सरकार, चिकित्सकको मनोबल कति गिराउने ?

काठमाडौं — नेपालका संचार माध्यम, समाचार, सामाजिक संजालहरुमा सबैभन्दा बढी प्रयोग हुने शब्द “डाक्टरको लापरवाही” बनेको छ । यो “लापरवाही” भन्ने शब्दलाई जसरी हलुको रुपमा लिएर भन्ने गरिएको छ, त्यसले चिकित्सा सेवा प्रवाहमा पर्ने नकारात्मक असरहरु देखिन थालिसकेको छ ।

प्रसङ्ग १ :

एउटा व्यस्त इमर्जेन्सीमा एक डाक्टर विरामी हेर्दैछ । अन्तिम अवस्थामा अस्पताल ल्याइएको विरामीको मुखमा पाइप हालेर कृत्रिम स्वासप्रश्वासबाट विरामीलाई बचाउने कोशिस हुदैछ । त्यसै वखतमा इमर्जेन्सीमा नयाँ विरामी ल्याइन्छ । तुलानात्मक रुपमा त्यो नयाँ विरामीको अवस्था त्यति सिकिस्त नभएकाले डाक्टरले एकछिन पर्खिन भन्छ र त्यो अर्को सिकिस्त बिरामीलाई बचाउन आफ्नो सीप र ज्ञानले भ्याएसम्म कोशिस गरिरहन्छ । त्यति नै वेला त्यो नयाँ बिरामीका आफन्तहरु इमर्जेन्सी ल्याउँदा पनि समयमा डाक्टरले नहेरेको भनेर आक्रोशित हुन्छन र हुलहुज्जत गर्छन् । डाक्टर र विरामीको आफन्तहरुबीच केहि बेर भनाभन हुन्छ । यो अस्पतालको डाक्टरले “लापरवाही” गर्यो भन्छन र केहि अनलाइन र पत्रिकामा “डाक्टरको लापरवाहीले इमर्जेन्सीमा ल्याइएको विरामी हेरिएन” शिर्षकका समाचार छापिन्छन ।

 प्रसङ्ग २:
एउटा जिल्ला अस्पताल आठ महिनाको गर्भवतीलाई ब्लडप्रेसर बढेर ल्याइन्छ । त्यहाँ उपलब्ध डाक्टरले औषधिबाट प्रेसर घटाउन प्रयास गरेपनि नघटेपछि तुरुन्त अपरेसन गरेर बच्चा निकाल्नु पर्ने जानकारी आफन्तहरुलाई गराउँछन् । अस्पतालमा शिशुलाई राख्नको निम्ति एनआइसीयु छैन । आमालाई पनि राख्न परेको खण्डमा आइसीयु छैन । अन्य ठुला अस्पताल लान समय पनि छैन । यस्तो अवस्थामा आमा र बच्चा दुबैको जीवन एकदमै खतरामा हुन्छ र जुनसुकै बेला ज्यान जान सक्छ । डाक्टरले बिरामी र आफन्तको मन्जुरीमा अपरेसन गर्छन् । भाग्यबस बच्चालाई एनआइसीयु राख्नपर्ने अवस्था देखिदैन र आमाको स्थिति पनि सामान्य हुन्छ । एक हप्तापछि सुत्केरी आफ्नो बच्चासहित डिस्चार्ज हुन्छिन् ।

यी दुई प्रसङ्गहरु काल्पनिक लागेपनि हाम्रो परिवेशमा अहिले दिनहुँ घटिरहने प्रतिनिधि घटनाहरु हुन् । पहिलो प्रसंगमा एउटा डाक्टरले सिकिस्त विरामी हेर्दाहेर्दै समय नभएर वा भनौं अर्को डाक्टर उपलब्ध नभएर एकछिन पछि जाँच गर्दा पनि हुने विरामी हेर्न ढिलाई हुँदा त्यहाँ उपस्थित विरामीको आफन्तहरुले “लापरवाही” भएको आरोप लगाउछन् । दोश्रो प्रसंगमा एउटा दुर्गमको जिल्ला अस्पतालमा कार्यरत डाक्टरले सिमित साधनश्रोत र जनशक्तिको साथ केहि जोखिम लिएर भएपनि एउटा सुत्केरी र बच्चालाई बचाउँछन । केहि तलमाथि भएको भए “लापरवाही” को  बिल्ला भिराएर मिडिया, सामाजिक सञ्जालहरुमा हंगामा गर्न र क्षतिपूर्ति लिन तम्तयार भएर बसेकाहरु कसैले उसलाई “बहादुर” को तक्मा दिंदैन । त्यहि पनि डाक्टर आफै आत्मसन्तुष्टिमा रमाईरहन्छ र त्यस्ता जोखिमहरूसंग खेल्दैगर्दा कसैले लापरवाहीको पगरी गुथाइदिने भयको साथ काम गरिरहन्छ ।

के हो लापरवाही ? 
अहिले अंग्रेजीमा “मेडिकल मालप्राक्टिस” भन्नाले स्वास्थ्य सेवा प्रदान गर्ने जोसुकैले दिने उपचार प्रक्रिया मापदण्ड भन्दा तल्लो तहमा परेर विरामीलाई हानी पुग्नु वा मृत्यु हुनु भन्ने बुझिन्छ । अन्य देशहरुमा भनिने “मेडिकल मालप्राक्टिस” र नेपालको सन्दर्भमा प्रयोग गरिने “लापरवाही” शब्दको भिन्नता माथिको दुई प्रसङ्गबाट प्रष्ट हुन सकिन्छ । सिमित जनशक्ति र अपुग साधन श्रोतको प्रयोग गरेर जसोतसो चलिरहेका स्वास्थ्य संस्थामा आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेका स्वास्थ्यकर्मीहरुमा अहिले दिनहुँ प्रयोग हुने “लापरवाही” शब्दले निश्चयनै मनोबल गिराएको छ ।

सबैले बुझ्नुपर्ने कुरा के छ भने हरेक उपचार प्रक्रियाका आफ्ना वेफाइदाहरु छन् । सबै औषधिका साइड इफेक्टहरु छन्, अपरेसनका जटिलताहरु छन् । हामीले आफै चिकित्सकको सल्लाह विना प्रयोग गर्ने सिटामोलको पनि लाखौँमा एकजनामा देखिन सक्ने “आइडोसीनक्र्याटिक रियाक्सन”ले कलेजोमा असर गरेर ज्यान जान सक्ने खतरा हुन्छ । पाठेघरको अपरेसन गर्दा नजिकै रहेको मुत्रनलीलाई चोट लाग्न सक्छ, पित्तथैलीको अपरेसन गर्दा कलेजो र नजिकै रहेको रक्तनलीहरूमा चोट लाग्न सक्छ । यी ति अपरेसनहरुको संभावित जटिलताहरु हुन् । चिकित्सकले आफ्नो ज्ञान, सिप, अनुभवको आधारमा ति जटिलताहरु हरसम्भव कम गराउन प्रयास गर्ने हो । तर सयजनामा एकजनामा वा हजारमा एकजनामा चिकित्सकले नचाहदा नचाहदै पनि ति जटिलताहरु देखिन सक्छन् । त्यसैले “लापरवाही” र “उपचार प्रक्रियाका संभावित जटिलता”को फरक थाहा पाउन जरुरी छ ।

कसैलै पनि उपचारको क्रममा चिकित्सक वा जोकोहीबाट “लापरबाही” भएको लागेमा त्यसको यकिन गर्ने निकाय नेपाल मेडिकल काउन्सिल छ । काउन्सिलले बनाउने विशेषज्ञ टोलीले घटनाको विस्तृत अनुसन्धान गरेपछि लापरवाही भएको नभएको निर्क्योल गर्न सक्छ । लापरवाही भएमा सम्बन्धित चिकित्सक उपर कारवाही, लाइसेन्स खारेज र क्षतिपूर्ति को व्यवस्था अहिलेको कानुनले गरेको छ र कारवाही भएका उदाहरणहरु पनि छन् ।

भिडतन्त्रको प्रवृति

पछिल्लो दिनहरुमा अस्पतालहरुमामा बढ्दै गइरहेको अराजकता र भिडले निर्णय गर्ने प्रवृतिले हाम्रो स्वास्थ्य प्रवाहमा परेको असर देखिन थालिसकेको छ । कानुनी बाटोको सट्टा चिकित्सक र स्वास्थ्यकर्मी माथिको दुर्व्यवहार, अस्पताल तोडफोड र पैसाको मोलमोलाईले स्थितिलाई थप जटिल बनाउदै लाने निश्चित छ । विरामी र अस्पताल बाहेकको तेस्रो पक्ष अराजकता र हुलहुज्जतमा देखापर्ने र आर्थिक प्रलोभनमा पारेर अस्पतालसंग पैसाको लागि लबिंग गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । घटनाको अनुसन्धान गरेर कानुनी बाटो रोज्नुको सट्टा यसरी एउटा बन्द कोठामा बसेर अस्पताल र विरामीका आफन्तहरुले पैसामा सहमति गर्दा एउटा घटना त सुल्झेला, त्यसले अन्य सयौं घटना निम्त्याउने पक्का छ ।

यस्तै प्रवृतिले गर्दा अस्पताल र चिकित्सकहरु “क्रिटिकल केस” लिन हिच्किचाउने र वाहिरी जिल्लाबाट पनि काठमाण्डौ रिफर गर्ने प्रचलन बढिसकेको छ ।

उपचार प्रक्रियामा कसको भूमिका के ?

अस्पताल आएको विरामी ठिक भएर अस्पतालबाट फर्कनुमा धेरैको भूमिका हुन्छ । उपचार प्रक्रियाको नेतृत्व डाक्टरले गर्ने हुनाले सबैभन्दा बढी जवाफदेहि डाक्टर हुनुपर्ने कुरामा दुईमत छैन । तर यसो भन्दैमा अस्पतालमा उपलब्ध हुनुपर्ने साधन, श्रोत, जनशक्ति उपलब्ध नभएमा सम्पूर्ण कुराको दोष डाक्टरलाई मात्र दिनु न्यायोचित हुँदैन । अस्पतालमा प्रयोग हुने उपकरण र सामाग्रीलाई राम्रोसंग किटाणुमुक्त नगरिए घाउ पाक्न सक्छ । इमर्जेन्सीमा पर्याप्त डाक्टर, नर्स, उपकरणहरु नभए तुरुन्त दिनुपर्ने सेवा र उपचार दिन सकिदैन । जिल्ला अस्पतालमा बच्चालाई राख्ने एनआइसीयु, अपरेसन गर्नलाई वेहोस बनाउने दक्ष जनशक्ति, ब्लड ब्यांक आदिको व्यवस्था नहुँदा तुरुन्त अपरेसन गर्नुपर्ने गर्भवतीलाई जोखिम मोलेरै भएपनि उपचार गर्नुपर्ने बाध्यता छ । यस्तो प्रतिकुल परिस्थितिमा देशका दुरदराजमा खटिएर सेवा दिइरहेका चिकित्सकहरुमा पछिल्लो समय मिडिया, आम सार्वसाधारणले सधै दिइरहेको “डाक्टरको लापरवाही”को उपमाले आत्मसम्मानमा ठेस पुर्‍याएको छ ।

राज्यको जिम्मेवारी

स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले त्यसको जिम्मेवारी मुलत राज्यको हुन्छ । सरकारी स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, उपकरणको व्यवस्था, निजी अस्पतालहरुको अनुगमन र गुणस्तर कायमको जिम्मा राज्यको हो । विश्व स्वास्थ्य संगठनले हरेक देशले आफ्नो बजेटको कुल हिस्साको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने बताएपनि हाम्रो देशमा मुस्किलले ५ प्रतिशत बजेट स्वास्थ्यमा खर्च गरिन्छ । काठमाडौंका केन्द्रिय अस्पतालहरु पन्चायतकालका पूर्वाधार र जनशक्तिमा चलिरहेका छन् । सरकारी अस्पतालहरुमा पर्याप्त आइसीयु बेड छैनन् । गाउँ गाउँमा रहेका स्वास्थ्य चौकी, जिल्ला र अञ्चल अस्पतालको अवस्था हामीले समाचारमा सुन्दै र पढ्दै आइरहेका छौं ।

अहिले अस्पतालहरुमा घटिरहेका अराजकताका घटनाहरु पनि राज्यले कानुनी राज्य कायम गर्न नसक्नुको उपज हो । अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीलाई आफ्नै सुरक्षाको प्रत्याभूति नभएको स्थितिमा उनीहरुले कुन आत्मबलले आम मानिसहरुको उपचार गर्न सक्छन् ?

मन्त्रिपरिषद्ले हालसालै गरेको “लापरवाहीबाट अकालमा मृत्यु भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित चिकित्सकबाटै भराउने उदेश्यले आवश्यक विधेयक निर्माण गरि संसदमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने” भन्ने निर्णयले आम चिकित्सकहरुको काम गर्ने जोश, जाँगर र मनोबललाई धेरै असर गरेको छ ।

यो निर्णयले राज्य आफुले गर्नुपर्ने सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नति, निजीको अनुगमन, यस्ता घटिरहने घटनाहरुको छानविन जस्ता कामहरुबाट पन्छिएर सबै जिम्मेवारी चिकित्सकहरुको थाप्लोमा हालिदिएको भान भएको छ ।

समाधान के त?

अहिले नेपाल चिकित्सक संघलगायतका चिकित्सकहरुका विभिन्न पेशागत संगठनहरुले त्यसको विरोध गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको अवस्थामा त्यो विवादित निर्णय सरकारले फिर्ता लिनुनै वुद्धिमानी हुन्छ । मन्त्रिपरिषद्बाट निर्णय हुनु अगाडिनै सरोकारवाला निकायहरुसंग यस बिषयमा छलफल हुनुपर्नेमा त्यो भएन । अस्पतालहरुमा पछिल्लो दिनहरूमा बढ्दै गएको यस्ता घटनाहरु रोक्नको निम्ति चिकित्सक संघ, अस्पताल सञ्चालक, नागरिक समाज, सरकारी निकायहरुसंग बृहत अन्तरक्रिया गर्न सकिन्छ । 

बिरामीहरुलाई उपचार प्रक्रियामा चित्त नबुझेमा वा कुनै गल्ती भएको झैँ लागेमा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिनसक्ने व्यवस्था रहेकाले यसलाई थप व्यवस्थित र सर्वसाधारणको पहुँचमा पुराउन सकिन्छ । अस्पतालमा त्यस्ता घटनाहरु भएपछि दुवै पक्षले केहि लाखमा सहमति गरिने परिपाटी बन्द गर्नुपर्छ । 

कार्यक्षेत्रमा चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाको प्रत्याभूतिको जिम्मा सरकारले लिनुपर्छ । यदि विरामीको उपचारमा रहेको बेला चिकित्सक र स्वास्थ्यकर्मी माथि दुर्व्यवहार, हुलदंगा, तोडफोडमा उत्रिने जोकोहीलाई पनि “विना धरौटी जेल चलान” को व्यवस्था निम्ति ऐन संशोधन गर्न सरकारले पहल गर्नुपर्छ ।

अन्त्यमा,

आफ्नो व्यक्तिगत सुरक्षाको प्रत्याभूति नहुँदा नहुँदै पनि विभिन्न बाधा अवरोधहरुको बावजुध देशभरका विभिन्न अस्पतालमा सेवा दिइरहेका चिकित्सकहरुलाई सरकारको भर्खरैको निर्णयले थप हतोत्साही बनाएको छ । दोषी पाइएमा कानुन अनुरुप सजाय हुने व्यवस्था रहेकै स्थितिमा “चिकित्सकबाटै क्षतिपुर्ति भराउने” नियमले थप विकृति फैलाउने र केहि व्यक्तिहरुको आर्थिक प्रलोभनको कारणले चिकित्सा पेशालाई नै बदनाम गराउने बाटोतिर लैजाने देखिन्छ । यस निर्णयले नयाँ पुस्ताका डाक्टरहरु बिदेश पलायन हुने, गम्भिर प्रकृतिका विरामीको उपचारमा कसैले हात हाल्न नचाहने, माथि सुरुमा उल्लेख गरेको प्रसङ्ग २ को जस्तो केसहरु रिफर हुने र अन्त्यमा स्वास्थ्य क्षेत्रनै धरासायी बनाउने निश्चित छ । त्यसैले, भएका नियम कानुनलाई कडाइका साथ पालना गराउने र चिकित्सकहरुलाई सुरक्षाको प्रत्याभूति दिई उच्च मनोबलका साथ कार्यक्षेत्र लाग्न प्रेरित गर्न सरकारले तुरुन्त केहि पहलकदमी चाल्नेछ भन्ने अपेक्षा हामी सम्पर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको रहेको छ ।
(लेखक गण्डकी मेडिकल कलेज, पोखरामा इन्टर्नसिप गर्दैछन् )

प्रकाशित : आश्विन ७, २०७४ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्

आन्दोलनका पर्याय

कल्याण ओझा

काठमाडौं — कित जोत हलो कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै जनताका घरदैलोमा क्रान्तिको स्वर घन्काउँदै जाने भीमदत्त पन्तको जन्म १९८३ साल मंसिर १० गते भएको हो, साँझ अँध्यारो छिप्पिइसकेपछि ।

उनका बुवा तारानाथ पन्त थिए । भीमदत्त तारानाथका एक्ला छोरा थिए । भीमदत्त बालकै हुँदा उनकी आमा सरस्वतीदेवीको मृत्यु भयो । सौतेनी आमा तुलसीदेवीले नै उनकी आमाको भूमिका निर्वाह गरिन् ।

उमेर बढेसँगै भीमदत्त घर तथा समाजमा विभिन्न समस्यासँग जुझ्दै गए । गाउँका ठालु र सामन्तहरूले उनलाई दबाउने प्रयास गर्दै गए । तर सिंहको झैं स्वभाव भएका उनी जीवनको अन्तिम घडीसम्म पनि कसैसँग झुकेनन्, बरु वीर पुरुषको पहिचान दिइरहे । भारतको सिङाहीबाट शिक्षा प्राप्त गरेका उनी देश र समाजको भलाइका निम्ति लागिरहे । नेपाली जनतालाई ढाकेको अँध्यारो हटाउन जीवनभर आन्दोलन गरिरहे । त्यो योगदानको कदर गर्दै राष्ट्रले पनि उनलाई सहिदका रूपमा सम्मान गरेको छ । 
 
तमसुक च्यात आन्दोलन 
२००७ सालको आन्दोलनले देशमा राणाशासनको अन्त भयो । तर, समाजमा ठूला ठालुको हैकम तथा सामन्ती प्रथा कायमै रह्यो । समाजका ठालुहरूले गरिबलाई दिएको धान र तोरीको ब्याज लिने, त्यो पनि दोब्बर–तेब्बर ब्याज बनाई तमसुक लेख्ने चलन थियो । भीमदत्त स्वयं पनि तमसुक काण्डको सिकार भए । उनलाई यस्तो सामाजिक कुप्रथा कत्ति मन परेन । उनी यसलाई बन्द गराउने सोचमा पुगे । विद्रोह गर्ने मौकाको खोजीमा लागे । मौका पाउनेबित्तिकै उनले गाउँभरि हल्ला फिँजाए, ‘मैले सर्वप्रथम अब आफ्नै घरको तमसुक पोल्छु । त्यसपछि सबैका घरको तमसुक पोल्छु ।’ नभन्दै एक दिन आफ्नै करेसाबारीमा गाउँलेहरू जम्मा पारी आफ्नै घरभित्र रहेको बाकसबाट तमसुकका पोकाहरू निकाल्दै उनले जलाइदिए । उनले आफ्नै तमसुक जलाएको खबर गाउँ–गाउँ फैलियो । सँगसँगै उनले हरेक घरमा खोजतलास गर्दै छन् र जसको घरमा तमसुक देख्यो उसलाई सजाय गर्दै छन् भन्ने हल्ला पनि फैलियो । हल्लाकै भरमा धेरै ठालु तथा सामन्तहरूले उनको डरले जाली तमसुकहरू आफैं च्यात्दै जलाउँदै गरे । यसरी जाली तमसुक लेख्नु हुँदैन भन्ने सन्देशका कारण जनता भीमदत्तका पक्षमा हुँदै गए । राष्ट्रका निम्ति यो उनको महत्त्वपूर्ण योगदान थियो । 

ओल्को बन्द आन्दोलन 
तत्कालीन समयमा किसानहरूलाई निकै दु:ख थियो । किसानका दु:ख–पीडा कोही–कसैले सुन्दैनथ्यो । मोहीले जग्गाधनी (तल्सिङ) लाई अनेक कर तिर्नुपथ्र्यो । ओल्को प्रथा पनि तिनैमध्येको एक थियो । ओल्को नतिरे मोहीले कमाइरहेको खेतपाखो, जग्गाजमिन सबै खोसिन्थ्यो । त्यही डरले गर्दा पनि समाजमा ओल्को प्रथाकै रूपमा कायम थियो । भीमदत्तकै बुवा पनि तल्सिङ थिए । भीमदत्तलाई यो कुरा सबै थाहा थियो । उनले आफ्ना बुवालाई करको रूपमा अब कहिल्यै ओल्को नल्याउनू भनेर मनाए । यसबाट उनका भाइबन्धुहरू निकै रिसाए । सामन्ती समाजले त्यतिखेर नबुझे पनि भीमदत्तले देश र समाजको निम्ति यो राम्रै काम गरेका थिए । 


महिला जागरण आन्दोलन 
जहिलेसम्म नारी जागरुक हुँदैनन्, त्यस बेलासम्म समाजमा पछौटेपन रहिरहन्छ भनेमा भीमदत्त सचेत थिए । त्यसैले उनले आफू डडेल्धुरामा गभर्नर भएपछि नारी जागरणको अभियानलाई अगाडि बढाउन थाले । केही जनजाति र केही देउकी भनिने महिलाहरूलाई उनले एकत्रित गरी लेखपढ गराउन थाले, ती महिलाहरूलाई आफ्नै संरक्षणमा राखेर बन्दुक तथा अन्य हतियार चलाउन पनि सिकाउन थाले । उनी भन्ने गर्थे— नारी पनि पुरुषसरह जुनसुकै काम गर्न सक्छन्, उनीहरूलाई संरक्षण र निर्देशनको आवश्यकताचाहिँ पर्छ । अहिले नारी आन्दोलन जुन उचाइमा पुगेको छ, त्यसमा भीमदत्तले गरेको सुरुआती पहलले इँटाको काम गरेको छ । उनी आफ्नो भाषण तथा प्रवचनका क्रममा ‘नारी है नरकी खान’ समेत भन्ने गर्थे । यो उनको नारीप्रतिको सम्मान थियो । 

शैक्षिक आन्दोलन 
जुन समाजमा शिक्षाको अभाव रहन्छ, त्यो समाज सधैं अन्धकारमा रुमलिरहेको हुन्छ । समाज र राष्ट्रलाई प्रगतिको पथमा अगाडि बढाउने हो भने हरेक मानिस शिक्षित हुनु जरुरी हुन्छ भन्ने बोध भीमदत्तलाई थियो । हुन पनि शिक्षाको अभावमा कुनै पनि देश विकासको बाटोतिर लम्केको इतिहास कहीं–कतै पाइँदैन । भीमदत्तले डडेल्धुराका अनेक ठाउँ र बैतडी तल्लो स्वराड क्षेत्रमा आफैंले विद्यालयहरू खोल्ने काम गरे । उनी आफैंले स्थानीय युवायुवतीलाई शिक्षकको रूपमा पढाउने तथा क्रान्तिका गीतहरू गाउन सिकाउने पनि गर्न थाले । यसबाट समाजमा शिक्षाको प्रचार–प्रसार हुन थाल्यो, स्थानीय बासिन्दा जागरुक हुन थाले । युवा पुस्ता उनीप्रति आकर्षित हुन थाल्यो । 

छुवाछूतविरोधी आन्दोलन 
भीमदत्तको उदय हुने बेला समाजमा अनेक किसिमका छुवाछूतको जगजगी थियो । तल्लो जात भनिने मानिसको भातभान्सा तथा चियापानी माथ्लो जात भनिने मानिसले छुन तथा खान वर्जित थियो । यस्तो चलनले समाजलाई प्रगतिको मार्गमा बढ्न अवरोध पुर्‍याइरहेको थियो । 
तल्लो जातका भनिने ठूला ठालुहरूलाई भने यस्तो छोइछिटोले कुनै असर गरेको थिएन । छोइछिटो गरिबहरूका लागि मात्र थियो । भीमदत्तलाई यो कुरा मन परिरहेको थिएन । त्यसैले उनी छोइछिटो तथा जातिपातीविरुद्ध पनि मुखर हुन थाले । उनी दलित भनिने साथीहरूका घर–घर गई उनीहरूसँगै बसेर दाल–भात खान थाले, पानी पिउन थाले । पानी नचल्ने भनिने जातजातिका भनिएका आफ्ना साथीहरूलाई आफ्नो घर ल्याएर आफूसँगै खानपिन गराउन थाले । उनको यस्तो काम समाज सुधारका लागि निकै प्रेरणादायी थियो । तर, तत्कालीन ठालु र सामन्तहरू भीमदत्तप्रति क्रोधित हुन थाले र उनको विरोध गर्न थाले । 

नुन आन्दोलन 
पश्चिम महाकाली किनार, ब्रह्मदेवमा नेपालको बजार तथा भन्सार अड्डा थियो । महाकालीपारि टनकपुरमा भारतको बजार थियो, जहाँबाट नेपालले पाउने कोटाको नुन, गुड तथा लत्ताकपडा आउँथ्यो । बैतडी, डडेल्धुरा, अछाम, बझाङ र डोटीका अधिकांश बासिन्दा नुन, गुड तथा लत्ताकपडा किन्न ब्रह्मदेव बजारमा ओइरिन्थे । ग्राहकहरू यसरी ओइरो लागेका बेला ब्रह्मदेवका व्यापारीहरूले नुनको कृत्रिम अभाव सिर्जना गर्थे र दोब्बर–तेब्बर मूल्यमा नुन तथा अन्य सामान बेच्ने गर्थे । 
यो कुरा थाहा पाएपछि भीमदत्तले विरोधस्वरूप ब्रह्मदेव बजारमा हटारुहरूको जुलुस निकाले । ‘रोजीरोटी कपडा दे, नत्र गद्दी छाडिदे’ भन्ने नारा लगाउँदै त्यो जुलुस ब्रह्मदेवबाट टनकपुर पुग्यो । व्यापारीहरू डराए, चल्तीको मोलमा नुन बेच्न थाले । भीमदत्तले आलटाल गर्ने व्यापारीहरूको गोदामै फोडी नुन बाँडिदिए । निश्चय नै यो आन्दोलन देश र जनताको हितमा थियो । अर्को कुरा, यस आन्दोलनले अन्यायको विरुद्धमा जनतालाई जुट्न सिकाएको थियो । यसबाट भीमदत्तको लोकप्रियताको दायरा झन् फराकिलो हुन थाल्यो । 


किसानमुक्ति आन्दोलन 
नुन आन्दोलनपछि भीमदत्तले ‘किसान राज, जिन्दावाद’ को नारा लगाउँदै जनतालाई संगठित गर्न थाले । उनले समाजमा व्याप्त कुरीतिहरूलाई हटाउँदै ‘जय जनता’ को अभिवादनसहित किसानहरूका घर–घर पुग्न थाले । यसले किसानहरूलाई एकसूत्रमा बाँध्यो । अनि आफ्नो हकहितका लागि उनको अगुवाइमा आन्दोलन गर्न थाले । किसान मुक्ति आन्दोलनले व्यापकता पाउँदै गर्‍यो । उनीहरूले डडेल्धुरादेखि जोगबुढा हँदै ब्रह्मदेव र ब्रह्मदेवबाट कञ्चनपुर हँुदै बेलौरी कब्जा गरे । राज्य डरायो । भीमदत्तको पछाडि सेना लगायो । किसानराजको परिकल्पना गरेका भीमदत्तलाई नेपालका सैनिकहरूले पक्रन नसकेपछि भारतको समेत सहयोग लिनुपर्‍यो । २७० भन्दा बढी भीमदत्त समर्थकहरूलाई सरकारले पक्रेर थुनामा राख्यो । 
भीमदत्त आफ्नै साथीहरूको धोकामा परे । डोटीको वुडरको गल्लेक भन्ने ठाउँमा आफ्नै मीत लालबहादुर थापा र भम्वा दियालले उनको हत्या गरे । उनको टाउको काटेर डडेल्धुरा लगियो र त्यहाँ तीन दिनसम्म बाँसको लिंगोमा प्रदर्शित गरियो । यसरी एउटा देशभक्तको पाशविक हत्या भयो । भीमदत्तले देश निर्माणमा विभिन्न किसिमका आन्दोलन गरेर महत्त्वपूर्ण योगदान दिए । महिला शिक्षा, जातीय छुवाछूत, धनी–गरिब भेदभाव हटाउन उनैले अगुवाइ गरे । ‘गरिब बासमती खान्ना, ठालु खान्ना आलु’ भन्ने लोकभाका बनाएर उनले गरिबहरूको मन जित्ने काम गरे । उनी जम्मा २७ वर्ष बाँचे, तर जनतामा जागरण ल्याउने मामिलामा अन्य वीर पुरुषको भन्दा कम योगदान दिएनन् । यसैले भीमदत्तको योगदानलाई समाजको हरेक पक्षबाट कदर गरिनु आवश्यक छ, मूल्यांकन गरिनु जरुरी छ । 
(ओझा ‘भीमदत्त पन्तको राजनीतिक जीवन एक अध्ययन’ का लेखक हुन् ।)

प्रकाशित : आश्विन ७, २०७४ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्