शेक्सपियरको जन्मघरमा छिनछिनमै नाटक

गणेश राई

काठमाडौं — शेक्सपियरको जन्मघरको आँगनमा खुल्ला नाट्यशाला रहेको छ । यो एक खाले डबली (नाटक मञ्चन) स्थल हो । कलाकारहरु तैनाथ रहछन् । उहिलेकै पहिरनमा सजिएका उनीहरुको साथमा प्राचिनता जनाउने नाट्य मञ्चन सामग्रीहरु छन् । शेक्सपियरका नाटकहरु प्रदर्शन गर्दछन् । पर्यटक, आगन्तुक या दर्शकले अनुरोध गरेमा तत्कालै नाटकको अंश रुचीपूर्ण ढंगले अभिनयसहित प्रस्तुत गर्दछन् ।

विश्वभरिका कलमवाजहरुको सपना हुन्छ, शेक्सपियरजस्तै बन्ने । विलियम शेक्सपियर जो छन्, विश्वप्रसिद्ध लेखक । महान् नाटककार । बेलायतको स्टार्टफोर्ड अपन एभनमा उनको जन्मघर रहेको छ । उनको भौतिक आयु सन् १५९७ देखि १६१६ सम्म थियो । यतिखेर यहाँ करिब ६०० शताब्दी अघिको सम्पदाको चर्चा गरिंदैछ । जहाँ जीवन्त सम्पदा आजपर्यन्त रहेको छ । त्यो शताब्दीमा रचिएका शेक्सपियरका अंग्रेजी साहित्य अहिले पनि पढाइन्छ ।

सन् २०१७ को सेप्टेम्बर ४ तारिख बेलायतमा रहेका आफन्त जीवन राई (२११६८७५२, भूपू क्वीन्स गोर्खा सिग्नल) र रेवन राई दम्पतीका साथ लागेर शेक्सपियरको जन्मघर अवलोकन गर्ने अवसर जुर्‍यो । त्यही प्रसङ्ग देखिएका केही प्रसङ्गहरु यहाँ उल्लेख गरिंदैछ ।  
 
शेक्सपियरको जन्मघर

विलियम शेक्सपियरलाई उनको जन्मघरमै भेट्न सकिन्छ । तर, भौतिक रुपमा नभई उनको कृति र वंशथलो हेरेर जान्न सकिन्छ । उनी जहाँ जन्मेर बाल्यकाल बिताएका थिए । हुर्किंदै गर्दा खेलेको घर र आँगन जस्ताको तस्तै छ, त्यहाँ मात्र शेक्सपियर छैनन् । त्यही घरमा उनका बुबाले चलाएको व्यवसाय छालाको पञ्जा बनाउने घरेलु कारखाना अझै छ । त्यसबारेमा शेक्सपियरले हेर्ने, बुझ्ने, जान्ने, सिक्ने मौका पाएका थिए । अहिले पनि त्यसलाई संरक्षण गरेर राखिएको छ । पर्यटक र आगन्तुकले अवलोकन गर्न सक्छन् । त्यो घरमा अहिले पनि त्यही समयको प्राचिन वस्त्र (मिडिबल ड्रेस) पहिरिएका कलाकारहरु, कर्मचारीहरु खटिरहेका छन् । उनीहरुले शेक्सपियरको बाल्यकालिन जीवन कहानी भनेर त्यो प्राचिन समयको याद दिलाउँछन् । उनीहरुले स–सना घरेलु बस्तुहरु देखाएर व्याख्या गरिदिन्छन् । प्राचिन घरको स्याहार सम्भार, रखवारी, मौलिक वस्तुहरुको सुरक्षा त गर्ने नै भए । आधुनिकताको चापबाट जोगाउन कति सकस भएको होला ?

आगन्तुकहरुलाई ‘द शेक्सपियर सेन्टर’ लेखिएको घरको ढोकाबाट प्रवेश गराइन्छ । टिकट घरका कर्मचारीको सुरक्षा जाँच र अनुमती पछि यात्रा सुरु हुन्छ । भित्तामा कुँदिएको छ, ‘मलाई तिम्रो जीवन कहानी सुन्न ठूलो इच्छा छ ।’ शेक्सपियरको अमूर्त चित्र त्यहीसँगै छ । दायाँ कुनाको ठूलो पर्दामा शेक्सपियरका ख्यातिप्राप्त नाटकहरुलाई श्रव्यदृश्य श्रृंखलावद्ध प्रदर्शन भइरहेको हुन्छ । भित्तामा शेक्सपियरका कृतिहरुको नाम, पात्रलाई धातुको ठूलो सिक्काको आकारमा कुँदेर सजाइएका छन् । पुस्तकहरु प्रदर्शित छन् । उनको वंशावली भित्तामै टाँगिएको छ ।

भित्री आँगन छिरेपछि शेक्सपियरको जन्मघर आउँछ । घर दुई तले छ, भूईतला र माथिल्लो । काठको खाँबा, इट्टा, माटो र टायलको छाना लगाइएको छ, जुन शताब्दीऔं पुराना हुन् । छानो नेपाली शैलीभन्दा केही चुच्चो देखिन्छ ।

घरभित्र शेक्सपियरका आमा–बाबुले प्रयोग गरेको ठूलो खाट छ । त्यो समयमा ठूलो खाटसँगै जोडेर बच्चालाई कोक्रो र सँगै सानो खाट राखिएको छ ।उतिखेर बच्चालाई पाँच वर्षसम्म आमाबाबुसँगै सुताउने चलन थियो । त्यसपछि छुट्टै कोठामा राखिन्थ्यो । जहाँ दाजुभाइसँगै रहेर बिताएका दिनहरुको स्मरण गराउँछन्, कलाकार अर्थात् गाईडहरु । यी गाइडहरुको भेषभूषा, भाषाशैली, प्रस्तुतिले शेक्सपियरकालिन जीवन्तता झल्काउँछ । महान् लेखक विलियम शेक्सपियरको यी सम्पूर्ण भौतिक सम्पदा र बौद्धिक सम्पत्तिहरुको प्रवर्द्धन कार्य ‘द शेक्सपियर बर्थप्लेस ट्रस्ट’ले गर्दैआएको छ । यो ट्रस्ट पब्लिक डोनेसन (सार्वजनिक अनुदान) बाट चलेको छ ।  
 
शेक्सपियरको वंश

बुबा जोन शेक्सपियर र आमा मेरी आर्डेनको विवाह सन् १५५७ मा भएको थियो । दम्पतीको आठ सन्तान थिए । त्यसमा तेस्रो सन्तान विलियम शेक्सपियर थिए । विलियम शेक्सपियरले आन्ने आथवेसाग सन् १५८२ विवाह गरेका थिए । जसबाट तीन सन्तान जन्मिएका थिए । दुई छोरी (सुजना र जुडी) र एक छोरा हामनेट थिए । छोराको ११ वर्षको बाल्यावस्थामै निधन भएको थियो ।
 
प्रतिभाशाली शेक्सपियर

विलियम शेक्सपियर पढाइमा तेज थिए । उनले पढेर लण्डनमा जागिर सुरु गरेका थिए । त्यो समयमा उनको तलब वार्षिक ६० पाउण्ड थियो । त्यतिखेर एक प्रधानाध्यापकको बार्षिक तलब ३० पाउण्डमात्र हुन्थ्यो । अर्थात् विलियम शेक्सपियरको बौद्धिक क्षमता र प्रतिभाको खरो मापन भएको थियो । विलियम शेक्सपियरको अधिक तलबले नयाँ इतिहास रच्यो । उनले दुई वर्षको तलबले जन्मघरदेखि दश मिनेटको पैदल दुरीमा घर किने । जुन ठाउँ अझै पनि शेक्सपियरको ‘न्यु प्लेस’ (नयाँ ठाउँ) भनेर चिनिन्छ । शेक्सपियरले आर्जेको घर र बगैंचाहरु यहीं छन् ।

प्रवेशद्वारसँगै दायाँतर्फ बगैंचा छ । त्यहाँ त्यो समयको प्राचिन इनार सुरक्षित राखिएको छ । त्योभित्र पानी पनि छ । थरीथरीका फूल र बगैंचामाथि शेक्सपियरका कृतिको नामहरु धातुमा कुँदिएका छन् । ती चर्चित नाटक र अन्य कृतिको शीर्षकलाई धातुको ध्वजा बनाएर ठड्याइएका छन् । त्यस्तै, भूइमा चर्चित सनेटको शीर्षकलाई धातुमा कुँदेर आधुनिक शैलीमा बिछ्याइएका छन् । बगैंचामा फूल र बोटबिरुवा मात्र छैनन्, त्यसमा बिसाउने ठाउँहरु राखिएका छन् । शेक्सपियरका नाटकका पात्रहरुलाई आधार बनाएर कुँदिएका धातुका थरीथरीका मूर्तिहरु बगैंचा वरिपरि सजाएर राखिएका छन् । शेक्सपियरका ३८ नाटक, १ सय ५४ सनेट, दुई लामा कविताहरु प्रकाशित छन् । उनका ख्यातिप्राप्त नाटकमध्ये २६ वटा यही घर र बगैंचामा बसेर लेखेका थिए । त्यसैगरी सनेट र अन्य कविताहरु पनि यहीं रचेका थिए । ती कृतिहरु संसारकै नमुना बिउमात्र होइन, शनै शनै सतिसाल बनेर उभिएका छन् ।
 
छोरीको घर

शेक्सपियरको न्यु प्लेसबाट दश मिनेट दुरीमा ‘हल्स क्रफ्ट’ भन्ने घर छ । त्यो उनको छोरी सुजनाको घर हो । सुजनाको विवाह डाक्टर जोन हलसँग भएको थियो । उनकै नामबाट हल्स क्रफ्ट रहेको हो । यसभित्र जडीबुटी बनाउने गरेको सामानहरु सजाइएका छन् । आयुर्वेद सम्बन्धी पुस्तकहरु छन् । भाँडाकुँडाहरु छन् । डाइनिङ हलको भित्तामा शेक्सपियरको परिवारको चित्रकला सजाइएको छ । उतिबेला प्रयोग गरिएका कुर्सी, टेबल र फर्निचरहरु राखिएका छन् । त्यो घरसमेत ‘द शेक्सपियर बर्थप्लेस ट्रस्ट’ अन्तर्गत रहेको छ । पुरानो शैलीको घर जरजर अवस्थामा छ । चारैतिरबाट फलामको खाँबाले टेको दिइएको छ ।
 
नाटक यसरी

विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियरलाई उनका कृतिहरुले बचाइरहेको छ । उनको नाटकलाई जहिलेसुकै जीवन्त तुल्याउने काम कलाकारहरुले गर्दैआएका छन् । अंग्रेजीमा रचिएका नाटक विश्वका अनेकन भाषामा अनुदित र प्रदर्शित छन् । यद्यपि शेक्सपियरको जन्मघरमा हरपल नाटक प्रदर्शन गरिन्छ ।

‘म्यागवेथ’ शेक्सपियरको चर्चित नाटकमध्ये एक हो । हामी नेपाली टोलीले डबली अगाडि पुग्नासाथ ‘म्यागवेथ’को एक भाग दुई नारी पात्रले एक मिनेटभित्र चित्ताकर्षक ढंगले प्रस्तुत गरेर मन्त्रमुग्ध तुल्याए । शेक्सपियरको यो वियोगान्त नाटक हो । जुन् सबैभन्दा पहिले सन् १६१६ मा प्रदर्शन गरिएको मानिन्छ । यसमा राजनीतिक महत्वकांक्षा पूरा गर्ने ध्ययमा  शारीरिक, संवेगात्मक र मनोवैज्ञानिक रुपमा असर पार्ने विषय समेटिएको छ ।

तस्बिर सौजन्य : जीवन राई

प्रकाशित : भाद्र २५, २०७४ १४:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

व्यवसायीमाथि गोली हान्ने अभियुक्त सार्वजनिक

आतंक मच्चाउँदै पैसा असुल्ने गरेको प्रहरीको दाबी
माधव ढुंगाना

भैरहवा — नौ महिनाअघि भैरहवाका उद्योगी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई गोली प्रहार गरी हत्याको प्रयास गर्ने अभियुक्तलाई प्रहरीले आइतबार भैरहवामा सार्वजनिक गरेको छ ।

भारतको मोतीहारी जिल्ला, रक्सौल–१ घर भएका ५० वर्षीय अरबिन्द भन्ने बब्लु तिवारीलाई प्रहरीले सार्वजनिक गरेको हो । गत मंसिर २१ गते साँझ न्यौपानेको घरमै गोली प्रहारबाट गरिएको हत्या प्रयासको घटनामा तिवारीकै संलग्नता रहेको दाबी प्रहरीको छ । प्रहार गरिएको गोली भित्तामा लाग्नाले न्यौपाने बचेका थिए ।

तिवारीले दर्जनौं उद्योगी व्यवसायी र सर्वसाधारणलाई मोबाइलबाट धम्क्याएर आतंकित पारेर पैसा असुल्ने र गोली प्रहार गरी हत्याको प्रयास गर्ने गरेको दाबी प्रहरीको छ । प्रहरीका अनुसार, बब्लु तिवारीलाई खोजतलाश गर्ने क्रममा तिवारीले आफूलाई रुपन्देहीमा खोजी भइरहेको जानकारी पाएकाले गत पुस २९ गते लागूऔषधसहित लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले काठमाडौंमा पक्राउ गर्दा अपराधबाट बच्न आफ्नो नाम ठेगाना फरक पारी अरबिन्द यादव लेखाएका थिए ।

यसअघि २०६६ असार २ गते यिनै व्यक्तिमाथि रुपन्देहीमा लागूऔषध र हातहतियारसम्बन्धी मुद्दा चल्दा आफ्नो नाम ठेगाना भारतको महाराजगंज थाना सुनौलीग्राम जुगौली बस्ने बब्लु तिवारी नाम लेखाएका थिए । उक्त मुद्दाबाट छुटेपछि तिवारी लागूऔषधको कारोबार, मोबाइलबाट व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउने र गोली प्रहार समेत गरेर आतंक मच्चाउँदै पैसा असुल्ने गरेको दाबी प्रहरीको छ ।
 
रुपन्देहीका एसपी श्याम ज्ञवालीले बब्लु तिवारी नाम लेखाउँदाको र अरबिन्द यादव नाम लेखाउँदाको दुवै कागजको औंलाछाप परीक्षण गर्दा एउटै व्यक्ति भएको पुष्टि भएको बताए ।  

थप अनुसन्धान र कारबाहीका लागि उनलाई कारागार कार्यालय जगन्नाथ देवल काठमाडौंबाट भैरहवा ल्याइएको हो । 

                                                            

प्रकाशित : भाद्र २५, २०७४ १४:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT