक्नलाई राखेको लुगाफाटा र कागजपत्रले फल्याट बाहिरको डोरी, भुई तथा वरिपरिका पर्खाल ढाकिए । अझैं पूर्णरुपले आकाश सफा नभएकाले फेरी लगातार पानी परेमा हुने क्षतिको त्रास कायमै छ ।

कोठामा खाद्य सामग्रीको अभाव भएको छ । पूर्व निर्धारित योजनाअनुरुप शनिबार बिहारको जोगबनी बजार पुगि आवश्यक सरसामग्री किन्ने योजना पुरा नहुँदै यो महाविपती आइपुगेको हुनाले यस्तो भएको हो । बाढीले सर्वत्र जलमग्न भएर जनजीवन, आवागमन एवं बजारव्यवसाय ठप्प भएको थियो । 

परिणाम स्वरुप बजारमा अति आवश्यक दैनिक उपभोग्य सामग्री एवं पिउने पानीको अभाव र मुल्यवृद्धि भयो । अत्यधिक शारीरिक एवं मानसिक थकानले बाढीको चौथो दिन मंगलबार छोरा र श्रीमती ज्वरोले ग्रस्त भए । नीकै बेर पानीमा बसेको हुनाले श्रीमतीको खुट्टा भरी घाउ हुन गयो । 

बाढीको पानी सुकेपनि वातावरण पूर्णतया सामान्य भइसकेको छैन । अधिकांस महानगरवासी बाढीपछि जीवनलाई पटरीमा ल्याउन हरसम्भव कोसिस गरिरहेका छन् । आपसी भेटघाटमा सबैले एक अर्कालाई बाढीकै अनुभव र क्षति बारे सोधिरहेका हुन्छन् ।

प्रकाशित : भाद्र ४, २०७४ १३:०२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

स्थानीय तहमा डोल्पो महिलाको निराशाजनक उपस्थिति

टासी टेवा डोल्पो

काठमाडौं — गाउँपालिकाको उपाध्यक्ष जस्ता उच्च पदका लागि उठेका डोल्पो महिलाहरुले राजनैतिक अग्रसरता देखाए । एमालेको टिकट पाएकी दिकी गुरुङले आफ्नो जीत सुनिश्चित पार्न आफू मात्रै खटिनन्, आफ्ना श्रीमान समेत यसमा खटाए । भोट खसाल्ने दिन उनले आफ्नो श्रीमानलाई एजेन्टको रुपमा तीन दिन माथि उक्लिन पर्ने छार्का गाउँ वडा नं. १ मा खटाइन् । साथै, आफू पनि भोटका निमित्त हरेक गाउँको घर–घरमा गई भोटको लागि आग्रह समेत गरिन् ।

कैयौं विशेषज्ञहरुले महिलाको संघर्ष र अनुभवका बारेमा गहन तरिकाले घोत्लिएर लेखेका छन् । नेपालमा पनि त्यो परिपाटि छँदै छैन भन्न नमिल्ला । विगत एक दशकको मात्र नेपाल भित्रको अध्ययनलाई हेर्ने हो भने यस विषयमा धेरै कामहरु भएका छन् । विकास र महिला हुँदै अहिले जेण्डरको विभिन्न परिधिमा आई अड्केका अनुसन्धानहरुले पनि उक्त अनुभवलाई धरातलमा स्थापित अवश्य गरेको छ । तैपनि, उक्त धरातल स्थापनमा शक्तिको बेजोड अभ्यास देखिन्छ । उक्त अभ्यासमा हिमाली महिलाहरु अझै पनि अटाएका छैनन् । त्यस विषयको राज्यसँग जोडिएको ऐतिहासिक तथा संरचनागत विभेदसँग दबिएका न्यारेटिभ्सहरु पक्कै छन् । वर्तमान अवस्थामा पनि कति हामीले काठमाडौं भन्दा टाढा प्राय: हिमालमा गुञ्जिने हिमाली महिलाहरुका आवाजलाई समेट्न सकेका छौं त भन्ने प्रश्न पनि गम्भीर हुन आउँछ । यद्यपि, वर्तमान राजनैतिक शक्तिको खेलमा डोल्पो महिलाहरुको भूमिका पनि कस्तो थियो भन्ने जिज्ञासा सान्दर्भिक हुन्छ ।

   
डोल्पो महिलाहरु पनि हिमाली आदिवासी जनजाति महिला मध्ये एक हुन् । नेपालका कैंयौ आदिवासी जनजातिहरुको संघर्ष बावजूद नै नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासंघले डोल्पोलाई पनि आदिवासी जनजातिको रुपमा सूचिकृत गर्यो । काठमाडौंमा कमै देखिने तर उत्तरको केरुङ तथा म्योरुम पासको सँगसँगै यी डोल्पो हिमाली समुदायहरु करिब सात हजारको हाराहारीमा छरिएर डोल्पा जिल्लाको माथिल्लो भेगमा अझै पनि बस्दै आएका छन् । राजनैतिक हिसाबले अझै पछाडि पारिएको यो समुदायको एक जना पुरुष पनि नेपाल सरकारको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा छैनन् । डोल्पो महिलाको त कुरै छाडौं । तसर्थ, उनीहरुको न्यायोचित व्यवस्था राज्यले अझैसम्म पनि गर्न सकेको छैन भन्दा कुनै अतियुक्ति नहोला । उनीहरुको अनुपस्थिति सँगै कसरी उनीहरु माथि कस्तो विभेद र उत्पीडिन पर्यो पनि प्रस्ट हुन्छ । 

पृतिसत्तात्मक समाज पनि यसबाट अछुत छैन । महिला जन्मने वित्तिकै उसको पीडा सुरु भई नै हाल्छ । छोरा जन्मादा घरको ढोकामा सेतो ढुँगा र छोरी जन्मदा, ढोकामा कालो ढुँगा राखेर छरछिमेकलाई देखाउने विभेदकारी चलन अभै पनि व्याप्त छ । डोल्पो महिलाहरु अझै पनि घरै भित्र बस्न बाध्य छन् । खाना बनाउने होस् वा धारा वा खोलाबाट पानी ल्याउने र खाएको भाँडा माझ्ने नै किन नहोस्, घरभित्रका हरेक कामहरु महिलाहरु कै जिम्मामा हुन्छन् । 

समाजका पुरुषहरु महिलाहरुलाई अझै पनि अलक्षिणाको नजरले हेर्छन् । महिलाहरुले अलिकति गाउँठाउँमा बोल्न थाल्यो भने उक्त महिलाको गुनासो सुन्ने विरलै पाइन्छ । त्यसैले पनि गाउँको हरेक भेलाहरुमा महिलाहरुलाई पछाडि नै राखिन्छ । महिलाहरु पनि आफ्नै सानो समुहहरु बनाएर उक्त गाउँभेलामा भाग लिन्छन् । गुनासो सुनि हालेमा पनि समस्याको निर्क्यौल निकाल्ने पुरुषहरु नै हुन्छन् । शैक्षिक हिसाबले पनि पुरुषलाई नै प्राथमिकता दिईन्छ । स्नोतकोत्तर तह पढेको एक जना पनि डोल्पो महिला नहुनुले पनि उक्त समुदायमा महिलाको स्थिति कस्तो छ धेरै–थोर बुझ्न सकिन्छ । निर्णायक तह वा भोट तिर जाँदाको आर्थिक क्रियाकलाप नै किन नहोस् महिलालाई निर्बलको संज्ञा दिंदै आएको समाजले प्राय: जसो पुरुषलाई नै परिवारको भविष्यसँग जोडेएर हेरेको पाइन्छ । हातमा नगन्य हिसाबमा रहेको महिला मैत्री डोल्पो घरधुरीहरुलाई यस लेखले नजरअन्दाज गरेकै हो । 

राज्य र समाजबाट निरन्तर बहिस्कृत र तिरस्कृत हुनु परेका हिमाली डोल्पो महिलाको त्यसो भए वर्तमान अवस्थाको राजनैतिक दाउपेच अर्थात् स्थानीय निर्वाचनमा उपस्थिति र भूमिका कस्तो देखियो त ? डोल्पो समुदायको छार्का ताङसोङ, डोल्पो बुद्ध, तथा शे फोक्सुम्दो गाउँपालिकामा महिलाको उपस्थिति निराशाजनक देखिए । उच्च ओहोदामा छार्का ताङसोङको उपाध्यक्षमा मात्र एमालेका दिकी गुरुङले आफ्ना निकट प्रतिद्वन्दि स्वतन्त्रका किन्जोमलाई हराउन सफल भइन् । उक्त गाउँपालिकाको अध्यक्ष तथा थप गाउँपालिकाहरुको अध्यक्ष र उपाध्यक्ष तहमा भने डोल्पो पुरुषहरुको नै दबदबा देखियो । एमाले पार्टीले नै विगत देखि जरा गाड्दै आएको यस ठाउँमा खासै डोल्पो महिला मैत्री नीति र कार्यक्रमहरु ल्याउन सकेको देखिएन । संविधानमा उल्लेख भएको कारणले गर्दा मात्र हरेक वडाहरुमा एक महिला सामेल गराइयो । धेरै जसो महिलाहरु किन राखियो र आफ्नो भूमिका के हुन्छ होला त भन्ने विषयमा अनभिज्ञ नै थिए । त्यसैले गर्दा वडा समितिको सदस्यमा बस्न पनि उनीहरुले खासै उत्साह प्रकट गरेनन् । तैपनि, एक उपाध्यक्ष तथा अठार वडा सदस्यको रुपमा उन्नाइस ३५–५० को उमेरका डोल्पो महिलाहरु आफुलाई स्थानीय तहको राजनैतिक विकासमा सामेल गराए । छार्का ताङसोङ गाउँपालिकाको एउटा वडामा महिला सदस्य चुन्नका निमित्त चिठ्ठाको सहयोग लिइयो । तर पनि, धेरै जसो अशिक्षित र अहिलेसम्म घरभित्रका कामहरुमा मात्र सिमित बनाइएका उनीहरुलाई भोलीका दिनहरुमा पनि सरकार र समुदायले उनीहरुको स्वतन्त्र राजनैतिक अधिकारको निमित्त कुनै ठोस कदम नचाले तिनै महिलाहरुका दाई वा श्रीमान्हरु नै उक्त महिलाहरुको पदमा हावी हुने देखिन्छ ।
       
त्यस्तै, स्वतन्त्रका उम्मेदवार किन्जोमले आफ्नो श्रीमानलाई एजेन्टको रुपमा खटाउन नसके पनि श्रीमानसँग छार्का ताङसोङ गाउँपालिकाका ६ वटा वडाहरु चारदिनमा घुमी भ्याईन् । हरेक घरमा गई भोटका निमित्त आग्रह गर्न पनि किन्जोमले छुटाइनन् । केही वर्षयता जिल्लाको माओवादी पार्टीमा सदस्यको रुपमा कार्यरत किन्जोम अरु केही नभए पनि गाउँको विकास गर्नुपर्छ र समुदायको महिलाहरु कसैसँग नडराईकन अगाडि आउनु पर्छ भन्नेमा विश्वस्त थिइन् । 
  
निर्वाचनको सेरोफेरोमा पनि खासै डोल्पो महिला मैत्री कार्यक्रमहरु ल्याइएनन् । केही महिलाहरुलाई भने झण्डै बीस वर्ष अघिको स्थानीय चुनावको सम्झना थियो । त्यसैले गर्दा पनि भोट कसरी हाल्नु पर्छ भन्ने थाहा हुँदा पनि भोट हालेर के हुन्छ भन्ने विषयमा खासै जानकार थिएनन् । न नेपाली भाषा राम्ररी बुझ्ने न त निर्वाचनका निमित्त खटाइएका सरकारी कर्मचारीहरु महिला नै थिए । भोट नहालेर आफ्नो राजनैतिक अधिकारको दुरुपयोग हुन्छ भनेर भन्दा पनि धेरै जसोलाई विकट भूगोलको खेतीपातिले नै सताएको थियो । तीन महिने उँवा र आलुको खेतिपातिमा मात्र सिमित समुदायहरुमा सिंचाईको समस्या छँदै छ । हरेक खेतमा नाला बनाएर हिमालबाट आउने नदीको पानी पुर्‍याउन पर्ने केही दिनमा सिद्धिने काम पानीको अभाव र उचित सिंचाईको अभावले गर्दा समुदायलाई हरेक खेतमा पानी पुर्‍याउन एक महिना लाग्छ । यस काममा प्राय: जसो महिलाहरु नै खट्नु पर्ने हुन्छ । साथै, खेत जानु अघि खाना बनाउनु पर्ने जोरजाम पनि महिला कै काँधमा आउँछ । जसले गर्दा चुनावको विषयमा घरमा भएका हरेक सल्लाहमा पनि महिलाहरुको खासै समावेश हुन पाउँदैनन् । 

घरायसी कामले राजनीतिक अधिकारलाई केहि हदसम्म असर गर्दैन भन्ने सिद्ध पार्दै भोट खसाल्ने दिन हरेक वडामा महिलाहरुको छुट्टै लाम देखियो । करिब ८० उमेरका समेत महिलाहरुले आफ्नो भोट खसाले पनि स्थानीय तहमा हिमाली डोल्पो महिलाहरुले आफ्नो अधिकार स्थापित गर्ला ? भन्न मुश्किलै छ ।  

तस्विरहरु: टासी टेवा डोल्पो । 

 

प्रकाशित : भाद्र ४, २०७४ १३:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT