राजपाको साइकल यात्राको संकेत

गंगा बीसी

काठमाडौं — मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) साइकल चिन्ह लिएर प्रदेश नं. २ को स्थानीय निर्वाचनमा सहभागी हुन गइरहेको छ । यसलाई उसले सडक छाडेर ‘ब्यालेट संघर्ष’ सुरु गरेको अर्थमा लिन सकिन्छ । तराई–मधेसको दैनिक जीवनसँग गाँसिएको साइकल लोकप्रिय सवारी साधनले राजपालाई निर्वाचनको मार्गमा सवार गराएको छ ।

राजधानीमा सत्ता सञ्चालन गरिरहेका कांग्रेस, माओवादी र विपक्षी दल एमालेसँग लामो सँघर्षपछि राजपा साइकल चढेर मधेस झरेको हो । साइकल चढेर सुरु भएको राजपाको मधेस निर्वाचन यात्राको परिणाम भने दशैंको मुखैमा देखिने छ ।

‘छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’ भन्ने यात्राको यो भनाई राजपाका लागि पनि राम्रै हुने अपेक्षा उसले यो निर्वाचनमा गरेको छ । ढिलै भएपनि तेस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी भएर राजपाले अधिकारका लागि अर्को संघर्षको यात्रा सुरु गरेको छ । उसको अबको संघर्ष ब्यालेट अर्थात् निर्वाचनमा केन्द्रित भएको छ ।

राजपा अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुरले हालै कान्तिपुरसँग ‘चुनाव र आन्दोलन सँगै अघि बढाउने’ बताएर समर्थक र कार्यकर्तालाई अधिकारको आन्दोलन जारी रहेको जनाउ दिएका छन् । उनले भनेका छन्, ‘चुनाव पनि संघर्षको बाटो नै हो । हामी संघर्षको वैधानिक बाटोमा छौ’ उनले भनेका छन् । शान्तिपूर्ण संघर्षकै रुपमा निर्वाचनमा सहभागी हुनु पनि लोकतन्त्रको अभ्यास हो । राजपाले यसलाई आत्मसाथ गरी अघि बढेको छ । राजपाले संघर्षकै रुपमा निर्वाचनमा सहभागी हुने निर्णयलाई धेरैले ‘सुरक्षित अवतरण’ भनेका छन् । यो राजपाका लागि मात्र होइन, संविधान कार्यान्वयनका लागि पनि सुरक्षित अवरतणको सन्देश मानिएको छ ।

राजपा निर्वाचनमा जाने निर्णयले मधेसका मतदातामा उत्साह थपिएको छ । उसको निर्वाचनमा जाने निर्णयले लामो समयदेखि प्रदेश २ को अन्यौलता हटाइदिएको छ । यसले मुलुकको राजनीतिक कोर्सलाई सकरात्मक दिशातिर मोडिदिएको छ । निर्वाचनले लामो समयदेखि त्यस क्षेत्रमा जनप्रतिनिधि बिहीन अवस्थालाई अन्त्य गरी स्थानीय सरकार सञ्चालनमा आउनेछ । तराई मधेसमा स्थानीय सरकार कसरी सञ्चालन गर्ने भन्ने जिम्मा तिनै जनप्रतिनिधिलाई हुनेछ । अधिकार सम्पन्न स्थानीय सरकारले तराई मधेसका जनताको सेवा दिन सुरु गर्ने छ, त्यसबेला थाहा हुनेछ, स्थानीय निर्वाचन साँच्चै अत्यावश्यक रहेछ ।

यसअघि संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक पार्टी स्थानीय तहका निर्वाचनमा होमिइसकेका छन् । निर्वाचनमा जाने राष्ट्रिय सहमतिले मुलुकलाई सकरात्मक दिशामा लैजाने स्पष्ट सन्देश दिएको छ । संविधान कार्यान्वयनमा देखिएको चुनौती न्यूनिकरण गरेको छ ।

यो वर्षको दशैंको पूर्वसन्ध्यामा हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनले पक्कै पनि राजनीतिक दललाई ‘ब्यालेट कोशेली’ दिनेछ । निर्वाचन परिणाम ठूलो होस् वा सानो त्यो लोकतन्त्रको कोशेली हुनेछ । लामो समय मधेस अधिकारका लागि संघर्ष गर्दै आएका राजपा केन्द्रित दलले अब निर्वाचनमार्फत् अधिकार खोस्नु पर्ने अवस्था आएको छ ।

अधिकारका लागि संघर्ष निरन्तर चलेको राजनीतिक इतिहास छ । अधिकारका संघर्षका बिभिन्न रुप हुन्छन्, सडक, सदन, निर्वाचन आदि । राजापालगायत मधेस केन्द्रित दलले सडक र सदन संघर्ष गरिसकेका छन् । विगतमा सडक र सदन संघर्षलाई जारी राखेका उनीहरुले अब भने निर्वाचनलाई संघर्षको मुख्य रुपमा लिएका छन् । निर्वाचनबाट अधिकार लिनु र त्यसका लागि संघर्ष जारी राख्नु उनीहरुको अहिलेको मुख्य रणनीति देखिन्छ । निर्वाचनमा भाग लिनुको अर्थ सडक र सदन संघर्ष छोडेको होइन, त्यो कुरा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बताइसकेका छन् ।

राजपालगायत मधेश केन्द्रित दल निर्वाचनमा आएपछि खासगरी कांग्रेस, माओवादी र एमालेले खुला हृदयले स्वागत गर्नुपर्छ । राजपाको निर्वाचनमा आउने निर्णयलाई हार वा कमजोरीको रुपमा कदापि लिनु हुँदैन । खासगरी विपक्षी एमालेले मधेस केन्द्रित दललाई विगतको आँखाले हेर्नुहुँदैन । निर्वाचनको प्रतिस्पर्धामा आएपछि एमालेले मधेस केन्द्रित दललाई अराजनीतिक आरोप लगाउनु उचित हुँदैन । सडक संघर्षमा रहेको बेला जुन दलले पनि चर्को कुरा गर्नु स्वभाविक हो । अधिकारका लागि हुने कुनै पनि संघर्ष कहिलेकाहि अराजक र हिंसात्मक हुन सक्छन् । तर शान्तिपूर्ण राजनीतिक अवरतरणको अवस्थामा आइसकेपछि ती कुरालाई गौण ठानी आगामी सकरात्मक राजनीतिक कार्यदिशा तय गर्नु प्रमख राजनीतिक दलको भूमिका हो ।

मधेश केन्द्रित दलले खोजेका बिषयलाई एमालेले आरोपको रुपमा भन्दा राजनीतिक मुद्दाको रुपमा लिनु आगामी प्रदेश र केन्द्रीय निर्वाचनका लागि सकरात्मक कदम हुनेछ । कांग्रेस, माओवादीले राजपालगायत मधेश केन्द्रित दलले उठाएका बिषयलाई सकेसम्म सहमति खोज्ने भन्दै संविधान संशोधनको बिषय संसदमा प्रस्तुत गरेका थिए । संविधान संशोधनको बिषय संसदबाट अस्वीकृत भएपछि हाललाई एउटा समाधान निस्किएको छ । जसलाई राजपाले समेत स्वीकार गरिसकेको छ ।

मुलुकका राजनीतिक दलको अबको मुख्य राजनीतिक कार्यभार प्रदेश र केन्द्रीय निर्वाचन समयमा सम्पन्न गर्नु हो । यी निर्वाचन सम्पन्न गर्ने बिषयमा राजपाको निर्वाचनतिरको यात्राले सकरात्मक सन्देश दिएको छ । प्रदेश र केन्द्रीय निर्वाचन सम्पन्न गरी संविधान पूर्ण कार्यान्वयनले नै मुलुकलाई समृद्धिको दिशामा लैजान सक्छ । त्यसका लागि राजपालगायतका असुन्तुष्ट दललाई सहकार्यमा लैजानु आवश्यक छ । प्रदेश २ को स्थानीय निर्वाचन त्यसको प्रस्थान बिन्दु हुन सक्छ ।
-twitter @gangabc

प्रकाशित : भाद्र १४, २०७४ १४:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'स्मार्ट सिटी' ! मा फोहोरको डंगुर [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

काठमाडौं — काठमाडौं, ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुले चुनावका बेला महानगरहरुलाई 'स्मार्ट सिटी' बनाउने घोषणा गरे । ती जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको पनि चार महिना कटिसकेको छ ।

यी बीचमा 'स्मार्टसिटी' को नारा दिने जनप्रतिनिधिहरुले महानगरभित्रको सडकको खाल्डाखुल्डी हटाउने लगायत नागरिकका समस्या मत्थर पार्न सकेका त छैनन् नै, बरु अर्को समस्या सहरवासीले भोग्नु परिरहेको छ । त्यो हो उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि थुप्रिएको फोहोर र त्यसबाट फैलिएको दुर्गन्ध ।

ललितपुर महानगरपालिकाले ल्यान्डफिल्ड साइट नुवाकोटको ओखरपौवा सिसडोल पुग्ने बाटोमा पहिरो र सडक बिग्रिएकाले स्थानीयवासीले कालोपत्रे गर्नुपर्ने भन्दै अवरोध खडा गरेकाले फोहोरमैला संकलन गर्न नसकिएको जनाएको छ । ललितपुर महानगरपालिकाका अनुसार वर्षाले ल्यान्डफिल्ड साइट पुग्ने रानीवन नागार्जुनदेखि मुडु–देवीस्थान–आठ माइल–तीनपिप्ले–कोट (भत्केपाटी) हुँदै सिसडोलसम्मको सडकमा पहिरो झरेको छ । यसले गर्दा साउन २६ देखि नगरमा नियमित फोहोरमैला संकलन हुन नसकेको जानकारी ललितपुर महानगरपालिका सिनियर अफिसर सुरेन्द्रराज अवालेले दिए । स्थानीयवासीसित आइतबार मौखिक सहमति हुनै लागेको बेलामा फोहोरमा राजनीति गर्ने केही गिरोहले अनावश्यक अवरोध खडा गरेको आरोप महानगरपालिकाको छ ।

समस्याको दीर्घकालीन तथा वैकल्पिक व्यवस्थापनका लागि पहल भइरहेको जानकारी ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले दिए । अहिले ललितपुरको बालकुमारीमा फोहोर थुप्रिँदा त्यहाँ वरिपरि अत्यधिक दुर्गन्ध फैलिन थालेको छ । स्थानीयवासी दुर्गन्धले हैरान छन् । स्थानीय हीराकाजी महर्जनले दुर्गन्धले बालबालिका बिरामी पर्न सक्ने चिन्ता व्यक्त गरे ।

प्रकाशित : भाद्र १४, २०७४ १४:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT