बाबुरामको सुरक्षित अवतरण !

गंगा बीसी

काठमाडौं — माओवादीलाई रातो स्टिकर लागेको घरको संज्ञा दिएका बाबुरामका लागि वामपन्थी ‘गठबन्धन’ मा सहभागी हुन रहर होइन, बाध्यता आइपरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको सदासयताले बाबुरामलाई सहज अवतरण हुन सजिलो बनाइदियो । तर, उनका लागि आगामी दिन सकशपूर्ण हुनेछन् । माओवादीमा सँधै प्रतिपक्ष जस्तो रहेका उनका लागि एमाले–माओवादीभित्र अटाउने बाध्यताले सायद पिरोलिरहने छ ।

दशैंको रमझमबीच एमाले र माओवादी केन्द्र एकीकरण र चुनावी गठबन्धनले नेपालको राजनीतिमा भूँइचालो ल्याइरहेको बेला नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई यतैकतै ओझेलमा थिए । यो राजनीतिक भूँइचालोमा उनको कुनै नाम जोडिएको थिएन । एमाले र माओवादीको पार्टी एकीकरण र चुनावी गठबन्धन औपचारिक घोषणा गर्ने दिनपनि अन्तिममा नयाँ शक्ति अर्थात् बाबुराम  जोडिन पुगे । राजनीतिमा कहिलकाहिँ नहिड्ने बाटो पनि हिड्नु पर्छ भनेजस्तै गत मंगलबार राष्ट्रिय सभागृहको हलमा ओली, प्रचण्डको छेउमा भट्टराई उभिन पुगे । छोटो गृहकार्यपछि एमाले–माओवादी गठबन्धनमा सहभागी भएपछि धेरैले प्रश्न गरे, के बाबुरामको राजनीतिक पुनरोदय भएको हो ? समय शक्तिशाली छ, निकट भविष्यमा त्यसको पर्दा खुल्ने छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई त्यतिबेला केही निराश भए, जतिबेला स्थानीय तहको निर्वाचनमा उनको पार्टीले आशा गरेको क्षेत्रमा समेत हार खायो । गोरखाको पालुङटार नगरपालिकामा समेत हार खाएपछि भट्टराई केही चिन्तित् देखिए । आफूले अघि सारेको वैकल्पिक राजनीतिक धारका पक्षमा जनमत नदेखिएपछि अझ बढी चिन्तित् बनेका हुन् । 

समकालीन अन्य नेताभन्दा बढी चिन्तन्, मनन् र अध्ययनमा व्यस्त रहने भट्टराई स्थानीय निर्वाचनपछि निकै आत्मविश्लेषणमा लागेको हुनुपर्छ, आफूले अघि सारेको राजनीतिक धारले काम गर्छ कि गर्दैन ? यो प्रश्नले उनलाई निकै पिरोलेको हुनुपर्छ ।

माओवादीले २०५२ मा युद्ध सुरु गर्नेबेला त्यसको डिजाइनरमध्ये एक थिए, बाबुराम । त्यतिबेलै विद्यावारिधि गरेका अब्बल अर्किटेक्ट भट्टराईलाई पछ्याएर सयौ कार्यकर्ता ‘मार्न र मर्न’ हिडेका थिए, कार्यकर्ता । माओवादी युद्धका मुख्यगरी दुई रोल मोडल नेता थिए, प्रचण्ड र बाबुराम । सार्वजनिक रुपमा बाबुरामको छवि लोकप्रिय थियो भने पार्टीभित्र प्रचण्डको । नेता तथा कार्यकर्ता प्रचण्ड र बाबुरामको व्यक्तित्व देखेर ओइरिएका थिए । त्यसपछि अन्य नेताको भूमिका थियो ।

भट्टराईलाई धेरैले भन्छन्, ‘उनी नेताभन्दा डिजाइनर अर्थात् योजनाकार बढी हुन् ।’ माओवादी पार्टीमा रहदा उनले धेरै योजना डिजाइन गरे, प्रचण्डले उनको डिजाइनलाई अनुमोदन गरेपछि कार्यान्वयन अघि बढ्थ्यो । राजनीतिक रुपमा प्रचण्ड र भट्टराई सफल खेलाडी हुन् । त्यसैले त उनीहरु युद्धकालमा, ‘रुदारुदै हाँस्न र हाँस्दाहास्दै रुन सक्ने नेता भएका थिए ।’  कुनै बेला बाबुरामबिना माओवादी पार्टी कसरी अघि बढ्ला ? भन्ने प्रश्न उठ्थ्यो । स्वयं भट्टराईलाई पनि आफूबिना माओवादी कमजोर हुनेछ भन्ने लागेको थियो । बाबुराम अलग भएपछि त्यसको असर माओवादीमा कमै देखियो ।

युद्धकालको २०६० तिर प्रचण्ड र बाबुरामबीच गंभीर मतभेद भएको थियो । शान्ति प्रक्रियाम आइसकेपछि दुई नेताबीच करिब १० वर्ष मतभेद रह्यो । मतभेदबीच माओवादी पहिलो संविधानसभामा पहिलो र दोस्रो संविधानसभामा तेस्रो भयो । दुई पटक सरकारको नेतृत्व गरे पालैपालो । युद्धकालमा गुमाएको शक्ति आर्जन गर्न प्रचण्ड र भट्टराई शान्तिकालमा सफल भए । मुलुकमा गणतन्त्र स्थापना र संविधान जारी गर्ने बेलासम्म दुबै नेता मतभेदबीच एक ठाउँमा रहे, राम्रै गरे । संविधान जारी गरेकोमा दुबै नेतालाई जस जान्छ । त्यसपछि प्रचण्ड र बाबुरामको बाटो फाट्यो । संगै नारिएर माओवादी हाँकेका नेता आ–आफ्नो बाटो लागे । बाबुरामलाई लाग्यो, ‘देशको असल पार्टी बनाउँछु र माओवादीलगायत अन्यलाई चुनौती दिन्छु ।’ 

सन् २०१६ जुन १६ मा औपचारिक रुपमा नयाँ शक्ति पार्टी गठन गरी उनले अभियानको थालनी गरे । माओवादीको एउटा समूह र अन्य व्यक्तिहरुलाई समेटेर आर्थिक समृद्धिको मूल नारासहित गठन भएको पार्टी स्थानीय निर्वाचनमा गएर नराम्ररी ठोकियो । यदि उक्त पार्टीबाट बाबुरामलाई हटाउने हो भने निर्वाचन परिणामबाट पहिचान हुन नसक्ने अवस्थामा पुग्यो, जुन बाबुरामका लागि निकै तीतो यथार्थ हुन पुग्यो । एक हिसाबले माओवादीमा ‘रजगज’ गरेका उनलाई आफै पार्टी हाँक्दा कति गाह्रो हुँदोरहेछ भन्ने कुरा सायद यतिबेला बोध भएको हुनुपर्छ । आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले र माओवादीको निर्वाचन र पार्टी एकीकरण गठबन्धनमा उनी रहरले होइन, बाध्यताले सामेल हुन पुग्यो ।

यतिसम्म कि नयाँ शक्ति गठन गर्ने बेला दाहिने हातको रुपमा रहेका नेता देबेन्द्र पौडेलले ‘नयाँ शक्तिले गरिखाँदैन’ भन्दै करिब एक महिना अघि माउ पार्टी माओवादीमा फर्किए । ‘बाबुरामजीलाई हामीले ध्रुवीकरणका लागि त्यतिबेलै सम्झाएका थियौं, मान्नुभएन । अहिले सम्झनु भयो, राम्रो भयो’ नेता पौडेलले भने ।

कुनै बेला बाबुरामले एमालेलाई भनेका थिए, ‘एमालको लिङ्ग पहिचान भएको छैन ।’ उनले एमालेले आफूलाई कम्युनिस्ट दाबी गरेपनि त्यो नभएको भन्दै कटाक्ष गरेका थिए । भट्टराईको यो भनाइ निकै चर्चित भएको थियो– एमाले कुन लिङ्ग भएको पार्टी हो ? समयले यसरी कोल्टो फेर्‍यो कि अब आउने निर्वाचनमा बाबुराम त्यही एमालेको सूर्य चिन्ह लिएर निर्वाचनमा उठ्दैछन् । एमाले र माओवादीको सहयोगमा उनले निर्वाचन जित्ने छन् । निर्वाचित भइसकेपछि उनी एमालेको ह्वीप अनुसार चल्ने अवस्था आाउने छ । यो संसदीय सामान्य परम्परा हो । उनले यो राजनीतिको यो काँचो ‘तीते करेला’ चपाउनु पर्ने छ ।
 
सामाजिक संजालहरुमा एमाले, माओवादीको ‘गठबन्धन’ मा बाबुरामलाई ‘बम्पर’ पर्‍यो भनेर टिप्पणी भइरहेको छ । टिप्पणी जे भए पनि नेपाली राजनीतिक परिदृश्यमा फेरि बाबुराम उदाएका छन् । उनले नयाँ शक्तिलाई पुन: मूलधारमा समाहित गराएका छन् । विद्वान नेताको रुपमा चिनिएका उनको पछिल्लो चाललाई धेरैले वुद्धिमानी कदम भनेका छन् ।
  

 
बाबुरामले भन्दै आएकफ वैकल्पिक राजनीतिक शक्तिको पाटो के हुने? प्रश्न उठ्न थालेको छ । उनले हाल बाटो बदलेको दाबी गरे पनि अन्तत: ठूलो नदीमा साना खोला हराएजस्तो नयाँ शक्ति हुने छ । उनको वैकल्पिक राजनीतिक शक्तिको अवधारण जत अलपत्र परेपनि एमाले–माओवादीको गठबन्धनमा उनले पहिलो लाइन सीट भने पाइरहने छन् । 

 

प्रकाशित : आश्विन २०, २०७४ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्

टिनएजमै तहल्का

कान्तिपुर संवाददाता

काठमाडौं — सामान्यतया फुटबलमा एकेडेमीबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी उमेर समूहको टोलीमा आउँछन् । त्यसपछि विभिन्न उमेर समूह हुँदै सिनियर टोलीसम्मको यात्रा तय गर्दा सामान्यतया खेलाडीको उमेर २० वर्ष कटिसकेको हुन्छ ।

सामान्यतया फुटबलमा एकेडेमीबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी उमेर समूहको टोलीमा आउँछन् । त्यसपछि विभिन्न उमेर समूह हुँदै सिनियरटोलीसम्मको यात्रा तय गर्दा सामान्यतया खेलाडीको उमेर २० वर्ष कटिसकेको हुन्छ । केही खेलाडी यस्ता पनि छन् जसले टिनएजमै सिनियर टोलीका लागि खेल्दै आफ्नो प्रभाव देखाइसकेका छन्, त्यो पनि युरोपकै प्रतिष्ठित क्लबका लागि । २० वर्ष नपुग्दै विश्व फुटबलको महाशक्ति युरोपका पाँच ठूला लिगमा आफ्नो छाप बसाइसकेका फुटबलर :


थियो हर्नान्डेज
देश: फ्रान्स
उमेर: १९ वर्ष
क्लब: रियल म्याड्रिड (स्पेन)
पोजिसन: डिफेन्डर

पछिल्लो सिजन लोनमा आलभेसबाट खेलेका हर्नान्डेज यसै सिजन एटलेटिको म्याड्रिडबाट रियलमा आएका हुन् । छिमेकी प्रतिद्वन्द्वी क्लबबाट आएका उनले रियल म्याड्रिडबाट डेब्यु गरिसकेका छन् । रियलले उनीसँग ६ वर्षको सम्झौता गरेको छ । फ्रान्सको युवा टोलीबाट खेलिसकेका उनलाई रियल म्याड्रिडको भविष्यका स्टारका रूपमा हेरिएको छ । फ्रान्सेली टोलीले पनि उनीबाट धेरै आशा राखेको छ ।

क्रिस्टियन पुलिसिच

देश: अमेरिका
उमेर: १९ वर्ष
क्लब: बोरुसिया डर्टमुन्ड (जर्मनी)
पोजिसन: मिडफिल्डर

पुलिसिच अमेरिकाको राष्ट्रिय टिमबाट विश्वकप छनोट खेल्ने र गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् । उनी तीन वर्षयता डर्टमुन्डसँग आबद्ध छन् । एकेडेमीको टिमबाट १५ खेल खेलेपछि उनले फस्ट टिममै मौका पाएका थिए । उनी बुन्डेसलिगामा गोल गर्ने सबैभन्दा कान्छा विदेशी खेलाडी पनि हुन् । यस सिजन लगातार पहिलो रोजाइमा खेलिरहेका पुलिसिचले आउने दिनमा राम्रै प्रभाव देखाउने विश्वास गरिएको छ । उनी सन् २०२० सम्म डर्टमुन्डमा रहने सम्झौता छ ।

मार्कुस रास्फर्ड

देश: इंग्ल्यान्ड
उमेर: १९ वर्ष
क्लब: म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)
पोजिसन: फरवार्ड

म्यानचेस्टर युनाइटेडका लागि युरोपेली प्रतियोगितामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्, रास्फर्ड । दुई वर्षअघि युरोपा लिगको खेलमा एन्थोनी मार्सियल वार्मअपमा घाइते भएपछि मौका पाएका रास्फर्डले त्यसै खेलमा दुई गोल गरेका थिए । त्यसपछि लिग कप, च्याम्पियन्स लिग र इंग्ल्यान्डका लागि पनि सबै प्रतियोगिताको डेब्युमै उनले गोल गरे । युनाइटेडको सिनियर टोलीको महत्त्वपूर्ण सदस्य बनेका उनी अब मुख्य खेलाडी बन्ने अभियानमा छन् । उनले सन् २०१६ मा ४ वर्षका लागि क्लबसँग सम्झौता गरेका थिए ।

जियानलुइजी डोनारुम्मा

देश: इटाली
उमेर: १८ वर्ष
क्लब: एसी मिलान (इटाली)
पोजिसन: गोलकिपर

१६ वर्ष २ सय ४२ दिनको छँदा इटालियन सिरी ‘ए’ मा डेब्यु गरेका गोलकिपर डोनारुम्माले १७ वर्ष १ सय ८९ दिनको हँुदा इटालीको टिमबाटै खेले । राष्ट्रिय टिमका सबभन्दा कम उमेरका उनले क्लब फुटबलमा तीन सिजनयता लगातार पहिलो रोजाइमा गोलपोस्ट सम्हाल्दै आएका छन् । उनलाई इटालियन लिजेन्ड जियानलुइजी बुफोनका उत्तराधिकारीका रूपमा हेरिएको छ । उनले सन् २०२१ सम्म मिलानमै रहने प्रतिबद्धता जनाएका छन् ।

किलियन एमबाप्पे

देश: फ्रान्स
उमेर: १८ वर्ष
क्लब: पेरिस सेन्ट जर्मेन (फ्रान्स)
पोजिसन: फरवार्ड

पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका फ्रान्सेली फरवार्ड एमबाप्पे विश्वकै दोस्रा महँगा फुटबल खेलाडी बन्दैछन् । यसै सिजन मोनाकोबाट लोनमा आएका उनलाई अर्को सिजन १६ करोड युरोमा पीएसजीले खरिद गर्ने सम्झौता भइसकेको छ । गत सिजन मोनाकोलाई फ्रेन्च लिगको उपाधि दिलाउन र च्याम्पियन्स लिगको सेमिफाइनल पुर्‍याउन उनको महत्त्वपूर्ण भूमिका थियो । उनले फ्रान्सेली राष्ट्रिय टिमबाट गोल पनि गरिसकेका छन् ।
स्रोत : एजेन्सी

प्रकाशित : आश्विन २०, २०७४ ११:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्