पशुबलिको विरोध गर्नेले मासु नखाने की?

नवीन रायमाझी

काठमाडौं — सामाजिक सञ्जालमा पोखिएका शुभकामनाका शब्दहरुले दशैं आएको थाहा पाइयो । तर मलाई यो चाड खासै मन पर्दैन । केटाकेटी हुँदा लामो स्कुल बिदा, नयाँ नयाँ लुगा लगाउने र दक्षिणाको रुपमा सुका-मोहर पाइने कारणले मन परेपनि ठुलो भएपछि खासै रस बसेन । मलाई टिका लगाएर दिएको आशिर्बाद लाग्छ भन्ने कुरामा पनि विश्वास छैन ।

बैदिक कालमा सबै आफ्नो मर्यादामा बस्ने कारणले आशिर्बाद लाग्थ्यो होला । अहिले मन भरी लोभ र पाप बोकेर मुखले मात्र मिठो बोल्ने युगमा त्यस्ता आशिर्बाद एक रत्ति पनि लाग्दैन भन्ने मेरो बुझाइ छ, अब अरुलाई के लाग्छ र लाग्दैन त्यो मेरो समस्या भएन । 

हामी केटाकेटी हुँदा दशैंको सबैभन्दा प्रमुख आकर्षण नयाँ लुगा लगाउने हुन्थ्यो । बुवाले इन्द्रचोकको भित्रपट्टि रहेको हनुमान साहुको पसलबाट पुरै थान कपडा किनेर ल्याएपछि त्यो कपडाले भ्याएसम्म त्यसैबाट सिलाउने गरिन्थ्यो । आमाको चोलोदेखि आफ्नो कमिजसम्म र तकियाको खोलदेखि दिदीको फ्रक सम्म । लुगा सिलाउनेले तोकिएको समयमा "डेलिभरी" नदिने कारणले त्यो लुगा लिन कमसेकम पनि तीन चार पटक जानु पर्थ्यो । जुन दिन सिलाएको लुगा लिएर घर आइन्थ्यो त्यो दिन नयाँ लुगा लाउन नपाउने डर गएर मन आनन्दित हुन्थ्यो, शायद त्यसैलाई भनिन्छ स्वर्गीय आनन्द । त्यो सिलाएको लुगा जहिले पनि बेढंगको हुन्थ्यो, कि त चाहिने भन्दा निकै ठुलो (हिपहप स्टाइल) वा चाहिने भन्दा निकै सानो (टाइट फ़िटिङ्ग), जे होस् त्यस्तै लुगा लगाउन पाउँदा पनि मन खुशीले उडेर आकाशमा पुग्थ्यो ।

अर्को आकर्षण चङ्गा उडाउन पाउनुको थियो । मनोरन्जनको धेरै साधन उपलब्ध नभएको र पंक्तिकार जस्तो निर्धन परिवारको केटाकेटीलाई दशैंको समयमा चङ्गा मनोरन्जनको प्रमुख साधन हुन्थ्यो । चङ्गा उडाउने धागोमा माजा लगाउने र सुकाउने अलग्गै समारोह हुन्थ्यो । एउटा काटिएको चङ्गा लुटन ज्यानको समेत पर्वाह नगरेर दौडेको मलाई अहिले पनि अचम्म लाग्छ । हिलै हिलो भएको धान खेतमा सोच विचार नगरेर झ्याम्म हाम फालेको अहिले सोच्दा पनि आङ्ग सिरिङ्ग गर्छ । तर त्यो बेला पटक्कै डर लाग्थेन । अहिले त्यस्तो ठाउँमा त्यसरी सायद जान सकिन्न जस्तो लाग्छ ।

त्यस्तै धेरैलाई दशैंमा मासु खाने आकर्षण पनि ठुलै हुन्थ्यो । मलाई भने बच्चै देखि मासुमा त्यति रुचि नभएकोले मासु खान रमाइलो त लाग्थेन । तर करकापले भए पनि खाइथ्यो, त्यो बेला कति मान्छेले त दशैंमा मात्र मासु खान पाउथे । मलाई भने घरमा त्यो बेला अरु तरकारी नपाक्ने कारणले दिक्क लाग्थ्यो ।

व्यक्तिगत रुपमा मलाई दशैंको सबैभन्दा ठुलो आकर्षण घर घरमा टिका लगाउन जाने हुन्थ्यो । सत्य बोल्ने हो भने टिका लगाएर आशिर्बाद लिने भन्दा पनि दक्षिणाको रुपमा पाइने सुका-मोहरको आकर्षण बढि हुन्थ्यो । आजकाल जस्तो पकेट मनि भनेर पैसा दिने चलन थिएन वा पंक्तिकारको घरमा चलन नभएको हो । त्यो समयमा हाम्रो हातमा पैसा पर्ने भनेको नै त्यही दशैंको दक्षिणा मात्र हो र त्यसैले बर्ष दिन भरिको अभिष्ट पुरा गर्नु पर्थ्यो ।

आजको दिनमा यो साँस्कृतिक पर्व धेरैको लागि एउटा बोझ बनेर उभिएको छ । अझ सिमित आयस्रोत भएकाहरुको लागि त यो चाड आउदै नआए पनि हुन्थ्यो जस्तो भएको छ । यो चाडको जुन मुल्य र मर्यादा थियो त्यो लगभग समाप्त भएर धनीहरुको लागि आडम्बर देखाउने सुबर्ण मौका र गरिवहरुको लागि अनावश्यक बोझ भएको र त्यसले सामाजिक अन्तर पनि क्रमश फराकिलो बनाउदै लगेको छ । 

केहि बर्षयता देखि स्वघोषित अधिकारकर्मी हरुले पशुबलि गर्नु हुँदैन भनेर एउटा अभियानको थालनी गरेका छन्, मेरो बिचारमा यो अभियानको कुनै तार्किक अर्थ भने छैन । यदि पशुबलिको भित्रैदेखि बिरोध गर्ने हो भने मासु खाने बानी नै त्याग गर्नु पर्यो । पंक्तिकारलाई खसी बोका काटेको नै मन नपरेर मासु खान मन नलागेको हो । पकाएको मासु खाने तर पशुलाई मार्नु हुँदैन भनेर कराउनुको कुनै अर्थ छैन, सायद यो कुरा मैले मात्र नबुझेको हो कि ?

अन्तमा, चाड पर्व भनेको रमाइलोको लागि भएको कारणले आफ्नो गच्छे अनुसार मनाउने गर्दा उचित हुन्छ होला जस्तो लाग्छ । अरुको अगाडी फुर्ति लगाउन नक्कली तामझाम गर्दा "आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई" नहोस भन्ने मेरो कामना छ । सम्पूर्ण पाठक वर्गमा दशैंको हार्दिक शुभकामना । 

प्रकाशित : आश्विन १०, २०७४ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्

चाडपर्वमै सुनसान छन् गाउँ, बस्तीहरु [फोटोफिचर]

हरिहरसिंह राठौर

जाजरकोट — वैदेशिक रोजगारले युवाहरु विदेसिएपछि दसैंतिहारमा रमझम हुने गाउँबस्ती यसपाला सुनसान छन् । सुर्खेतको छिन्चुदेखि सल्यानको सल्लीबजार हुँदै जाजरकोटसम्म पुगुन्जेल बीचमा पर्ने रमणीय गाउँबस्तीहरु सुनसान छन् । दसैंतिहारमा बज्ने मादल, युवायुवतीले हाल्ने लिङ्गेपिङ, चौरमा उडाइने चङ्गा, रोटेपिङ, मखियाका घरमा नाच्ने मयुर नाच, टप्पा नाच, मारुनी, सोरठी एकादेशका कथा भइसकेका छन् । न त बस्ती घर दसैं अगावै रातो माटोले पोत्ने छोरीबुहारीहरु घरमा छन् ।

‘वैदेशिक रोजगारले छोराहरुलाई विदेशमात्रै पुर्‍याएन बुहारीहरुलाई पनि छोराछोरी बोर्डिङ पढाउने निहुँमा सहरबजारतिरै तानेको छ । छोराछोरी कोही नभएपछि घर रंगीन बनाउने जाँगर पनि चलेन’सल्यान वामे नाम्रागाउँका हिक्मत बुढाले बताए । हुन पनि छिन्चुदेखि जाजरकोट पुग्ने बेलासम्म भेरीनदी किनारमा रहेका सुर्खेतका सुर्मा, घोडेनी, अमारा, राकम, जामुने, सल्यानका नाम्रा, लाहाघाट, राइरा, जाजरकोटको भुरचौर, रावतगाउँ, कुदु, बोहरागाउँ, रुकुमको घाटचौर, थनारा निकै वाक्ला र रमणीय बस्ती हुन् । एकै बस्तीमा एकैखाले एकै रंग सयौं घर यी बस्तीहरुको विशेषता हो । 

नदी किनारमा रहेर विकट मानिएका यी बस्तीहरुको चर्चा र आर्थिक विकास छिन्चु जाजरकोट सडक सञ्चालन भएदेखि हो । सडक विस्तारसँगै सडक वरपर सानातिना वजार विकास त भयो तर अधिकांश युवापुस्ताहरु कमाई गर्न विदेशतिरै लागे । पुस्तौंदेखि छाक टार्न र लत्ता कपडाको जोहो गर्न, छिमेकी देश भारत जाने र लत्ताकपडा लिएर दसैं तिहारमा फर्कने युवाहरुको लय फेरिएको छ । आर्थिक अभावका कारण वैदेशिक रोजगारमा जान नसक्नेहरु को गन्तव्य अझै पनि कालापार(भारत)नै हो । भेरी नदी किनार भए पनि कुनै सिँचाई प्रबन्ध नभएका यी सून्दरबस्तीहरुको प्रमुख आम्दानी भनेकै बाख्रा पालन र दलहनबाली हो । जंगल चराएका यस भेकका खसीको माग र मूल्य काठमाडौंलगायत सहरमा अत्यधिक छ ।

 

जंगल विनासले खानेपानीको चरम समस्या बेहोर्दै आएका यी भेरी किनारका बस्तीहरु बाह्रै महिना भेरी नदीकै पानस्ी प्रयोग गर्छन भने वर्षातका समयमा खानेपानी लिन नदीमा जाँदा हरेक वर्ष स्थानीयवासीहरुले बाढीको चपेटामा परेर मृत्यु हुने गरेको छ । 

 

प्रकाशित : आश्विन १०, २०७४ १५:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्