अमेरिका अनुभव : भोगेका र देखेका राम्रा कुराहरु

नवीन रायमाझी

काठमाडौं — पंक्तिकार अमेरिका सम्बन्धी ज्ञाता होइन । तर, यो देशमा बसोबास गरिरहेको कारण, कुनै आफैले भोगेर र कुनै अरुले भोगेको देखेर केहि अनुभवहरु प्राप्त गर्नुलाई अन्यथा लिने छैन भन्ने मेरो आशा छ ।

भौतिक बिकासको कुरा गर्दा, अमेरिका हाम्रो देश भन्दा कता हो कता छ भने साथै बौद्धिक र मानसिक रुपमा पनि यिनीहरु हामीभन्दा निकै अगाडी छन् । कानुन कडा भएकाले सबै सभ्य भएका हुन् वा सबै सभ्य भएकाले कानुनको पालना गरेका हुन् यो बहसको बिषय हुन् सक्छ । यो प्रसंगलाई जसले जसरी बुझ्दा पनि भयो । मेरो बिचारमा भने कानुन कडा भएको र त्यो कानुनको पालना पनि हुने कारणले मान्छेहरु जबर्जस्ती सभ्य र असल भएका हुन् । जो बास्तवमै सभ्य र असल छन्, उनीहरुलाई कानुन हुनु र नहुनुको कुनै मतलव हुँदैन । यहाँ पनि रक्सि पिएर र फुटपाथमा उभिएको मान्छेलाई सडकको पानी छ्यापिने गरि गाडी चलाउने, महिलालाई जिस्काउने वा यौन दुर्व्यबहार गर्ने, पसलमा गएर सामान चोर्ने, राती वा सुनसान समयमा मान्छेलाई लुटने जस्ता क्रियाकलाप गर्ने मान्छेहरु नभएका होइनन् । तर, यिनीहरु प्रहरीको फन्दामा परे भने जिन्दगी नै बर्बाद हुने गरी सजायको भागी हुनुपर्छ । धेरै प्रसंगहरुसंग सामन्जस्यता राख्न नसके पनि यो देशको केही प्रकरणहरु मलाई ह्रदयदेखि नै मन पर्यो, त्यसलाई उल्लेख गर्ने प्रयास गरेको छु ।

पहिलो, कानुनको दृष्टिमा यहाँ सबै बराबर छन् अर्थात कानुनले निषेध गरेको कुरा गर्यो भने ति सबैले सजायको भागी हुनुपर्छ, चाहे त्यो सर्वसाधारण होस् वा कुनै हेबीवेट । केही वर्ष पहिले तत्कालिन राष्ट्रपति जर्ज बुसको छोरी बारमा आधा घण्टा बढी बसेको कारण एक रात प्रहरीले थुनेको समाचार आएको थियो । रातको १२ बजे अनिबार्य बन्द हुनुपर्ने बारमा कलेजका बिधार्थीहरु जबर्जस्ती बस्न खोजेपछि बार मालिकले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर ति सबै बिधार्थीलाई पक्राउ गर्दा त्यो समुहमा राष्ट्रपति बुसकी छोरी पनि थिइन् । हाम्रो देशमा प्रचलित कानुनको बर्खिलाप गरेपनि राष्ट्रपतिको छोरीलाई पक्राउ गर्ने हिम्मत सायद प्रहरी महानिरीक्षकको पनि हुँदैन भने सामान्य प्रहरीको के कुरा गर्नु ? नेपालमा त्यस्तो घटना भएको भए राष्ट्रपतिको छोरीलाई आधा घण्टा बढी बस्न नदिएको आरोपमा बार मालिक नै जेल पर्न सक्थे ।

दोश्रो, यो देशको सर्बोच्च कार्यकारी पद राष्ट्रपति एउटै व्यक्तिले दुई कार्यकाल भन्दा बढी चुनाब लड्न पाउँदैन । आफ्नो कार्यकाल पुरा भएपछि उ आफ्नो पहिले कै पेशामा फर्किन्छ अर्थात उ पहिले वकिल थियो भने वकालत नै गर्छ । कुनैपनि क्षेत्रमा लाग्ने व्यक्तिले त्यो क्षेत्रको उच्चतम् पदमा पुग्ने आकांक्षा राख्नु अन्यथा होइन । राजनीतिमा लाग्नेले प्रधानमन्त्री हुने सपना देख्नु राम्रो कुरा हो । प्रमुख बिषय भनेको एउटा मान्छेले मात्र कहिलेसम्म पद लिरहने त्यसको भने सिमा हुनुपर्छ भन्ने हो । हाम्रो देशमा करिव दश बर्षमा व्यवस्था परिवर्तन हुन्छ । तर, पदमा पुग्ने करिव ९० प्रतिशत मान्छे उही हुन्छन् । अनि कसरी परिवर्तन सम्भव हुन्छ ? पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्म उही मान्छेहरु नै छन्, भोट दिने व्यक्तिहरु कता–कता पुगुन्जेलसम्म चुनाव लड्नेहरु उनीहरु नै हुन्छन् ।

तेश्रो, कुनैपनि काम वा जागिर सुरु गर्दा त्यो व्यक्तिको बिगत हेर्ने प्रचलन छ यहाँ । जसलाई "ब्याक ग्राउण्ड चेक" भनिन्छ । यदि कुनै व्यक्तिले एकपटक कुनै गल्ति गरेको छ भने जिन्दगी भरी उन्मुक्ति पाउँदैन । एउटा सानो गल्तिले गर्दा राष्ट्रपतिको उम्मेदवार हुन रोकिएका घटनाहरु पनि नभएका होइनन् । त्यसैकारण यहाँका मान्छेहरु कानुनसँग डराउँछन् । हाम्रो देशमा बैंक ठगि गरेर जेल परेको मान्छेले जेलबाट छुटेर फेरी ब्याङ्किङ क्षेत्रमै जगजगी गरेर बसेको पनि छ । साथै सर्बोच्च अदालतले भ्रष्टाचारको अभियोगमा जेल सजाय तोकेको व्यक्ति जेल मुक्त हुँदा जति दिन जेल बसेको थियो त्यति नै किलोको माला लगाएर बिजयी जुलुस गरेको पनि देखिएकै हो ।

चौथो, यहाँ केटाकेटीहरुलाई छोएर र मुसारेर माया गर्ने चलन छैन । यो चलन मलाई अत्यन्तै राम्रो लाग्यो । एक त गाला मुसार्ने र टाउको सुम्सुम्याउने गर्दा बच्चाहरुलाई झर्को लाग्न सक्छ भने कतिले त माया गर्ने बहानामा आफ्नो यौन कुण्ठा पोख्ने कुकर्म पनि गर्छन्, गरेका पनि छन् । माया गर्ने बहानामा बाल यौन दुर्ब्यवहार भएका घटनाहरु समय–समयमा बाहिर आउँछन् । तर, त्यी आरोपित हरुलाई के सजाय हुन्छ त्यो सायद कसैलाई पनि थाहा छैन । पंक्तिकारको घर नजिक करिव दश बर्ष पहिले एक चालिस बर्षीय ब्यक्तिले छ बर्षीय बालिकालाई चकलेट दिने बहानामा बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । तर, त्यो ब्यक्ति एक हप्ता मै जेल मुक्त भयो । कसरी र किन मुक्त भए ? त्यो मलाई जानकारी छैन । तर, उ आजसम्म पनि समाजमा टाउको उठाएर हिडिरहेको छ । यस्तै घटना यदी अमेरिकामा भएको भए त्यसले यति ठुलो सजाय पाउने थियो कि त्यसको दुर्गति भएको देखेर वा सुनेर अरु मान्छेहरुपनि दुरुत्साहित हुने थिए ।

र अन्तमा, यहाँका मान्छेले जनावरहरुप्रति दर्शाएको माया पनि मलाई अति नै राम्रो लाग्छ । हामीले आफुलाई जति कमलो मनको भने पनि कुकुरलाई पिट्ने, चरा मार्ने जस्ता कर्महरु गर्ने गर्छौ । मैले यहाँ कुकुरलाई लात्तिले वा ढुङ्गा ले हानेर बोल्न नसक्ने प्राणीलाई दु:ख दिएको देखेको छैन न त कुनै बालकले गुलेली लिएर चरा मार्दै हिडेको देखेको छु । हामी हरेक दशैंमा पशुबली रोक्नु पर्यो भनेर कोकोहोलो मच्चाउने काम गर्छौं । तर, मासु खान भने छाड्दैनौ । यदी मासु खाना नछाड्ने हो भने पशुबली दिने काम भइरहन्छ । यस्तो निरर्थक होहल्लाको कुनै मतलब छैन । मैले यहाँ कुनै मान्छेले कुखुरा वा भेडा मार्नु हुँदैन भनेर होहल्ला गरेको र कालो कपडा लगाएर सडकको बीचमा बसेर बिरोध गरेको देखेको वा सुनेको छैन ।

मैले देखेको र भोगेको भन्दापनि अरु धेरै राम्रा बिषयहरु पनि होलान् । यदी कसैलाई जानकारी छ भने विचार तथा अनुभव आदानप्रदान गर्न अनुरोध छ । साथै सल्लाह, सुझाब तथा प्रतिक्रियाको पनि आशा गरेको छु ।
@naviinr

प्रकाशित : भाद्र २७, २०७४ १४:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघद्वारा सर्वसम्मत रुपमा नाकाबन्दी

संयुक्त राष्ट्रसंघ (न्युयोर्क) — संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो ।

उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले यसअघि नै उक्त नाकाबन्दीको प्रस्ताव गरेको भए पनि सर्वसम्मत हुन सकेको थिएन । तर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सोमबार भने सर्वसम्मत निर्णय भएको छ ।

उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा हाल कायम राखेको आर्थिक लगायतको नाकाबन्दीलाई थप कडा बनाउने बारेमा तयारी सुरु गरेको जानकारी दिइएको छ ।

संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको सो नाकाबन्दीको कानुनमा यसअघि रुस र चीन सहमत हुन नसकेपछि ढिलाई भएको थियो । ती दुई देशले विरोध नै नगरेपनि नाकाबन्दीको कानुनमा सहमति जनाएका थिएनन् ।

सोमबार उनीहरुको समेत सहमति र उक्त परिषद बैठकको सर्वसम्मतिमा सो कानुन पारित गरिएको हो । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षणगर्दै आएकाले उसका विरुद्धमा यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ ।

उत्तरले गत हप्तामात्र एक शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेपछि विश्वमा उसका विरुद्धमा जनमत बढ्दै गएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो ।

तर, यस पटकको परीक्षण यसअघिको भन्दा करिब दश गुणा बढी शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ, उत्तर कोरियाले यसअघि गरेको पाँचौँ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ ।

विश्व समुदाय एवम् संयुक्त राष्ट्रसंघले व्यापक मात्रामा विरोध गर्दागर्दै पनि उत्तर कोरियाले आणविक क्षेप्यास्त्रहरु हान्ने गरेको छ । उसले सन् २००६ देखि नै निरन्तर रुपमा यस्तो परीक्षण गर्दै आएको छ ।

के असर पार्छ नाकाबन्दीले ?

यो नाकाबन्दीपछि उत्तर कोरियालाई सामान आयातका लागि निकै गाह्रो पर्ने देखिएको छ । जस्तो कि तेल, उर्जा, कोइला र टेक्सटाइलका सामानहरुको आयात तथा निर्यातमा उसलाई गाह्रो पार्नेगरी यो नाकाबन्दी लगाइएको हो ।

त्यस्तै आणविक परीक्षणका लागि आवश्यक सामाग्री, आणविक उत्पादन र यससँग सम्बन्धित कच्चा पदार्थहरुको उत्पादन र प्रयोगमा पनि यस नाकाबन्दीले असर पार्ने देखिएको छ ।

यो नाकाबन्दीले उत्तर कोरियालाई उसका नागरिक वैदेशिक रोजगारीका लागि जाने काममा पनि रोक लगाएको छ । यस नयाँ नाकाबन्दीपछि अब उसका कामदारले बिदेशमा गएर रोजगारी पाउने छैनन् ।

यसबाट उत्तर कोरियाका ठूलो सङ्ख्याका नागरिक प्रभावित हुनेछन् । यो नाकाबन्दी लगाएपछि कुनै पनि देशले उत्तर कोरियाली नागरिकलाई बैधानिक रुपमा काममा लगाउन पाइने छैन ।

राष्ट्रसंघीय एक अधिकारीका अनुसार उत्तर कोरियाबाट हाल विश्वका विभिन्न देशमा करिब ९३ हजार नागरिक कार्यरत छन् । यसले अब उनीहरुलाई ‘वर्क परमिट’ मा रोक्नेछ ।

चीन र रुसको पनि सहमति

यसअघि चीनले उत्तर कोरियालाई आवश्यक पर्ने सामानहरुको निर्यात गर्न दिएको र उत्तर कोरियाप्रति तुलनात्मक रुपमा नरम भएको भन्ने गरिएको थियो । तर पछिल्लो समयमा अमेरिकाले प्रस्ताव गरेको यस कानुनमा चीनले फनि सहमति जनाएको छ ।

चीनले यसअघि पनि उत्तर कोरियाको विषयमा संयुक्त राष्ट्रसंघले नै आवश्यक कारबाही थाल्नुपर्ने बिचार राख्दै आएको थियो । चिनियाँ विदेशमन्त्री याङ यीले हालै भनेकी थिइन्, यस विषयमा राष्ट्रसंघले आवश्यक कदम चालोस त्यसमा हाम्रो समर्थन रहने छ ।

उत्तर कोरियाले गरेको पछिल्लो आणविक परीक्षणपछि चीनले विरोध गर्दै सो प्रतिक्रिया दिएको थियो । चीनले पनि उक्त आणविक परीक्षणको विरोधगर्दै आएको छ ।

उनले चीनमा केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा भनेकी थिइन्, 'कोरियाली प्रायद्वीपमा नयाँ केही गरियोस र यस्तो आवश्यक कारबाहीमा चीनको समर्थन रहने छ ।'

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि उत्तर कोरियाका विरुद्धमा नाकाबन्दी वा अर्को आक्रमण गर्ने भन्दा पनि वार्ताबाटै समाधान खोज्नुपर्ने धारणा राख्दै आएको थियो ।

उनले अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्नुपर्ने बताएका बताएका थिए । तर, सोमबारको सुरक्षा परिषद बैठकमा भने रुसले पनि सहमति जनाएको छ ।

युरोपियन युनियनको पनि थप नाकाबन्दी

यसैगरी युरोपियन युनियनले पनि उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दीको तयारी गरिरहेको बताएको छ । सो जानकारी सो संस्थाका कूटनीतिक प्रमुखले दिए ।

उनले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा युरोपियन युनियनले हाल कायम राखेको आर्थिक लगायतको नाकाबन्दीलाई थप कडा बनाउने बारेमा तयारी सुरु गरेको समाचारमा उल्लेख गरिएको छ ।

उक्त संस्थाका कूटनीतिक विभग प्रमुख फेडरिका मोगारिनीले भने, 'उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दी लगाउने बारेमा मैले मन्त्रिपरिषदका सदस्यहरुलाई भनेको छु, अब यसले छिट्टै नै पूर्णता पाउने छ ।'

उत्तर कोरियामाथि विभिन्न देश र संघसंस्थाले थप नाकाबन्दी तथा कारबाहीको घोषणा गर्ने जनाएका छन् । सो आणविक परीक्षणको विरोधगर्दै आएको युरोपियन युनियनले पनि उसका विरुद्ध नाकाबन्दीको तयारी गरेको हो ।
–रासस/एएफपी

प्रकाशित : भाद्र २७, २०७४ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT